युद्ध अन्त्य दाबीप्रति इरानको शङ्का

युद्ध अन्त्य दाबीप्रति इरानको शङ्का


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व ‘चाँडै समाप्त हुने’ दाबी गरे पनि तेहरानले भने लडाइँ आवश्यक परेसम्म जारी रहने सङ्केत दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले मङ्गलबार यस्तो दाबीप्रति शङ्का व्यक्त गर्दै आफ्नो देश मिसाइल आक्रमण जारी राख्न तयार रहेको बताए ।

तेहरानले अमेरिका-सहयोगी खाडी राष्ट्रहरूलाई लक्षित गरी नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि ट्रम्पले द्वन्द्व छिट्टै अन्त्यतिर जाने दाबी गर्नुभएको थियो । तर अराघचीले एक अन्तर्वार्तामा पिबिएस न्युजलाई ‘गोलीबारी जारी छ र हामी तयार छौँ, आवश्यक परेसम्म हामी हाम्रो मिसाइल प्रयोग गर्दै आक्रमण जारी राख्नेछौँ’ भन्दै सङ्घर्ष लम्बिन सक्ने सङ्केत दिए ।

इरानको रिभोलुसनरी गार्ड्सले पनि ट्रम्पको टिप्पणीको जवाफ दिँदै युद्धको अन्त्य कसरी हुने भन्ने निर्णय आफूहरूले गर्ने चेतावनी दिएको छ । अराघचीले वासिङ्टनसँग वार्ता गर्ने सम्भावनालाई पनि अस्वीकार गरे । उनका अनुसार अमेरिकासँग कुरा गर्ने अनुभव ‘अत्यन्त कटु’ भएको छ र अघिल्ला वार्ताका क्रममा भएको अमेरिकी आक्रमणले तेहरानलाई थप अविश्वासी बनाएको छ ।

उता ट्रम्पले सोमबार फ्लोरिडामा पत्रकार सम्मेलन गर्दै अभियान छोटो अवधिको हुने दाबी गरेका थिए । ‘यो चाँडै समाप्त हुनेछ र यदि फेरि सुरु भयो भने उनीहरू अझ बढी प्रभावित हुनेछन्’ भन्दै तेहरानले तेल आपूर्ति अवरुद्ध गरेमा ‘अकल्पनीय आकारको आक्रमण’ गर्ने चेतावनी पनि दिए ।

ट्रम्पको यस्तो टिप्पणीले विश्व बजारमा केही राहत ल्याएको देखिएको छ । अघिल्लो दिन बढेको तेलको मूल्य घटेर करिब पाँच प्रतिशतले झरेको छ भने टोकियो र सियोलका सेयर बजार पनि मजबुत रूपमा खुलेका छन् । एक दिनअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको थियो ।

यद्यपि द्वन्द्वको प्रभाव भने अझै व्यापक छ । मङ्गलबार बिहान इरानी आक्रमणले पुनः खाडी राष्ट्रहरूलाई लक्षित गरेको बताइएको छ । संयुक्त अरब इमिरेट्सले इरानबाट आएको मिसाइल र ड्रोन आक्रमणको जवाफ दिइरहेको जनाएको छ भने बहराइनमा साइरन बजाएर नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको थियो । साउदी अरब र कुवेतले पनि केही ड्रोन रोकेर नष्ट गरेको बताएका छन् ।

इरानभित्र पनि आक्रमण जारी रहेको रिपोर्ट आएको छ । स्थानीय सञ्चारमाध्यमले राजधानी तेहरान र खोमेइन क्षेत्रमा ताजा प्रहार भएको बताएका छन् । इजरायलले भने इरानबाट भएको मिसाइल प्रहारपछि इरानी मिसाइल प्रक्षेपण स्थलहरूमा आक्रमण गरेको जनाएको छ ।

चलिरहेको युद्धले विश्व अर्थतन्त्रमा पनि असर पारेको छ । इन्धन आपूर्ति अवरुद्ध हुने आशङ्का बढेको छ र मुद्रास्फीति बढ्ने चिन्ता देखिएको छ । मूल्य घटाउने प्रयासस्वरूप ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तापछि तेलसम्बन्धी केही प्रतिबन्धहरू हटाउने घोषणा गरेका छन् ।

यसैबीच इरानले होर्मुज जलडमरूमध्य हुँदै यात्रा गर्ने जहाजहरूलाई पनि लक्षित गरिरहेको छ । यो जलडमरूमध्यबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल पारगमन हुन्छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने आफ्नो देश र सहयोगी राष्ट्रहरूले द्वन्द्वको कठिन चरण समाप्त भएपछि जहाजहरूलाई सुरक्षित रूपमा आवतजावत गराउन जलडमरूमध्य पुनः खोल्ने ‘रक्षात्मक’ अभियानमा काम गरिरहेको बताएका छन् ।

उता इरानको नेतृत्वमा पनि परिवर्तन आएको छ । अमेरिका-इजरायलको हमलामा अयातुल्ला अली खामेनी मारिएपछि उनका छोरा मोजताबा खामेनी नयाँ सर्वोच्च नेताका रूपमा अघि आएका छन् । ट्रम्पले उनलाई ‘हलुका’ नेता भन्दै इरानको नेतृत्व चयन प्रक्रियामा आफूले प्रभाव राख्नुपर्ने सङ्केत दिए ।

यो नियुक्तिलाई इरानभित्र मिश्रित प्रतिक्रिया मिलेको छ । केहीले स्वागत गरे पनि राज्य सञ्चारमाध्यमले मध्य तेहरानमा हजारौँ मानिसले नयाँ नेताको समर्थनमा प्रदर्शन गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

द्वन्द्वले इरानबाहिर पनि प्रभाव पारेको छ । लेबनानमा इजरायलले मङ्गलबार नयाँ आक्रमण गरेको छ । लेबनानी अधिकारीहरूका अनुसार मार्च २ देखि इजरायली आक्रमणमा कम्तीमा ४८६ जनाको मृत्यु भएको छ भने एक हजार ३१३ भन्दा बढी घाइते भएका छन् ।

इरानसमर्थित हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि युद्धमा तानिएको हो । लेबनानका राष्ट्रपति जोसेफ आउनले हेजबुल्लाहले देशलाई ‘ध्वस्त पार्ने’ काम गरिरहेको आरोप लगाए । तर समूहका संसदीय नेताले प्रतिरोध बाहेक अरू विकल्प नभएको बताएका छन् ।

सिरियाले पनि हिजबुल्लाहको आलोचना गर्दै लेबनानबाट आफ्नो भूभागमा भएको तोप प्रहारको निन्दा गरेको छ र कुनै पनि आक्रमण सहन नसकिने चेतावनी दिएको छ ।

सरकारी तथ्याङ्कअनुसार इजरायली आक्रमण र स्थल कारबाहीका कारण लाखौँ लेबनानी विस्थापित भएका छन् । करिब छ लाख ६० हजारभन्दा बढी मानिस विस्थापितका रूपमा दर्ता भएका छन् ।=