अब पुराना घाउहरू कोट्याउने समय र फुर्सद छैन – निर्वाचनी परिणामले यस्तै बताइरहेछ । विगतका सरकारहरूले झैं सुस्त र त्यो पनि गलत काम गर्ने छुट अब आउने सरकारलाई कदाचित छैन । यदि त्यसो भयो भने यसले पनि युवाको रगतले होली खेलेकै ठहर्ने छ ।
✍ राजेश ढुंगाना
जेन-जी क्रान्तिको जगमा उभिएर भएको विशेष आम निर्वाचन सफलतापूर्वक सम्पन्न भएर परिणाम समेत आइरहेको छ । निर्वाचन नहुन पनि सक्ने आशंकाको बीचमै भएको यो निर्वाचनका लागि सुशीला कार्की नेतृत्वको सरकारलाई बधाई र धन्यवाद दिनै पर्छ ।
परिणामको रुझान हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग दुई तिहाइ बहुमत ल्याउने पक्का छ । यो भनेको २०१५ सालको प्रथम महानिर्वाचनमा विश्वेश्वर प्रसाद कोइरालाको सरकारलाई प्राप्त भएजस्तै प्रकाण्ड बहुमत हो । यस अर्थमा राष्ट्रिय स्वतन्त्र पार्टीले सुनौलो इतिहास रचेको छ ।
केवल ३ वर्ष ८ महिना अघि स्थापना भएको यो दलले आधा शताब्दी पुराना दलहरूलाई पछार्दै यो प्रचण्ड बहुमत ल्याउनमा जेन-जी क्रान्तिको स्वामित्व उसले ग्रहण गर्नु नै हो । र, जेन-जीहरूले उसलाई पत्याउनु पनि ।
निर्वाचनका सन्दर्भमा जहाँ जसले जे भने र गरे पनि परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताले सर्लक्कै मनबाट स्वीकारेका छन् – यसपटकका लागि । यो जनादेशपछि पनि उसलाई र उसको नेतृत्वलाई लगाइएका आरोपहरू जारी राख्नु जनमतको सख्त खिलाफ हुने छ । विशेषगरी एमाले र केपी ओलीले रास्वपाका नेताहरूलाई ‘लुसिफर’, ‘नशेबाज’ र ‘सहकारी ठग’ भनी लगाएको आरोपलाई लत्याएर गलत सिद्ध गरिदिएका छन् – नेपाली जनताले ।
खैर… निर्वाचन अघि पुराना दलहरूले गरेको दम्भपूर्ण हर्कतलाई जनताले ठाडै लत्याइदिएपछि अब त्यसको चर्चामा अल्झिरहनु बेकार छ । आरोपको खेती गर्नेहरूलाई जनताले नै मतका माध्यमबाट चरम सजाय दिइसकेका छन् ।
जनता महान् हुन् र छन् । पुराना दलहरूले सत्तामा बसेर विगत ३५ वर्षदेखि चलाएको लूटको गोरखधन्धा अति भइसकेको थियो । निर्लज्ज र नाङ्गो रुपमा अनियमितता, भ्रष्टाचार, कमिशनखोरी र राष्ट्रदोहनमा मात्र उनीहरूको अर्जुन-दृष्टि रह्यो । जनता केही होइनन्, हामी जनताका सेवक होइनौं; बरू मालिक हौं भन्ने मान्यता र अहंकारले ग्रसित भएर पुराना दलहरूले राष्ट्र र जनता विरुद्ध गरेका अपराध सम्झिनु पनि कहाली लाग्छ !
