(इतिहास)
वीरशम्शेरको चाहनाबमोजिम नै यात्राको तैयारी भयो । उनलाई पनि बेलायतमा जङ्गबहादुर सरह नै सम्मान दिने तथा १९ तोपको सलामी दिने समेत तय भयो । साथै उनका साथै उनको साथ जाने सम्पूर्ण सहयोगीहरूको खर्च समेत बेलायती दरवारले बहन गर्न तैयार रहेको समेत जानकारी दिइसकेको थियो ।
✍ सुनिल उलक

वीरशमशेर जन्मनुअगाडि नै ठूलोबुबा जङ्गबहादुर बेलायत पुगेका थिए । सानैदेखि ठूलोबुबाको बेलायत यात्राको कथा सुनेका थिए । त्यसैले बेलायत जाने सपना देख्न थालेका पनि थिए ।
नेपालको प्रधानमन्त्री तथा श्री ३ को रुपमा सत्तामा रहेका ठूलोबुबा रणोद्वीप सिंह कुँवर तथा जङ्गबहादुरका सन्तानहरूको हत्या गरि धीरशम्शेरका छोराहरूले एकछत्र रुपमा राणाशासनको बागडोर सम्हाल्न पुगेका थिए । ४२ साल पर्वको नामले बदनाम यस षडयन्त्रमा जङ्गबहादुरका छोरा-नातिहरू या त मारिए या लखेटिए । यसरी आफ्नै ठूलोबुबा तथा अन्य दाजुभाइको हत्या गरि श्री ३ बनेका वीरशम्शेरलाई भारतमा रहेको अंग्रेज सरकारले मान्यता दिन आनाकानी गरेपछि वीरशम्शेरले अंग्रेजका विभिन्न शर्त मान्न तैयार भएका थिए । भारतीय सेनामा रहेका गोर्खालीहरूको संख्या बढाउन समेत मञ्जुरी दिएका थिए । भारतमा रहेका अंग्रेज भाइसराय लर्ड डफरिनले रणोद्वीपको हत्या गरेर सत्तामा आउनेलाई मान्यता दिन खोजेन । यता रेसिडेन्टका रुपमा रहेका गल्र्डस्टोन पनि नेपाललाई स्वतन्त्र राष्ट्रको रुपमा स्विकार गर्न नचाहने तथा भारतमा गाभ्ने षडयन्त्रमा लागेका थिए । उनले पनि सहयोग गरेनन् । तसर्थ, यसको लागि अंग्रेज सरकारका प्रतिनिधिहरूले विभिन्न माग श्री ३ वीर सामु राख्न थाले । बेलायती सेनामा गोर्खालीहरूको भर्तिकेन्द्र नेपालमा नै राख्ने चाहना एक प्रमुख थियो भने अन्यमा बेलायतीहरूलाई सहज प्रवेश तथा ब्यापार गर्न छुट दिन समेत मागेका थिए । वीरशम्शेरले आफ्नो सरकारको मान्यता प्राप्त गर्न अंग्रेजका केही चाहना पूरा गरिदिएका थिए ।
यसरी सरकारलाई मान्यता पाएको वीर शम्शेरको सम्बन्ध लर्ड डफरिनसँग खासै राम्रो रहेन । तर त्यसपछिका भाइसरायहरू लर्ड ल्यान्सडाउन तथा लर्ड एल्गिनको समयमा भने बिस्तारै सुधार हुन थालेको थियो । सन् १८९२ को मार्चमा भारतमा रहेका बेलायती सेनाका सेना प्रमुख लर्ड रबर्टसको नेपाल भ्रमणले बेलायत सरकारको चाहना अझ बढी पूरा भयो । वीरशम्शेरको निमन्त्रणामा आइपुगेका लर्ड रबर्टस निकै कठिनताका साथ अप्ठ्यारो बाटो हुँदै घोडामा चढेर काठमाडौं पुगेका थिए । काठमाडौंमा उनको लागि १८ हजार सैनिकहरूबाट मार्चपास्ट तथा सलामी दिइएको थियो । त्यसबेला नेपाली सेनाका प्रमुख देवशम्शेर थिए । नेपालमा भएको स्वागतबाट प्रभावित भएका लर्ड रबर्टसले नेपाली सेनामा बेलायती सैनिक अफिसरबाट तालिम दिने ब्यवस्था समेत गरेका थिए । यसको एक वर्ष नबित्दै श्री ३ वीर शम्शेर इ.