सुर्खेतस्थित वीन्द्रनगरमा इनिशा बिकलाई जबर्जस्ती बलात्कार गरी हत्या गरिएको घटनाको विरोधमा काठमाडौंस्थित आर.आर. क्याम्पस BSW (Bachelor of Social Work) का विद्यार्थीहरुले क्याम्पसअगाडि कालो मास्क लागाएर विरोध प्रदर्शन गरेका छन् ।
विद्यार्थीले क्याम्पस परिसरमा भेला भइ दोषीलाई कडा कानुनी कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले महिलामाथि हुने हिंसा र बलात्कारका घटनाहरु बढ्दै गएको प्रति गम्भीर चिन्ता व्यक्त गरे । विद्यार्थीहरुले यस्ता जघन्य अपराध रोक्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।
प्रदर्शनमा सहभागी विध्यार्थीहरुले ‘न्याय चाहिन्छ’, ‘महिलामाथि हिंसा बन्द गर’ जस्ता नारा लगाउँदै पीडितका लागि न्यायको माग गरेका थिए ।
प्रदर्शनकारी विद्यार्थीका अनुसार समाजमा महिलाको सुरक्षालाई प्रथामिकता दिन आवश्यक छ । साथै, यस्ता घटनाले समाजमा डर र असुरक्षा बढेकोले सरकार तथा सम्बन्धित निकायले गम्भीर रुपमा ध्यान दिनुपर्ने उनीहरुको माग छ ।
उक्त घटनाप्रति विरोध जनाउँदै देशभर सामाजिक सञ्जाल तथा विभिन्न क्षेत्रबाट पनि न्यायको माग उठिरहेको अवस्था छ । नागरिक समाज, विद्यार्थी र विभिन्न संघ-संस्थाहरुले पीडितका लागि न्याय सुनिश्चित गर्न र यस्ता जघन्य अपराध नियन्त्रण गर्न कडा कदम चाल्न सरकारलाई आग्रह गरिरहेका छन् । उक्त घटनाले देशभर आक्रोश र दुःखको वातावरण सिर्जना गरेको छ ।
प्रतिक्रिया