पार्टी सभापति गगनकुमार थापाको राजीनामा र ‘प्रतिनिधिसभा निर्वाचन-०८२, कांग्रेसको प्रारम्भिक समीक्षा’ विषयमा केन्द्रीत भएर शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार पुनः बस्ने भएको छ ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माका सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा वक्ताहरुले बोल्ने क्रम जारी रहेकाले आइबार पुनःबैठक बस्नेगरी शुक्रबारको बैठक सम्पन्न गरिएको हो ।
बैठकमा उपसभापति शर्माले पार्टी सभापति थापाले सभापति पदबाट दिएको राजीनामा बैठकमा प्रस्तुत गर्नुका साथै ‘प्रतिनिधिसभा निर्वाचन-०८२, कांग्रेसको प्रारम्भिक समीक्षा’ प्रस्तुत गरेका थिए । सो बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, धना खतिवडा, सुधिरकुमार शिवाकोटी, सुवासकुमार पोखरेल, कमलप्रसाद भुसाल, जीतनारायण श्रेष्ठ, रमेशप्रसाद धमला, लीलादेवी बोखिम लिम्बू, भरतबहादुर खड्का, जनकराज गिरी, देवप्रसाद तिमिल्सिना, शम्भुबहादुर बुढाथोकी, टेकराज पौडेलले आफ्नो धारणा राखेका थिए ।
यस्तै, केशवराज शर्मा आचार्य, नारायणप्रसाद भट्टराई, डा. अमिता प्रधान, उमा शिवाकोटी, इन्दिरा कार्की, विश्वनाथ रिजाल, सुनिलकुमार यादव, कोशी प्रदेशका सभापति उद्धव थापा र लुम्बिनी प्रदेशका सभापति अमरसिंहले आफ्नो धारणा राख्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
शनिबार इस्लाम धर्मावलम्वीको पवित्र पर्व ‘ईद–उल–फित्र’ परेकोले केन्द्रीय कार्यसमितिको अर्को बैठक आइतबार (चैत ८) बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रतिक्रिया