जसले जति नै सुशासनको अभ्यासलाई प्राथमिकता दिने बाचा गरे पनि ‘स्थायी सरकार’ मानिने ‘कर्मचारीतन्त्र’को शुद्धीकरण नभएसम्म सम्भवसाध्य मान्न सकिन्न । र, त्यो फाँट वर्षाैंदेख कचल्टिएको गाढे घाउको रूपमा छ, जो निको हुन केही वर्ष मात्र पर्याप्त नहोला ।
✍ नकुल काजी
पैंतीस-छत्तीस वर्षदेखि क्रमशः देशमा ठाडै प्राचीनकालीन बाबरीय वा ओैरंगजेबीय ढबको एकाधिपत्य जमाइआएका विशेषतः तीन विभिन्न पार्टी नामे राजनीतिक बगालका खलनायक बेहोराधारी नेगियारहरूका लागि प्रलयकारी नै बन्यो- यसपटकको आम चुनाव ! तिनीहरू स्वयम् र तिनका इर्दगिर्द झ्याम्मिएर देश-दुनियाँको नैसर्गिक अधिकार लुटेर डकार्दै आएका बुख्याँचाहरू समेत सखापै भएका छन् ! अतः समग्रमा ती सबै नै शासकीय रजगजको दृश्यावलीबाट सिनित्तै बढारिएका छन् !
वस्तुतः जेन-जेड विद्रोहभन्दा पहिलादेखि नै शासक-दलीय नेता-अगुवा र तिनका डफ्फेदारहरूलाई आफ्ना विविध देशघाती-जनघाती स्वरूपका बानी-बेहोरामा सुधार गर्नु अनिवार्य छ, नित्य-निरन्तर नभनिएको होइन, खबरदारी नगरिएको थिएन, चेतावनी नै पनि नदिइएको होइन । देशका सबै कित्तामा नागरिकका असन्तोष आधारभूत छ र त्यो चरम आक्रोशोन्मुख छ भन्दै जनमतले उनीहरूको भ्रष्टाचारमुखी राजनीति र कुशासनप्रद राज्य-संरचनाको कीर्ते शाखको दाहसंस्कार हुने स्थिति छ भन्नेसम्मका सावधानीप्रदायक सुझावहरूको ओइरो नै नलगाइएको पनि होइन । तर, नेपाली कांग्रेसको काँधका चढेर बुर्कुसी मारिरहेको मूल घमण्डी एवम् उदरम्भरी नेतृत्व र उसका अह्रन-खटनमा बेपत्तासित दगुरिरहेका शुण्ड-मुण्ड, आज्ञापालक, आफ्नो विवेक जिम्दार नेताका पाउमा चढाउने र पाखुरे-तिघ्रे जोधाहाहरूले टेरेनन् ! फलतः जनाक्रोश बेरोक बढ्दै गयो र तिनका रजगजका महलहरू भूकम्पले भत्केका घर झैं भएरै छाड्यो !
