देशको कायापलट गर्ने ‘आर्थिक मेरुदण्ड’ बन्न सक्छ पर्यटन उद्योग

देशको कायापलट गर्ने ‘आर्थिक मेरुदण्ड’ बन्न सक्छ पर्यटन उद्योग


हालै सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुई तिहाईको सरकार निर्माण गर्न सक्ने गरी ऐतिहासिक बहुमत प्राप्त गरेको छ । नेपाली राजनीतिक इतिहासमा २०१५ सालको निर्वाचनमा बीपी कोइरालाको नेतृत्वमा काङ्ग्रेसले सिर्जना गरेको प्रबल जनलहरपछि झण्डै दुई तिहाइ बहुमत प्राप्त भएको यो नै पहिलो उल्लेखनीय घटना हो । अब गठन हुने सरकारले नेपालको आर्थिक विकासका निम्ति गर्नुपर्ने अनेकौँ राष्ट्रिय प्राथमिकतामध्ये हस्पिटालिटी तथा पर्यटन विकासलाई रणनीतिक महत्वका साथ अघि बढाउनु अपरिहार्य देखिन्छ ।

नेपालले हिमाल, पहाड र तराई जस्ता अनुपम प्राकृतिक सौन्दर्यका साथै आफ्नै विशिष्ट धार्मिक परम्परा, समृद्ध सांस्कृतिक सम्पदा तथा आस्थाका पवित्र केन्द्रस्थलहरूलाई आफ्नो काखमा समेटेर विश्वकै दुर्लभ पर्यटकीय आकर्षण प्रस्तुत गर्न सक्ने असाधारण सामर्थ्य अंगिकार गरेको छ । तथापि, निरन्तर दोहोरिने आन्दोलन, राजनीतिक अस्थिरता, सुरक्षा चुनौती, अपर्याप्त पूर्वाधार, सीमित आर्थिक लगानी तथा स्पष्ट र दीर्घकालीन नीतिको अभावका कारण नेपालले आफ्नो अपार सम्भावनालाई अपेक्षित रुपमा आर्थिक उचाइमा रूपान्तरण गर्न अझै सकेको छैन भन्ने यथार्थ हामिमाझ अवगत नै छ ।

यसै सन्दर्भलाई केलाउँदा, वि.सं. २००६-०७ मा होटल स्नो भ्यु र त्यसकै छेको पारेर २००९-१० मा रोयल होटल स्थापना गरी नेपालले औपचारिक रूपमा सांस्कृतिक, धार्मिक साथै प्रकृतिक अनुपम छटामा रमाउने ब्यक्तिलाई आकर्षण गर्न पर्यटन उद्योगको ढोका खोलेको थियो । नेपाललाई मन्दिर नै मन्दिरको देश भनेर विश्वभरिका मानिसलाई आकर्षण गर्ने नेपाली चिनारीको आयाम बनेको थियो । त्यससँगै सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर (सगरमाथा) को चुचुरोमा ऐतिहासिक सफल आरोहण गर्दै नेपालको हिमाली पर्यटनलाई विश्वमञ्चमा गौरवपूर्ण पहिचान दिलाएका थिए ।

यस ऐतिहासिक उपलब्धिले नेपाललाई विश्व पर्यटनको नक्सामा उजागर गरेको भए पनि राष्ट्रले न संख्यात्मक रूपमा पर्याप्त पर्यटक आकर्षित गर्न सकेको छ न त पर्यटन उद्योगलाई राष्ट्रिय आर्थिक समृद्धिसँग सशक्त रूपमा जोडेर अपेक्षित आर्थिक छलाङ मार्न नै सकेको छ । पर्यटन व्यवसायलाई राष्ट्रको उन्नतिसंग जोडेर विकासमा लागेका अन्य कयौं देशले आर्थिक फड्को मार्दा नेपालले भने द्वन्द्व, आन्दोलन, विद्रोह, आगजनी, चन्दा आतंक जस्ता अराजकतासँग जुध्नु परेको छ, जसले गर्दा सुरक्षित लगानीको वातावरण बन्न सकेको छैन । साथै, पर्यटन प्रवर्द्धनार्थ खुलेका होटल-ब्यवसाय पनि धराशायी बन्दै गएका छन् ।

