मेसिनलाई बुद्धत्व सिकाउनुअघि हामी आफैले आफ्नो ‘मानवता’लाई बिर्सन हुँदैन । लगाम अझै पनि मानिसकै हातमा छ, तर त्यो लगाम समात्ने हातहरू ‘सचेत’ हुन जरुरी छ ।
✍ डिल्ली अम्माई

सृष्टिको करोडौँ वर्ष लामो यात्रामा आज मानिस एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ उसको ‘जैविक अस्तित्व’ र उसैले निर्माण गरेको ‘डिजिटल नियत’ बीच भीषण द्वन्द्व सुरु भएको छ । एकातिर हामीसँग बेदको अहं ब्रह्मास्मि, ‘तत्त्वमसि’, बुद्धको ‘संयम’ र वात्स्यायनको ‘सौन्दर्यबोध’ले सिञ्चित प्राचीन चेतना छ, जसले हामीलाई ब्रह्माण्डको एउटा सानो तर अर्थपूर्ण हिस्सा मान्छ । अर्कोतिर, सिलिकन चिप्स र बाइनरी कोड (0 र 1) बाट निर्मित एक यस्तो ‘कृत्रिम ईश्वर’ छ, जसको कुनै निश्चित नैतिकता छैन – त्यहाँ केवल त्यसका निर्माताको स्वार्थ वा दूरदृष्टि लुकेको छ।
आजको मुख्य प्रश्न यो होइन कि प्रविधि कति शक्तिशाली छ; प्रश्न त यो हो कि त्यो प्रविधिभित्र भरिएको ‘नियत’मा अमृत छ कि विष ? यदि निर्माताले आफ्नो संकुचित स्वार्थका लागि एउटा मेसिनमा सूचनाको मेकानिज्म छिराउँछ भने, के त्यसले मानव जातिको ‘करुणा’, ‘पहिचान’ र ‘पर्यावरणीय बोध’लाई जीवित राख्न सक्ला ? वा हामीले आफ्नै हातले यस्तो एउटा ‘डिजिटल दासता’को पर्खाल उठाउँदैछौँ, जहाँ हाम्रो ‘नितान्त व्यक्तिगत’ भनिएको स्वत्व र चेतना एउटा डेटा-फाइलमा सीमित हुँदैछ । यसले हामीलाई कहाँ पुऱ्याउला ?
यो बहस केवल एआइ वा क्वाण्टम मेसिनको विकासको होइन, यो त मानव आत्मा रक्षाको ‘महा-मन्थन’ हो । यदि हामीले समयमै प्रविधिलाई दर्शन र नैतिकताको लगाम लगाउन सकेनौँ भने, भोलिको संसारमा ‘मानिस’ हुनुको अर्थ केवल एउटा जैविक मेसिन हुनुमा मात्र सीमित रहन सक्छ।प्रविधि आफैमा अन्धो हुन्छ । यसलाई दृष्टि दिने काम निर्माताको हो भने फिल्टर गर्ने काम प्रयोग कर्ताको हो । यहाँ एउटा गम्भीर प्रश्न उठ्छ- के गणितीय सूत्रहरूले ‘करुणा’ प्रेम र सत्वको अनुभूति गर्न सक्छन् ?
मूल्य-आधारित भएर एआईले काम गर्न सक्योभने नैतिक मुल्यमा आधारित समतामुलक समाजको निर्माण र प्रविधिको प्रयोग सम्भव छ। त्यसको लागि सफ्टवेयर बनाउँदा नै उन्नत रोबर्टमा ‘मानवीय हित’ (Human Alignment) अझ अगाडी बढेर जैविक हितलाई प्राथमिकता दिने संयन्त्र(चिप्स) जोडिनुपर्छ।
जसरी कम्पनीहरूको वित्तीय अडिट हुन्छ, त्यसरी नै प्रविधिको ‘नियत अडिट'((Ethical Audit) हुनुपर्छ- कि यसले कतै मानिसलाई डिजिटल दास त बनाउँदै छैन ?
