इरानका अर्का वरिष्ठ अधिकारी गुप्तचर मन्त्री इस्माइल खतिबको अमेरिकी-इजरायली कारबाहीमा मृत्यु भएको इजरायलले जानकारी गराएको छ । इरानी सुरक्षा प्रमुख अली लारीजानी इजरायली आक्रमणमा मारिएको पुष्टि भएको भोलिपल्ट खतिबको मृत्युको खबर आएको हो ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियनले खतिबमाथिको कारबाहीलाई ‘कायरतापूर्ण हत्या’को संज्ञा दिएका छन् ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमा आक्रमण गरी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको हत्या गरेपछि मध्यपूर्वमा युद्ध सुरु भएको थियो ।
इजरायलका रक्षामन्त्री इजरायली काट्जले खतिबको मृत्युको पुष्टि गर्दै भनेका छन्, ‘प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र मैले आइडिएफलाई कुनै पनि वरिष्ठ इरानी अधिकारीलाई थप स्वीकृतिको आवश्यकता बिना मार्नसक्ने आदेश दिएका छौँ, जसका लागि गुप्तचर र परिचालन सर्कल बन्द गरिएको छ । हामी तिनीहरूलाई असफल पार्न र ती सबैविरूद्ध हमला जारी राख्नेछौँ ।’
इजरायलले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई पनि खोज्ने बाचा गरेको छ, उनी आफ्ना पिताको उत्तराधिकारी बनेपछि सार्वजनिक रूपमा देखापरेका छैनन् ।
यसरी एकपछि अर्को महत्वपूर्ण अधिकारीहरुको मृत्यु भएपछि इरानमा नेतृत्वको संकट गहिरिँदै गएको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया