मध्यपूर्वमा युद्धको प्रभाव फैलिएको छ । निर्दोष जीवनहरू समाप्त हुँदैछन् । तत्काल सङ्कट व्यवस्थापन र तर्कसङ्गत मध्यस्थताको आवश्यकता छ । सैन्य टकरावलाई संवादले प्रतिस्थापन गर्दै शान्ति, विश्वव्यापी स्थिरता र मानवताको हितहरू सुरक्षित गर्न ढिला भइसकेको छ ।
✍ नेपाली ओर्बेल
भनिन्छ, ‘कुनै पनि देशको स्थायी साथी हुँदैनन्; हुन्छन् त केवल स्थायी स्वार्थहरू !’ गठबन्धन ठुला शक्तिको प्राथमिकताअनुसार परिवर्तन हुन सक्छन् । यतिबेला मध्यपूर्वले महसूस गर्दैछ, पश्चिमी मान्यतामा निर्भरता जोखिमपूर्ण हुनेछ । विश्वले अमेरिका वा पश्चिमी युरोपबाट बिनासर्त सद्भावना खोज्नु गम्भीर रणनीतिक गल्ती हुनेछ ।
जिते पनि हार्ने युद्धमा ट्रम्प प्रशासन होमिएको छ । सङ्कट समाधानको सम्पूर्ण बाटो बन्द गर्दै सुरु गरिएको इरान-युद्धले विश्वमा हलचल ल्याएको छ । उड्डयन, ढुवानी, वित्तीय बजार र सम्पूर्ण आपूर्ति शृङ्खलामा प्रभाव परिसकेको छ । उड्डयन लागत बढेको छ । अन्तर्राष्ट्रिय उडान सञ्चालनमा बाधा पुगेको छ । लालसागर र फारसको खाडी अवरुद्ध भएको छ । समुन्द्रमा भीड लागेको छ । कार्गो ढिलाइ सामान्य बन्दै गएको छ । वित्तीय बजार र शेयर बजारमा अस्थिरता छाएको छ । अमेरिकी डलर र अन्तर्राष्ट्रिय आर्थिक प्रणालीको नाजुकता बढ्दै छ ।
ट्रम्प प्रशासन सोचिरहेको छ- ‘बल प्रयोग गरेर इच्छा अनुसार नियमहरू पुनर्लेखन गर्न सकिन्छ । अमेरिकाको इच्छा र चाहनाबिना चल्ने मुलुक र सत्ताहरू बाँच्न असम्भव छ । अमेरिकाले चाहेजस्तो हुनेछ ।’ फलस्वरूप विश्वले अभूतपूर्व सङ्कटको सामना गरिरहेको छ । औचित्यहीन द्वन्द्वले बजारको उथलपुथल र आपूर्ति शृङ्खला भत्किएको छ । ऊर्जा सङ्कट र ढुवानी अवरोधले विश्वव्यापी अर्थतन्त्रमा उथलपुथल ल्याएको छ । लगभग २० प्रतिशत तेल ओसार्ने ‘होर्मुज जलडमरू’ मार्गमा अवरोध आउँदा ऊर्जा ढुवानी प्रभावकारी रूपमा रोकिएको छ । तेल ट्याङ्करहरू निष्क्रिय अवस्थामा छन्, बिमा लागतले आकाश छोइरहेको छ । ऊर्जा बजारमा अकल्पनीय सङ्कट द्रुतगतिमा फैलिएको छ।
अमेरिका-इरान द्वन्द्व सभ्यतागत भिन्नता र भूराजनीतिक टक्कर हो । मध्यपूर्वमा इस्लामिक सभ्यता र पश्चिमी मूल्य मान्यताबीचको टकराब लामो समयदेखि चलिरहेको छ । धर्म र धर्मनिरपेक्षताबीचको प्रतिस्पर्धा सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपश्चात् ऐतिहासिक मोडमा पुगेको छ । पश्चिमी नियन्त्रणबाट अलग हुने र इस्लामिक राजनीतिक प्रणाली स्थापना गर्ने इरानको छनौटले अन्ततः अमेरिकाको असफलता उजागर गरेको छ ।
