अब मुलुक बन्ने कि बर्बाद हुने ?

अब मुलुक बन्ने कि बर्बाद हुने ?


रास्वपाको भारी बहुमत आउँदै गर्दा रवि लामिछाने र बालेन्द्र साहनिकटका केही साथीसँग पङ्क्तिकारले कुरा गरेको थियो । रविका प्रशंसकहरू ‘रविको चमत्कारिक क्षमता र घन्टीको क्रेज’ले नसोचेको परिणाम आयो भन्दैथिए । बालेन्द्रलाई ‘हिरो’ मान्नेहरू चाहिँ ‘बालेनको सर्वाधिक लोकप्रिय व्यक्तित्व र चमकले चमत्कारिक परिणाम ल्याउन सहयो गऱ्यो’ भन्दैथिए । अब केही समयमै शक्तिको मूल स्रोत को हो भन्ने भित्री रस्साकस्सी देखिने सम्भावना बढेर गएको छ । त्यसको टुङ्गो लागेपछि ‘मूख्य प्रतिफल कसले लिने’ भन्नेमा चल्ने देखियो । बालेनलाई प्रधानमन्त्री दिने भनिएको भएपनि अब ‘बैठकबाट निर्णय हुने’ भन्ने भाषा बोल्न थालेका छन्, जसलाई हल्काफुल्का ठानेर नजरअन्दाज गर्न सकिन्न ।

यति गर्दा पनि हुने देखियो !

उनीहरूले गर्ने असंवैधानिक, गैरकानुनी, अव्यवहारिक र असामाजिक जुनसुकै कार्यमा पनि भीडले ‘वाहवाही’ नै गर्नेछ । उदारहणका लागि – ‘भ्रष्टाचारी’ भन्दै केही नेतालाई टुँडिखेलमा ल्याएर गोली ठोकियो भने भीडले वाहावाही गर्नेछ । ‘अरु थपलाई पनि ठोक्नुपऱ्यो’ भन्नेछ । राजनीतिक दलका पार्टी कार्यालय राष्ट्रियकरण गरी बोर्ड झिक्यो भने जिल्ला-जिल्लामा पनि सबै थुत्नुपर्दछ भन्दै समर्थन गर्नेछ । राजनीतिक दलका भातृ संगठन खोरेज गर्ने, ट्रेड युनियन खारेज गर्ने भन्यो भने ठीक गऱ्यो भन्नेछ । ‘भ्रष्ट र लुटेको सम्पत्ति’ भन्दै केही मानिसको सम्पत्ति राज्यले आदेशको भरमा जफत गऱ्यो भने अन्य थुप्रैको गर्नुपर्दछ भन्दै होहोहोहो.. गर्दै समर्थन गर्नेछ । त्यतिमात्र होइन सर्वाेच्च अदालतका न्यायाधीशलाई ‘पार्टीका न्यायाधीश’ भनेर हटाएर स्वतन्त्रका न्यायाधीश राख्यो भने हो..हो.. गर्दै ‘ठीक गऱ्यो सरकारले भन्ने लफ्फाजी भीड’ उत्रनेछ । यसरी बालेन र रविबाट ‘युवाको सत्ता, जनताको मत, सुशासनको कदम, भ्रष्टाचार नियन्त्रण र नागरिक शासनको स्थापित गर्ने’ नाममा यस्ता अनगिन्ती गैरकानुनी कार्य भयो भने राज्य जङ्गली शासनमा परिणत हुन बेर लाग्दैन । बहुमत र दुई तिहाइका नाममा देशविरोधी सन्धी भएमा कोही बोल्नेबाला छैन । किनकि, त्यो ‘बालेन र रविको सत्ता’ हो । बालेन र रवि भनेका ‘भगवान्’ हुन् । भगवानको विरोध गर्नुहुँदैन । यदि यस्तै भयो भने अचम्म नमान्दा हुने सङ्केत देखियो ।

