‘भ्रष्टाचार, ‘सदाचार’ र ‘गणतन्त्र’का केही प्रसङ्ग

‘भ्रष्टाचार, ‘सदाचार’ र ‘गणतन्त्र’का केही प्रसङ्ग


– बद्रीनरसिंह केसी
मेलम्ची खानेपानी आयोजनाको प्रवेशमार्ग निर्माणका ठेकेदार जिपछिरिङ शेर्पासहितको मिलिभगतमा ६० करोडको भ्रष्टाचार भएको कारणले काङ्ग्रेसका वरिष्ठ नेता थुनामा मात्र परेनन्, अब बच्ने ठाउँ रहेन भन्ने ठहरका साथ तत्कालीन सचिव दिनेशचन्द्र प्याकुरेलले एक बिहान आफ्नै निवासमा आत्महत्या गरे । आज उनै जिपछिरिङ जातीय सङ्घीयताको विवाद बोकेर नेपाली काङ्ग्रेस छोड्ने मनस्थितिमा पुगेका छन् ।
बरु एक–दुई अर्ब रकम जाओस् तर नेपाली सेना र राजा ज्ञानेन्द्रलाई तर्साउनका लागि शिविरमा राखिने माओवादी लडाकुहरू वास्तविकताभन्दा अलि बढी देखाउन गिरिजाप्रसाद कोइरालाले भनेअनुरूप माओवादी अध्यक्ष पुष्पकमल दाहालले मौकाको नाजायज फाइदा उठाए । ‘अनमिन’को अभयदान लिएर उनले पाँच वर्षसम्म तीन हजार नक्कली लडाकुका नाममा पौने दुई अर्ब रुपैयाँको ठगी गरेको संसदीय समितिमा प्रमाणित हुन आएपछि अध्यक्ष दाहालले संविधानसभाको व्यवस्थापिका–संसद्को रूप पनि नरहने गरी उखेलेर मिल्काउने गरी माओवादीबाट एकल पार्टी निर्णय गराइदिए । यी केही भ्रष्टाचारका प्रतिनिधि बान्की हुन्, जसले मुलुकको राजनीति, प्रशासन, अर्थतन्त्र, सामाजिक प्रणाली र ‘गणतन्त्र’का नेताहरूको नियत र आदतमा कसरी कीरा पारिरहेको छ भनी प्रतिविम्बित गर्छ । त्यसैले भ्रष्टले नै ‘भ्रष्टाचारीलाई कीरा परोस्’ भनेर टिसर्ट लगाउँदा भ्रष्टाचार कसरी भागोस् !
‘गरिब मुलुकमा हुने भ्रष्टाचार गरिबको घरमा चोरी भएजस्तै हो’ भनेका थिए १९८४ मा नोबेल शान्ति पुरस्कार पाएका कोस्टारिकाका राजनेता ओस्कार अरिया सान्केजले । हो, यस्तै भएको छ नेपालमा । आज जो सदाचारी र इमानदार देखिएका छन्, तिनीहरूमध्ये धेरैजसो बेइमान हुने मौका नपाएर इमानदार देखिएका हुन् । उनीहरू सबैलाई चोखा मानिँदै छ भने औँलामा गन्न सकिने नेताहरूमाथि भ्रष्टाचारको अवगाल लागेको छ, मानौँ आजसम्मका भ्रष्ट यतिमात्र हुन् ।
चाहे शेरबहादुर देउवाको गिरफ्तारी होस् वा खुमबहादुर खड्का आदि माथिको अभियोग होस्, मुलुकमा सुशासन स्थापना गर्ने नियतले भन्दा शासनको प्रतिशोध र फसाउने षड्यन्त्र भ्रष्टाचारको निहुँमा प्रतिशोध र चरित्रहत्याको नियत हावी भइरहेको छ । ०५९ असोज १ गते तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व समूहका २२ अधिकारीको घरमा छापा मार्‍यो भने अन्य केही काङ्ग्रेसका नेताहरूलाई छानीछानी पक्राउ कारबाही बढायो । झट्ट हेर्दा यो सुशासनका दिशामा ठूलै कदम लाग्दथ्यो, तर गहिरिएर हेर्नेले बुझेका थिए, यसलाई अख्तियारका तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले काङ्ग्रेसलाई भित्रैबाट सिध्याउने उपयुक्त प्रहार बनाए ।
