‘हारेका हौँ मरेका छैनौँ, हारको शोक नगरौँ !’

‘हारेका हौँ मरेका छैनौँ, हारको शोक नगरौँ !’


नेपाली राजनीतिले महाभारतकालीन युद्वको प्रतिनिधित्व गरेको आभास हुन्छ । धर्मयुद्वमा अर्जुन र कृष्ण पात्रका रूपमा थिए भने महाभारतको कथा सम्झाउने वर्तमानको राजनीतिक युद्वमा नेपाली काङ्ग्रेसका सभापति गगन थापा र काङ्ग्रेस कार्यकर्ता । यहाँ कृष्णका रूपमा कार्यकर्ता उभिएका छन् भने अर्जुनको प्रतिनिधित्व गगनले गरेका छन् । धर्मरक्षार्थ भएको कुरुक्षेत्रको युद्धमा आफन्त र गुरुहरूका कारण अर्जुनले जब युद्व छाड्ने मनस्थिति बनाए त्यो बेला कृष्णले जिम्मेवारीमात्रै सम्झाएनन् कर्तव्यबोध पनि गराए र, युद्व नजितेसम्म निरन्तर लडिरहन प्रेरित गरे । वास्तवमा प्रतिनिधिसभा निर्वाचन-२०८२ को सन्दर्भ मात्रै होइन काङ्ग्रेसलाई पुस्तान्तरणको प्रारम्भदेखि नै कृष्णरूपी कार्यकर्ताले यही भूमिका खेलिरहेका छन् । र अर्जुनरूपी गगनलाई हिम्मत नहार्न सुझाइरहँदा जिम्मेवारी, पार्टीभित्र भावी पुस्ताको भविष्यको समेत बोध गरााउँदै युद्व मैदानबाट नभाग्न बरू दर्बिलो भएर खडा हुन प्रेरित गरिरहेका छन् ।

यहाँ अर्जुनको धनुष (गाण्डिव)को ताँदो र कार्यकर्ताका भावनाबीच पनि समानता देखिन्छ । ताँदो र कार्यकर्ताबीच यत्ति फरक छ- ताँदो निर्जीव हो भने कार्यकर्ताको भावना सजिव अर्थात् चेतना । र, भन्दैछन्- मौन नबस्नु, हारले हतासिने होइन, उठ्नु पर्छ, जुट्नु पर्छ साथमा हामी छौँ !

महाभारतमा कुरुक्षेत्र युद्ध मैदान थियो भने र नेपालको राजनीतिक ‘चुनावी मैदान’ भएको छ । युद्धको मैदानमा आफ्नै आफन्त र गुरुहरूको भूमिका देखेर दुखित भएका अजुर्नले धनुष त्यागेर म युद्ध गर्दिनँ भन्ने अवस्थामा पुगेका थिए । तर, भगवान कृष्णले अर्जुनलाई ‘फलको आशा नगरी कर्म गर’ भन्दै प्रेरित गराइरहे । त्यसको कारण थियो अर्जुनले कुरुक्षेत्रको लडाइँ छोड्दा धर्मको रक्षा हुन सक्दैनथ्यो । अहिले काङ्ग्रेसका सच्चा कार्यकर्तालाई लागिरहेको छ- ‘गगन बिना पार्टी र कार्यकर्ता दुवैको भविष्य सम्भव छैन ।’ त्यसै गरी अर्जुनको गाण्डिवमा ताँदो कसे झैं काङ्ग्रेस कार्यकर्ताहरू प्रश्नबाट ताँदो पनि कसिरहेका छन् ।

जसरी अर्जुनले युद्ध नजितेसम्म धर्मको रक्षा हुँदैनथ्यो, त्यसैगरी काङ्ग्रेसका युवा कार्यकर्ताको बुझाइमा गगन थापा वा उनीजस्ता युवा नेतृत्वले पार्टीको लगाम नसमातेसम्म काङ्ग्रेसको पुस्तान्तरण असम्भव छ – भन्ने कार्यकर्ताले सामाजिक सञ्जालमा पछिल्ला समय व्यक्त गरेका भावनात्मक शब्दहरूले स्पष्ट पारेको छ ।