मतको थुप्रोबाट घमन्ड

सोचेको भन्दा धेरै मत पाएपछि बालेन र रविमा चरम घमन्डको घोडा सवार हुने संकेत देखिएका छन् । उनीहरूले विगतदेखि स्थापित गराएका ‘नेगेटिभ न्यारेटिभ’बाट लोकतान्त्रिक गणतान्त्रिक संस्कृतिमा बल पुग्ने नभइ अराजकता, दण्डहीनता, विकृति, विसंगति, हुलहुज्जत, भीडको राजनीति, तर्कविहीनता, अब्यवहारिकता, मुर्खता, विधिहीनता, कानुन र संविधानविरोधी गतिविधि तथा हर्कतले बढावा पाउने प्रस्टै छ । एक वर्षपहिले नै बालेनले राजनीतिक ‘दलका नेतालाई लखेटनुपर्ने’ भन्दा लाखौँले लाइक र शेयर गरे । ‘सिंहदरबार बाल्नुपर्दछ’ भन्दा हजारौँले शेयर गरे । ‘ओलीलाई माटोमुनि गाड्नुपर्दछ’ भन्दा लाखौँले ‘ठीक बोल्यौ’ भन्दै बालेनलाई हाई-हाई गरे । सर्वत्र समर्थन गरेको देखाइयो । त्यही न्यारेटिभ (वैचारिक जग)को जगमा भदौ २३ र २४ गतेको विध्वंश मच्चाइयो ।

सार्वजनिक सम्पत्तिको आजगनी, तोडफोड, लुट र निजी सम्पत्ति, व्यक्तिका भवन, घर र सम्पत्ति पोल्ने, लुट्ने र फोड्ने कार्य गरियो । त्यस्तो अक्षम्य अपराधमा पनि ‘नागरिक समाज’ संगठित भएर विरोधमा बोेलेन । नागरिक समाज, ठूला मिडिया र सचेत समाजले त्यस्ता कार्यको प्रभावकारी र देखिनेगरी विरोध गरेनन् । निजी क्षेत्रले सडकमा आएर कुनै विरोध गरेन । ‘उसको गऱ्यो, मेरो जोगियो’ भन्ने मनसायका साथ चुपचाप बसे । यस्तो अराजकता र अपराधलाई समाजले ‘आन्दोलन’ भनिदियो । यसैबाट हौसिएर अनेकौँ अपराध गरिए । बोलिए । तर पनि समाजले रवि र बालेन भनेर ‘वाहवााही’ गर्दै गयो । दल र नेतालाई गाली गर्नमा नै गर्व गर्ने संस्कृति बसालियो । यही सोच र कार्यशैली लागु गर्दै बालेन र रविले निर्वाचनमा उम्मेदवारी सम्म आपुग्यो । फन्टुस, फ्रड, ठग र सामाजिक सञ्जालबाट नेतालाई गाली गर्नेलाई खुलेआम टिकट दिइयो । तिनीहरूले जिते । जिताइयो । माला लगाइयो ।

यस्तो भएपछि भोलिको संसद् कस्तो बन्ने हो भन्ने चिन्ता भए पनि उनीहरू माला लगाएर राजधानी छिरिसकेका छन् । ‘फन्टुस’ र ठूला कुरा गर्दै मतदातालाई भ्रममा पार्ने केही जोकर संसदमा छिर्न खुट्टा उचारेर बसेका कारण संसद् ‘रास्वपाको जोकरसभा’ बन्ने खतरा भयो । आफूलाई ‘नयाँ, युवा र जान्ने भन्ने फन्टुस ननपोलिटिकल ग्याङ्ग’का कारण मुलुकको लोकतान्त्रिक शासकीय प्रणाली बदनाम हुने खतरा भयो । यस्तो बेला कसको नेतृत्वमा कस्तो सरकार बन्ने भन्ने चासो ‘माइनर’ भइदियो । मुलुकको राजनीतिक, सामाजिक, संवैधानिक, कानुनी, आर्थिक, सांस्कृतिक र सार्वजनिक क्षेत्रमा ‘सिन्को नभाँचेका भुँइफुट्टाहरूको ठूलो स्वर’ सुन्नुपर्ने अवस्थामा फेरि मुलुक पुग्यो । राजनीतिमा नयाँ दल, पुराना दल, युवा पार्टी जस्ता बेतुकका भाष्य बेचिएर मतदातालाई भ्रमित पार्ने काम मात्र गरियो । भूराजनीतिको अध्ययन र विवेचना नगरी नेपाली सत्ता-राजनीतिलाई बेबकुफ पार्ने काम नयाँ भनिएका फन्टुसले गरे ।