अर्थात्, नागरिकले वर्षौंदेखि उनीहरूलाई पुल्पुल्याउने गर्दै आएका गल्ती सुधार गरे । र, तिनका दम्भ आवेष्ठित रजवार-अनुभूति नै नलिनी-सपना मात्रमा सीमित हुन पुग्यो ! अब अर्कालाई दोष दिएर वा अर्कालाई सरापेर केही पनि पुनर्जीवित हुने सम्भावना त निमिट्यान्नै भएको छ । यो कुरो पूर्ववर्ती शासकका स्थानीय खटन-दूतगिरी गर्दै दैनन्दिन ऐश-आरामको जीवन-व्यवहार सिँगारिरहेका, शासन-शिविरका ठूला-साना मुखियाका छावाहरू (उनीहरूका जिम्दार नेताले केही दिनअघि मात्र भनेजस्तो ‘छौंडा’ चाहिँ भन्नु हुन्न)-लाई पनि अनुभूत भएकै होला । अहिले ‘सूर्य’-को शक्ति (voltage) स्वात्तै घटेको छ र ती छावारूपी शुण्ड-मुण्डहरू पनि महाभारत कथामा वर्णित श्रीकृष्णको स्वर्ग गमनपछि गाण्डीव धनु उठाउनसम्म नसकेका अर्जुनको जस्तो हालत भएको होला कि ! तिनका वाचाल मुखिया र उसका मुखबिरेहरूको चालचुल हराएको देख्ता यस्तै अनुभूति हुँदैछ अहिले निरपेक्ष देशभक्तहरूमा !…
‘आफ्नो आङको भैंसी नदेख्ने – अर्काको आङको जुम्रा देख्ने’ अनि आलोचना र निन्दालाई आफ्नो श्रेष्ठता प्रतिष्ठापनको सिँढी बनाउने गर्दै आएका राष्ट्रिय(?) राजनीतिक पात्र विशेषको पुरातन विशेषतालाई यसपल्ट नेपालीले पुरातात्विक संग्रहालयतिर लखेटेको जस्तो देखिएको छ ! तर, अझै पनि त्यस हञ्जाका केहीले महाभारत-कथा पुनरावृत्त गर्दै ‘लोक’-को ‘तन्त्र’-भित्रै बसेर पनि ठूला ‘सैन्य शक्ति’ भएको कौरव, त्योभन्दा सानो शक्ति भएको पाण्डवसँग, हारेको कथाको लहरा समातेर हारको खाडलभित्रबाट चिच्याउने दुःस्साहस गर्दैछन् ! युगले आँकेको वैभिन्न्य बुझ्ने क्षमता तिनका खोपडीमा भए त किन पो त्यस्तो उल्याइँ गर्थे र ? नेतातर्फ भक्ति-स्तुति सिवाय ‘लोकतन्त्र’-का सारभूत अभ्यास जान्नसम्म पनि आवश्यक नठानी ‘साम-दान-दण्ड-भेद’-रूपी दलनको मदानी चलाएर देशको ठेकोबाट निसृत छाली चप्काउने पापको सजाय त यसपटकको जनमतले दियो नै आखिर । अब यसै जनमतद्वारा जाग्रत र प्रणोदित कानूनी दण्डको सन्दर्भ पनि लस्करको शुरुमै छ । अबउसो बाँकी रहेको यो दण्डबाट पैंतीस-छत्तीस वर्षे ‘समय’-ले गर्दै आएको याचनाको व्यावहारिक अनुस्मरण उनीहरूमा अवश्य हुने प्रबल जनमतले निर्देश गरिसकेको छ । यो किनभने, ‘प्रजातन्त्र’, ‘लोकतन्त्र’ र आजको ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ परिचायक नाम पाइआएका राज्यव्यवस्थालाई आफ्ना धर्ममा अचुक रहन नदिनेगरी सत्तामा पुगेका दलहरूले कुनैनकुनै प्रकारले बलात् हस्तक्षेप गर्दै आएका हुन् । जसबाट देश र देशबासी बेस्सरी प्रताडित भएका थिए ।
मोदीजीले एउटा छिमेकीको नाताले नेपालमा हालै सम्पन्न चुनावमा अभूतपूर्व बहुमत प्राप्त गर्ने पार्टी रास्वपा-लाई बधाई दिनु, कुटनीतिका हकमा नठीक मानिँदैन । तर, त्यस सन्देशमै गाभेर ‘नेपालसँग सहकार्य गर्न’ तयार रहेको चोसो घुसार्नुले, पुराना सम्झनाहरूबाट उद्भावित नेपालीका परम्परागत शंका निकै धारिएको छ ।