त्यस्तै, प्रविधिले जब हाम्रा शारीरिक र भौतिक आवश्यकताहरू सहजै पूरा गरिदिन्छ, तब मानिससँग ‘आत्म-चिन्तन’ का लागि धेरै समय बाँकी रहन्छ।यदि मेसिनले हाम्रो ‘तनाव’ कम गर्दै गयो भने, त्यो समयलाई हामीले बुद्धको ‘मौन’ र ‘साक्षी भाव’मा बदल्न सक्छौँ । त्यसमा प्रविधिले अवरोध गर्नु हुँदैन ।
‘हामीलाई यस्तो प्रविधि चाहिएको छ जसले हामीलाई थप ‘मानवीय’ बनाओस्, न कि हामीलाई एउटा कुशलतापूर्वक चल्ने मेसिनमा बदलोस् ।’ यदि चिप्सभित्र ‘विष’ छ भने त्यसले संसारलाई भौतिक सुख त देला, तर मानसिक र आध्यात्मिक रूपमा मरुभूमि बनाउनेछ । त्यसैले, आधुनिक निर्माताहरूले अब कोडिङ सँगसँगै ‘दर्शन’ र ‘उपनिषद्’को सार पनि बुझ्न जरुरी छ ।यसलाई सरल तरिकाले बुझ्न भविष्यमा प्रविधिको विकास र नियतबारे मनमा उठेका केहि प्रश्नमा आधारित रहेर निम्न विशेष दार्शनिक प्रश्नहरू माथि मन्थन गर्न आवश्यक देखिन्छ –
१. अहंकार भर्सेस अस्तित्व (Ego vs. Existence)
प्रश्न: यदि मानिस सृष्टिको केन्द्र (Center) होइन भने, उसको ‘अस्तित्व’ को सार्थकता केमा छ ? के हामी केवल एउटा ‘जैविक मेसिन’ हौं वा कुनै ‘ब्रह्माण्डीय चेतना’को अंश ?
– यसको उत्तरले बुद्धको ‘अनात्मवाद’ र आधुनिक ‘अस्तित्ववाद’ बीचको खाडल पुर्ने देखिन्छ । जस्तो कि मानिस सृष्टिको सृजना मात्र नभएर उसकै लामो मेहनतको स्रिङ्खलाबाट निस्केको अनुभवहरुको सार पनि हो । उसले आफ्नै युगिन मेहनतले चेतनालाई माथि उठाउदै लग्यो र सिङ्गो पृथ्वीलाई नियन्त्रण गर्न सक्ने हदसम्म पुऱ्यायो । महान् दार्शनिक जाँ पाल सार्त्रका अनुसार, ‘अस्तित्व सार भन्दा पहिले आउँछ ।’ यसको अर्थ हो- हामी कुनै निश्चित उद्देश्य (Purpose) लिएर जन्मिएका होइनौँ ।यदि हामी सृष्टिको केन्द्रमा छैनौँ भने, हामीमाथि कुनै ‘पूर्वनिर्धारित’ भारी पनि छैन र हुनु हुँदैन । हामी एउटा खाली क्यानभास जस्तै हौँ । हाम्रो अस्तित्वको सार्थकता हामी आफैले रोज्ने काम, अनुभव, प्रेम, सिर्जना र संघर्षमा अन्तर्निहित छ ।
तर आधुनिक जीवविज्ञान र स्नायुविज्ञान (Neuroscience) ले हामीलाई धेरै हदसम्म एक जटिल ‘जैविक मेसिन’ जस्तै मान्दछ।हाम्रा भावना, विचार र निर्णयहरू न्यूरोन्सको विद्युतीय संकेत र हर्मोनका रसायनहरू मात्र हुन् भन्ने उनीहरुको तर्क छ । भौतिक रुपमा उनीहरुको तथ्य ठिकै होला तर, यो जैविक मेसिन अन्य मेसिनभन्दा फरक छ किनभने यसमा स्व-चेतना (‘Self-awareness’) छ ।
एउटा मेसिनले केवल कार्य गर्छ, तर हामीले त्यो कार्यको अनुभव गर्छौं र त्यसको प्रभाव तथा उपयोगिताबारे बहस गर्छौं । यही अनुभव गर्ने क्षमताले नै हामीलाई ‘जीवित प्राणी’मा रूपान्तरण गरेको हो ।
वास्तवमा ब्रह्माण्डलाई जान्ने, बुझ्ने र यसको सुन्दरताको कदर गर्ने माध्यम हामी नै हौँ।यदि ब्रह्माण्डमा चेतना नभएको भए, यो विशाल ब्रह्माण्डको अस्तित्व भए पनि त्यसलाई ‘देख्ने’ कोही हुने थिएन । त्यसैले, हामी ब्रह्माण्डभन्दा छुट्टै ‘केन्द्र’ होइनौँ, बरु हामी ब्रह्माण्डले आफैलाई हेर्ने एउटा आँखा जस्तै हौँ। हामी त्यो विशाल चेतनाको सानो तर जीवन्त अंश हौँ । हामी सृष्टिको केन्द्रमा नहुनुको अर्थ हामी ‘नगण्य’ हुनु मात्र होइन, बरु हामी ‘स्वतन्त्र’ हुनु पनि हो।
२. ‘स्व’ र ‘पर’को सीमा (The Boundary of Self and Other)
प्रश्न : मेरो शरीर कहाँ सकिन्छ र ‘इको-सिस्टम’ कहाँबाट सुरु हुन्छ? यदि अर्को देशको युद्ध वा अर्को गोलार्द्धको रुख कटानीले मेरो ‘स्वत्व’ मा असर पार्छ भने, मानव वा जीव जगतमा ‘नितान्त व्यक्तिगत’ भन्ने कुरा केही बाँकी रहन्छ र ?
