फिलिपिन्समा मार्कोस, जिम्बाबेमा रोबर्ट मुगाबे, जर्मनीमा हिटलर र इटालीमा मुसोलिनी जस्ता तानाशाहहरूको उत्पत्ति जनताको मतबाट नै भएको थियो भने पूर्वी युरोपको समृद्ध मुलुक युक्रेनले वर्तमानमा भोगिरहेको बर्बादीको मूल कारण पनि मतदाताले ठीक समयमा विवेक नपुऱ्याउनाले नै हो । एक समयको सार्वभौम मुलुक सिक्किमले आफ्नो सार्वभौमिकता गुमाउनुमा पनि त्यहाँका मतदाताको भूमिका मुख्य जिम्मेवार रहेको छ ।
✍ देवप्रकाश त्रिपाठी
प्रजातन्त्रको सुन्दरतम् पक्षमध्ये एक मतदाताको मत बदल्ने क्षमतालाई मानिन्छ । मुलुक र समाजको आवश्यकता अनुरुप नीति बदल्न सक्ने/जान्ने नेतृत्वलाई गतिशील ठानिएजस्तै मुद्दा बुझेर मत बदल्न सक्ने मतदातालाई योग्य र चेतनशील मानिन्छ । नेतृत्व र मतदाता बदलिने विषयचाहिँ स्थीर हुनुपर्छ, जस्तै सार्वभौमिक सर्वोच्चता, राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, भौगोलिक अखण्डता, जनहित, राष्ट्रिय समृद्धि, स्वसंस्कृति, स्वधर्म, परम्परा, भाषा, मौलिक एवम् जन उपयोगी वैज्ञानिक शिक्षा प्रणाली र राष्ट्रिय स्वाभिमान जस्ता विषयहरू उपेक्षित हुने प्रकारले बदलिने छुट नेतृत्व र मतदाता दुबैलाई हुँदैन । सधैं र सबै मतदाताको मत र नेतृत्वको सोच उल्लिखित विषयहरूमा केन्द्रीत रहनुपर्छ, यसबाट स्खलित हुने छुट कसैलाई हुँदैन ।
तथापि, मतदाताले आफ्नो विवेक (conscience) प्रयोग गर्न नसक्दा गलत मतदानकै कारण संसारमा अनेकौँ अस्वाभाविक र अप्रिय घटना पनि निम्तिएका छन् । फिलिपिन्समा मार्कोस, जिम्बाबेमा रोबर्ट मुगाबे, जर्मनीमा हिटलर र इटालीमा मुसोलिनी जस्ता तानाशाहहरूको उत्पत्ति जनताको मतबाट नै भएको थियो भने पूर्वी युरोपको समृद्ध मुलुक युक्रेनले वर्तमानमा भोगिरहेको बर्बादीको मूल कारण पनि मतदाताले ठीक समयमा विवेक नपुऱ्याउनाले नै हो । एक समयको सार्वभौम मुलुक सिक्किमले आफ्नो सार्वभौमिकता गुमाउनुमा पनि त्यहाँका मतदाताको भूमिका मुख्य जिम्मेवार रहेको छ । मतदातामा विवेकीय क्षमताप्रति विश्वस्त हुन नसकिने भएकोले हुनुपर्छ संयुक्त राज्य अमेरिकाले आम जनतालाई मतदाता चुन्ने अधिकार मात्र निश्चित गरिदिएको छ । योग्य ब्यक्ति चुनिन मतदाता योग्य हुनुपर्छ भन्ने अवधारणा स्थापित गर्दै अमेरिकाले इलेक्टोरल कलेजका माध्यमबाट कार्यकारी प्रमुख निर्वाचित हुने अभ्यास गर्दै आएको हुनुपर्छ ।