माल्दिभ्स, भुटान, श्रीलंका, थाइल्याण्ड, कम्बोडिया, इन्डोनेसिया जस्ता विभिन्न देशले केही दशकमै फड्को मार्दा नेपाल भने कछुवाको गतिमा हिड्दै छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक छटाको सौन्दर्यलाई अङ्गीकार गर्दै पर्यटन व्यवसायलाई राष्ट्रको उन्नतिसँग जोडेर विकासको मूल आधार बनाएको यतिका दशक हुँदा पनि नेपालमा भने द्वन्द्व, आन्दोलन, विद्रोह, आगजनी र चन्दा आतंकजस्ता घृणित गतिविधिका कारण सुरक्षित लगानीको वातावरण अझै सुदृढ हुन सकेको छैन । परिणामतः एक समय आशा जगाएको होटल तथा पर्यटन व्यवसायसमेत क्रमशः धरासायी बन्दै गएको देखिन्छ ।

पर्यटकलाई अर्थिक मेरुदण्ड मानेर लगानीमैत्री वातावरण बनाएको अन्य देशहरूले केही दशकमै पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउँदै उल्लेखनीय आर्थिक उचाइ हासिल गर्दा नेपाल भने अझै सत्तालोलुपताको आन्तरिक द्वन्द्वलाई पछ्याउँदै विभिन्न शक्तिकेन्द्रको प्रयोगशाला बन्नु नेपाल र नेपालीको लागि दुःखद अवस्था हो । करोडौं बुद्ध धर्मावलम्बीको आस्थाको केन्द्र सिद्धार्थ गौतम बुद्धको जन्मभूमिलाई विश्वशान्तिको उद्गम थलो भनी अन्तर्राष्ट्रिय जगतले मान्दा नेपालीहरू भने पद र शक्तिको लागि द्वन्द्वमा फस्नु आफैंमा खेदजनक छ ।

दक्षिण एसियामा नेपालभन्दा धेरै पछि, सन् १९७२ मा Kurumba Maldives नामक होटल स्थापना गरेर पर्यटन विकासको औपचारिक सुरुवात गरेको माल्दिभ्सले आज आफ्ना सांस्कृतिक परम्परा र अनुपम प्राकृतिक सौन्दर्य (समुन्द्री जीव जन्तु) लाई आधार बनाएर सयौँ रिसोर्ट र होटल सञ्चालन गर्न सफल भएको छ । फलस्वरूप अन्तर्राष्ट्रिय चेन होटल व्यवसायीहरूको आकर्षणको केन्द्र बन्नुका साथै उसले खर्बौं रुपैयाँबराबरको विदेशी लगानी भित्र्याउन पनि सफलता हासिल गरेको छ । झण्डै पाँच लाख मात्र जनसंख्या भएको मा करिब १३० टापु स्थानीय बसोबासका लागि प्रयोगमा छन् भने २३० भन्दा बढी टापुमा स्तरीय तारे रिसोर्ट सञ्चालनमा रहेका छन् ।

विश्व बैंकको तथ्याङ्कअनुसार पर्यटन उद्योग माल्दिभ्सको सबैभन्दा ठूलो नाफामूलक क्षेत्र हो । जसले कुल गार्हस्थ उत्पादन (GDP) को करिब २८ प्रतिशत हिस्सा ओगटेको छ । त्यहाँको प्रतिव्यक्ति आय लगभग १८, ७०० अमेरिकी डलर रहेको छ, र विदेशी मुद्रा आम्दानीको ६० % भन्दा बढी हिस्सा पर्यटन क्षेत्रबाटै प्राप्त हुने तथ्यले पर्यटनलाई राष्ट्रको समृद्धिसँग कसरी जोड्न सकिन्छ भन्ने स्पष्ट उदाहरण देखाएको छ ।

