आत्महत्यासम्बन्धी समाचारलाई संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्ने विषयमा पत्रकारहरूका लागि जनस्वास्थ्य कार्यालय ललितपुरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको सुरुवात गर्दै मानसिक स्वास्थ्यसम्बन्धी चिकित्सकहरूले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता, त्यसको सामाजिक प्रभाव तथा पत्रकारको जिम्मेवारीबारे विस्तृत प्रस्तुति दिएका थिए ।
प्रस्तुतिका क्रममा विश्व स्वास्थ्य संगठनका तथ्याङ्क उल्लेख गर्दै विश्वभर हरेक वर्ष ८ लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने र करिब प्रत्येक ४० सेकेन्डमा एक जनाले ज्यान गुमाउने अवस्था रहेको जानकारी दिइयो । साथै, एक सफल आत्महत्याको पछाडि औसतमा करिब २५ पटकसम्म प्रयास हुने तथ्य पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रमका सभापति ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलाल रहेका थिए । वक्ताहरूले ‘स्वस्थ मन, स्वस्थ जीवन’ भन्ने नारालाई जोड दिँदै मानसिक स्वास्थ्यप्रति समाजमा सचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
कार्यक्रममा आत्महत्या रोकथाममा सञ्चारकर्मीहरूको भूमिकासम्बन्धी विषयमा पनि चर्चा गरिएको थियो । वक्ताहरूले आत्महत्यासम्बन्धी समाचारलाई अनावश्यक रूपमा केन्द्रबिन्दु नबनाउने, सनसनीपूर्ण वा सामान्यीकरण गर्ने भाषा प्रयोग नगर्ने, आत्महत्याको साधन तथा तरिकाबारे विस्तृत विवरण नदिने र त्यस्ता घटनासँग सम्बन्धित फोटो, भिडियो वा डिजिटल लिंक प्रयोग नगर्नुपर्ने सुझाव दिएका थिए ।
त्यसैगरी, समस्यामा परेका व्यक्तिहरूलाई सहयोग लिन सकिने स्थान तथा सेवाबारे जानकारी दिन र आत्महत्या रोकथामका लागि जनचेतनामूलक सामग्री प्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको थियो । मानसिक समस्या वा तनावमा रहेका व्यक्तिहरूका लागि परामर्श लिन सकिने हटलाइन नम्बर ११६६ रहेको जानकारी पनि कार्यक्रममा दिइयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की लगायत ललितपुरमा सक्रिय पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो भने सहभागी पत्रकारहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
प्रतिक्रिया