केपीसङ्ग ‘बाजी’ जित्दाको पीडा !

केपीसङ्ग ‘बाजी’ जित्दाको पीडा !


फागुन १२ गते अन्य दुई साथीसहित पङ्क्तिकार झापाको दमक पुगेको थियो । सर्लाहीको ३ र ४ नम्बर निर्वाचन क्षेत्रको स्थिति बुझ्दै हामी एक रात हरिवनमा बस्यौँ । तीन नम्बर क्षेत्रका केही स्थानमा बुझ्दा धेरैजसोबाट ‘यसपटक नयाँलाई हेर्ने’ भन्ने अभिमत आयो । ललितपुरको तीन नम्बरमा उठ्ने तयारी भएर पनि अचानक सर्लाही पुग्नुभएका नारायणकाजी श्रेष्ठले विजय हात पार्ने स्थिति देखिएन । बाटोमा उहाँसङ्ग भेट हुँदा नारायण काजीमा सम्भवतः शुभ सन्देश सुन्ने इच्छा हुँदो हो, तर चुनावी मैदानमा रहनुभएका उहाँसङ्ग झुठ बोल्न चाहिनँ र आत्मविश्वास स्खलित गराउन पनि खोजिनँ, भनेँ- ‘धेरै दुःख पाउनुभयो ।’ उहाँले पनि सामान्य जवाफ फर्काउँदै भन्नुभयो- ‘अब पाँच-सात दिन त हो ।’ शुभकामना दिएर हामी यात्रामा अघि बढ्यौँ ।

नारायणकाजीले सुशासनको प्रत्याभूति दिलाउन नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्वाह गरेको भूमिका, अघिल्ला गृहमन्त्रीले नेपाली जनताको गोप्य अभिलेख राख्ने ठेक्का युरोपेली कम्पनीलाई दिएकोमा उक्त ठेक्का तोड्दै नेपाल आफैले अभिलेख राख्ने ब्यवस्था गरेको, बासबारी छालाजुत्ता उद्योगको नाममा रहेको दश रोपनी जमिन चौधरीहरूबाट फिर्ता लिएर राज्यको स्वामित्वमा राखेको, सुराकीको नाममा हुने गरेको अपारदर्शी खर्च ब्यवस्था खारेज गरिदिएको, अध्यागमन कार्यालयमा यात्रीहरूबाट सेटिङ्गमा उठाउँदै गरेको अनुचित रकममा रोक लगाएको लगायतका कार्यप्रति सर्लाहीका मतदातामा कुनै चासो रहेको पाइएन । ‘यसपालि नयाँलाई हेर्ने…’ बाहेक कुनै तर्कले काम गरेको देखिएन । यस्तै मनस्थिति तराईको हरेक क्षेत्रका मतदातामा रहेको पाइयो ।

त्यसपछि अम्रेश कुमार सिंह र गगन थापाको स्थिति बुझ्न सीमाक्षेत्रको बलरासम्म पुग्दै गर्दा धेरै स्थानमा स्थानीयसङ्ग साक्षात्कार ग¥यौँ । हामीले भेटेका हरेकको एउटै भनाइ थियो – ‘यसपटक टुरिष्ट उम्मेदवारलाई भोट नदिने, नयाँलाई दिने ।’ सर्लाही ४ मा गगनले पराजय भोग्ने स्थिति देखियो, त्यसपछि हामी केपी ओलीको निर्वाचन क्षेत्रलाई गन्तव्य बनाएर पूर्वतर्फ लाग्यौँ । बाटोमा धेरै स्थानमा मन बुझ्ने प्रयास भयो, भेटिएका हरेक ब्यक्तिको जवाफमा समान भाव थियो, जुन हामीले हेटौंडादेखि सर्लाहीसम्मका मानिसमा पाएका थियौँ । मतदाताहरूमा कुनै तर्क थिएन, थियो त केवल निष्कर्ष- ‘यसपालि नयाँलाई दिने ।’

दमक पुग्नु अघिदेखि नै केपीको चुनावी स्थिति बुझ्न सुरु गरियो । त्यसक्रममा मुस्किलले पाँच प्रतिशत मानिसले मात्र केपीका पक्षमा आफूलाई प्रस्तुत गरे । कतिपय ब्यक्तिसङ्ग हामीले सवाल-जवाफ पनि गऱ्यौं । ‘यदि नयाँलाई जितायौँ भने राष्ट्रियता सङ्कटमा पर्छ, विदेशी सेनाको शिविर राखिनसक्छ जसका कारण हाम्रो सूरक्षा जोखिम बढ्नसक्छ नि’ भनेर हामीले ध्यानाकर्षण गर्दा कतिपय मतदाताको भनाइ थियो- ‘विदेशी सेना आएर के हुन्छ त ! झन् राम्रो ! नेपालीलाई अमेरिकाको भिसा सजिलै प्राप्त हुन्छ । हाम्रा छोराछोरीले दुई देशको नागरिकता पाउँछन् ।’

