समानुपातिक सदस्यको नाम टुङ्गो लगाउन कांग्रेसको बैठक बस्दै

समानुपातिक सदस्यको नाम टुङ्गो लगाउन कांग्रेसको बैठक बस्दै


नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (१ चैत) दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय आजको बैठकले गर्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकमा २० सिट सो पार्टीले जितेको छ ।

आजको बैठकमा अन्य विषयमा सामान्य छलफल हुनसक्ने भए पनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गर्ने समानुपातिक सदस्यको नाम टुङ्गो लगाइने रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताएका छन् ।