इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा शनिबार (१४ मार्च) आक्रमण भएको सुरक्षा स्रोतहरूले बताएका छन् ।
बग्दादमा इरान समर्थित शक्तिशाली समूह काताइब हेजबुल्लाहलाई लक्षित गरी दुई वटा आक्रमणमा एक कमान्डरसहित यसका तीन सदस्यको मृत्यु भएको केही समयपछि दूतावासमा आक्रमण भएको थियो ।
लामो समयदेखि अमेरिका र इरानबीचको छद्म युद्धको मैदान रहेको इराकलाई फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्व युद्धमा तानेको थियो ।
शनिबार बिहान विस्फोटको आवाज आएलगत्तै अमेरिकी कुटनीतिक नियोगमाथि कालो धुवाँको मुस्लो उठेको एएफपीका एक पत्रकारले बताएका छन् ।
दुई सुरक्षा अधिकारीहरूले एएफपीलाई बताएअनुसार दूतावास परिसरमा ड्रोनद्वारा आक्रमण भएको थियो ।
घटनाबारे अमेरिकी दूतावासले कुनै प्रतिक्रिया जनाएको छैन ।
युद्ध सुरु भएयता बग्दादस्थित अमेरिकी दूतावासमाथि दोस्रो पटक आक्रमण भएको छ ।
तेहरानसमर्थित धेरै सशस्त्र समूहहरूलाई वाशिङ्गटनले ‘आतङ्कवादी सङ्गठन’ को रूपमा घोषणा गरेको छ । इराकमा इस्लामिक प्रतिरोध भनेर चिनिने इरान सहयोगी अभियान अन्तर्गत विभिन्न गठबन्धन गरिएको छ । इराक र यस क्षेत्रमा अमेरिकी आधारशिविरहरूमा दैनिक ड्रोन र रकेट आक्रमणको दाबी ती सङ्गठनहरूले गर्ने गरेका छन् ।
युद्ध सुरु भएदेखि इराकमा ती समूहका सदस्यहरूलाई लक्षित गरी गरिएका धेरै आक्रमणहरूमा अमेरिका र इजरायलमाथि आरोप लगाइएको छ।
पहिलो आक्रमण इरान समर्थित धेरै समूहहरूको उपस्थिति रहेको अरासतको छिमेकमा रहेको एक घरमा भएको थियो । त्यसको दुई घण्टापछि नहरावान जिल्लामा एउटा गाडीमा दोस्रो आक्रमण भएको थियो ।
सुरक्षा स्रोतहरूले सुरुमा दुई समूहका सदस्यहरू मारिएको बताएका थिए । इरानसमर्थक स्रोतलाई उद्धृत गर्दै एएफपीले बताएअनुसार पछि घरमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको पुष्टि भएको छ ।
कमाण्डर अबु अली अल–अमिरीसहित तीन लडाकुका लागि काताइब हेजबुल्लाहले बग्दादमा अन्त्येष्टि जुलुस निकालेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त समूहका उच्च नेता अहमद अल–हमिदावी उक्त समूहको घरमा भएको आक्रमणमा घाइते भएका बताइएको छ ।
इरान समर्थक स्रोतले उक्त आक्रमण ‘लक्षित हत्याको प्रयास’ भएको बताएको छ । कुनै पनि स्रोतले इरान समर्थक गुटमाथि भएको आक्रमणमा कसको हात रहेको भन्ने कुरा बताएको छैन र कतैब हेजबुल्लाह समूहले भने यस विषयमा कुनै टिप्पणी गरेको छैन ।
प्रतिक्रिया