मान्छेपिच्छे जीवनको परिभाषा फरक छ । कोही मोजमस्तीलाई जिन्दगी भन्छ त कोही परमानन्दभूतिलाई जीवन भन्छ । सत्यासत्यको गुजुल्टो फुन हम्मे छ; अन्तिम सत्यको फेरो कहाँ पो भेट्ने हो ?!
✍ बलराम उपाध्याय सिलवाल
श्री गणेशाय नमः । श्री सरस्वतै नमो नमः । मात्र ५,१२७ बर्ष बित्दा नि मान्छेहरू के बिदी मात्तिएका, के बिदी पात्तिएका ? स्वधर्म, सम्यक जीवन र आध्यात्मिक चेत नभएसि मानव चोला दु:खमय हुने नै भो । आत्मसन्तुष्टि छैन; चिन्ताले नभुट्भुटिने को पो छैन यो दुनियाँमा ? अर्थले अनर्थ गर्दो, आफन्त रुट्ठिंदो, परिवार बिछडिंदो । जीवन यापन सहज भए त भैगो नि, धन बढी किन थुपार्नुपर्या छ र ? मर्दाखेरि आफूसित लाने भनेको पापपुण्य हो, अरू त सबै छोडेर जानुपर्ने हो । बेफ्वाँकमा मारिए सतीहरू अतीतमा । किन चाउरिस् मरिच भन्दा आफ्नै रागले भन्थ्यो रे, त्यस्तै हविगत छ हाम्रो नि । मनको बह पोखेर हल्का हुने भन्या त भन्ने कुरा मात्रै हो । ऊ त बह सुन्नेबित्तिकै फुलेल हुन्छ – फलानो त पीडित छ भनेर । हाम्रा पिता पुर्खाले मनको बह कसैलाई नकह यसै भनेका हुन् र ?
मुलुकहरूको हुँकार/टंकार मध्यपूर्वमा छिरल्लिंदो । इजरेल इरान जुधाहा/जोदाहा भएसि अरू मुलुक नतानिने कुरै भएन नि । झन् शक्तिशाली देशहरू त अर्काको मुलुकको तेल सम्ठ्याएर कुटनीति गर्दा । हुटेल हुटेलमा ताइँ न तुइँ हात लाग्यो दुईको गफ । धन्न भगवान् ! तेस्रो विश्वयुद्ध भएन नत्र त आइन्स्टाइनको भनाइले बित्यास पार्दो ।
बजार परिभ्रमणमा सयौं मित्रु भेटिन्न किन्तु एक जना शत्रु चैं चोकैपिच्छे भेटिन्छ । यो कस्तो विडम्बना हो ? फागुन २१ मा लाप्पा खेलेको । नयाँले पुरानोलाई त लोप्पा पो ख्वायो बाबै ।
मान्छे बिगार्ने डर र आसक्तिले । दन्त्यकथाको राक्षसको काललाई झैं डरलाई पोक्याएर रुखमा टाङ्नुपर्छ; निर्भय बन्नु छ । न बिराउनु न डराउनु । यथोचित लगाव ठिकै हो, चिनी नि धेरै खाए तीतो हुन्छ । नहिडेको बाटो जङ्घार हो, सफल/असफल दुवै होइन्छ; साहस छोड्नु चैं भएन है । रटन्ते भन्दा घुमन्ते ठिक ।
निजत्व फसेल पार्ने होइन; हेपाइ खानुपर्ला । नमागिकन दिएको अर्ति निरर्थक हुन्छ नै । बुज्रुक्याइँ छाँट्नु पऱ्या छैन । जो आफ्नो तालमा चल्छ; चल्न दिनुपर्छ । भाँजो हाल्ने हैन है !