- यो सीमाको प्रश्नले वास्तवमा ‘पृथकताको भ्रम’ लाई चुनौती दिन्छ । भौतिक रूपमा हामीलाई लाग्छ कि हाम्रो छाला (Skin) नै हाम्रो अन्तिम सीमा हो। तर विज्ञानले यसलाई अर्कै नजरले हेर्छ । ज्ञानले एक जिव वा बनस्पतिको लोप हुँदा त्यसले वैश्विकरुपमा पार्ने जैविक असरलाई देख्न सक्छ । त्यसैले विज्ञान वा ज्ञानलाई भविष्यको आफ्नै आयु देख्न सक्ने ‘वार्म होलको दुरविन’ भनिएको हो ।
हामीले फेर्ने प्रत्येक श्वासमा अर्को गोलार्द्धको रुखले छोडेको अक्सिजन हुन्छ । हाम्रो शरीरका कोशिकाहरूले हरेक पल वातावरणसँग पदार्थ र ऊर्जा साटासाट गरिरहेका हुन्छन् । वातावरणविदहरुले चिच्याउदै रुख पानी र प्राणको सम्बन्ध बताउनुको कारणमा त्यहि अंतर्यले काम गरेको हुन्छ ।
हाम्रो शरीरभित्र अर्बौंको संख्यामा ब्याक्टेरिया (Microbiome) र सूक्ष्म जीवहरू छन्, जो हाम्रो डिएनए (DNA) भन्दा फरक छन् तर हामीलाई जीवित राख्न ति अनिवार्य छन् । ति सबै ब्याक्टोरिया पाउने भनेको हाम्रो इको सिष्टमले बनाएको सन्तुलनबाट हो ।
यसरि जैविक रूपमा हाम्रो शरीर इको-सिस्टमको एउटा सानो ‘नोड’ (Node) मात्र हो, कुनै छुट्टै टापु वा पृथक अस्तित्व होइन । शरीर जहाँ ‘सकिन्छ’ भनिन्छ, त्यहाँबाट त केवल हाम्रो अर्को रूप (ब्रह्माण्ड विचरणको यात्रा) सुरु हुन्छ।
अहिले केहि इलिट राष्ट्रहरुले युद्धलाई संसारभर बलपुर्वक चलाइरहेका छन् । त्यसले पृथ्वीको जैविक आयुलाई कति असर पारेको छ भन्नेबारे उनीहरुलाई मतलव नै छैन । उनीहरुको स्वार्थ अरु राष्ट्रको सम्पदा लुट्नुसंग छ । अर्को अर्थमा भन्दा उनीहरुको स्वार्थ मानव प्रकृति बिचको सम्बन्धसंग नभएर केवल खुद नाफासंग मात्र छ ।
जब अर्को देशमा युद्ध हुन्छ वा टाढाको जंगल काटिन्छ, त्यसले हामीलाई भौतिक र मनोवैज्ञानिक असर पार्छ र पारिरहेको छ। जस्तै-
यदि हामिले एउटा रुख काट्यौं भने, हामीले आफ्नो फोक्सोको एक अंश काट्दै हुन्छौँ । युद्ध वा जंगल विनासको भौतिक असर जलवायु परिवर्तन वा आर्थिक मन्दीको रूपमा हाम्रो भान्छासम्म आइपुग्छ । मनोवैज्ञानिक/नैतिक असरको रुपमा यदि हामी ‘सचेत’ छौँ भने, संसारको कुनै पनि कुनामा भएको पीडाले हाम्रो ‘स्वत्व’ लाई अशान्त र दुखी बनाउँछ। हामी एक वैश्विक स्नायु प्रणाली(Global Nervous System) मा जोडिएका छौँ, जहाँ एउटा अंगमा लागेको चोटको संकेत मस्तिष्कसम्म पुग्छ नै । यसको गहन अनुभूतिजन्य ज्ञानले ‘युद्ध’ वा प्रयावारण बिनासलाई ‘आत्महत्या’को रूपमा व्याख्या गर्ने ‘नयाँ आँखा’ दिन्छ । अब यदि कतै युद्ध भइरहेको छ भने, त्यो मानवताको साझा चेतनामा लागेको घाउ हो भन्ने कुरा जनजनलाई बुझ्नु र बुझाउनु आवश्यक छ । मतलव युद्ध प्रयोजनको लागि निर्मित प्रविधिलाई पनि चेतनासंग जोडेर प्रयोग गर्ने र जैविक हितको सफ्टवेयर विकसित गर्दै प्रविधिको अडिट गर्नुपर्ने बेला आइसकेको छ ।
‘छुरीले तरकारी पनि काटिन्छ, घाँटी पनि ।’ तर एआई (AI) सामान्य छुरीमात्र होइन, यो ‘सोच्ने छुरी’ हो । निर्माताले यसमा कुन ‘डाटा’ छिराउँछ, त्यसैले यसको ‘नैतिक कम्पास’ तय गर्छ ।