जसरी युद्ध मैदानबाट अर्जुन बाहिरिन खोज्दा सारथी कृष्णले ‘विगतको हारको शोक नगर, भविष्यको डर नपाल, कर्तब्यको जिम्मेवारी लेऊ भने त्यसैगरी गगनलाई कार्यकर्ताहरू भनिरहेका छन् – हारेका हौँ मरेका छैनौँ, सक्किएका छैनौँ, वर्तमानमा पार्टी सुधार्ने कठोर निर्णय लेऊ ।’

नेतृत्व लिएको ५० दिनमा भएको निर्वाचनको परिणाम खस्किएपछि राजीनामा दिने सोचमा पुगेका पार्टी सभापति गगन थापालाई महाभारतको युद्धमा कृष्णले अर्जुनलाई कर्तव्यबोध गराएझैं गोविन्दराज पोखरेल लेख्छन्– ‘युद्धमा असफलतापछि नयाँ सेना प्रमुखको भूमिका समाप्त हुँदैन । गीताअनुसार असफलताले कर्तव्य त्याग्नु हुँदैन; परिणामको मोह छोडेर धर्म र कर्तव्यका लागि पुनः दृढ भएर अघि बढ्नुपर्छ । निराशा त्यागेर कमजोरी समीक्षा, नयाँ रणनीति र संगठन गर्दै अर्को युद्धका लागि तयारी गर्नु नै सच्चा नेतृत्व हो ।’ त्यसैगरी केशव पाठक लेख्छन्- ‘नैतिकताको कसी गगन थापालाई मात्र कि चुनावमा काङ्ग्रेस हराउन अहोरात्र खट्नेहरूको पनि हुन्छ ?’ पोखरेल र पाठकका अभिव्यक्ति प्रतिनिधिमूलक हुन् ।

महाभारतमा कृष्णले अर्जुनलाई दिएको उपदेश (गीता) र चुनाव हारेपछि गगन थापालाई कार्यकर्ताले दिएको सुझाव बीच केही गहिरो समानता र केही आधारभूत भिन्नताहरू छन् । हेरौँ समानता र भिन्नता पनि ।

अर्जुनको समस्या- युद्धको मैदानमा आफ्नै आफन्त र गुरुहरूलाई देखेर अर्जुन दुखित भए । फलस्वरुप धनुष त्यागेर ‘म युद्ध गर्दिनँ’ भने । विशेष अवस्थामा भएको प्रतिनिधिसभा निर्वाचन २०८२ मा नेपाली काङ्ग्रेस र सभापति गगन स्वयंले हार ब्यहोर्नु पऱ्यो । त्यही हारलाई आधार बनाएर केही सीमित परम्परागत गुट पक्षधरले गगनमाथि निर्मम प्रहार गर्न शुरु गरे जसको पार्टीका तर्फबाट निर्वाचनमा उठेका उम्मेदवारलाई विजयी गराउन कुनै भूमिका नै रहेन । हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले पदबाट राजीनामा दिने सोच राखेको सार्वजनिक भयो ।

कुरुक्षेत्रको लडाइँमा कृष्णले अर्जुनलाई ‘फलको आशा नगरी कर्म गर्न प्रेरित गरेझैं, काङ्ग्रेस कार्यकर्ताले गगनलाई ‘हारबाट नआत्तेऊ, पार्टी रूपान्तरण र संगठन पुनर्गठनको जिम्मेवारी तिम्रो काँधमा छ’ भनेर सम्झाइरहेका छन् । महाभारतमा कृष्णले अर्जुनको सारथी बनेर बाटो देखाएका थिए । गगन थापाका लागि आम कार्यकर्ता र समर्थकहरू ‘सारथी’ बनेको आभाष हुन्छ ।