सं. १८९३ फेब्रुवरीमा कलकत्ता भ्रमणका लागि निस्किए । नयाँ भाइसराय लर्ड ल्यान्सडाउनको पाहुना भइ केही समय भ्रमणमा रहे । यस भ्रमणमा वीरशम्शेरले बेलायतसंग ८००० मार्टिनी हेनरी राइफलको अर्डर पनि दिएका थिए । भने मनग्गे गोलाबारुदको पनि अर्डर दिएका थिए ।
यसरी कलकत्ता भ्रमणबाट निकै प्रफुल्लित भएर फर्केका वीरशम्शेरले बेलायत घुम्ने सपना देख्न थालेका थिए । ठूलो बुबा जंगबहादुरको बेलायत भ्रमणको कथा राणा परिवारमा निकै चर्चा हुने गर्दथ्यो । त्यसैले वीरशम्शेरलाई पनि बेलायत जाने रहर जाग्नु स्वभाविकै थियो । सन् १८९५ को अन्ततिर काठमाडौमा रहेको रेसिडेन्टमार्फत अनुरोधपत्र पठाए । तत्कालिन भाइसराय लर्ड एल्गिनले सहयोग गर्ने आश्वासन दिएको हुँदा पनि श्री ३ वीर ढुक्क थिए बेलायत घुम्न पाउनेमा । यता भाइसराय भित्रभित्रै चिन्तित थिए – कतै बेलायतबाट अस्विकृत भयो भने नेपालसँगको सम्बन्ध बिग्रन सक्ने आँकलन गर्दै भ्रमण सकभर गराउने प्रयत्नमा लागेका थिए ।

वीरशम्शेरको बेलायत भ्रमणको चाहनाको साथ अर्को ध्येय पनि थियो । नेपाल एक स्वतन्त्र राष्ट्रको राजा पृथ्वी वीर विक्रमको राजदूतको रुपमा बेलायत भ्रमण गर्ने वीरशम्शेरको चाह थियो । तर त्यसबेला बेलायत नेपाललाई पूर्णरुपमा स्वतन्त्र राष्ट्रको रुपमा मान्यता नदिने पक्षमा थियो । यो थाहा पाएका वीरशम्शेरले बेलायत भ्रमण त्याग्न सक्ने तर स्वतन्त्र राज्यको अधिकार त्याग्न नसक्ने जानकारी पठाएका थिए । भाइसरायको प्रयास वावजुद वीरशम्शेरको चाहनाबमोजिम नै यात्राको तैयारी भयो । उनलाई पनि बेलायतमा जङ्गबहादुर सरह नै सम्मान दिने तथा १९ तोपको सलामी दिने समेत तय भयो । साथै उनका साथै उनको साथ जाने सम्पूर्ण सहयोगीहरूको खर्च समेत बेलायती दरवारले बहन गर्न तैयार रहेको समेत जानकारी दिइसकेको थियो ।
तर यात्रा हुनु करिव डेढ महिनाअगाडि वीरशमशेरले काठमाडौमा रहेका बेलायती रेसिडेन्ट कर्नल विलिलाई वि.सं. १९५२ फागुन १ गते पत्र लेखेर हाललाई बेलायत यात्रा रद्द गरिदिन अनुरोध गरे । सो पत्रमा तिब्बतसँग सिमा विवादका केही कुरा उठेका कारण समाधान नभएसम्मका लागि बेलायत यात्रा रद्द गरिदिन अनुरोध गरिएको थियो ।
