कसैका लागि पनि सजिला छैनन् अबका दिन, तर गर्ने के !?

कसैका लागि पनि सजिला छैनन् अबका दिन, तर गर्ने के !?


इरानले निःशर्त आत्मसमर्पण नगर्दासम्म युद्ध रोकिन्न भन्ने ट्रम्पको एउटा बोलीले तेलको मूल्य ११५ डलर पुग्यो !

यसको सङ्केत यो युद्ध निकै लामो र अनिर्णायक हुने भन्ने थियो । जमिनमा पाइलै नटेकी आकाशबाट मात्रै ठूलो सङ्ख्याको इरानी सेनालाई आत्मसमर्पण गराउनु असम्भवजस्तै हुने धेरैको बुझाइ छ । विश्व अर्थतन्त्र नै डामाडोल हुने देखियो ! शेयर बजार रातो भयो, अनियन्त्रित मूल्यवृद्धिको डरले धेरै देशको निद्रा उड्यो !

हिजो डोनाल्ड ट्रम्पले यो ठूलो युद्ध नभएर छोटो सैन्य कारवाहीमात्रै भएको र सकिनै लागेको वक्तव्य दिएपछि ११५ बाट तेलको मूल्य एक्कासि घटेर ८० डलरमा आइपुग्यो ! शेयरबजार हरियो भयो ! तेलको मूल्य नियन्त्रण गर्न आफूसँग ठोस प्लान भएको ट्रम्पले बताएपछि मूल्य घटेको थियो ।

आज (मंगलबार) फेरि इरानले यो युद्ध अमेरिकाले होइन आफूले चाहेर मात्रै रोकिने वक्तव्य दियो । लामो समय युद्धका लागि तैयार रहेको र युद्ध जारी रहुन्जेल पर्सियन गल्फबाट एक थोपा तेल पनि पास हुन नदिने बताएपछि तेलको मूल्य फेरि उकालो लाग्दै छ ।

कोभिडपछि सुरु भएको आर्थिक मन्दीले सिङ्गो विश्व आक्रान्त थियो । युक्रेन युद्धले थपेको मूल्यवृद्धिले थला पऱ्यो । उपभोग्य वस्तुदेखि ब्याजदरसम्म सबै बढेपछि ऋणमा चल्ने पश्चिमी जीवन यसै थिलोथिलो थियो, बल्लतल्ल उठ्ने बेलामा इरान युद्ध आइलाग्यो !

नेपाल पनि यो युद्धबाट अछुतो छैन । केही हप्ता यो नरोकिने हो भने तेल र ग्यासको सङ्कट भारतमा मात्रै सीमित हुँदैन, नेपालले पनि ब्यहोर्छ । ६० डलरको तेल ८०–८५ हुँदा यसै महँगी बढिसक्यो । आयात र व्यापारघाटा बढ्ने नै भयो ! मजस्ता हजारौँ नेपालीको भोट हाल्न नेपाल जाने सपना एअरपोर्टमै तुहिएनमात्रै, कति अझै अलपत्र अवस्थामा छन् । हाम्रो सोझो फ्लाइट छैन । गल्फ क्षेत्रले हामीलाई कनेक्ट गर्थ्यो, त्यो आकाश बन्द छ । अर्को कनेक्शन भारत हो ! पाकिस्तानको आकाश उसका लागि बन्द छ ! गल्फरूट बन्द भएपछि लामो रूट लिएर उड्न सक्षम प्लेन नभएको भन्दै तिनले पनि युरोपको फ्लाइट क्यान्सल गर्दै छन् !

