जनताको निर्णय सर्वोपरि हुन्छ । हार्नेहरूले यसलाई सुधारको अवसरका रूपमा लिनुपर्छ र जित्नेहरूले यसलाई जिम्मेवारीका रूपमा ग्रहण गर्नुपर्छ । यदि दुवै पक्षले सकारात्मक सोचका साथ देश र जनताको हितलाई प्राथमिकता दिन सके भने यो निर्वाचन परिणाम केवल हार-जितको कथा मात्र नभइ नेपालको लोकतान्त्रिक यात्रालाई अझ परिपक्व बनाउने एउटा महत्वपूर्ण मोड बन्न सक्छ ।
✍ भीमा शिवाकोटी
नेपालको गत फागुन २१ गते सम्पन्न निर्वाचन परिणामले देशको राजनीतिक परिवेशलाई गहिरो सन्देश दिएको छ । विगत ३५ वर्षदेखि मुलुक संचालनको मुलधारमा रहेका स्थापित दलहरूका लागि यो सोच्दै नसोचेको परिणाम हो । यो अपत्यारिलो पनि देखियो । पराजित दलका नेता कार्यकर्ता र विजेता दलका नेता कार्यकर्ताहरूलाई पनि यो परिणाम पत्याउन गाह्रो परिरहेको छ । अपेक्षाभन्दा धेरै मत प्राप्त गर्दै नयाँ दलले सुनामीजस्तै समर्थन पाएको छ जुन परिणामले जित्नेहरूलाई पनि केही हदसम्म अचम्मित बनाएको छ ।
निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास हो । यसमा हार र जित दुबै स्वाभाविक पक्ष हुन् । हार्नेका लागि यो अन्त्य होइन, बरु आत्ममूल्याङ्कन गर्ने अवसर हो भने नयाँ सोचका साथ अघि बढने दर्बिलो शिक्षा पनि हो । जनताले किन विश्वास घटाए ? कहाँ कमजोरी भयो ? जनताको अपेक्षा के थियो ? हाम्रा कार्यशैलीहरू कस्ता थिए ? यी प्रश्नहरूलाई गम्भीरतापूर्वक बुझेर आफ्नो नीति, व्यवहार र नेतृत्व शैलीमा सुधार गर्नु आजको आवश्यकता हो भन्ने कुरा निर्वाचन परिणामले देखाएको छ । पुराना दलहरूले निराशा होइन, सुधार र पुननिर्माणको बाटो खोज्ने मौका हो । सदनबाट भएन भने पनि सडकबाटै सकारात्मक प्रतिपक्षको भुमिका खेल्नुपर्ने आवश्यकता देखिएको छ भने हार पनि भविष्यको सफलताको आधार हो भन्ने हेक्का राख्दै जुरूक्क उठ्ने तागत जगाउनु पर्दछ । जो ब्यक्ति लड्छ उठ्ने पनि उहि हो ।
त्यसैगरी, अप्रत्यासित रूपमा ठूलो समर्थन पाउनेहरूका लागि पनि यो परिणाम केवल उत्साहको विषय मात्र होइन, महत्वपूर्ण जिम्मेवारीको संकेत पनि हो । जनताले दिएको मत केवल परिवर्तनको आशा हो, अन्तिम उपलब्धि भने पक्कै होइन । जनताको भरोसा जोगाउन इमान्दारिता, पारदर्शिता, जिम्मेवारी र सेवाभाव अत्यन्त आवश्यक हुन्छ । विजयको उत्साहमा घमण्ड होइन, विनम्रतासँगै कामप्रतिको जोस, जाँगर र प्रतिबद्धता झन् बढ्नुपर्छ । आजको परिणामले नेपाली मतदाता सचेत र परिवर्तनप्रति खुला भएको सन्देश दिएको छ । जनताले समय-समयमा नेतृत्वलाई मूल्याङ्कन गर्छन् र आवश्यक ठाने परिवर्तनको निर्णय पनि गर्छन् । त्यसैले सबै राजनीतिक शक्ति र नेतृत्वले जनताको भावना, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर काम गर्नुपर्ने यो जनादेशले सबैलाई महसूस गराएको छ ।
लोकतन्त्रको सुन्दरता नै यही हो- यहाँ जनताको निर्णय सर्वोपरि हुन्छ । हार्नेहरूले यसलाई सुधारको अवसरका रूपमा लिनुपर्छ र जित्नेहरूले यसलाई जिम्मेवारीका रूपमा ग्रहण गर्नुपर्छ । यदि दुवै पक्षले सकारात्मक सोचका साथ देश र जनताको हितलाई प्राथमिकता दिन सके भने यो निर्वाचन परिणाम केवल हार-जितको कथा मात्र नभइ नेपालको लोकतान्त्रिक यात्रालाई अझ परिपक्व बनाउने एउटा महत्वपूर्ण मोड बन्न सक्छ ।
प्रतिक्रिया