आफूले मात्र गाडी दक्षतापूर्वक चलाउँदैमा के भो र, अर्को भुच्चडले ठोक्काउँछ अनि भएन त दुर्घटना ? जिन्दगीरुपी गाडी नि यस्तै हो, सरल रेखामा हिडाउन खोज्यो, हुण्डरीले लिक नै फेराउँछ । यो त चडाउ उतारको श्रृङ्खला नै हो नि । भेट्न चाहेको मान्छे नभेटिन सक्छ; भेट्न नचाहेको मान्छे भेटिन सक्छ । पूर्णताभित्र अपूर्णता, अपूर्णताभित्र पूर्णता भने झैं । मान्छेपिच्छे जीवनको परिभाषा फरक छ । कोही मोजमस्तीलाई जिन्दगी भन्छ त कोही परमानन्दभूतिलाई जीवन भन्छ । सत्यासत्यको गुजुल्टो फुन हम्मे छ; अन्तिम सत्यको फेरो कहाँ पो भेट्ने हो ?! म को हूँ नि नै चिन्नुपरो नि सर्वप्रथम । अरू त तपसिलमा । पान्डोराको बाकस झैं रहस्यमय भो जिन्दगानी ।
यथोचित इगो त ठिकै हो, सुपरइगो चैं चाहिएन है । एक्सेस र एलिजको सुपरइगो चुलिएर दोस्रो महासङ्ग्राम भो । द्रौपदीको हाँसो; महाभारत भो गलपासो । अब कस कसको सुपरइगो फुलिनि हो ?
राजनीति राजनीति जस्तो भइदिए कति सुखमय हुन्थ्यो होला जिन्दगी ? अन्यथा भएर पो माऱ्यो । राजनीति भन्या भुँडी जस्तो, यो गडबडाएसि सबै कुरा गडबडाउन्या – चेतना भञा ।
निजत्व फसेल पार्ने होइन; हेपाइ खानुपर्ला । नमागिकन दिएको अर्ति निरर्थक हुन्छ नै । बुज्रुक्याइँ छाँट्नु पऱ्या छैन । जो आफ्नो तालमा चल्छ; चल्न दिनुपर्छ । भाँजो हाल्ने हैन है !
पञ्चायतकालमा राजाले यति – उति खर्च गर्छ भनेर जनतालाई उत्तेजित तुल्याउने ढाडे बिरालोहरूले लोकतन्त्र आएसि राष्ट्रिय ढुकुटीमा तर मारे । तसर्थ कसैले उत्तेजित तुल्याउँदैमा बहकिनु कदापि युक्तिसंगत होइन । यो त स्यालले कुखुरा छोप्न चिललाई औल्याएको कुरा जस्तै मात्र हो । आफ्नो ब्रम्हले देखेको काम गर्नुमा कल्याण छ ।
धेरै बर्ष अघिको कुरो । एकादिउँसो सन्त कबीरले प्रवचन दिदैं रहँदा एक जना युवकले सोध्यो, ‘सन्त महाराज, बिहे गर्नु ठिक हो कि हैन ?’ सन्त कबीर केहीबेर घोरिएर अनि आफ्नी धर्मपत्नीलाई डाकेर भने, ‘प्रियतमा ! बाहिर अँधेरो छ, बत्ती बालेर ल्याऊ ।’
नभन्दै सन्त कबीरको धर्मपत्नीले बलेको बत्ती ल्याइन् ।
यो दृश्य देखेसि त्यो युवकले तिलमिलाउँदै भन्यो, ‘सन्त महाराज, हजुरहरू दुवै जना महान् हुनुहुन्छ । हजुरले दिनलाई रात के भन्दिनुभको थियो, गुरूमाले र बलेको बत्ती ल्याउनुभयो । मैले यो कुरा बुझ्न सकिनँ ।’
त्यसपछि सन्त कबीरले हाँस्दै भने, ‘बाबु , यो केवल तिम्रो सोधाइको जवाफ हो । हाम्रो जस्तो प्रगाढ मायापिर्ती छ भने बिहे गर्नु अन्यथा नगर्नु ।’
यो जवाफले त्यो युवक सन्तुष्ट भो ।
आफू सच्चिने र अरूलाई सच्याउने त हाम्रो कर्म नै हो नि । किन बित्थैमा अकर्म/विकर्ममा समय फाल्नु छ र ? सकारात्मक सोच बनाउनोस्, जीवन सुखमय हुने सत्यतामा सन्देह रहोइन । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !
प्रतिक्रिया