हाम्रो वैदेशिक रोजगारी र रेमिटेन्सको मुख्य स्रोत नै गल्फ भएकाले हाम्रो अर्थतन्त्रमा यसको असर एकदम छिटो र गहिरो पर्नेछ ! आयात महँगो हुने तर हवाइसेवा बन्द भएर पर्यटक अनि रेमिटेन्स बन्द भएर डलर नआउने हो भने हाम्रो ब्यालेन्स बिग्रन सक्छ ।

सबैभन्दा सुरक्षित भनेर विश्वभरिको लगानी भित्ऱ्याइरहेको दुबई आज अर्बौं डलरको नोक्सान ब्यहोर्ने स्थितिमा छ । उसको आकाश लगभग बन्द छ । जनजीवन पनि सामान्य छैन । मुख्य कुरो, लगानीको वातावरण र कथ्य नै उसको सम्पत्ति हो, जसमा सबैभन्दा ठूलो क्षति पुग्यो । युरोप आफ्नो तेलभण्डारले कति दिन धान्छ भन्ने चिन्तामा छ । छिमेकी देश चीन र भारतलाई त यसले ठूलो टाउको दुखाइ नै छ । तेलको मूल्य बढेको र अमेरिकी साधनस्रोत गल्फतिर खर्च भएकाले रूसलाई भने यसबाट फाइदा पुगेको देखिन्छ । अर्को प्रत्यक्ष फाइदा भनेको इजरायललाई नै हो । यो उसैको युद्ध हो । अमेरिकालाई फसाउन ऊ सफल भएको हो ।

इरानको मिलिटरी बेस, नेतृत्व र टार्गेट जति पहिलो हप्तामै हानिसकेको अमेरिकाले युद्ध लामो हुँदै जाँदा हान्ने भनेको तेल भण्डार र पूर्वाधार नै होला । इरानले पनि इजरायल र गल्फमा ऊर्जाक्षेत्रलाई नै टार्गेट बनाएको छ । यसले गर्दा विश्वभर ऊर्जासङ्कट देखिने डर छ । इरानको केन्द्रीय कमान्ड निष्क्रिय जस्तै देखिन्छ । अस्तिमात्र राष्ट्रपतिले माफी माग्दै छिमेकी देशमा आक्रमण नगर्ने बताएका थिए, तर तत्कालै आक्रमण भयो ।

अमेरिकाको पनि प्रतिरक्षादेखि आक्रमणसम्म दैनिक करोडौं डलरका क्षेप्यास्त्र खर्च भइरहेछन् । लजिस्टिक खर्च उस्तै छ । अमेरिकालाई पनि यसले आच्छु आच्छु पारेको देखिन्छ । इरानलाई युद्धका लागि सबैभन्दा महत्त्वपूर्ण ‘इन्टेलिजेन्स’ रूस र चीनले उपलब्ध गराई रहेको आशङ्का छ । २० हजारको ड्रोन खसाल्न पाँच मिलियनको मिसाइल खर्च गर्न पर्ने स्थिति छ । मध्यपूर्वका सबै जसो बेसमा ठूलो क्षति पुगेको अनुमान छ । ऊर्जामा भने ऊ आत्मनिर्भर भएकाले ठूलो असर नहोला तर पूँजीवादी देश भएकाले मूल्यवृद्धिको असर त आमजनतालाई परि नै हाल्छ । देशमा युद्धविरोधी जनमत बढ्दो छ !

हवाइ हमलाबाट सत्ता परिवर्तन हुँदैन भन्दै साथ नदिएको बेलायतले ठूलो हप्की बेहोऱ्यो । स्पेनसँग त कट्टी भन्दै ट्रम्पले रिस नै पोखेको सुनियो । कडा विरोध गर्न नसके पनि कुनै पनि देश यो युद्धको समर्थनमा देखिन्नन् !

अन्ततः इरानी नागरिकले ध्वस्त देशसँगै झन् कट्टर र निरङ्कुश सत्ता पाउने पो हुन् कि भन्ने आशङ्का छ । उद्देश्य नै एटम बम भयो भने भोकै सुतेर पनि बनाइ छोड्छन् । अझ यो आक्रमणले तिनलाई अर्को बहाना र कारण दिनेछ ।

पाकिस्तान र अफगानिस्तान लड्दै छन् । अफ्रिकामा लाखौं मान्छे मारिने युद्ध जारी छ । युक्रेनमाथि दिनहुँ मिसाइल खस्दै छन् । गल्फ क्षेत्र धुवाँ धुवाँ छ । अबका दिन कसैका लागि पनि सजिला छन् जस्तो लाग्दैन ! तर गर्ने पो के हो !

(गाउँलेको फेसबुक वालबाट)