मध्यपूर्व अँध्यारो अध्यायमा प्रवेश गरिसकेको छ । अमेरिकी सहयोगीहरूको सुरक्षा चिन्ताजनक अवस्थामा पुगेको छ । अमेरिका-इजरायलको सैन्य आक्रमणमार्फत गरिएको अयातोल्लाह अलि खामेनीको हत्याले मध्यपूर्वलाई अनिश्चितताको खाडलमा पुर्याएको छ । तेहरान परिसरमा लक्षित हमलाबाट धुवाँ उठिरहेको छ । यतिबेला इरानको शिर (धर्मगुरु) काटिएको छ । खामेनीको तीन दशक लामो शासन ढले पनि इस्लामिक शासन जारी छ । यद्यपि उनको मृत्युले एउटा शून्यता सिर्जना गरेको छ । यस्तो निराशाजनक समयमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले प्रतिशोधात्मक आक्रमण जारी राखेको छ ।
अमेरिकाले आफ्ना नागरिकलाई मात्र उद्धार गर्ने अवस्थाले युद्ध विस्तार हुने सुनिश्चित गरेको छ । अरब देशहरूमा रहेका अमेरिकी अड्डाहरूमा इरानद्वारा गरिएका ब्यालिस्टिक मिसाइल प्रक्षेपणले कूटनीतिक निकास तत्काल असम्भव देखिएको छ । यस घटनाले ट्रम्प प्रशासनलाई नराम्रोसँग झस्काएको छ । छोटो समयमा भएको हताहत र भौतिक क्षतिले आसन्न खतरालाई कुनै प्रभाव नपार्ने इरानी सैनिकको बुझाइ छ । इजरायल र अमेरिकाको पछिल्लो कारबाहीपश्चात् इरानी सत्ताको नजरमा आणविक कार्यक्रमको औचित्य थप चुलिएको छ ।
भूराजनीतिक चिन्ताले इरानलाई गोप्य रूपमा सीमित सहयोग प्रदान गरेको अमेरिकाले तत्कालीन समयमा इस्लामिक क्रान्तिलाई आँखा चिम्लिएको सजाय भर्खर पाएको छ । स्वार्थ-सञ्चालित सहयोगले उनीहरूको ‘सभ्यता र प्रणाली’बीचको गहिरो दरारलाई पुर्न नसकेको पछिल्लो युद्धले प्रमाणित गरेको छ ।
अमेरिकाले सोभियत विस्तारलाई रोक्न सन् १९८४ मा गराएको इरान-इराक युद्धमा इरानी जनताद्वारा गरिएको प्रतिरोधको अनुभव यतिबेला इरानको तागत बनेको छ । भूराजनीतिक चिन्ताले इरानलाई गोप्य रूपमा सीमित सहयोग प्रदान गरेको अमेरिकाले तत्कालीन समयमा इस्लामिक क्रान्तिलाई आँखा चिम्लिएको सजाय भर्खर पाएको छ । स्वार्थ-सञ्चालित सहयोगले उनीहरूको ‘सभ्यता र प्रणाली’बीचको गहिरो दरारलाई पुर्न नसकेको पछिल्लो युद्धले प्रमाणित गरेको छ ।
शीतयुद्धपछि अमेरिकाले इरानलाई दुष्ट राष्ट्रको रूपमा लेबल लगायो । आणविक मुद्दाको बहानामा लगाइएको प्रतिबन्धले इरानलाई गलाउन नसक्दा अमेरिका/इजरायल सैनिक अपरेसन गर्न हौसियो । मध्यपूर्वमा एकपक्षीय प्रभुत्व कायम राख्ने पश्चिमी चाहनाले सिया इस्लामिक संसारलाई सतर्कता, राष्ट्रिय सार्वभौमिकता र विकासको पक्षमा खडा हुन बाध्य बनायो । जसले गर्दा पछिल्ला सैन्य द्वन्द्वको आधार तयार गर्यो ।