अर्को कुरा, मानिसमा यान्त्रिक एकरुपता सम्भव छैन । हाम्रो ‘अनुभव गर्ने तरिका’ (Subjective Experience) मेसिनको भन्दा नितान्त व्यक्तिगत र फरक फरक छ । जस्तै : हाम्रो भोगाइ, अनुभूति,हाम्रो भित्री शून्यता (परम शान्ति), र त्यो शून्यताबाट निस्कने ‘करुणा’ वा ‘कल्पना भाव’ नै हाम्रो नितान्त निजी सम्पत्ति हो । बाह्य जगतसँग पूर्ण रूपमा जोडिएर पनि आफ्नो ‘आन्तरिक केन्द्र’मा अडिग रहन सक्नु नै मानिसको सबैभन्दा ठूलो सार्थकता हो । यसैले मानिसलाई यन्त्रवत बनाउन कदाचित सम्भव छैन ।
३. ‘काम’ (Desire) र ‘सृष्टि’को सम्बन्ध
प्रश्न : वात्स्यायनको यौन दर्शन र बुद्धको संयमको बीचमा ‘सृष्टि-निरन्तरता’ को कुन यस्तो सूत्र लुकेको छ, जसले भोगलाई ‘योग’मा बदल्न सक्छ ?
यसको उत्तरले आधुनिक उपभोक्तावाद र आध्यात्मिक वैराग्य बीचको विरोधाभास सुल्झाउनेछ । मेरो बिचारमा वात्स्यायन (भोग/काम) र बुद्ध (संयम/निर्वाण) बीचको विरोधाभासपूर्ण देखिने यो सम्बन्ध नै वास्तवमा ‘सृष्टि-निरन्तरता’ को मूल सूत्र हो।वात्स्यायनको कामसूत्र केवल शारीरिक सुखको निर्देशिका होइन, यो ‘कला’ र ‘उपस्थितिको’ सौन्दर्य शास्त्र हो । जसलाई मैले अघिल्ला लेखहरुमा धारावाहिक रुपमा स-ब्याख्या प्रकाशित गरिसकेको छु ।
त्यस्तै बुद्धको ‘संयम’ पनि दमन होइन, बरु मानसिक ‘जागरुकता’ हो । जब भोगमा ‘बेहोसी’ को सट्टा बुद्धको ‘होस’ (Awareness) प्रवेश गर्छ, तब त्यो केवल जैविक प्रक्रिया रहँदैन । अनि भोगलाई पूर्ण सचेतताका साथ भोग्दा, त्यसले व्यक्तिको अहम् (Ego) लाई पगाल्छ र ‘योग’ (मिलन) को ढोका खोल्छ । वात्स्यायनको दर्शन अनुशार ऊर्जाको स्वीकार र त्यसको सौन्दर्यीकरणले भोगलाई परम् आनन्दमय बनाउँछ।बुद्धको दर्शनमा ऊर्जाको च्यानलाइजेशन र शान्तिको अघिल्लो अनुभवको रुपमा सम्भोगको उपमा दिइएको छ ।वात्स्यायनले कामलाई सृष्टि निरंतारताको लागि एउटा सामाजिक र पारिवारिक दायित्व (धर्म र अर्थसँगै) मानेका छन् भने बुद्धले सृष्टि चक्रभित्रको सम-भाव अर्थात ‘करुणा’ लाई सर्वोच्च स्थान दिएका छन् । जब भोगमा अर्को व्यक्तिको अस्तित्वप्रति सम्मान र करुणा जोडिन्छ, त्यो ‘प्रसाद’ बन्छ । सृष्टि-निरन्तरता केवल संख्या बढाउनु मात्र होइन, बरु चेतनाको गुणस्तर बढाउनु वा दर पिंढी दर बिस्तार गर्नु हो ।
अत: ओशोका अनुशार, भोगलाई योगमा बदल्ने सूत्र ‘साक्षी भाव’ हो । जब हामी आफ्नो जैविक प्रवृत्तिलाई दमन नगरी त्यसलाई एउटा ‘ब्रह्माण्डीय नृत्य’ (Cosmic Dance) को रूपमा हेर्दछौँ, तब हाम्रो ‘स्वत्व’ विस्तार हुन्छ । संसारमा सृष्टि चलिरहन्छ, पिंढीको सृंखला अगाडी बढी रहन्छ र करुणाको वर्षा भै रहन्छ । भोग गर्दा ‘म भोग्दैछु’ भन्ने कर्ता भाव हराएर जब केवल ‘अनुभूति’ मात्र बाँकी रहन्छ, त्यहाँ द्वैत मेटिन्छ । यही ‘अद्वैत’ अवस्था नै योग हो। त्यहि योगले नै परम् सन्तुलन वा सान्ति देख्न सक्छ ।
सृष्टि-निरन्तरताका लागि वात्स्यायनले शरीर दिएका छन् भने त्यसलाई सार्थक बनाउन बुद्धले दृष्टि दिएका छन् । त्यसैले यी दुवै दर्शनहरु अन्तरसम्बन्धित छन् ।
४. भविष्यको मानवको ‘दृष्टि’
प्रश्न : आगामी समाजमा ‘प्रविधि’ ले मानिसको शरीरलाई त बदल्ला, तर के त्यसले मानिसको ‘करुणा’ र ‘पर्यावरणीय बोध’ लाई पनि बदल्न सक्छ ?