उनीहरूको बुझाई निकै भिन्न रहेछ, जवाफ सुनेर हामी छक्क पऱ्यौं ।

त्यसो गर्दा नजिकको छिमेकीले चुपचाप नहेर्लान्, भूभाग नै अर्काको नियन्त्रणमा जाने खतरा हुनसक्ला नि भनेर हामीले अर्को आशङ्का प्रकट गर्दा झनै झट्केदार जवाफ फर्कियो- ‘पुराना दल पनि विदेशीबाट नै परिचालित थिए, यिनिहरू मात्र हो र !? विदेशीले लिइदिए गाडी सस्तोमा चढ्न पाइन्छ, यिनको भ्रष्टाचार हेरेर बस्नुभन्दा बरु गाभिएकै राम्रो हुन्छ ।’ कतिपय मतदाताबाट यो हदसम्मको जवाफ मिलेपछि हामी थप बहस गर्नतिर लागेनौँ । एकथान गाडीसङ्ग देश साट्नेसम्मको मानसिकता देखिएपछि चिन्ताको भारीचाहिँ थपियो ।

हामीले दमकमा कतिपय थ्रीह्वीलर चालक, ट्याक्सी चालक, पसले, चियापसलमा जम्मा भएका मानिस, फन पार्कमा घुम्न आएका मानिसहरू, गाडीका यात्री, पैदलयात्री आदिसङ्ग कुरा गरेर फागुन १२ गते बेलुकाको नौ बजायौँ । आम मानिसमा मत बदल्ने मानसिकता बनिसकेको रहेछ, जसमा परिवर्तन आउने देखिएन । कतिपयलाई हामीले जिज्ञासा पनि राख्यौं- ‘लामो समयदेखि सत्ता-राजनीतिमा भएर पनि केपीले झापाको लागि केही गर्नुभएनछ, हो ?’ यो प्रश्नमा केपीले विकाश गरेनन् भन्नेचाहिँ एक जना पनि भेटिएनन् । जवाफमा केहीले केपीको कामको बेलिबिस्तार पनि लगाए र भने- ‘झापाको रूप केपीले नै फेरिदिनुभएको हो, आज झापाको जतिपनि विकाश देख्नुहुन्छ नि, त्यो सबै केपीको योगदान हो ।’ यसप्रकारको जवाफ दिनेमध्ये कतिलाई हामीले थप प्रश्न गऱ्यौं- ‘के झापाका मानिसले विकाशमा योगदान दिनेलाई मतदान गर्न मिल्दैन हो ?’ हाम्रो प्रश्नमा फिस्स हाँस्दै तिनले जवाफ दिने गर्थे- ‘उहाँले गर्नुभएको त हो, तर यसपटक नयाँलाई हेर्ने, पुरानाको दम्भ तोडिदिने ।’

परिस्थिति केपीको प्रतिकुल देखिएपछि हामीले केपीका स्वकीय सचिवलाई फोन गऱ्यौँ र भेटका निम्ति समय माग्यौँ । उहाँ कतै घर-दैलो कार्यक्रममा हुनुहुँदोरहेछ । समय मिलाएर पछि फोन गर्ने बताइयो ।

एघार बज्नुभन्दा केहीअघि फोन आयो, तल्कालै घरमा आउन भनियो । सङ्गै गएका साथीले केपीलाई भेट्ने रुचि लिएनन्, एउटा थ्रीह्वीलर लिएर म केपीको निवासस्थानमा पुगेँ । उहाँले खाना खानुभएपछि रातको १२ बजे भेट पाएको थिएँ । मैले कुराको सुरुवात गर्दै भनेँ- ‘वास्तवमा म तपाईंलाई भोलि भेट्न चाहन्थेँ । मेरो कुरा सुनेपछि तपाईं निदाउन सक्नुहुन्न होला, त्यसैले मैले भोलि नै भेट्न खोजेको हुँ ।’