यदि बेलायत यात्रा रद्द नभएको भए वि.सं. १९५२ को चैत १३ गते रामनवमीको भोलिपल्ट श्री ३ वीर बम्बइबाट यात्रा आरम्भ गरि १९५३ जेठ ११ गते लण्डन पुग्ने योजना बनाइएको थियो । श्री ३ वीरका साथ भाइ, छोरा, अन्य अधिकारी तथा सहयोगी कामदारहरू सहित बढिमा ४० जनाको समुह हुने जानकारी सहितको १९५२ मंसिर २१ गते लेखिएको पत्र पनि साथमा राखिएको थियो । तर पछि १९५३ असार १८ गते भारतका लागि बेलायती सरकारको सेक्रेटरीका रुपमा रहेका लर्ड जर्ज ह्यामिल्टनलाई लेखिएको पत्रमा तिब्बतसंगको नेपालको सम्बन्ध सामान्य भइसकेको हुँदा यदि श्री ३ महाराजाको चाहना भएमा पुनः बेलायत भ्रमणको तैयारी गर्न सकिन्थ्यो भन्ने लेखिएको छ । सोही पत्रमा लेखिएको थियो, वीर शम्शेरले बताएका थिए कि उनले नेपाल–तिब्बत सीमाना आयोगमा संलग्न एक तिब्बती अधिकारीबाट अपमानजनक पत्र प्राप्त गरेका थिए, तसर्थ पनि तत्कालका लागि बेलायत भ्रमण रद्द गर्न चाहेका थिए । साथै सो पत्रमा लेखिएको थियो, यदि श्री ३ वीर शमशेरको भ्रमणसम्बन्धी प्रस्ताव पुनः अघि बढाइयो भने, यो उच्च राजनीतिक महत्त्वको विषय हुनेछ र हामीले वहाँलाई महारानीको तर्फबाट तत्काल एक मैत्रीपूर्ण निमन्त्रणा पठाउनुपर्दछ ।
यसरी श्री ३ वीरशमशेरको बेलायत भ्रमणको सपना तुहिएपछि वीरशमशेरले पुनः प्रयास गरेनन् । अन्ततः सन् १९०१ को अप्रिलमा भारतका लागि नयाँ नियुक्त भाइसराय लर्ड कर्जनलाई शिकार खेल्न नेपाल आउनको लागि निम्तो पठाए । पत्रमा उनले जानकारी दिए, स्वास्थ्यको कारण आफू शिकारमा उपस्थित हुन नसके पनि ब्यवस्था सबै मिलाइनेछ । तर, शिकारका लागि लर्ड कर्जन नेपाल आउनु एक महिनाअगाडि नै सन् १९०१ मार्च ३ तदनुसार वि.सं. १९५७ फागुन २३ गते मंगलवार फागु पूर्णिमाको दिन केवल ४८ वर्ष २ महिनाको उमेरमा वीरशम्शेरको देहावसान भयो ।
यदि वीरशमशेरको यात्रा निर्धारित मितिमा भएको भए यसप्रकारको हुने थियो । वि.सं. १९५२ चैत १३ गते मंगलबारका दिन बम्बइबाट प्रस्थान, चैत २४ गते एथेन्स पुग्दथे । यसैगरि १९५३ को बैशाख ५ गते बुखारेस्ट पुग्दथे । बुखारेस्टबाट विभिन्न ठाउँ भ्रमण गर्दै बैशाख १३ गते भियना पुग्ने योजना थियो । भियनामा करिव ११ दिनको बसाइ पछि बैशाख २४ गते म्यूनिख पुग्ने योजना थियो। म्यूनिखबाट बर्लिन, ब्रसेल्स हुँदै जेठ ११ गते लण्डन पुग्ने तैयारी थियो । लण्डनमा ५२ दिनको भ्रमण तथा भेटघाटको कार्यक्रम समाप्त गरि असार ३१ गते पेरिस पुग्ने योजना थियो । पेरिसमा भने लामो बस्ने योजना थियो । त्यहाँ करिव ४६ दिन बिताएर फर्कदा इटालीका विभिन्न शहर घुमेर अन्ततः असोज १९ गते पुनः बम्बइ नै पुग्ने योजना थियो । जसबाट दशैँको मुखैमा काठमाडौ पुग्न सकिन्थ्यो ।
भ्रमणमा साथ जानेहरूको नामावलीमा सबैभन्दा प्रथममा भाइ चन्द्रशमशेर नै थिए, जो पछि बेलायत पुगे । अर्को भाइ फतेह शमशेरकासाथै छोराहरू सेतेन्द्रशशमेर र रुद्रशमशेर पनि थिए । साथमा अन्य दुई साना छोराहरू पनि लाने मनसाय थियो । साथै, अन्य करिव २५ जनाको टोली नै रहेको थियो ।
प्रतिक्रिया