पोहोर जेठ १७ गते एमालेको बैठकमा त्यसका नेता सुरेन्द्र पाण्डेले एमालेका मूर्धन्य नेता केपी ओलीमाथि ११ वटा सङ्गीन आरोप लगाएका थिए– गुण्डा संस्कृतिलाई बढावा दिएको, अपराधीलाई संरक्षण दिएको, ठेक्कापट्टा कब्जा गरेको, भन्सार नाकाबाट तस्करी गराउने गरेको, अपहरणकारीलगायत अपराधीहरूसँग मिलेर आर्थिक भागबण्डा गरेको, अदृश्य ढङ्गले स्रोत सङ्कलन गरी पार्टी हितविरुद्ध दुरुपयोग गरेको, मदन भण्डारी फाउन्डेसन, मदन भण्डारी स्पोर्टस् र अन्य विभिन्न समानान्तर गतिविधि, गुटगत भेलाहरू गरेको, अदृश्य स्थानबाट आर्थिक स्रोत प्राप्त गरी पार्टीविरूद्ध गुटबन्दीका लागि प्रयोग गरेको इत्यादि थिए ।
०६७ असार १ देखि ११ गतेसम्म र पोहोर जेठको अन्त्यतिर भएको माओवादी केन्द्रीय समितिको बैठकमा वैद्य पक्षले अध्यक्ष पुष्पकमल दाहालमाथि भ्रष्टाचार वा आर्थिक अपराधसम्बन्धी यस्तै गम्भीर आरोपहरू लगाएका थिए– माथिल्लो कर्णाली र अरुण तेस्रोलगायतका निर्यातमुखी जलविद्युत् परियोजनामा भारतीय कम्पनीहरूको लगानीमा जोड दिएको, पार्टीको अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धलाई निषेध गरेको र वर्ग दुश्मन– विशेषगरी भारतीय विस्तारवादी खुफिया एजेन्सीसँगको सम्बन्धमा जोड दिएको, आर्थिक आचरणमा भ्रष्टीकरणतर्फ उन्मुख देखिएको, पद, पैसा र प्रतिष्ठाका लागि नैतिक–अनैतिक जे पनि गर्ने प्रवृत्ति देखिएको, आर्थिक हरहिसाब र आयव्यय कमिटी प्रणालीविहीन बनाएको र पूरै व्यक्तिवादी ढङ्गले पार्टीको स्रोत–साधनको दुरुपयोग गरेको, निजी सम्पत्तिप्रति मोह, परिवारकेन्द्रित चिन्ता, गुटवादी शैली र विलासीपूर्ण जीवनशैली बढ्दै गएको इत्यादि ।
तर नेपाली काङ्ग्रेसभित्र गिरिजाप्रसाद कोइरालालाई बाहेक पार्टीका कुनै कार्यकर्ताले पनि यस्ता गम्भीर आरोप लगाएको सुनिँदैन । खुमबहादुर खड्काको सन्दर्भमा त पार्टीभित्र र पार्टीबाहिर कार्यकर्ताले उनको सराहना नै गरेको सुनिन्छ । पार्टीको बाह्रौँ महाधिवेशनमा उनले निर्वाचित सदस्यमध्ये १७९१ मत पाएर लोकप्रियताको तेस्रो स्थान लिनु नै देश–विदेशमा छरिएका कार्यकर्ताहरूमा उनीप्रतिको समर्थनभावको द्योतक हो ।