त्यसैगरी दक्षिण पुर्वी देश थाइल्यान्डको पर्यटन व्यवसायलाई नियाल्दा सन् १९६० ताका अन्तर्राष्ट्रिय उडान र होटल व्यवस्थापनमा हात हालेको देशले आजको दिनसम्म आइपुग्दा वार्षिक तीन करोड पचास लाख भन्दा बढी पर्यटनलाई वार्षिक रुपमा भित्र्याउन सफल भएको छ । Ministry of Tourism and Sports Thailand का अनुसार गत वर्ष मात्र पर्यटन व्यवसायबाट लगभग ४९ अर्ब अमेरिकी डलर आम्दानी गर्न सफल भएको छ थाइल्याण्ड । नजिकैको छिमेकी भुटानले सन १९७४ मा पर्यटन व्यवसायमा हात हालेको थियो । सुरुको वर्षमा २८७ पर्यटक भित्राएको उसले, धेरै ठुला तारे होटल नभएपनि High Value Low Impact नीति अख्तियार गर्दै अन्तर्राष्ट्रिय जगतमा राम्रो छाप छाडेको छ । अर्थात्, पर्यटक संख्या सीमित तर आर्थिक लाभ उच्च लिने नीति अपनाउँदै आएको छ ।

नेपालले अबका दिनमा आफ्नो धार्मिक, सांस्कृतिक र भौतिक पर्यटन विकासका लागि कम्बोडिया, भियतनाम, लाओस र दुबई जस्ता देशहरूको सफल अनुभवबाट पाठ सिक्दै दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्न आवश्यक छ । उदाहरणका लागि, कम्बोडियाले सन् २०२४ मा करिब सात करोड विदेशी पर्यटक भित्र्याएर करिब ३.६३ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो । यस्ता उदाहरणहरूले स्पष्ट देखाउँछन् कि शान्ति सुरक्षा, योजनाबद्ध नीति, पूर्वाधार र आक्रामक अन्तर्राष्ट्रिय प्रचारप्रसारले पर्यटनलाई राष्ट्रिय समृद्धिको शक्तिशाली आधार स्तम्भ बनाउन सक्छ ।

यस सन्दर्भमा नेपाल सरकारले विदेशी लगानीलाई सुरक्षित, पारदर्शी र विश्वासयोग्य बनाउने स्पष्ट नीति अविलम्ब लागू गर्नुपर्छ । साथै देश-विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशमा लगानी गर्न प्रेरित गर्ने वातावरण सिर्जना गर्दै लगानीको कानुनी सुरक्षा र स्थिर नीतिगत प्रत्याभूति दिनु अत्यावश्यक छ । नेपालले सन् १९५० को दशकमा पर्यटनका लागि आफ्नो ढोका विश्वसामु खुला गरेको भए पनि यसको अपार सम्भावनालाई अझै पूर्ण रूपमा उपयोग गर्न सकेको छैन । नेपालको सरकारी तथ्याङ्क हेर्दा सन् २०२४ मा नेपालमा करिब ११.४७ लाख विदेशी पर्यटक आएका छन् । पर्यटनबाट झण्डै ८३ अर्ब रुपैयाँ आम्दानी भएको तथ्याङ्कले देखाउँछ, तर विश्व पर्यटन बजारको दृष्टिले सम्भावनाको तुलनामा यो नगन्य उपलब्धि हो ।

संसारकै सर्वोच्च शिखर सगरमाथा (चोमालुङ्गा) र भव्य अन्नपूर्ण जस्ता हिमश्रृङ्खलादेखि लिएर आस्था र सभ्यताको केन्द्र पशुपति नाथ, मोक्षभूमि मुक्तिनाथ, आदर्शको केन्द्र जनकपुर जानकी मन्दिर तथा बुद्ध जन्मस्थल जस्ता कयौँ अमूल्य धार्मिक-सांस्कृतिक सम्पदाहरू नेपालको अनुपम पहिचान हुन् । यदि यी सम्पदालाई आधुनिक गुरुकुलीय शिक्षाको केन्द्र बनाएर, आधुनिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन र प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारप्रसारसँग जोड्न सकियो भने नेपाल केवल प्राकृतिक सौन्दर्यको देश मात्र होइन । विश्वको प्रमुख आध्यात्मिक ज्ञान, ध्यान, योग केन्द्र तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुन्छ । जसबाट नेपालले वार्षिक अर्बौं डलर आम्दानी गर्न सक्नेछ ।

आशा गरौं अब बन्ने सरकारले राष्ट्रलाई शिरमा राखेर नेपाली सभ्यता, संस्कृतिक पहिचान धार्मिक, ऐतिहासिकतालाई हृदयङ्गम गर्दै अन्तर्राष्ट्रिय समुदायमा चिनाउन लाग्नेछ, जसले गर्दा नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेर सालाना करोडौंले भ्रमण गर्ने स्थल बन्न सक्नेछ । जय मातृभूमि !