भ्रष्टाचारको अन्त्य र सुशासन मागेर प्रदर्शनमा उत्रिएका निहत्था किशोर-किशोरी र युवा-युवतीहरूमाथि केपी ओली सरकारले जसरी बर्बरतापूर्वक दमन गरेर ७६ जनाको ज्यान लियो, त्यो हृदयविदारक घटना नेपाली जनताको मनमा कहिल्यै नमेटिनेगरी अङ्कित भएको छ । त्यसपछि भएको उत्ताल विद्रोहमा तत्कालीन प्रधानमन्त्री ओली सरकारी आवासबाट सेनाको सुरक्षामा भाग्नु पऱ्यो । जनआक्रोश यति तीव्र थियो कि, आन्दोलनकारी युवाहरूले उनलाई सशरीर भेटेको भए शायदै जिउँदो छाड्ने थिए होलान् ।
भकाभक सही र गर्नैपर्ने निर्णय गर्न थाले जनताले मत दिएर गरेको सहयोग झैं प्रत्यक्ष सहयोग पनि गर्नेछन् । जनताको अघिल्तिर कसैको केही लाग्दैन, पुरातन शक्तिहरू क्रमशः समाप्त हुँदै जानेछन् र नेपालको सुनौलो भविष्यको यात्रा प्रारम्भ हुनेछ – बस्… यत्ति हो- रास्वपासँग जनताले मागेको र खोजेको कुरा ।
त्यत्रो कत्लेआम गरेर पनि ओलीको दम्भ र हुँकारलाई सत्ताको आन्द्रा गाँसिएको कांग्रेसले सक्रिय समर्थन गरिरह्यो ! सेनाले ओलीलाई राजीनामा गर्न नलगाएर उनको आदेश मानेको भए ठूलो क्षति हुने थियो । सेनाले ‘नेताका घर जल्नबाट जोगाएर हामी जनता मार्न सक्दैनौं’ नभनी खुरुखुरु आदेश पालना गरिदिएको भए हजारौं जनता अनाहकमा मारिने थिए । यस अर्थमा नेपाली सेना समेत किन महान् छ भने ऊ जनताको पक्षमा उभियो ।
अब शायद पुराना घाउहरू कोट्याउने समय र फुर्सद छैन – निर्वाचनी परिणामले यस्तै बताइरहेछ । विगतका सरकारहरूले झैं सुस्त र त्यो पनि गलत काम गर्ने छुट अब आउने सरकारलाई कदाचित छैन । यदि त्यसो भयो भने यसले पनि युवाको रगतले होली खेलेकै ठहर्ने छ ।
लामो दूरीको काम गर्न समय लागे पनि कम्तीमा सय दिनको कार्ययोजना बनाएर रास्वपाको अब बन्ने जेन-जी सरकारले एउटा स्पष्ट खाका जुन सार्वजनिक भएको छ, त्यसमा अडिग र तद्नुरुप काममा दत्तचित्त हुनैपर्ने छ ।
यसमा भदौको जेन-जी क्रान्तिमा दमन गर्नेलाई सजाय र २०४७ साल यता सत्तामा बस्नेहरूको सम्पत्ति छानबीन गरी जेल हाल्ने काम निडर र निर्ममतापूर्वक गर्नु पहिलो काम हुने छ । यो रास्वपा.ले जनतासँग गरेको वाचा र जनताले त्यो वाचालाई सदर गरेको स्थिति हो ।
त्यति गरेपछि शासकीय सुधारतर्फका कदम चाल्नु उसको अर्को प्राथमिकता हुनुपर्ने छ । हो, पुराना दलहरू र उसले वर्षौंदेखि बनाएको प्रशासनिक संरचना पक्कै पनि त्यसका लागि बाधक हुने पक्का छ । र, अब गरिने कुनै पनि सुधारलाई अनेक बहानामा छेकबार लाएर आफू अनुकूल बनाउने उनीहरूको भरमग्दुर प्रयत्न हुनेछ । तर, रास्वपालाई त्यसमा अल्मलिइरहने वा अल्झिइरहने छुट छैन । भकाभक सही र गर्नैपर्ने निर्णय गर्न थाले जनताले मत दिएर गरेको सहयोग झैं प्रत्यक्ष सहयोग पनि गर्नेछन् । जनताको अघिल्तिर कसैको केही लाग्दैन, पुरातन शक्तिहरू क्रमशः समाप्त हुँदै जानेछन् र नेपालको सुनौलो भविष्यको यात्रा प्रारम्भ हुनेछ – बस्… यत्ति हो- रास्वपासँग जनताले मागेको र खोजेको कुरा । जुन कुरा गर्न कठिन अवश्य छ, तर असम्भव भने पक्कै छैन ।
प्रतिक्रिया