भ्रम निवारण : कार्यकर्ताले गगनलाई ‘पुरानो शैली र पुरानो नेतृत्वको छहारीमा बसेर मात्रै परिवर्तन सम्भव छैन’ भन्दै वास्तविकताको ऐना देखाएका छन् । कृष्णले अर्जुनलाई ‘धर्म युद्ध’का लागि तयार पारे झैं, कार्यकर्ताले गगनलाई ‘पार्टीभित्रैको विकृतिविरुद्ध विद्रोह वा स्पष्ट नेतृत्व’ लिन दबाब दिएका छन् ।

अर्जुनको शक्तिका रुपमा ‘गाण्डीव’ धनुष र भगवान् कृष्ण पूर्ण मार्गदर्शक थिए । गगनसँग ‘वाककला’ र ‘युवाको साथ’ छ । तर पार्टीभित्रको परम्परागत संरचना तोड्न उनलाई महाभारतको युद्धभन्दा कम चुनौतीपूर्ण नहोला । अर्जुनलाई तत्काल युद्ध जित्नु थियो, तर गगनका लागि अबको ५ वर्ष ‘वनवास’ वा ‘अज्ञातवास’ जस्तै हो, जहाँ उनले धैर्यताका साथ नयाँ रणनीति बुन्नुपर्ने हुन्छ ।

तुलनात्मक रूपमा हेर्दा जसरी अर्जुनले युद्ध नजितेसम्म धर्मको रक्षा हुँदैनथ्यो, त्यसैगरी काङ्ग्रेसका युवा कार्यकर्ताको बुझाइमा गगन थापा वा उनीजस्ता युवा नेतृत्वले पार्टीको लगाम नसमातेसम्म काङ्ग्रेसको पुनरागमन असम्भव छ । कार्यकर्ताले दिएको सुझावको सार पनि कृष्णको गीताकै एक अंश जस्तो देखिन्छ- ‘विगतको हारको शोक नगर, भविष्यको डर नपाल, वर्तमानमा पार्टी सुधार्ने कठोर निर्णय लेऊ ।’

यहाँ प्रश्न उठ्छ- के अर्जुनको धनुषको ताँदो र गगनका कार्यकर्ता उस्तै उस्तै हुन् त ? प्रतिकात्मक यो तुलना मन छुनेछ । यो लेख सकुनीहरूलाई मन नपर्न सक्छ । कसैलाई मन परोस् वा नपरोस्, देखिएको सत्यलाई उजागर पनि त धर्म हो । अनि उस्तै प्रकृतिको भएपछि तुलना किन नगर्ने भन्ने पनि त हुन्छ रु अर्जुनका लागि गाण्डीव अर्थात् धनुषको ताँदो र गगन थापाका लागि कार्यकर्ताबीचको समानतालाई राजनीतिक र दार्शनिक दुवै कोणबाट हेर्न सकिन्छ । जस्तै – शक्तिको स्रोत, लचिलो वा दरो, आवाज (शक्ति)का आधारमा ! धनुष आफैँमा एउटा काठ वा धातुको संरचना मात्र हो, तर जबसम्म त्यसमा ‘ताँदो’ कसिँदैन, त्यसले वाण प्रहार गर्न सक्दैन । ताँदो जति कसिलो हुन्छ, वाण त्यति नै टाढा र लक्ष्यमा पुग्छ भने गगन थापा आफैंमा एउटा ‘धनुष’ जस्तै हुन् । उनमा विचार, मुद्दा र वाककलाको अद्भूत क्षमता छ । उनको त्यो ‘धनुष’लाई गति दिने र चुनावी मैदानमा वाण झैँ प्रहार गर्ने शक्तिचाहिँ ‘कार्यकर्ता’ हुन् । कार्यकर्ताको साथ (ताँदो) खुकुलो भयो भने गगनको एजेन्डा जतिसुकै राम्रो भए पनि त्यसले लक्ष्य भेट्टाउन सक्दैन ।