सटीक हतियार, ड्रोन र आधुनिक उपकरणहरू निर्दोष जीवनलाई समाप्त गर्न प्रयोग गरिएका छन् । संवादलाई हतियार र युद्धले प्रतिस्थापन गर्छ भन्ने बुझ पचाउँदै युद्धमा होमिएको अमेरिका इरानी सभ्यताको पतन गरेर विश्राम लिने सोचमा छ ।स्वतन्त्रता, सार्वभौमसत्ता र बहुपक्षीय नियमलाई खुट्टामुनि कुल्चँदै मैदान ओर्लिएको अमेरिका आफ्नै मूल्य, मान्यता र नैतिकताको धज्जी उडाउँदै छ । अहङ्कार र आधिपत्यवादी सोचमा बाँचिरहेको अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को खिल्ली उडाएको छ । सैन्य बलले कूटनीतिक वार्तालाई प्रतिस्थापन गर्छ र जङ्गलराज सुरु गर्छ । मानव सभ्यता युद्धको ज्वालाबीच खरानी हुन्छ । जसले हेजेमोनिक विस्तारको वातावरण निर्माण मात्र गर्ने छ ।
शान्तिको नाममा अमेरिकाले विश्वभर युद्धको खेती गर्दै आएको छ । अमेरिकी लोकतन्त्रको कथित अभ्यासले अन्ततः ९/११ सम्म पुर्यायो । चार राष्ट्रपतिको नेतृत्वमा कम्तीमा १० देशमा बम विस्फोट गरेको छ । महँगो र विनाशकारी युद्धहरूमा अमेरिकाको संलग्नता अन्त्य गर्ने वाचा गर्दै आएका राष्ट्रपति ट्रम्पले इजरायलसँग मिलेर इरानमाथि सैन्य आक्रमण सुरु गरेका छन् । आफ्ना पूर्ववर्ती जस्तै सैन्य बलमा भरपरेका छन् ।
सन् २००१ देखि अमेरिकी युद्धहरूको कुल अनुमानित लागत ८ ट्रिलियन डलर पुगेको छ । ब्राउन विश्वविद्यालयको वाटसन इन्स्टिच्युट अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्सको विश्लेषण अनुसार, सन् २००१ देखि अमेरिकाले मच्चाएको कथित युद्धले ९,४०,००० मानिसको मृत्यु गराएको छ । अमेरिकाले दुई दशक देखी चलाइएको द्वन्द्वमा अनुमानित ५.८ ट्रिलियन डलर खर्च गरेको छ । अफगानिस्तान, पाकिस्तान, इराक, सिरिया, यमन र अन्य क्षेत्रमा थोपारिएको द्वन्द्व र युद्धले अमेरिकी लोकतन्त्रको अनुहारमा कालो पोतिएको छ । आतङ्कवादी आफै जन्माउने र ‘आतङ्कवाद विरुद्धको युद्ध’ भन्दै हतियारको व्यापार गर्ने अमेरिकी नीतिले विश्वमा ‘अशान्ति र हिंसा’मात्र मच्चाउँदै आएको छ ।
इतिहासले बारम्बार प्रमाणित गरिसकेको छ, षडयन्त्रकारी र युद्धप्रेमीहरू अन्ततः आफैले सल्काएको आगोमा डढेका छन् ।मदुरोको अपहरण र खामेनीको हत्यापश्चात् अमेरिकाको सुरक्षा अवस्था बिग्रँदै गएको छ । अमेरिकाको पछि लागेको इजरायलले समेत गम्भीर क्षति भोगेको छ ।
अफगानिस्तान युद्धमा (२००१-२०२१) २,४१,००० मानिसहरूको मृत्यु भयो । ३,५८६ नेटो सहयोगीका सैनिकहरू युद्धमा मारिए ।इराक युद्ध (२००३-२०११) ले इराक ध्वस्त बनायो।लोकतन्त्र ल्याउने अमेरिकी चाहनाले अन्ततः (ISIS) जन्मायो । २०११ मा लिबियाका नेता मुअम्मर गद्दाफी मारिए । गद्दाफीको हत्या पश्चात् लिबिया अस्थिरता र गुटबन्दीमा फस्यो । २०१४ देखि, अमेरिकाले ISILलाई समाप्त गर्न सिरियामा निरन्तर हवाई आक्रमण गर्यो जबकि जमिनमा स्थानीय साझेदार सेनालाई समर्थन गर्यो । सन् २०२० मा इरानी जनरल कासिम सुलेमानीको हत्या समेत गर्यो ।