- प्रविधि र मानव चेतनाको यो सम्बन्धबारे गरिएको शंका आगामी दशकहरूको सबैभन्दा चुनौतीपूर्ण प्रश्न हो । प्रविधि आफैँमा ‘निर्जीव’ भए पनि यसले मानव ‘स्वभाव’ लाई पुन: परिभाषित गर्ने सामर्थ्य राख्छ । ‘भर्चुअल रियालिटी’ (VR) जस्ता प्रविधिले हामीलाई अर्को महादेशको शरणार्थीको शिविरमा वा युद्धको बीचमा उभ्याउन सक्छ। यसले हाम्रो करुणाको दायरालाई ‘स्थानीय’ बाट ‘विश्वव्यापी’ बनाउन मद्दत गर्छ ।
अर्कोतर्फ, प्रतक्ष अनुगमन बिना,केवल स्क्रिनको माध्यमबाट संसारलाई हेर्दा हामी अरूको पीडालाई केवल ‘डाटा’ वा ‘भिडियो गेम’ जस्तो मान्न थाल्छौँ । यदि प्रविधिले मानिसलाई शारीरिक स्पर्श र प्रत्यक्ष संवादबाट टाढा लग्यो भने, हाम्रो ‘जैविक करुणा’ (Biological Empathy) मर्दै जाने खतरा रहन्छ । सवाल प्रविधिको हैन त्यसलाई प्रयोग गर्ने कला वा तरिकाको हो । नैतिक प्रविधिको लागि हामीले के गर्न सक्छौँ ? प्रश्न त्यो हो ।
नैतिक प्रविधि’ (Ethical Technology) को निर्माण केवल इन्जिनियरहरूको काम मात्र होइन, यो समाजका हरेक तहबाट हुनुपर्ने एउटा ‘सांस्कृतिक आन्दोलन’ पनि हो । एउटा सफ्टवेयर इन्जिनियरले प्रोग्राम लेख्नुअघि त्यसको ‘मानवीय प्रभाव’ बुझ्न जरुरी छ।हामीले हाम्रा बालबालिकालाई प्रविधिको ‘प्रयोगकर्ता’ मात्र होइन, त्यसको ‘आलोचनात्मक परीक्षक’ बन्न सिकाउनुपर्छ । जुन एप वा प्रविधिले हाम्रो गोपनीयता (Privacy) र मानसिक स्वास्थ्यमा विष घोल्छ, त्यसलाई बहिष्कार गर्न लगाउनु पर्छ ।हामीले ‘लत’ लगाउने (Addictive) प्रविधिको सट्टा ‘जीवनोपयोगी’, ‘अर्थपूर्ण’ र ‘पारदर्शी’ प्रविधिलाई बढावा दिनुपर्छ । सरकार र नागरिक समाजले ‘अल्गोरिदमको अडिट’ गर्ने माग राख्नुपर्छ।चिप्सभित्र के छ र त्यसको ‘नियत’ के हो भन्ने कुरा स्पष्ट (Open Source) हुनुपर्छ, ताकि कसैले पनि प्रविधिलाई ‘अस्त्र’ को रूपमा प्रयोग गर्न नसकोस् । हामीले यस्तो प्रविधिको वकालत गर्नुपर्छ जसले मानिसलाई कोठाभित्र थुन्ने होइन, बरु प्रकृति र समाजसँग जोड्ने काममा सहयोगीको काम गरोस्।प्रविधिलाई ‘मालिक’ होइन, ‘इको-सिस्टम’ को एउटा ‘जिम्मेवार नोड'(निश्चित कार्यहरूका लागि उत्तरदायी) बनाउन दबाब दिनुपर्छ । यसमा पनि अन्तर्राष्ट्रिय स्तरमै ‘डिजिटल जेनेभा महासन्धि’ जस्तै नियमहरू चाहिन्छ, जसले विनाशकारी एआई वा जैविक युद्धका लागि प्रयोग हुने प्रविधिलाई ‘अपराध’ मान्न सकोस्।प्रविधि निर्माताहरूलाई उनीहरूको ‘नियत’ र त्यसबाट हुने ‘परिणाम’ प्रति जवाफदेही बनाउनुपर्छ । नैतिक प्रविधिको लगाम हाम्रो ‘सचेतता’ मा छ । जबसम्म हामी ‘बेहोसी’ मा प्रविधिको उपभोग गर्छौं, तबसम्म हामी अल्गोरिदमको ‘दास’ रहन्छौँ ।