मानिसले ख्याति आर्जन गर्नु र राज्य सञ्चालनका निम्ति योग्य हुनु दुई भिन्न पक्ष हुन् । मानिस गायक बनेर, नृत्य गरेर, जोकर बनेर, लेखेर, धन आर्जन गरेर, ऱ्यापर बनेर, अभिनेता या अभिनेत्री भएर, हास्य कलाकार बनेर या यस्तै सिर्जनात्मक अनेक कार्य गरेर ख्याति आर्जन गर्न सक्छन्, चर्चित बन्न सक्छन् । एउटा विधामा ख्याति आर्जन गरेका ब्यक्तिले आफ्नो ख्यातिलाई दुरुपयोग गर्दै असम्बन्धित क्षेत्रमा प्रवेश गर्दा त्यसले अनपेक्षित र अस्वाभाविक परिणाम ल्याउन सक्छ । कलाकारितामा सफल ब्यक्ति राजनीतिमा सफल बन्न सक्दै नसक्ने होइन, तर राजनीतिलाई नै रङ्गमन्च बनाउने गरि कलाकारहरूको राजनीतिमा धुइरो लाग्न थाल्यो भने त्यसले निम्त्याउनेचाहिँ केवल विपत्ति मात्र हो । आजको युक्रेनको बर्बादी हास्यकलाकारलाई मतदानमार्फत राज्य जिम्मा लगाएपछि नै सुरु भएको हो ।
नेपाली मतदाताले नेपालकै पहिलो आम निर्वाचन (विक्रम सम्वत् २०१५ साल) मा दुईतिहाई बहुमतको भारी नेपाली काङ्ग्रेसलाई बोकाएका थिए । तर डेढ वर्षपछि आफैले निर्वाचित गरेको सरकारलाई राजाले भङ्ग गरिदिँदा उक्त कदमविरूद्ध सडकमा उत्रने मानिसको सङ्ख्या हातको औंला बराबर पनि भएनन् । डेढ वर्षमै नेपाली मतदाताको मत किन त्यसरी बदलिएको थियो भन्ने विषयमा बौद्धिक समुदायले अनुसन्धान गर्न आवश्यक नदेखेका भएपनि काङ्ग्रेस पार्टी स्वयमले त्यसको निर्मम समीक्षा गर्नुपर्ने थियो, गरेनन् । केवल ‘राजा महेन्द्रको महत्वाकाङ्क्षी कदम’ विशेषण लगाएर उक्त सन्दर्भलाई बुझ्ने/बुझाउने काम हुँदै आएको छ ।
अहिलेसम्मको अध्ययनले राजासहितको प्रजातन्त्र विस्थापन गराउने अदृष्य शक्ति (deep state) नै पुराना राजनीतिक दलहरूलाई ओझेल पारिदिने रणनीतिक गन्तब्यमा सक्रिय रहेको देखाउँछ । नेतामात्र बदलेर नीति (ब्यवस्था) यथावत राख्ने या नीति बदल्नै परेपनि अझै आफ्नो अनुकुलताको निम्ति बदल्ने पक्षमा अदृष्य शक्ति रहेका छन् ।
राजाको सक्रिय शासन भएकोले पञ्चायतकालमा आम चुनावको खासै अर्थ थिएन, तथापि २०४३ सालमा भएको आम निर्वाचनमा जनपक्षीय शब्दको हेलमेट (सूरक्षा कवच) लगाएर पञ्चायती ब्यवस्थाविरोधीले निर्वाचनमा सहभागिता जनाउँदा पनि कतिपय जिल्लाका मतदाताले मत बदलेका थिए । पञ्चायतको अन्त्य भएर संसदीय प्रजातान्त्रिक प्रणालीको अभ्यास भएयता मूलतः दुईपटक अनपेक्षित ढङ्गले मतदाताद्वारा मत बदलेको देखियो – वि सं २०६४ र २०८२ मा । प्रजातान्त्रिक पद्धतिविरूद्ध हिंसात्मक युद्ध गर्ने माओवादीलाई २०६४ मा नेपाली जनताले अनुमोदन गर्ने विश्वास गरिएको थिएन । हिंसात्मक द्वन्द्वकालमा बास र गाँससमेत नदिने जनताले माओवादीलाई २०६४ मा भारी मतदान गरेर उच्च पुरस्कार दिए । माओवादी फेरि हिंसामा नफर्कियोस् भन्ने सोच राखेर तिनलाई मतदान गर्ने पनि कतिपय भए होलान्, आम मतदाताचाहिँ यति ठूलो विध्वङ्श मच्चाउन सक्ने माओवादीलाई राज्यसत्ता जिम्मा लगाइयो भने देश बनाउन पनि सक्ला भन्ने विश्वासमा रहेको बुझिन्थ्यो । तर दुई दशकसम्म माओवादीको वरिपरि सत्ता घुमिरहँदा देशले समृद्धिको मार्ग तय गर्न त सक्दै सकेन, मुलुक यथास्थितिमा रहन पनि सकेन । अराजकता, भ्रष्टाचार, अनियमितता, बेथिति, भागबण्डावादी संस्कृति, युवा पलायन, बेरोजगारी, अस्थिरता, राष्ट्रिय एकता र सामाजिक सद्भावनामा सङ्कट, देशको सार्वभौमिकता र राष्ट्रियतामा गम्भीर आँच तथा जन असन्तुष्टिको अनियन्त्रित बेग नै विगत दुई दशकको विशेषता हो । देशको समय बर्बाद भएको दशकका रूपमा माओवादी विचरणकाललाई लिइन्छ ।
माओवादीलाई अघि सारेर मुलुकमा भित्र्याइएको धर्मनिरपेक्षतासहितको सङ्घीय, जातिवादी समानुपातिक गणतन्त्र असफल भएको ठहर नेपाली जनताले गर्दै थिए, विद्यमान ब्यवस्थाको विकल्प खोज्ने चेतनाको बिस्तार हुनै लागेको थियो । त्यसपछि अदृष्य शक्ति आफैले अर्को चक्रब्यूहको रचना गरिदियो । नीति र ब्यवस्था यथावत राखि नेता मात्र बदलेर समाधान (सुख) खोज्ने अवधारणा सामाजिक सञ्जालमार्फत ब्याप्त बनाइयो । पुराना दल र पुराना नेता नै यो मुलुकमा हरेक दुःखको कारण भएको सन्देश नागरिक तहसम्म पुुऱ्याइयो । जनताले चिन्दै नचिनेका, कुनै सुखद पृष्ठभूमि नभएका अराजनीतिक पात्रहरूलाई मूक्तिदाता-भगवानका रूपमा सामाजिक सञ्जालका माध्यमबाट प्रस्तुत गरियो । दसवर्षे विध्वङ्सका नाइके माओवादीलाई राज्य जिम्मा लगाएको ठीक दुई दशकपछि माओवादीको भन्दा खतरनाक विध्वङ्स रचियो र उक्त महाविध्वङ्सका अघोषित नाइकेहरूलाई राज्यसत्ता जिम्मा लगाउन निर्वाचनको नाटक रचेर औपचारिकता दिने कार्य सम्पन्न भएको छ । स्यालहरूले दुःख दियो भनेर ब्वाँसाहरूलाई निम्त्याउने काम भएको छ । २०६२-६४ मा झैँ यसपटक पनि विध्वङ्सकारीको हातमा राज्यसत्ता पुुऱ्याउन अन्ततः हामी नेपाली जनता नै प्रयोग भएका छौँ ।
जहानियाँ राणा शासनको विकल्प प्रजातन्त्र भएजस्तै, निर्दलीय पञ्चायती ब्यवस्थाको विकल्प बहुदलीय संसदीय प्रणाली भएजस्तै धर्मनिरपेक्षतासहितको जातिवादी सङ्घीय गणतन्त्रको विकल्प छ र त्यो विकल्प भनेको ‘सनातन बौद्ध किँरात राष्ट्र नेपालको सम्वैधानिक पहिचानसहित अखण्डित सार्वभौमिकता (प्रदेश खारेजी), समानुपातिकतारहित पूर्ण संसदीय प्रणाली, गैरजातिवादी नीति र आलङ्कारिक राजसंस्था रहने’ राज्य ब्यवस्था हो । तर