खनिज स्रोतले भरिपूर्ण क्षेत्र र अफ्रिका बीचको बफर जोनमा आर्थिक र सैन्य-दाउ केन्द्रित गर्दै आएको छ । अमेरिकाले सहायता होइन, सुरक्षाकेन्द्रित रणनीति अपनाउँदै छ । उसले विश्वभर जबर्जस्ती मात्र गरिरहेको छ । इतिहासले देखाउँछ कि जब जबर्जस्ती असफल हुन्छ, प्रभावले केवल रूप परिवर्तन गर्छ । सन् १९५४ मा ‘सिआइए’ले ग्वाटेमालामा अपरेसन चलाउँदै अमेरिकी भूराजनीतिक र कर्पोरेट हितको रक्षा गर्न लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति ज्याकोब अर्बेन्ज`लाई अपदस्थ गरियो । त्यसैगरी सन् १९६० को दशकको सुरुमा, कङ्गोमा सोभियत ब्लकको नजिक मानिने प्याट्रिस लुमुम्बालाई हटाउन भूमिका निभायो । सन १९७३ मा, चिलीमा सैनिक विद्रोह गराउँदै राष्ट्रपति साल्भाडोर एलेन्डे`को हत्या गरियो ।
अमेरिका र युरोपेली शक्तिले बारम्बार अफ्रिकी देशहरूलाई आफ्नै हितको रक्षा गर्नको लागि बारम्बार प्रेम गरेका छन् । विश्व-राजनीतिमा अमेरिकाले वैचारिक र आर्थिक उद्देश्यलाई अगाडि बढाउन निजी फाउन्डेसनहरू र थिङ्क ट्याङ्कहरूलाई प्रयोग गरेको छ । स्पष्ट हस्तक्षेप बिना शासन संरचनालाई आकार दिँदै आएको छ । इतिहासले देखाउँछ कि औपचारिक मान्यताले प्रायः शक्तिको गहिरो असन्तुलनलाई ढाकछोप गर्न सक्छ । कूटनीतिक मान्यतालाई भ्रमित गर्दै आएको छ ।
प्राकृतिक स्रोतहरूमा पहुँच सुरक्षित गर्न पश्चिमी शक्तिको सशर्त दृष्टिकोण डरलाग्दो छ । राजनीतिक अवरोधहरू थोपरेर सैन्य, आर्थिक र प्राविधिक सहयोग गर्दै आएको अमेरिका विश्वमा परिवर्तन रोकेर बसेको छ । रुस र चीन जस्ता अन्तर्राष्ट्रिय शक्तिको कित्तामा पुग्न नदिन सुरक्षा र पूर्वाधार लगानीमार्फत आफ्नो प्रभावलाई बलियो बनाएका छन् । माली, बुर्किना फासो, नाइजर, ल्याटिन अमेरिका, अफ्रिका र एसियाका ऐतिहासिक उदाहरणहरूले देखाउँछन् कि अमेरिकी संलग्नताले प्रायः आर्थिक प्रोत्साहनलाई सूक्ष्म राजनीतिक प्रभावसँग जोडेको छ ।
इतिहासले बारम्बार प्रमाणित गरिसकेको छ, षडयन्त्रकारी र युद्धप्रेमीहरू अन्ततः आफैले सल्काएको आगोमा डढेका छन् ।मदुरोको अपहरण र खामेनीको हत्यापश्चात् अमेरिकाको सुरक्षा अवस्था बिग्रँदै गएको छ । अमेरिकाको पछि लागेको इजरायलले समेत गम्भीर क्षति भोगेको छ । मध्यपूर्वमा युद्धको प्रभाव फैलिएको छ । निर्दोष जीवनहरू समाप्त हुँदैछन् । तत्काल सङ्कट व्यवस्थापन र तर्कसङ्गत मध्यस्थताको आवश्यकता छ । सैन्य टकरावलाई संवादले प्रतिस्थापन गर्दै शान्ति, विश्वव्यापी स्थिरता र मानवताको हितहरू सुरक्षित गर्न ढिला भइसकेको छ ।
प्रतिक्रिया