विगतमा युवाहरूमाझ लोकप्रिय देखिएका बालेनप्रति यो निर्वाचन अभियानका क्रममा वृद्धवृद्धाहरूले बढी भरोसा राखेको देखियो । उनी जहाँ-जहाँ गए आमाहरूले लामो समयदेखि बिछोडिएको आफ्नो सन्तान घर फर्किए झैँ गरि अश्रुमिश्रित अंकमाल गरे, गाला सुम्सुम्याए । आमाहरूले महसूस गरेको त्यो आफ्नोपन र दिएको आशीर्वाद चुनावी अभियानमा कहिल्यै नदेखिएका दृष्य थिए ।
✍ बबिता बस्नेत
वि.सं. २०७९ को बैशाखमा सम्पन्न स्थानीय निर्वाचनअघिसम्म आफ्नै सर्कलमा मात्रै परिचित नाम ‘बालेन शाह’ वि.सं. २०८२ सालको फाल्गुणसम्म आइपुग्दा विश्वचर्चित नाम बन्न पुगेको छ । विश्वका ठुला मिडियादेखि गाउँ-गाउँका सोसियल मिडिया प्रयोगकर्तासम्म ‘बालेन’ एक छत्र छाएको नाम बन्न पुगेको छ । जेन्जी आन्दोलनपछिको विशेष निर्वाचनका क्रममा बालेन जहाँ-जहाँ गए त्यहाँ-त्यहाँ मानिसहरूको थामिनसक्नु भीड जम्मा भयो । उनलाई एकपल्ट भेट्न, देख्न, छुन टाढा-टाढादेखि मानिसहरू जम्मा भए । विगतमा युवाहरूमाझ लोकप्रिय देखिएका बालेनप्रति यो निर्वाचन अभियानका क्रममा वृद्धवृद्धाहरूले बढी भरोसा राखेको देखियो । उनी जहाँ-जहाँ गए आमाहरूले लामो समयदेखि बिछोडिएको आफ्नो सन्तान घर फर्किए झैँ गरि अश्रुमिश्रित अंकमाल गरे, गाला सुम्सुम्याए । आमाहरूले महसूस गरेको त्यो आफ्नोपन र दिएको आशीर्वाद चुनावी अभियानमा कहिल्यै नदेखिएका दृष्य थिए । हाम्रो संस्कृतिमा आमाहरूले छोराहरूलाई भेट्दा अँगालो मार्ने चलन खासै छैन । विभिन्न जात-जाति, भाषा-भाषी, उमेर, समुदाय सबैले नै बालेनप्रति आशा र भरोसा गरेको देखियो ।
काठमाडौं महानगरमा मेयरको रूपमा निर्वाचन लड्दैगर्दा अन्तिम-अन्तिम समयमा बालेनको नाम आश्चर्यजनकरूपमा चर्चामा आएको थियो । त्यतिबेला बाहिर निस्कियो बालेनको चर्चा, घर गयो उनकै बारेमा कुराकानी, साथीभाइ भेट्यो यही नाम, मिडियामा उनकै बारेमा जानकारी र विश्लेषण । सार्वजनिक यातायात, सपिङ मल, चोक, गल्ली, सडक, कौशी, रेष्टुरेन्ट सबै नै बालेनमय बनेको थियो । गीत-संगीतमा रुचि भएपनि पप, ऱ्यापहरूका बारेमा चासो नराखेका कारणले हुनसक्छ मैंले बालेनको नाम काठमाडौं महानगरपालिकामा मेयरको रुपमा स्वतन्त्र उम्मेद्वारी दिएपछि मात्रै सुनेकी हुँ । राष्ट्रिय झण्डासहितको फोटो र युटुबमा उनका भनाइहरू, भोट माग्न हिँड्दै गर्दा उनले गरेको मानिसहरूसँगको ब्यवहार, नमस्कार गर्ने तरिका फरक लागेको थियो । सामाजिक संजालमा चर्चा हुन थालेपछि खोजी गर्दै जाँदा ऱ्याप गीतहरू भेटिए । त्यसअघि खासै रुचि दिएर सुनेको, हेरेको रहेनछु, अनौठो लाग्यो । आफूलाई थाहा नभएको कुरा थाहा छैन भन्न अप्ठ्यारो मान्नु हुन्न भन्ने मान्यता राख्छु । ‘ऱ्याप ब्याटल’ हेर्नु त परको कुरा, शब्द नै सुनेको रहेनछु । ‘ऱ्याप ब्याटल’मा जस्ता पनि शब्दहरू प्रयोग गरिने रहेछ । कालो, गोह्रो, होचो, अग्लो, अनुहार कस्तो या भनौँ ‘आउट लुक’को चर्चा निकै हुँदोरहेछ । लैङ्गिक भिन्नता, यौनिकता लगायतका कुरामा संवेदनशीलता नअपनाइ निर्धक्क शब्दहरू फालिँदो रहेछ । तिमी, तपाईंभन्दा बढी ‘तँ’ शब्द चल्दोरहेछ । अश्लील शब्दहरूको प्रयोग सामान्य रहेछ । त्यतिबेला लेखेकी थिएँ- ‘राजनीति र ऱ्यापलाई सँगै राखेर सोच्दा यी दुवैमा सुधार आवश्यक देखिन्छ । राजनीतिमा सुधारको कुरा वर्षौंदेखि गरिएकै छ, उद्देश्य नखल्बल्याइकन ऱ्यापमा प्रयोग हुने शब्द छनौटमा संवेदनशीलता जरुरी छ । मनोरञ्जनका नाममा ऱ्यापमा महिला र एलजीबीटीआईक्यू समूदायप्रति शब्दहरूको निर्मम प्रहार हुँदोरहेछ, हाँसीमजाकको विषय बनाइँदोरहेछ ।’
काठमाडौं महानगरको मेयर बनेपछि बालेनले बोलेको खासै सुनिएन । उनले प्रेससँग कुराकानी गरेनन्, पत्रकार सम्मेलन पनि गरेनन् । सार्वजनिक कार्यक्रमहरूमा खासै हिँडेनन् र मन्तब्य दिएको पनि त्यति सुनिएन । अहिले निर्वाचनका क्रममा बालेनको चुनावी यात्रा जनकपुरबाट सुरु भयो । जनकपुरमा आमसभालाई सम्बोधन गर्दै बालेनले मैथिली भाषामा बोले । करिव एघार मिनेटको उक्त भाषण अन्य नेताहरूले गर्ने भाषण जस्तो नभइ ब्यवहारिक कुराहरू समेटिएको महत्वपूर्ण सन्देश थियो । मलाई मधेशीको बच्चा भनेर नभइ देशलाई राम्रो गर्नसक्ने मान्छेका रूपमा भोट दिनुस देखि लिएर स-साना कुराका लागि राजधानी काठ्माण्डौ पुग्नुपर्छ भनें त्यो सङ्घीयता के का लागि ? भन्नेसम्मका शब्दहरूले गहिरो अर्थ बोकेका थिए । हुन पनि हाम्रो सङ्घीयताले यसको मर्मअनुरुप काम नै गरेको छैन । बालेनले मैथिलीमा बोलेपछि नेपालका ठुला अखबारहरूले सम्भवतः पहिलोपल्ट मैथिली भाषाको अनुवाद मिल्यो-मिलेन चेक गर्न भाषा जान्ने मान्छे खोजे । एउटा-एउटा शब्दको अर्थ खोज्दै अनुवाद गरे । समाचार कक्षलाई समावेसी बनाउन कति जरुरी रहेछ भन्ने कुराको अनुभूति पनि शायद गरे । बालेन सूदुरपश्चिम पुगेर ‘सूदुर अब दूर नाइ’ लेखे । उनले लेखेपछि कतिलाई त्यस्तो गीत पनि रहेछ भन्ने थाहा भयो । सभालाई सम्बोधन गर्ने क्रममा बडिमालिकालगायतका स्थानीय स्थानहरूलाई प्रवर्द्धन गर्ने कुराहरू बोले । स्थानीय मानिसहरूलाई हामीले खोजेको मान्छे यही हो जस्तो लाग्यो । गाउँ-ठाउँ बुझ्न गाडी चढेर उनी जिल्ला-जिल्ला पुगे ।