काङ्ग्रेस-कम्युनिष्टको विकल्प दाबी गर्नेहरूले अहिलेसम्म उल्लिखित कुनैपनि राजनीतिक एजेण्डा ग्रहण गरेका छैनन् । कदाचित यिनले सत्ता प्राप्त गरिसकेपछि उल्लिखित एजेण्डासहितको गन्तब्यमा मुलुकलाई लैजान खोजे भने सम्पूर्ण देशभक्त राष्ट्रवादी नेपालीले यिनलाई साथ/समर्थन दिन हिच्किचाउनु हुँदैन । त्यो अवस्थामा हिजोको हज्जार अपराधलाई पनि क्षमा दिन नेपाली मतदाता तयार हुनुपर्छ । तर कथित वैकल्पिक समूहको उत्पत्ति नेपाली राष्ट्रियताको सुदृढीकरणका निम्ति भएको विश्वास गर्न सकिने कुनै सङ्केत देखिएको छैन ।
अहिलेसम्मको अध्ययनले राजासहितको प्रजातन्त्र विस्थापन गराउने अदृष्य शक्ति (deep state) नै पुराना राजनीतिक दलहरूलाई ओझेल पारिदिने रणनीतिक गन्तब्यमा सक्रिय रहेको देखाउँछ । नेतामात्र बदलेर नीति (ब्यवस्था) यथावत राख्ने या नीति बदल्नै परेपनि अझै आफ्नो अनुकुलताको निम्ति बदल्ने पक्षमा अदृष्य शक्ति रहेका छन् । उनीहरूले चाहेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र जातियतामा आधारित पूर्ण समानुपातिक ब्यवस्था हो । अनेकौं आकारप्रकारका नेता र समूहलाई विश्वासमा लिएर काम गराउन मुस्किल परिरहेको हुँदा बाह्यशक्तिलाई एकै ब्यक्ति सर्वशक्तिमान रहने अवस्था-ब्यवस्थाको आवश्यकता पर्न गएको छ । त्यस्तै नेपाली समाजको एकता, परस्पर विश्वास र प्रेम एवम् सम्मान भङ्ग गरेर स्थायी प्रतिष्पर्धीका रूपमा नेपालीलाई राख्न पूर्ण समानुपातिक प्रणाली तिनलाई चाहिएको छ । डीप स्टेट अर्थात् अदृष्य शक्ति अर्थात् बाह्यशक्तिमा सबैभन्दा ठूलो त्रास कुनै कुराको छ भने त्यो ‘नेपालीको एकता’ हो । देशभक्त राष्ट्रवादी नेपालीलाई डीपस्टेटवालाहरू आफ्नो मुख्य शत्रु ठान्छन् र देशभक्तहरूको हातमा राज्यसत्ताको स्वामित्व नपुगोस् भनेर उनीहरू सदैव सचेत रहेका हुन्छन् । पछिल्लो चुनावी परिणामले अदृष्यशक्तिलाई असीमित खुशी र उत्साह पैदा गरिदिएको बुझ्न सकिन्छ । आँखा खोलेर मतदान नगर्दा देशको अस्तित्वमै सङ्कट आउनसक्छ भन्ने सन्देश प्रवाह हुँदाहुँदै पनि युक्रेनी मतदाताले झैँ दुबै आँखा पुरै बन्द गरेर नेपाली मतदाताले मतदान गरिदिए ।
कलाकारितामा सफल ब्यक्ति राजनीतिमा सफल बन्न सक्दै नसक्ने होइन, तर राजनीतिलाई नै रङ्गमन्च बनाउने गरि कलाकारहरूको राजनीतिमा धुइरो लाग्न थाल्यो भने त्यसले निम्त्याउनेचाहिँ केवल विपत्ति मात्र हो । आजको युक्रेनको बर्बादी हास्यकलाकारलाई मतदानमार्फत राज्य जिम्मा लगाएपछि नै सुरु भएको हो ।
