६ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिन अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गरेका छन् । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेताहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएको छ । ट्रम्पका अनुसार हालै गरिएको सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको नौसेनालाई ठूलो क्षति पुऱ्याएको छ । उनले इरानको हवाई शक्ति कमजोर पारिएको तथा देशको मुख्य सञ्चार तथा दूरसञ्चार प्रणाली समेत ठप्प पारिएको दाबी गरे । ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी कारबाहीपछि इरानको नौसेना प्रभावहीन बनेको छ र सैन्य तथा सञ्चार संरचनामा गम्भीर असर परेको बताएका छन् ।
यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध ‘ठूलो सैन्य अभियान’ सुरु गरेको बताएका थिए । उक्त अभियानपछि क्षेत्रीय तनाव तीव्र रूपमा बढेको छ । इरानले त्यसको प्रतिकारस्वरूप मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी र इजरायली लक्ष्यहरूमा लगातार प्रतिआक्रमण गरिरहेको बताइएको छ । अर्ध–सरकारी तस्निम समाचार एजेन्सीका अनुसार पछिल्लो एक साताको अवधिमा इरानी सेनाले करिब ६०० वटा मिसाइल प्रहार गरेको छ भने करिब दुई हजार ६०० वटा ड्रोन प्रयोग गरी आक्रमण गरेको जनाएको छ । ती आक्रमणहरू अमेरिका र इजरायलसँग सम्बन्धित करिब २०० सैन्य तथा रणनीतिक लक्ष्यहरूमा केन्द्रित रहेको बताइएको छ ।
विश्लेषकहरूका अनुसार अमेरिका, इजरायल र इरानबीच बढ्दो सैन्य गतिविधिले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था झन् संवेदनशील बनाएको छ । पछिल्ला घटनाक्रमले क्षेत्रीय द्वन्द्व थप फैलिने जोखिम बढाएको भन्दै अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेको बताइएको छ ।
६ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
यसैबीच, मध्यपूर्वमा चर्किँदै गएको युद्धका बीच इरानले आफ्नो सेना अमेरिका र इजरायलविरुद्ध महिनौँसम्म तीव्र लडाइँ गर्न सक्षम रहेको दाबी गरेको छ । इरानको रिभोलुसनरी गार्ड्सले आइतबार वर्तमान गतिमा युद्ध जारी रहे पनि इस्लामिक गणतन्त्रको सैन्य क्षमता कम्तीमा ६ महिनासम्म तीव्र सङ्घर्ष धान्न सक्ने बताएको हो ।
द्वन्द्व दोस्रो हप्तामा प्रवेश गरिसकेको अवस्थामा क्षेत्रभरि तनाव थप फैलिएको छ । इजरायलले लेबनानको राजधानी बेरुतको मध्यभागमा रहेको एक होटलमा लक्षित आक्रमण गरेपछि अवस्था झनै जटिल बनेको छ । उक्त होटलमा इरानको रिभोलुसनरी गार्डको विदेशी अपरेसन शाखा कुद्स फोर्ससँग सम्बन्धित कमान्डरहरू रहेको दाबी इजरायली सेनाले गरेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेका एएफपीका फोटो पत्रकारहरूले भवनका झ्यालहरू फुटेको र पर्खालहरू जलेको अवस्था देखिएको बताएका छन् ।
यसैबीच इजरायली सेनाले आइतबार ‘तेहरानका विभिन्न स्थानमा’ नयाँ आक्रमणको लहर सुरु गरिएको जनाएको छ । इजरायलले ती आक्रमणहरू इन्धन भण्डारण केन्द्रसहित सैन्य पूर्वाधारसँग सम्बन्धित लक्ष्यहरूमा केन्द्रित रहेको बताएको छ ।
इरानले भने अमेरिका र इजरायलले शनिबार राजधानी तेहरानमा रहेको तेल भण्डारण केन्द्रमा आक्रमण गरेको आरोप लगाएको छ । इरानको ऊर्जा पूर्वाधारमाथि प्रत्यक्ष रूपमा भएको यो पहिलो आक्रमण भएको तेहरानको दाबी छ । यस घटनापछि शेयर बजारमा गिरावट आएको र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको उल्लेख गरिएको छ ।
रिभोलुसनरी गार्ड्सका प्रवक्ता अली मोहम्मद नैनीका अनुसार इरानले अहिलेसम्म ‘पहिलो र दोस्रो पुस्ताका’ क्षेप्यास्त्र प्रयोग गरेको छ । तर आगामी दिनहरूमा अझ उन्नत र लामो दूरीका मिसाइलहरू प्रयोग गरिन सक्ने उनले सङ्केत गरे ।
क्षेत्रीय स्तरमा पनि तनाव फैलिँदै गएको देखिएको छ । साउदी अरेबियाले राजधानी रियादतर्फ लक्षित दर्जनौँ ड्रोन रोकेको जनाएको छ । कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन भण्डारण ट्याङ्कीहरूमा आक्रमण भएको जानकारी दिएको छ ।
कुवेतमा उड्डयन इन्धन भण्डारणमा भएको आक्रमणपछि ऊर्जा आपूर्तिबारे चिन्ता बढेको छ । कुवेतको राष्ट्रिय तेल कम्पनीले होर्मुजको जलडमरुमा बढ्दो जोखिमका कारण कच्चा तेल उत्पादन घटाउने निर्णय गरेको जनाएको छ । उक्त जलमार्गबाट विश्वको करिब पाँचौँ भाग तेल तथा ग्यास पारवहन हुने गर्दछ ।
गत आइतबार कुवेतस्थित अमेरिकी सैन्य अड्डामा भएको ड्रोन आक्रमणमा ६ जना अमेरिकी सैनिक मारिएका थिए । ती सैनिकहरूको शव स्वदेश फर्काउने कार्यक्रममा सहभागी हुँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको युद्ध विस्तार हुने सम्भावनाबारे टिप्पणी गरेका थिए ।
यसैबीच इरानका सुरक्षा प्रमुख अली लारिजानीले ट्रम्प प्रशासनले भेनेजुएलामा जस्तै शासन परिवर्तनको योजना बनाएको आरोप लगाएका छन् ।
प्रतिक्रिया