रह्यो प्रविधिलाई प्रयावारण मिति बनाउने कुरा । ‘मेटाभर्स’ जस्ता कृत्रिम संसारले हामीलाई प्रकृतिभन्दा टाढा लैजान सक्छन् । प्रकृतिको अनुभूति बिना मानिसलाई लाग्न सक्छ कि उसले ‘एसी’ को कोठामा बसेर अक्सिजन र खाना प्रविधिबाटै पाइरहेको छ, तब उसले बाहिरको रुख कटानी वा जलवायु परिवर्तनलाई आफ्नो अस्तित्वको संकट मान्न छोड्न पनि सक्छ। त्यसैले प्रकृतिसंग मानिसको जुडाव,अनुभवसहित प्रविधिको जाँच र अनुबन्ध आवश्यक भएको हो ।
माथिकै कुरालाई ठिक उल्ट्याएर हेर्दा,यसले मानवलाई धेरै किसिमले सहयोग गरेको पनि छ । उदाहरणको लागि सेन्सर र एआई (AI) ले हामीलाई पृथ्वीको ‘नाडी’ छाम्न सिकाउन सक्छन् । रुखहरूले कसरी कुरा गर्छन् वा महासागरको तापक्रमले कसरी हाम्रो रगतमा असर गर्छ भन्ने कुरा जब ‘डाटा’ ले प्रमाणित गर्छ, तब हाम्रो पर्यावरणीय बोध ‘भावनात्मक’ मात्र नभएर ‘वैज्ञानिक’ र ‘अपरिहार्य’ बन्ने सम्भावना रहन्छ ।
मानिसको शरीरलाई प्रविधिले जैविक हिस्सा (हाम्रो प्राकृतिक शरीर) र कृत्रिम हिस्सा (मेसिन वा प्रविधि) दुवै आपसमा जोडिएको ‘साइबोर्ग’ बनाउला, तर करुणा र बोध प्रविधिका ‘फिचर’ होइनन्, यी ‘अनुभूति’ हुन् । यसर्थ, खतरा यो होइन कि मेसिनले मानिसजस्तै सोच्न थाल्नेछ, खतरा त यो हो कि मानिसले मेसिनजस्तै सोच्न थाल्यो भने के उपाय गर्ने। जस्तो ऊ मेसिन जस्तै लम्पट र गधा जस्तै अरुको बिबस भरियामात्र बन्यो भने गर्ने के ? यसर्थ, समस्या मेसिनमा हैन मानिसको नियत र प्रयोग कौशलमा छ।
यदि प्रविधि केवल नाफा कमाउने ‘मालिक’ हरूको हातमा रह्यो भने, यसले अर्काथरी उपभोक्तालाई ‘डिजिटल दास’ बनाउने निश्चित छ । त्यहाँ करुणाको चिप्स होइन, ‘लत’ (Addiction) र ‘शोषण’ को सूचनाले प्राथमिकता पाउने अवस्था सृजना गरिएको छ । यो नै आधुनिक डिजिटल युगको सबैभन्दा खतरनाक र अदृश्य पक्ष हो ।
यसको सकारात्मकताको कुरा गर्दा, यदि प्रविधिले हाम्रो समय बचाएर हामीलाई ‘मौन’ र ‘चिन्तन’ गर्ने अवसर दियो भने, हाम्रो करुणा अझ बढ्ने सम्भावना पनि त रहन्छ । यसले ‘एआई’ (AI) र ‘आध्यात्मिकता’ बीचको नयाँ सम्बन्धको आविष्कार गर्ने औजार बनाउन पनि त सकिन्छ, जहाँ मान्छेले आफूलाई ‘स्वामी’ होइन, सृष्टिको एउटा ‘विनीत सङ्गीतकार’ मात्र देख्नेछ । तर यदि यसले हामीलाई केवल ‘उपभोग’ मा अल्झायो भने, हामी वात्स्यायनको भोग र बुद्धको संयम दुवैबाट च्युत हुनेछौँ । वास्तवमा अल्गोरिदम मेसिन जस्तै ।
माथिका बहसको सार खिच्नु पर्दा, प्रविधिका निर्माताहरूलाई ‘आधुनिक ब्रह्मा’ मान्ने हो भने, उनीहरूले सफ्टवेयरको ‘चिप्स’मा कस्तो नियत (Intent) भर्नेछन् भन्ने कुराले नै भोलिको स्वर्ग वा नर्क तय गर्नेछ । अर्कोतर्फ नियतको टकराव र ‘एल्गोरिदमिक युद्ध’ले एक खालको नयाँ प्रविधिको टकराव हुने खतरा पनि उत्तिकै छ भविष्यमा ।