पुराना पार्टी खतम !

विश्वमा हेर्ने हो भने नयाँ, पुराना, युवा भन्ने भाष्यले कुनै महत्व पाएको देखिन्न । अमेरिकामा डेमोक्रेटिक पार्टी सन् १८२८ मा र रिपब्लिकन पार्टी सन् १८५४ मा गठन भयो । तिनीहरू नै पटक-पटक सत्तामा रहनेगरेका छन् । रिपब्लिकनबाट राष्ट्रपति डोनाण्ड ट्रम्प शासन-सत्तामा छन् । संसदीय व्यवस्थाको जननी देश बेलायतमा सन् १८५९ मा लिबरल पार्टी र सन् १९३९ मा कन्जरभेटिभ पार्टी गठन भए । तिनीहरू सत्तामा छन् । जापानमा सन् १९५५ मा लिबरल डेमोक्रेटिक पार्टी गठन भयो । उसले पटक-पटक सत्ता सञ्चालन गर्दै आएकोमा पछिल्लो २०२६ फेब्रुअरीमा भएको निर्वाचनमा भारी बहुमतका साथ विजयी भयो । चीनमा सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी गठन भइ उसको नेतृत्वमा सन् १९४९ मा समाजवादी क्रान्ति सम्पन्न भएपश्चात आजसम्म उही दल सत्तामा छ । उनलाई आजीवन राष्ट्रपति हुनेगरी संविधान संशोधन गरिएको छ । तिनै मुलुक सम्पन्न छन् । भारतमा सन् १८५५ मा भारतीय काङ्ग्रेस पार्टी र सन् १९८० मा भारतीय जनता पार्टी गठन भएका छन् । ती मुलुकहरूमा अहिले पनि तिनीहरू नै सत्तामा छन् । नयाँ दल, पुरानो दल, बुढो पार्टी, बुढा नेता, पुस्तान्तरण जस्ता फन्टुस तर्क गरिएको देखिन्न । नेपालमा चाहिँ लोकतान्त्रिक गणतान्त्रिक प्रणाली, संसदीय व्यवस्था र संविधान नबुझ्ने ‘जोकर’हरूले नयाँ दल, पुराना दल, सरकार अस्थिर भयो भन्ने जस्ता फन्टुस नारा उरालेर जनतालाई भ्रम छर्दै सत्तामा आएका छन् ।