खुमबहादुर खड्काको राजनीतिक स्वभाव र पृष्ठभूमि बुझेका सबैले उनलाई पार्टीको महŒवपूर्ण खम्बा मान्छन् । पार्टी विभाजित भएपछि काङ्ग्रेस (प्रजातान्त्रिक)तिर लागेका खुमबहादुरलाई आफूतिर फर्काउने उद्देश्यले सार्वजनिक वक्तव्य नै जारी गरेका गिरिजाप्रसादले खुमबहादुरसँगको भेटवार्तामा भनेको यो कुरा स्मरणीय छ, ‘…अरू (काङ्ग्रेस नेताहरू) फर्किऊन् कि नफर्किऊन्, मलाई खासै चासो छैन, तर तपाईंमात्र फर्किए मलाई पुग्छ, तपाईं आउनुभो भने म धेरै काम गर्नसक्छु, त्यही भएर मैले यो वक्तव्य निकालेको हुँ ।’ काङ्ग्रेस कार्यकर्ता भनेपछि जुनसुकै पक्षको भए पनि पक्षपात नगरी समान स्नेह र सहयोग गर्नसक्ने, काङ्ग्रेसभन्दा बाहिरका राजनीतिक शिविरमा पनि आफ्नो पहुँच र प्रभाव त्यति नै बनाइरहने हेलमेलको राजनीतिले खुमबहादुर एउटा व्यक्तिमात्र नभएर शक्तिका रूपमा चिनाएको हो । यो शक्ति ढाल्नु नै काङ्ग्रेसलाई धराशयी बनाउने रणनीतिक उपायको एउटा कडी मानेर नै होला षड्यन्त्रकारीहरूले खुमबहादुरको तेजोबध गरेर काङ्ग्रेस कमजोर बनाउने उपाय देखेका हुनन् ।
०३३ सालमा जननायक बीपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी आदि काङ्ग्रेस नेताहरू राष्ट्रिय मेलमिलाप नीति लिएर पटनाबाट काठमाडौं आउने समूहको चयन गर्दा बीपीले खुमबहादुरलाई पनि सोही टिममा राख्नुभएको थियो । आफ्नो राजनीतिको प्रेरणापुरुष नै बीपी भएको बताउने खुमबहादुर जेसुकै अभियोग लागे पनि अबको माथिल्लो नेतृत्वका रूपमा देखेका छन् कार्यकर्ताहरूले, र भन्छन् भ्रष्टाचारका अभियोग आफ्नो जमानामा कसलाई लागेन, इन्दिरा गान्धी, चाउएनलाईजस्ता राजनेताहरूलाई पनि सिध्याउने षड्यन्त्र रचेर भ्रष्टाचारको अभियोग अस्त्र लगाइएको थियो । जनसमर्थन पाएको नेताले यस्ता सबै अभियोग चिरेर अगाडि बढ्ने चुनौती सदैव रहिरहेको हुन्छ ।
नेपाली काङ्ग्रेसले लोकतान्त्रिक आन्दोलनको नेतृत्वकारी भूमिका निर्वाह गर्नुपर्ने वर्तमान संवेदनशील घडीमा खुमबहादुर खड्काजस्ता नेताहरूलाई भूमिकाविहीन बनाएर थन्क्याइएको छ, तर कृष्ण सिटौलाजस्ता गुप्त एजेण्डा बोकेका संदिग्ध व्यक्तिको हालीमुहाली चल्न छुट दिइरहेको छ । यो तीतो यथार्थका साथ कतै त्यस पार्टीले प्रजापरिषद्को नियति निम्त्याइरहेको छैन भन्ने प्रश्न पनि उठ्न पुगेको छ । संदीग्ध व्यक्तिको चङ्गुलमा परेका पार्टी सभापति सुशील कोइरालाले फेरि अर्को लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्नुअघि आफ्नै वरिपरिका संदिग्ध घेराविरुद्ध नै पहिलो सङ्घर्ष गर्नु आवश्यक छ ।
[email protected]