सम्पन्न चुनावमा मत (भोट)-को हतियार प्रयोग गरेर नेपालीले त्यसको बदला लिएका छन् भन्ने नै निर्विकल्प सत्य भएर इतिहासमा लेखिने नै छ । किनभने, कुनै पनि देशका निम्ति ‘जनता’ नै ‘जनार्दन’ हुन् भनेर इतिहासले अविच्छिन्न सिद्ध गर्दै आएको तथ्य हो । आज नेपाली नागरिकले त्यही हैसियतमा आफूहरूलाई स्थापित गरेका छन् । यद्यपि, अहिले नै नवोदित नेतृत्व पंक्तिलाई गोलमटोल प्रतीक बनाएर उफ्रीपाफ्रीको उलार उराल्नु पनि हतार गरेकै ठहरिने भविष्य पनि असम्भाव्य छैन । मानव मनोविज्ञानले सामान्यतया मान्छेको मानसिक जीवनको संरचना अन्तर्गत दोस्रोमा प्राकृत शिक्षालय नै ‘परिवेश’ (environment)-लाई मान्दछ ।
यस भावभूमाथि उभिएर भन्नुपर्दा – अहिलेको ‘नेतृत्व-पंक्ति परिवर्तन’-ले समेटेका व्यक्ति र तिनका सहायक-सहारा समूहको यहाँसम्मको शिक्षा (schooling)-बाट यहाँसम्म निर्देशित हुँदै आएको राजनीतिक-सामाजिक अभ्यासमा बानी पर्नु अन्ततः परिवेशकै करामत हो । यसमा थप परिवर्तन सहज सम्भव नहुनुलाई भौतिक व्यवहारमा जे भनिए पनि मानसिक रूपमा अन्यथा भनिहाल्न मिल्दैन । अर्थात्, विगतका गलत शासकीय अभ्यास पुनरावृत्त हुँदै हुँदैन भन्नेमा ढुक्क हुने स्थिति किन पनि छैन भने राज्य-संयन्त्रमा रहेकाहरू ‘उनै’ छन् ।
‘उनै’ अर्थात्, जो तिनका निर्देशक शासक-मण्डलका इशारामा कुशासनका प्रयोक्ता रहँदै आएका हुन् । आम-नागरिकमा प्रत्यक्ष कुशासन लाद्ने त तिनै न हुन् । जसले जति नै सुशासनको अभ्यासलाई प्राथमिकता दिने बाचा गरे पनि ‘स्थायी सरकार’ (permanent government) मानिने त्यो फाँटको शुद्धीकरण नभएसम्म सम्भवसाध्य मान्न सकिन्न । र, त्यो फाँट वर्षाैंदेख कचल्टिएको गाढे घाउको रूपमा छ, जो निको हुन केही वर्ष मात्र पर्याप्त नहोला ।
अर्काे एउटा प्रसंग पनि अनायास जोडिन आएको छ- इण्डियन प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश ! मोदीजीले एउटा छिमेकीको नाताले नेपालमा हालै सम्पन्न चुनावमा अभूतपूर्व बहुमत प्राप्त गर्ने पार्टी रास्वपा-लाई बधाई दिनु, कुटनीतिका हकमा नठीक मानिँदैन । तर, त्यस सन्देशमै गाभेर ‘नेपालसँग सहकार्य गर्न’ तयार रहेको चोसो घुसार्नुले, पुराना सम्झनाहरूबाट उद्भावित नेपालीका परम्परागत शंका निकै धारिएको छ ।
नेपालमा सम्पन्न चुनावमा कुनै पार्टीले उल्लेख्य बहुमत ल्याउनासाथ ‘सरकार बनिसकेपछि दिइने किसिमको सन्देश’ जस्तो भाष्य किन प्रयोग भयो ? – जस्ता प्रश्नहरू, नेपालका तराई-मधेशमा पहिलादेखि वर्तमानका कतिपय सन्दर्भहरूमा झङ्कृत भइरहेका बेला, उठ्नुले ‘अखण्ड नेपाल’-का प्रति अभ्यन्तरबाटै शिरनत् सचेत नेपालीले गर्न थालेका छन् । अतः यस बाहेक पनि कैयन् आन्तरिक व्यवहार सुधार र बाह्य विषयक सतर्कताका प्रश्नहरू उदित छन् ! ती सबै समेटेर बयान गर्ने स्थिति अहिले परिपक्व भइहालेको छैन ! त्यसैले, आजलाई यति नै ।…
(८१ वर्षीय लेखक काजी झापाको पहिलो पुस्ताका एकमात्र अग्रज पत्रकार हुनुहुन्छ । –सं.)
प्रतिक्रिया