भूराजनीतिक उदाहरण

संविधानको धारा ७६ (२) अनुसारको मिलीजुली सरकारका कारण लोकतन्त्र र सत्ता कमजोर भयो भनियो । दुई वा दुई भन्दा बढी दलको सत्ता हुँदैमा लोकतन्त्र अस्थिर भएको हुने होइन । संसदीय प्रजातन्त्रको जननी मुुलुक बेलायतमा सन् २०१६ देखि हालसम्म हेर्ने हो भने टेरेजा मे (२०१६–२०१९), बोरिस जोन्सन (२०१९–२०२२), लिज ट्रास (२०२२), ऋषि सुनाक (२०२२–२०२४) र सन् २०२४ पछि हालसम्म कियर स्टारमर प्रधानमन्त्री रहेका देखिन्छन् । यसको अर्थ बेलायतको संसदीय लोकतन्त्र अस्थिर भयो भन्ने होइन । संसदमा एउटै दलको प्रस्ट बहुमत नहुँदा वा संख्यात्मक चलखेल हुँदा सरकार ढल्ने र नयाँ बन्ने कुरा लोकतान्त्रिक चरित्र र संविधानअनुसारको कुरा हो । संविधानअनुसार सरकार परिवर्तन भयो भने राज्य प्रणाली, लोकतन्त्र र संविधान नै अस्थिर भयो भन्ने भाष्य विगतदेखि बिक्री गरिए । भारतमा सन् १९७५ को इन्दिरा गान्धीको सरकारपछि मोरारदी देसाइ (१९७७ देखि १९७९ सम्म) प्रधानमन्त्री रहे । चरण सिंह (१९७९–१९८०), राजीव गान्धी (१९८४–१९८९), भी.पी.सिंह (१९८९–१९९०), चन्द्रशेखर (१९९०–१९९२), पि.भी. नरसिंह राव (१९९१–१९९६), अटल बिहारी बाजपेयी (१९९६–१९९८), एच.डी. देवेगौडा (१९९८–१९९७), आई.के. गुजराल (१९९८–१९९९) प्रधानमन्त्री रहे । त्यसअघि भारतीय काङ्ग्रेसको अर्थमन्त्री रहेका डा. मनमोहन सिंह सन् २००४ देखि सन् २०१४ सम्म दुई कार्यकाल पूरा प्रधानमन्त्री भएको देखिन्छ । सन् २०१४ पछि भने लगातार तीन कार्यकाल भारतीय जनता पार्टी (बिजेपी) बाट नरेन्द्र मोदी प्रधानमन्त्री रहेका छन् । अर्थात् ती देशको संसदीय लोकतन्त्र कमजोर र अस्थिर भएको भन्ने नभएपनि नेपालमा शासन अस्थीर भएको भाष्य स्थापित गरियो । नेपालमा फन्टुस, आपराधिक सोच भएका र ननपोलिटिकल हुर्दुङ्गाहरूले राजनीतिमा पुराना दल र युवाको शासन जस्ता पत्रु तर्कबाट नागरिकलाई भ्रमित पारेर निर्वाचन जितेका छन् ।

युवाको भ्रम !

शासन सत्तामा युवाको सहभागिता आवश्यक भए पनि ‘युवा मात्र चाहिने’ होइन । राजनीति नगरेका, राजनीति नबुजेका, सोच, ‘भिजन, मिसन र कन्ट्रक्टिभ एक्सन’ कुनै पनि नभएका ‘फन्टुसेहरू संसदमा आउने देखिएका कारण’ संसद् कस्तो बन्ने भन्ने कुराले सचेत नागरिक गम्भीर हुँदै गर्दा संसद ‘दिल्लगी र टिकटक बनाउने थलो’मा परिणत हुने भयो । सत्ता सञ्चालकहरूको उमेरको चर्चा गर्दा पनि विश्वका विकसित र सम्पन्न भएका ती देशहरूमा उमेरलाई ‘मेजर फ्याक्टर’ मानिएको देखिन्न । विश्वको दोस्रो सम्पन्न देश चीनमा चिनियाँ राष्ट्रपति ७२ वर्ष, रुसका राष्ट्रपति ७३, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७५ र विश्वको सर्वाधिक धनी तथा शक्तिशाली मुलुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ७९ वर्षका छन् । केवल सत्ता सञ्चालकको उमेरको कारण मात्र राज्य सञ्चालन सफल हुने होइन । नेपालमा त्यही कुरालाई ‘अस्त्र’ बनाइयो ।