केपीले मन्द मुस्कुराउदै भन्नुभयो- ‘केही फरक पर्दैन, भन्नुहोस् के देख्नुभयो ? म आरामले निदाउन सक्छु । अझ तपाईंले मनोनयनको समयमा मेरो स्थिति देख्नु भएको भए के भन्नुहुन्थ्यो होला ! साँच्चै खराब थियो, अहिले धेरै सुध्रिएको हो ।’ (उहाँले यसो भनिरहँदा साँझ फनपार्कमा भेटिएका एक ब्यक्तिले हामीसङ्ग भनेको सम्झिएँ, उनले भनेका थिए- ‘एमालेका समर्थकले पनि यसपटक सूर्यमा मतदान गर्दैनन्, उनीहरू मुख एमालेलाई दिएर छाप अर्कैलाई लगाउँदैछन्, ओलीलाई यो थाहै छैन ।’

मैले भनेँ- ‘तपाईंले जित्ने सम्भावना देख्दिनँ, जित्नका निम्ति तपाईंले एमालेजति सबैलाई समेट्नु पऱ्यो, काङ्ग्रेस, राप्रपा र हर्कको भोट पनि लिन सक्नु पऱ्यो ।’

उहाँले भन्नुभयो- ‘त्यति डराउनुपर्ने स्थिति होइन, तथापि कुरा भैरहेका छन् ।’ त्यसपछि मैले फेरि भनेँ- ‘होइन, डराउनु नै पर्ने अवस्था छ, तपाईं हार्नुहुन्छ । म पैसाको बाजी राख्दिनँ, यदि तपाईं जित्नुभयो भने म ‘यसो’ गर्नेछु । उहाँले ‘लौ हुन्छ, बरू त्यसको लागि आवश्यक पर्ने सामान चाहिँ अलिक राम्रै तयार गर्नुहोला । चुनाव जितेपछि म तपाईंको घरमै आएर हेर्नेछु ।’

यस्तै-यस्तै सम्वादका बीच घडीले रातको ‘एक’ नघाइसकेको थियो । ज्यादा आत्मविश्वास पनि चुनाव हार्ने एउटा कारण हुनसक्ने भनेर केपीको आत्मविश्वासको प्रशम्सा गर्दै म होटलमा फर्किएँ ।

केपीसङ्ग राखिएको बाजी वास्तवमा म हार्न चाहन्थेँ, हार्न किन चाहेको थिएँ भने केपी कुनै अराजनीतिक प्राणीबाट पराजित हुनु हुँदैन भन्ने मेरो मान्यता थियो । केटौलेपन नगइसकेको, एउटा रुखो कलाकारिता गरेर एकथरी युवाबीच कमाएको चर्चालाई राजनीतिक लाभमा कन्भर्ट गर्दै गरेको कुनै सुखद पृष्ठभूमि नभएका, देशलाई ठ्याक्कै नबुझिसकेका, चरम महत्वाकाङ्क्षा भएको तर भूराजनीतिक ज्ञान र रुचि नभएको, दर्शन, सिद्धान्त, गन्तव्य, नीति, कार्यक्रम र प्रतिबद्धता नभएका, केवल अल्गोरिजम (सामाजिक सन्जालको दुरुपयोग) गरेर राजनीतिक सत्ताको शक्ति प्राप्त गर्न हतारिएको एउटा सन्काहा स्वभावको केटोले चुनाव जित्नु हुँदैन भन्ने आम बौद्धिक समुदायको धारणासङ्ग म सहमत थिएँ । सेतो-कालो जुन दाह्रीवालाले सरकार चलाउने जिम्मेवारी प्राप्त गरेपनि यिनले गर्ने सूरक्षा-सहकार्य आकाशकै छिमेकीसङ्ग हो, जुन नेपालको लागि घातक हुनसक्छ !

विश्व अर्थतन्त्रको केन्द्रभूमि बनेका खाडी मुलुकहरू कुनै पनि स्तरको युद्धमा जान चाहँदैनथे, तेस्रो मुलुकको सैन्यशिविर राख्ने अनुमति दिएकै कारण यतिबेला उनीहरू युद्धको रापले पिल्सिएका छन् । ठीक त्यस्तै अवस्था नआओस् भनेर नेपाली राष्ट्रवादीहरू सैन्य शिविर स्थापनाको विपक्षमा उभिएका हुन् । २०७९ सालमा सरकारले एसपीपी सम्झौता नगर्ने निर्णय लिएको र २०८१ मा चीनसङ्ग बीआरआई कार्यान्वयन गर्न सम्झौता गरेको विषयलाई लिएर नेपाली राजनीतिमा अधिक चासो राख्ने अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू तत्कालीन सरकारसङ्ग क्रुद्ध भएका थिए । शेरबहादुर देउवालाई सरकारबाट बाहिर ल्याउन पटक-पटक गरिएका प्रयासहरू असफल भएको र त्यसैबीच नेपालले सङ्घाई को-अपरेशनको बैठकमा भाग लिएको, पुटिनसँग भेट गरी नेपाल भ्रमणको निम्ता दिएको, बेइजिङमा आयोजित सैन्य परेडमा सहभागी भएको र जिएसआईमा सहमति जनाएको जस्ता समाचारहरू सार्वजनिक भएपछि तिनले आफूलाई रोक्न सकेनन्, हिंसा र विध्वङ्सात्मक घटना गराएर जननिर्वाचित सरकारलाई विस्थापित गर्ने काम भयो । जसले विध्वङ्समा अग्रणी भूमिका निर्वाह गरिरहेको थियो, मतदाताको रोजाइमा तिनै विध्वङ्सकहरू परे ।