यदि एउटा निर्माताले ‘अमृत’ (कल्याणकारी नियत) र अर्कोले ‘विष’ (स्वार्थ वा विनाश) प्रविधिमा सेट गर्छ र त्यहि अनुशार प्रयोग गर्छ भने, त्यो टकराव केवल दुई सफ्टवेयरको बीचमा हुँदैन । भोलिको दुनियामा त्यसले मानव चेतनालाई दुई धारमा बाँडेर डिजिटल युद्ध शुरु गर्नेछ।एकातिर प्रविधिले भोकमरी र रोग निको पार्ने नियत राख्न सक्ने अबस्था आउनेछ । अर्कोतिर त्यही प्रविधिले मानिसलाई नियन्त्रण गर्ने र युद्धका लागि ‘किलर रोबोट्स’ बनाउने नियत राख्न सक्ने अबस्थाको सृजना हुनेछ ।
परिणामत: प्रविधिको ‘टकराव’बाट एउटा यस्तो ‘डिजिटल महाभारत’ सिर्जना हुन सक्ने छ, जहाँ हार-जित प्रविधिको होइन, बरु मानवीय मूल्यको हुनेछ । भविष्यको उत्तर आधुनिक युगमा समेत प्रबिधि तटस्थ हुने सम्भावना रहन्न । अहिलेका वैश्विक मानवको नियत हेर्दा त्यहि खालको तस्विर छर्लङ्ग देखिन्छ ।
धेरैले भन्छन्- ‘छुरीले तरकारी पनि काटिन्छ, घाँटी पनि ।’ तर एआई (AI) सामान्य छुरीमात्र होइन, यो ‘सोच्ने छुरी’ हो । निर्माताले यसमा कुन ‘डाटा’ छिराउँछ, त्यसैले यसको ‘नैतिक कम्पास’ तय गर्छ ।
यदि प्रविधि केवल नाफा कमाउने ‘मालिक’ हरूको हातमा रह्यो भने, यसले अर्काथरी उपभोक्तालाई ‘डिजिटल दास’ बनाउने निश्चित छ । त्यहाँ करुणाको चिप्स होइन, ‘लत’ (Addiction) र ‘शोषण’ को सूचनाले प्राथमिकता पाउने अवस्था सृजना गरिएको छ । यो नै आधुनिक डिजिटल युगको सबैभन्दा खतरनाक र अदृश्य पक्ष हो । यसले कसरी काम गर्छ र यसले हाम्रो ‘स्वत्व’लाई कसरी कोतर्न सक्छ सोच्दा पनि भयानक डर पैदा हुन्छ ।
प्रविधि निर्माताहरूले हाम्रो मस्तिष्कको डोपामिन (Dopamine) प्रणालीलाई बुझेका छन् । उनीहरुले मानिसलाई दास बनाउने गरेर प्रोग्राम सेट गरिदिएका हुन्छन् । एउटा ‘लाइक’, एउटा ‘नोटिफिकेसन’ वा एउटा छोटो भिडियोले हाम्रो दिमागमा तत्कालै आनन्दको सानो झट्का दिन्छ । यसले हामीलाई मेसिनको अगाडि घण्टौँसम्म ‘दास’ बनाएर राख्छ। यो कुनै संयोग होइन, यो जानाजानी गरिएको ‘मनोवैज्ञानिक शोषण’ हो । यदि अल्गोरिदमको लक्ष्य ‘बढी भन्दा बढी समय स्क्रिनमा अड्याउनु’ मात्र हो भने, उसले हामीलाई घृणा, फेक न्युज र उत्तेजना मात्र पस्कन्छ । यसबाट हामी आँफै सजग हुनुको कुनै विकल्प छैन ।
अहिलेको सिलिकन बेस डिजिटल प्रविधि अत्याधिक नाफाको लागि तय गरिएको छ, किनकि यो डिजिटल क्यापिटालिजम् को लागि तयार गरिएको प्रोग्रामिङ्ग हो । यसले मानबिय रुचिको ख्याल गरेपनि उसका नैतिक सीमाहरुको ख्याल गरेको छैन । आफै फिल्टर गर्न नसक्ने हो भने यसले मानव सभ्यता स्वाहा पार्छ । त्यसैले भनिएको हो, ‘आजको शोषण कुनै जमिन्दारले गर्ने शारीरिक श्रमको शोषण मात्र होइन; यो त हाम्रो ‘चेतनाको डाटा’माथि गरिएको डिजिटल कब्जा हो । ‘शोषणको सूचना मेकानिज्म’ले हाम्रा कमजोरीहरूलाई चिन्न सक्छ र त्यसलाई ‘नाफा’ मा बदल्न सक्छ। जब मेसिनले हाम्रो डर र लोभलाई ‘कोडिङ’मार्फत नियन्त्रण गर्न थाल्छ, तब बुद्धको ‘संयम’ र हाम्रो ‘नितान्त व्यक्तिगत’ स्वतन्त्रता केवल एउटा भ्रम मात्र बाँकी रहन्छ ।’