इरान हुने खतरा

रास्वपाको चमत्कारिक जीतले नेपाल ‘इरान हुने बाटोमा’ गयो भन्दा अत्युक्ति नहोला । मुुलुक युक्रेन, भेनेजुएला, यमन र नाइजेरिया जस्तो हालतमा पुग्ने चिन्ता बढ्यो । युक्रेनी राष्ट्रपति ४८ वर्षका युवा हुन् । तर राज्य सञ्चालन, भूराजनीति, कूटनीति र शासकीय कुशलताको अभावको कारण सन् २०२२ फेब्रुअरी २४ देखि रुसी आक्रमण र पश्चिमा क्रिडास्थल बन्दा मुलुक नै ध्वस्त तथा बर्बाद भइसकेको देखिन्छ । पाकिस्तानमा सन् २०१८ मा आफूलाई नयाँ र सुशासनको सम्वाहक भनी उदाएर क्रिकेटर इमरान खान २०२० मै पतन भए । अहिले उनमाथि १ सय ६८ वटा विभिन्न मुद्दा लागेको छ । उनी जेलमा छन् । भीड उचाल्नु, भीडको बलमा सत्तामा पुग्नु र नागरिक अपेक्षा अनुकूल सत्ता सञ्चालन गर्नुमा धेरै फरक हुन्छ भन्ने कुरा पाकिस्तानी क्रिकेटर खानबाट पनि पुष्टि हुन्छ ।

नेपालको संसद् र सरकारमा ‘क्रिकेटर खान र युक्रेनी जेलेनोस्कीका भ्यारेन्टस्’ आएका छन् । अब अनेक खतरा देखिनेछ । गोरखामा एमालेबाट उम्मेदवार भएका चक्रे मिलनको जतिपनि राजनीतिक चेत बालेनमा छैन । रवि लामिछानेमा दीपक मनाङेमा भएको जति पनि सामाजिक र सार्वजनिक नैतिकता रहेन । रास्वपा नामको दल चारमुखे समूहको रूपमा देखिन्छ । नाममा ‘रास्वपा’ छ । राजनीतिक दल आफ्नै विधानबाट चल्ने भएकाले दल ‘स्वतन्त्र’ भन्ने हुँदैन । तर त्यसमा स्वतन्त्र भन्दै उसले जनता ठग्यो । सोचमा राचोपा (राष्ट्रिय चोर पार्टी) देखिन्छ । व्यवहारमा राठपा (राष्ट्रिय ठग पार्टी) देखिन्छ । फेसबुकमा राजोपा (राष्ट्रिय जोकर पार्टी) देखिन्छ ।

सन् २००८ को बम्बइ आतङ्की हमलापछि अन्डरग्राउड डन छोटा राजन र दाउद इब्राहिमले राजधानी दिल्लीमा भीषण हमलाको गोप्य योजना बनाएजस्तो रवि-बालेनको निर्वाचनअघिको मिलनले मुलुक र जनतालाई धोका मात्र दिने प्रस्टै छ । तिनमा शक्ति संघर्ष हुने संकेत उनीहरूका केही नेतासँग भएको कुराकानीबाट मिलेको छ । रवि, बालेन ‘अफ्रिकन वाइल्ड डग’ र हुँडार जस्ता हुन् । जो सिँहले शिकार गरेको शिकार खोस्न आए । लोकतान्त्रिक गणतन्त्र, संविधान, समावेशीकरण, संघीयता, सामाजिक न्याय, सांस्कृतिक अधिकार र नागरिक स्वतन्त्रताका कुरामा उनीहरूको पूर्ण समर्थन समेत छैन । राजावादीले दुई वटा जुलुस निकाले भने ‘गणतन्त्र विचार गर्नुपर्ने, फेर्नुपर्ने’ भन्न थाल्छन् । यस्ताहरूको संसदमा बहुमतसहित सरकारमा प्रवेशले अब मुलुक बर्बाद हुने पक्का छ । अर्काेतर्फ हुलदङ्गा, हुर्दुङ्गा, अराजक, हिंस्रक भीडले बालेन र रविलाई भगवान् बनाएको छ । थप बढी बनाउने छ । बिनाशको विन्दु यहीँ छ ।