२०४६ मा राजा, काङ्ग्रेस र कम्युनिष्टबीचको सम्झौताबाट प्राप्त प्रजातन्त्रलाई पनि माओवादी नाममा उत्पत्ति गराइएको हिंसा र विध्वङ्सले पूर्णबिराम लगाइदियो र अहिले २०६३ मा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पनि सङ्कटापन्न अवस्थामा पुऱ्यायो । माओवादीको विध्वङ्समा पनि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको साथ र हात रहेको बुझिन्थ्यो भने यसपटकको विध्वङ्समा पनि डीपस्टेटकै निर्णायक भूमिका रहेको बुझिन्छ । मतदाताले समेत डीपस्टेटका कदमहरूमा साथ दिँदै अनुमोदन गरिदिएपछि देश अब धेरै समय शान्त र सूरक्षित रहन नसक्ने निष्कर्षमा पुग्नुपर्ने भएको छ । जतिसुकै खर्च गरेर आम निर्वाचन गराइएको भएपनि सरकारको विस्थापन गर्न हिंसा र विध्वङ्सको सहारा लिनुपर्ने परम्परा बसाइएको देशमा प्रजातन्त्र संस्थागत हुने सम्भावना कहिल्यै रहँदैन र यस्तो देश अन्ततः आफ्नो सार्वभौमिकताको रक्षा गर्न पनि असफल हुनेछ ।

जाति, धर्म, क्षेत्र र संस्कृतिको नाममा ल्याइएको विभाजनले आफ्ना ‘हिडन प्लान’ (गुप्त योजना) पूरा गर्ने सम्भावना नदेखिएपछि उनीहरूले उमेर समूहको नाममा गहिरो विभाजन ल्याएर राजनीति र समाज ब्यवस्था मात्र नभै परिवारसमेत विखण्डित तुल्याउने काम हाम्रै अबोध नागरिकलाई प्रयोग गरेर गरेका छन् ।

दुई तिहाईको सरकार २०१५ सालमा पनि बनेको थियो, तर भूराजनीतिक अवस्थाले उक्त सरकारसहित प्रजातान्त्रिक प्रणालीलाई डेढ वर्षमै बिदा गरेको तथ्यलाई हामीले भुल्नु हुँदैन । मुलुकमा अबको अन्तरविरोध देशभक्त राष्ट्रवादी शक्ति र देशभक्त पुष्टि हुन नसकेको पक्षबीच हो । नेपाललाई सनातन बौद्ध किराँत राष्ट्रको सम्वैधानिक पहिचान नदिँदासम्म, प्रदेश संरचना खारेजी र जातियतामा आधारित समानुपातिक तथा आरक्षण प्रणालीको विस्थापन नहुँदासम्म, शिक्षा ब्यवस्थामा आमूल परिवर्तन गरि कर्मचारी प्रशासन तथा न्यायपालिकाको पुनःसंरचना नगरिएसम्म र ट्रेडयुनियानिज्मको अन्त्य नभएसम्म यो मुलुक बन्दैन र चल्दैन पनि । शक्तिशाली देशको राजदूतावासले भूमिगत शैलीमा स्थापित गरेर सञ्चालनमा ल्याएको सङ्गठनलाई दलहरूले ‘अण्डरमाइण्ड’ गर्नुको परिणामस्वरूप आजको परिस्थिति निर्माण भएको हो । विजयी पक्षको मेरुदण्डका रूपमा क्रियाशील रहेको उक्त सङ्गठनलाई परास्त गर्न सकेको अवस्थामा मात्र मुलुक सूरक्षित र स्थीर रहने विश्वास गर्न सकिन्छ । सम्पूर्ण देशभक्त राष्ट्रवादी शक्तिको एकताका निम्ति सबै नेपालीमा सद्बुद्धि प्राप्त होस्, जय मातृभूमि !