✍ प्रकाशचन्द्र खतिवडा
भ्यागुताको दौड हेरेर
केटाकेटी रमाइरहेछन्
सर्पहरु फणा उठाउँदै आउँछन्
भ्यागुताहरु पोखरीमा बुद्रुक बुद्रुक हाम फालेर
आफ्नो जीवन बचाउँछन् ।
यो क्रम निरन्तर चलिरहेको छ
सर्पहरु आक्रामक छन्
सिङ्गा सिङ्गै भ्यागुता निल्छन
माउ भ्यागुता खाएर
बचेरालाई टुहुरो बनाउँछन् ।
सर्पको ज्यादतिबाट
आजित भ्यागुताहरु
सुरक्षित पोखरीको
स्थानान्तरणको खोजिमा छन् ।
भ्यागुताको साथी जुनकिरी
जब बल्छ पिल पिल
तब भ्यागुता रमाएर
मिठो गीत गाउँन थाल्छन् ।
साँझको संकेत दिन
भ्यागुताहरु ट्वार ट्वार कराउँछन्
साँझ मै जून झुल्कन्छ
पोखरी मनमोहक देखिएपछि
भ्यागुताहरु खुशी व्यक्त गर्न
पोखरीको सतहमा फुत्त फुत्त उफ्रन्छन् ।
भ्यागुताको भाषा बुझ्दैन मान्छे
मान्छेको भाषा बुझ्दैन भ्यागुतो
सायद भ्यागुताहरु रोइ रहन्छन्
पोखरीको गहिराइ भित्र
वर्षौ देखिको
दमित आकांक्षा बोकेर ।
शान्त पोखरीमा छालहरु उठ्दा पनि
विद्रोह गर्न सक्तैनन भ्यागुताहरु
भ्यागुताहरुको भद्रता देखेर
झ्याउँकिरी दङ्ग छ
सुरक्षित पोखरीमा हाम फाल्न आँट नगर्ने
अवोध भ्यागुताहरु
तिमीहरुको सुरक्षित पोखरी कहाँ छ ?
मलाई थाहा छैन
सुरक्षित पोखरी
मलाई थाहा छैन
भ्यागुताको इतिहास
यायावर जस्तो
डुली हिड्दैनन भ्यागुताहरु
पुर्खौली पोखरीमै रमाइरहेका
क्रान्तिकारी छलाङ मार्न नसकी
परम्परागत शैली शिरोधार्य गर्दै
जीवन चलाइ रहेछन भ्यागुताहरु ।
भ्यागुताहरु !
संसाँझै क्रान्तिका गीत गाउँ
झ्याउँकिरीका स्वरमा स्वर मिलाउँदै
हराएको उज्यालो खोजि गर
जुनकिरीको पिल पिले उज्यालो पछ्याउँदै ।
तिमी उभयचरीय प्राणी हौ
जमिनमा पनि तिम्रो हक लाग्छ
पानी र जमिन
तिम्रो जीवनको क्रीडा स्थल
सर्प देखि होशियार
तिमीलाई जीवन प्यारो लाग्नु पर्छ ।
- सुन्दरहरैंचा–६, दुलारी, मोरङ
प्रतिक्रिया