बालेन पूर्व गए । इटहरीको सभालाई सम्बोधन गर्दै लिम्बुहरूको ‘सिलाम साक्मा’ले आफूलाई सुरक्षित गर्ने बताए । यो के कुरा हो भनेर थाहा पाउनेलाई सजिलै भयो, थाहा नपाउनेले खोजी गरे । सिलाम सक्मा लिम्बु समूदायको पवित्र साँस्कृतिक र धार्मिक प्रतीक रहेछ, जसको अर्थ मृत्युको बाटो छेक्ने भन्ने हुने रहेछ । तिमीहरूको सिलाम सक्माले मेरो सुरक्षा कवजको काम गरिरहेको छ भनेर सार्वजनिक मञ्चमा बोलिदिँदा सम्बन्धित समूदायको मनमा उनीप्रति आफ्नोपन कति पोखियो होला… अनुमान गर्न सकिन्छ । आफ्नै गाउँ-ठाउँको कुरा गरिदिएर पूर्वेली जनताको मन-मष्तिष्कमा बसे । चितवन गए, कसैले मलाई चितवनको टुरिजम प्रवर्द्धन गर्न केही बोलिदिनुस् न भने, मेसीलाई, रोनाल्डोलाई गोल हान्न मैले सिकाउनु पर्छ र ? भनें । तिमीहरू जति पर्यटन प्रवर्द्धन गर्ने मान्छे अरु को छ र ? लगायत अन्य स्थानीय कुराहरू गरेपछि चितवनवासीहरू दङ्ग मात्र परेनन्, देशलाई त यस्तै मान्छे चाहिन्छ भनी धारणा बनाए । संयोग, यो पङ्क्तिकार त्यतिबेला चितवनमै थिएँ, सर्वसाधारणको त कुरै भएन, बालेनको बोलीको प्रशंसा नगर्ने काङ्ग्रेस कम्यनिष्टहरू पनि कमै भेटिए । जहाँ गयो त्यहीँको कुरा गरे, लामो भाषण गरेनन्, जति बोले स्लोगन बनाउन मिल्नेगरि बोले ।
बालेनले मैथिलीमा बोलेपछि नेपालका ठुला अखबारहरूले सम्भवतः पहिलोपल्ट मैथिली भाषाको अनुवाद मिल्यो-मिलेन चेक गर्न भाषा जान्ने मान्छे खोजे । एउटा-एउटा शब्दको अर्थ खोज्दै अनुवाद गरे । समाचार कक्षलाई समावेसी बनाउन कति जरुरी रहेछ भन्ने कुराको अनुभूति पनि शायद गरे ।
सबैभन्दा राम्रो कुराचाहिँ कसैलाई गाली गरेनन् । आफू कसरी राम्रो हुँ भन्ने भन्दा पनि अरु कसरी नराम्रो हो भनेर अरुलाई तल झार्न गरिने भाषणहरू भन्दा फरक कुराले मानिसमा एक प्रकारको उत्साह जगायो । एक प्रकारको आशा र भरोसा जगायो । कसैलाई नराम्रो नभनीकन मानिस कसरी राम्रो मानिँदोरहेछ भन्ने कुराको उदाहरण पनि हुन बालेन । आफूले त कसैलाई नराम्रो भनेनन् नै आफ्नो समूहलाई पनि अरुलाई गाली नगर्न, नराम्रो नभन्न सल्लाह, सुझाव दिए । बदलाको भाषा सुनिरहेका नेपाली जनतालाई सकारात्मक माहौलमा सम्पन्न चुनावीसभाहरू राम्रो लाग्यो । उनलाई कसैले लागुपदार्थसँग जोडे, कसैले कुनै धर्ममा हुने सैतानसँग जोडेर सार्वजनिक मिडियाबाटै बोले, तर ती कुराको न उनले खण्डन गरे न त वास्ता नै । खासमा उनले ‘प्रमाण पुऱ्याउ, म कसरी त्यस्तो हो प्रमाणित गर..’ भनेर मुद्दा हालेको भए लाग्ने थियो तर मतलबै गरेनन् । बालेनले बोल्दै बोलेनन् या कति थोरै बोले भन्नेहरूका लागि धेरै बोलेर खासै केही नहुने रहेछ । कति बोल्ने भन्दा पनि के बोल्नेले अर्थ राख्ने रहेछ भन्ने कुरा बालेनले प्रमाणित गरिदिए ।
बालेन जहाँ गए त्यहाँ ठुलो भीड जम्मा हुनुको अर्थ यो मान्छेले मुलुकलाई राम्रो गर्ला भनेर उनमा मानिसहरूले देखेको आशा र भरोसा नै रहेछ भन्ने कुरा निर्वाचनमा प्राप्त मतले प्रमाणित गऱ्यो । कतिपय मानिसलाई आफूले कसलाई भोट हाल्दैछु भन्ने थाहा थिएन तर बालेन र घण्टी चिन्ह थाहा थियो । देश बनाउन बालेनलाई बहुमत दिनुपर्छ भन्ने उनीहरूलाई लाग्यो त्यसैले चुपचाप मत हाले । यसरी मत हाल्नेमा पहिलोपल्ट भोट हाल्ने युवा, तटस्थ मतदाताहरूसँगै विगतमा काङ्ग्रेस/एमालेलाई भोट हाल्नेको सङ्ख्या ठुलो छ । युवा र महिलाहरूको भोट प्रायः बालेनका नाममा घण्टीलाई गयो । जसका लागि सामाजिक सञ्जालले ठुलो काम गरेको छ । रास्वपाले त्यतिका सीट ल्याउँदा पनि विजय ऱ्याली नगरेर नयाँ संस्कारको सुरुवात गरिसकेको छ । नत्र कति दिन त सांसदहरूको फूलमाला, अबिर, खादामै जान्थ्यो । यसपटकको निर्वाचनमा विगतमा जस्तो पैसाको चलखेल पनि भएन ।
यो मान्छेले जे गर्छ राम्रै गर्छ भन्ने विश्वास बालेनपछि जनताले महावीर पुनलाई गरेको देखियो । ‘मलाई मन लाग्छ भने भोट दिनुस्, नत्र नदिनुस् है’ भन्दै भोट मागेर उनले जिते । एकपल्ट टेस्ट भइसकेपछि राम्रो प्रभाव दिन नसक्दा जनताले स्वीकृत नगर्ने रहेछन् भन्ने कुराको उदाहरण जुम्लाकी विनिता कठायत हुन् । उनको अवस्थाबाट अहिले सांसद बनेकाहरूले पाठ सिक्नुपर्छ । बालेनको नेतृत्वमा बनेको सरकारले राम्रो काम गर्नेछ भन्ने आशा, अपेक्षा र भरोसा जनतामा धेरै नै छ । दह्रो प्रतिपक्ष नहुँदा शक्तिको दुरुपयोग हुने सम्भावना रहन्छ भन्ने थाहा पाएर पनि जनताले बालेनका नाममा रास्वपालाई निर्धक्क भोट हालेका छन् । जनताको भरोसा र मुलुकको अस्तित्व जोगाइराख्न बालेन र उनको टीमलाई सफलता मिलोस्, शुभकामना !
प्रतिक्रिया