त्यस्तैगरी, लचिलो अर्थात् मजबुतीका दृष्टिले अर्जुनको शक्तिको भौतिक स्रोतका रुपमा रहेको धनुषको ताँदोमा दुईवटा गुण हुन्छ/हुनुपर्छ जुन हो- लचिलोपन र दरो । धेरै कसिलो भए चुँडिने डर हुन्छ, धेरै खुकुलो भए काम लाग्दैन, धेरै तन्काए चुँडिने डर हुन्छ । गगनबाट कार्यकर्ताले पनि अहिले त्यस्तै सन्तुलन खोजेका छन् । उनीहरूले गगनलाई एकातिर कडा दबाब दिइरहेका छन् (नेतृत्व परिवर्तनका लागि) भने अर्कोतिर लचिलोपन देखाएर पार्टीभित्रै संघर्ष गर्न सुझाइरहेका छन् । कार्यकर्ता ‘चुँडिएर’ अर्कै दलमा गए भने गगनको राजनीतिक धनुष निकम्मा हुन सक्छ । महाभारतको युद्धमा अर्जुनले धनुषको ताँदो तान्दा निस्कने आवाज अर्थात् टंकारले नै शत्रुको मनोबल आधा घटाउँथ्यो । अहिलेको सन्दर्भमा काङ्ग्रेसको आन्तरिक किचलो होस् वा बाह्य राजनीति, गगन थापाका कार्यकर्ताको ‘हुंकार’ र ‘आवाज’ नै उनको सबैभन्दा ठूलो हतियार हो । जब कार्यकर्ताहरू सडक र सामाजिक सञ्जालमा गर्जिन्छन्, तब मात्र पार्टीको संस्थापन पक्ष र विपक्षीहरू झस्कन्छन् ।

समानताको तुलनामात्रै होइन भिन्नता पनि छुट्याउन जरुरी हुन्छ । किनकि, यहाँ कुरुक्षेत्रका अर्जुन र राजनीतिका अर्जुन उभ्याइएको छ । जसको शक्तिको स्रोत निर्जिव र सजिव छन् । निर्जिवमाथि स्वनियन्त्रण गरेर आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ भने सजिवमा आफैं चेतना भरिएको हुन्छ । चेतनाले भरिएका धनुषका ताँदोहरू निर्णय लिन ढिला भए वा हिँड्दाहिँड्दै बाटो बिराए अलग्गिन सक्ने जोखिम त्यत्तिकै हुन्छ । त्यसैले न्यूनतम भिन्नतालाई केलाउन जरुरी छ । अर्जुनको ताँदो निर्जीव थियो, जसलाई अर्जुनले आफ्नो इच्छाअनुसार चलाउन सक्थे । तर गगनका कार्यकर्ता सजीव र सचेत छन् । उनीहरूले केवल गगनलाई साथमात्र दिँदैनन्, बरु गगनले बाटो बिराउँदा वा निर्णय लिन ढिला गरे तन्काएका सोच्नेछन् र भन्न सक्छन्- ‘हामीलाई नतन्काऊ, आफूपनि बदलिन तयार होऊ ।’ नेतृत्वलाई कार्यकर्ताले गर्ने खबरदारी गर्नपनि पछि पर्ने छैनन् ।

गत फागुन २१ को निर्वाचनपछि गगनरुपी धनुषमा कार्यकर्तारुपी ‘ताँदो’लाई सही ढंगले समेटेर उचित समयमा अघि बढ्न सकेनन् भने, उनको पार्टी र देश बदल्ने लक्षित यात्रा गन्तव्यमा नपुग्दै नहराउला भन्न सकिन्न ।