पुराना दल र नेतृत्वप्रतिको चरम असन्तुष्टिका कारणले होस् या नयाँ अनुहारलाई प्रयोग गरेर हेर्ने चाहनाबाट अभिप्रेरित भएर होस् – नेपाली मतदाताको रोजाइमा यसपटक ‘एलियन’हरू परेका छन् । यिनलाई अदृष्य शक्तिले उत्तरी छिमेकी मित्रराष्ट्रसँग दुरीको ब्यवहार गर्न/गराउन या एसपीपी जस्ता सम्झौता गरेर बाह्य देशको सैन्य शिविर स्थापना गर्न या दलाइ लामाहरूको गतिविधिलाई उच्च गति दिनकै लागि सत्ताको मालिक बनाइएको हो भनेपनि केही लोकप्रिय कदम चाल्नुपर्ने जनदबाब नयाँ सरकारमाथि मतको भारले पैदा गरिदिएको छ । त्यसैले बालेन्द्रको नेतृत्वमा गठन हुने सरकारले एसपीपी सम्झौता लगायतका राष्ट्रद्रोही काम गर्नुअघि केही अत्यन्त लोकप्रिय निर्णयहरू लिइन सम्भव छ । चामत्कारिक ढङ्गले विजयी बनाइएको दलका सभापतिबाट भन्दा बालेन्द्रबाट सुशासन र भ्रष्टाचार नियन्त्रणका पक्षमा प्रभावकारी कार्य हुनसक्ने आम विश्वास छ । बालेन्द्रका लोकप्रिय कदमहरूको समर्थनमा जनमत वृद्धि हुँदै जाँदा त्यसले पार्टीको अर्को पक्षमा छटपटी बढाउने निश्चित छ र बालेन्द्रका निम्ति पहिलो चुनौती उनको आफ्नै पार्टी बन्नेछ । एसपीपी सम्झौता उनको अर्को त्यस्तो चुनौती हुनेछ जुन सम्पन्न हुँदा नेपाली जनता आन्दोलित हुनेछन् र नहुँदा बाह्यशक्ति नै कठोर चुनौतीका रूपमा देखापर्ने छन् ।
देश कसैको स्वार्थका निम्ति रणनीतिक युद्धस्थल नबनोस् र नेपाली जनताले आत्मसम्मान र स्वाभिमानका साथ शान्तिपूर्ण जीवन बाँच्न पाउन् भन्ने हामी सबैको चाहना थियो र छ । तर मतदाताको विवेकीय निर्णय हुन सकेन, साउदी अरब, बहराइन, युएई, कुवेत, ओमान र युक्रेनका जनताले झैँ अर्काको निम्ति देश जोखिम र त्रासमा रहनुपर्ने चिन्ता थपिएको छ । देशको पक्षका सन्देश र चाहनालाई उपेक्षा गरेर नेपाली मतदाता यतिबेला औधी खुशी भएका छन्, त्यसैले यतिबेला महान् नेपाली दार्शनिक रूपचन्द्र बिष्टको स्मरण धेरै देशभक्त नेपालीलाई भइरहेको हुनुपर्छ । उहाँले भन्नुभएको थियो- ‘नेपाली जनतालाई नकारात्मकता र झुठ मात्र मन पर्दोरहेछ, सत्य जतिपटक भनेपनि ग्रहण नगर्ने तर झुठो र नकारात्मक कुरा पायो भने धुमधामसङ्ग बोकेर फैलाउन जहिले पनि तयार हुने रहेछन् । त्यसैले मैले पुरै जीवन जनजागरणमा खर्चिएर पनि यिनलाई जगाउन सकिनँ ।’
नेपाली मतदाताले मत त बदले, तर विवेकले होइन आवेगले, सोचेर होइन घोचेर । यही मत युक्रेन र अरब मुलुकमा झैँ युद्ध आमन्त्रणको आधार/कारण नबनोस् ! देशको थप समय बर्बाद नहोस् !
सबैमा सद्बुद्धि र राष्ट्रिय भाव पैदा होस्, जय मातृभूमि !
प्रतिक्रिया