त्यसैले भनिएको हो, ‘कोडिङ’ मा बुद्ध र वात्स्यायनको दार्शनिक चेतको अभाव हुँदा धर्तिको बिनास विध्वंसक प्रविधिले गर्नेछ भनेर । आजको प्रविधि निर्माणमा गणित र तर्क (Logic) त छ, तर त्यहाँ दर्शन,उपयोगिता र बोधको कमी छ । यदि प्रविधि निर्मातामा बुद्धको ‘संयम’ र वात्स्यायनको ‘सौन्दर्यबोध’ हुन्थ्यो र उपयोगितामा आधारित नैतिक समाज हुन्थ्यो भने, उनीहरूले यस्तो मेसिन बनाउँथे जसले मानव समाज र प्रकृतिलाई दोहन होइन, सम्मान गर्थ्यो ।
भविष्यमा मेसिनको ‘आफ्नै’ नियत: एक नयाँ चुनौती बन्ने सम्भावना छ । एउटा विन्दुमा पुगेपछि एआईले आफै सिक्न (Self-learning) थाल्छ । त्यतिबेला निर्माताको चिप्स भन्दा पनि मेसिनले संसारबाट के सिक्यो भन्ने कुरा प्रधान हुन सक्छ । यदि त्यस्तो भयोभने प्रविधिका बाधा र असरहरु कमजोर भएर जाने छन् ।
यदि संसारमा घृणा, युद्ध र स्वार्थ धेरै छ भने, मेसिनले पनि त्यही ‘विष’लाई आफ्नो ‘अमृत’ मान्न सक्छ । यो खतरा पनि छ । त्यसैले मेसिनलाई सुधार्न पहिले हामीले ‘मानवीय डाटा’ सुधार्न आवश्यक छ ।
अत: प्रविधि आफैमा न त सृष्टिकर्ता हो, न त संहारक । यो त एउटा ‘ऐना’ हो । यसले हाम्रो सामूहिक नियतलाई ठूलो बनाएर देखाइदिन्छ। यदि हामीभित्र स्वार्थको ‘विष’ छ भने प्रविधिले त्यसलाई ब्रह्माण्डीय विनाश को औजार बनाइदिन सक्छ । यदि निर्माताभित्र प्रेम-करुणाको ‘अमृत’ भरियो भने प्रविधिले पृथ्वीलाई साच्चैको धर्तिलाई स्वर्ग बनाउन सक्छ ।
अन्त्यमा, प्रविधि आफैमा कुनै ‘गन्तव्य’ होइन, यो केवल एउटा ‘वाहन’ हो । यसले हामीलाई बुद्धको शान्ति र संयमतर्फ पनि लैजान सक्छ वा विनाशकारी स्वार्थ र कोलाहल तर्फ पनि । निर्माताको हातमा रहेको त्यो ‘चिप्स’भित्रको नियतले नै भविष्यको समाजको चरित्र तय गर्नेछ ।
त्यसैले भनिएको होला मेसिनले मानिसजस्तै सोच्न थाल्नु समस्या होइन, मानिसले महसुस गर्न छोड्नु चाहिँ महा-संकट हो भनेर।यदि हामीले प्रविधिलाई केवल ‘नाफा’ र ‘शक्ति’ को माध्यम बनायौँ भने, हामीले आफ्नै हातले यस्तो ‘डिजिटल भस्मासुर’ जन्माउनेछौँ जसले अन्ततः हाम्रै ‘मानवीय संवेदना’ लाई भष्म पार्नेछ। तर, यदि हामीले प्रविधिलाई ‘करुणा’ र ‘पर्यावरणीय बोध’ सँग जोड्न सक्यौँ भने, यसले मानव जातिलाई इतिहासमै पहिलोपटक ‘भोग’ (Material Prosperity) र ‘योग’ (Inner Peace) को एउटा अभूतपूर्व सन्तुलन प्रदान गर्न सक्छ ।
लगाम अझै पनि मानिसकै हातमा छ, तर त्यो लगाम समात्ने हातहरू ‘सचेत’ हुन जरुरी छ । मेसिनलाई बुद्धत्व सिकाउनुअघि हामी आफैँले आफ्नो ‘मानवता’लाई बिर्सन नहुने यो महा-मन्थनको मुख्य सन्देश यत्ति हो ।
प्रतिक्रिया