रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण सहमति भएको छ । रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार र शुक्रबार दुई दिनको अवधिमा दुवै देशले गरेर कुल ५००-५०० जना युद्धबन्दीलाई एकअर्कासँग साटासाट गर्ने योजना बनाइएको छ ।
बताइएअनुसार पहिलो चरणमा बिहीबार दुवै पक्षबाट २००-२०० जना युद्धबन्दीलाई मुक्त गरी आदानप्रदान गरिसकिएको छ । रुसतर्फ फर्किएका सैनिकहरू हाल बेलारुसमा रहेका छन्, जहाँ उनीहरूलाई मानसिक परामर्श तथा स्वास्थ्य उपचार उपलब्ध गराइँदैछ ।
रुसको विदेश मन्त्रालयले जानकारी दिएअनुसार शुक्रबार थप ३००-३०० जना युद्धबन्दीलाई मुक्त गरी साटासाट गर्ने कार्यक्रम तय गरिएको छ । यससँगै दुई दिनको अवधिमा दुवै देशले गरेर कुल ५००-५०० जना युद्धबन्दीलाई रिहा गर्ने प्रक्रिया पूरा हुने बताइएको छ ।
रुसका राष्ट्रपतिको सहयोगी भ्लादिमिर मेदिन्स्कीका अनुसार यो युद्धबन्दी आदानप्रदान स्विट्जरल्यान्डको जेनेभा शहरमा भएको वार्तामा पुगेको सहमतिअनुसार भइरहेको हो ।
फेब्रुअरी १७ र १८ मा जेनेभामा रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच दुई दिनसम्म त्रिपक्षीय वार्ता भएको थियो । उक्त वार्ता यस वर्षको तेस्रो चरणको कूटनीतिक संवाद थियो, जसमा युद्धसँग सम्बन्धित विभिन्न विषयका साथै मानवीय मुद्दाहरूमा पनि छलफल गरिएको थियो । युद्धबन्दी आदानप्रदानको निर्णय पनि सोही वार्ताको परिणामका रूपमा गरिएको बताइएको छ ।
प्रतिक्रिया