कार्यकर्तारुपी ताँदोलाई कसिलो बनाएर राजनीतिक लक्ष्य भेट्टाउन निकै कठिन र चुनौतिपूर्ण छ । तथापि, कार्यकर्तामा पुस्तान्तरणको चेत जागेको बेला असम्भव भने होइन । आगामी ५ वर्षका लागि सरकारबाहिर बसेर पार्टी बलिायो बनाउने यो अवसरलाई गगन र उनका समर्थकहरूले नयाँ नेतृत्व, नयाँ एजेण्डा, नयाँ विचार, काम गर्ने शैली नयाँ खोजीरहेका छन् । यो अवस्थामा रहेका नेता कार्यकर्तालाई सहजताका लागि उनले पर्ख र हेरको नीति त्याग्नुपर्छ । निर्वाचनको मत परिणामपछि सार्वजनिक हुन नसकेका गगनले छिट्टै मौनता तोडेर कार्यकर्ताको भावनालाई आधार मान्दै अघि निर्णय लिन जरुरी छ । जबकि ताँदो तबमात्र कसिन्छ जब धनुर्धारीले लक्ष्य निश्चित गर्छ । गगनका लागि अबको कसिलो आधार भनेको पार्टी नेतृत्वका लागि स्पष्ट दाबेदारी वा विद्रोह हो । कार्यकर्ता पर्ख र हेरको नीतिमा बस्न सक्ने अवस्थामा देखिँदैनन् । यदि गगनले ‘समय आएपछि हेरौँला’को नीति लिए भने आगामी दिनमा उनको राजनीतिक यात्रा कठिन छ । त्यसैले अब नियमित महाधिवेशनको मिति तोकेर ‘वार कि पार’को लडाइँको साहस देखाउनु नै कार्यकर्तालाई एकतामा कस्ने पहिलो आधार हो । देशैभर नयाँको लहर चलिरहँदा काङ्ग्रेस अब पुरानै परिभाषाले अघि बढ्न सक्ने देखिँदैन । समाजवाद र लोकतन्त्रको पुरानो रटानले नयाँ पुस्ता जोड्न नसकिने निर्वाचनको मत परिणामले नै स्पष्ट पारिसकेको छ । संगसंगै अझै पनि गगनको भिजनप्रति कार्यकर्ताको विश्वास छ ।

त्यसैले जसरी महाभारतमा अर्जुनले आफ्ना गुरु र आफन्तविरुद्ध वाण (विशेष महाधिवेशन)बाट सभापतिमा उभिने कठिन निर्णय लिए त्यो नै कार्यकर्ताका लागि भरोसाको केन्द्र बन्यो । आफ्नो राजनीतिक भविष्यलाई दाउमा राखेर ‘पार्टी र देशका लागि’ लड्ने संकेत विशेष महाधिवेशनबाटै दिइसकेका छन् । त्यसैकारण पार्टीभित्र परिवर्तन/पुस्तान्तरण चाहने अधिकांश कार्यकर्ताहरू ढाल बनेर उभिए । प्रतिनिधिसभा निर्वाचन २०८२ को मत परिणाम वर्षौंदेखि परम्परागत शक्तिमा रहेकाको बाँदरे प्रवृत्तिले ल्याएको समस्या हो । तुलसीको मठमा पुगिसकेको काङ्ग्रेसलाई विशेष महाधिवेशनको बुटी सुँघाएर खाटसम्म फर्काउन सफलता मिलेको देखिन्छ । त्यही बुटीका कारण प्रतीक्षामा रहेको कार्यकर्तारूपी ताँदो अहिले ‘खुकुलो’ भएको छैन । तसर्थ गगनले जति छिटो ‘वाण’ सोझ्याउँछन् – ताँदो कसिँदै जानेछ । समयले सधैं पर्खदैन । सर्वगुण सम्पन्न कोही हुँदैन । धर्मयुद्धमा आफन्त र गुरुहरूको ताल देखेर आजित भइ अर्जुनले जिम्मेवारी छोड्न खोज्नु र पार्टीभित्रका सकुनीहरूको तालबाट आजित गगनले राजीनामा दिन खोज्नु उस्तै-उस्तै हो । त्यसैले अब मौनता तोडेर एक्सनका साथ मैदानमा उत्रिएर धर्म (राजनीतिक रणमैदानमा पार्टी र कार्यकर्ताको भविष्य) रक्षार्थ उभिन ढिला गरे समयले कोल्टे पनि फेर्न सक्छ ।

(विचार स्तम्भमा प्रकाशित सामग्री लेखकका निजी धारणा हुन् । – सं.)