बालेनले जिताएको चुनाव

बालेनले जिताएको चुनाव


पौराणिक कथा महाभारत, मानव जीवनका सबै आयामहरूको प्रतिबिम्ब हो । यसमा विगत, वर्तमान र भविष्यका घटनाहरूको सार समेटिएको छ । यसै महाकाव्यमा एक रोचक प्रसङ्ग छ, बार्बरिकको । बार्बरिक (घटोत्कचका छोरा, भीमका नाती), जसलाई खट्टु श्याम पनि भनिन्छ, एक अद्भुत योद्धा थिए जसले महाभारतको युद्धमा भाग लिन चाहेका थिए तर कृष्णको चालबाजीले उनको टाउको काटेर पहाडमा राखियो, तर उनले युद्धलाई नजिक बाट हेर्न पाए । युद्धपछि अर्जुनले बार्बरिकलाई सोधे, ‘युद्धमा मेरो लडाइँ कस्तो लाग्यो ?’ बार्बरिकले अचम्म मान्दै जवाफ दिए, ‘तिमी पनि थियौ र युद्धमा, मैले त चारैतिर कृष्ण मात्रै लडेको देखेँ ।’ यो प्रसङ्गले एक गहन सत्य उजागर गर्छः कुनै पनि घटना वा सफलताको वास्तविक शक्ति एक मुख्य व्यक्तिमा केन्द्रित हुन्छ । बार्बरिकको दृष्टिकोणबाट, सम्पूर्ण युद्ध कृष्णको रणनीति, बुद्धि र प्रभावले निर्देशित थियो; अन्य योद्धाहरू केवल माध्यम थिए ।

यो उपमा नेपालको राजनीतिक परिदृश्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को २०८२ को चुनावी सफलतासँग जोडेर हेर्दा अझ स्पष्ट हुन्छ । रास्वपाको यो जीतलाई हेर्दा, बार्बरिकको जस्तै दृष्टिकोणबाट, बालेन साहको भूमिका प्रमुख र निर्णायक देखिन्छ, जबकि पार्टीका संस्थापक रवि लामिछाने र अन्य नेताहरूको योगदान न्यून लाग्छ । बालेनको रहस्यमय, अन्तर्मुखी र रिजर्भ व्यक्तित्व, जनताको नजरमा विश्वसनीय छबी बन्यो ।

बालेन साहको प्रवेश र नेतृत्वको प्रभाव : रास्वपा २०७९ मा रवि लामिछानेले स्थापना गरेका थिए, जसले युवा असन्तुष्टि र सुशासनको नारालाई उठाएर उल्लेखनीय सफलता हासिल गरे । आफैले चुनाब जिते र अरुलाई पनि जिताए, त्यो सफलताको पूर्ण श्रेय उनैलाई जान्छ । तर २०८२ सम्म आउँदा २०७९ को भूमिका छायामा परिसकेको थियो । यो चुनावमा बालेनको पार्टी प्रवेशले चुनाबी नतिजालाई रंगीन बनाएको छ, पार्टीको छविलाई नयाँ उचाइ दिएको छ । बालेन, जो २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरको पदमा स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भएका थिए, लाई रविले सीधै प्रधानमन्त्री पदको लागि प्रस्ताव गरे । बालेनको प्रवेशले पार्टीको चुनावी अभियानलाई ऊर्जा दियो । चुनावी परिणामहरू ऐतिहासिक छन्, न पहिला थियो न अब होला जस्तो, कुन निर्वाचन क्षेत्रमा हार्छ भनेर हेर्नु पर्ने ! जसमा बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै गढ मानिएको झापा-५ मा ५० हजार भन्दा बढी मतले हराए । यो जीत बालेनको व्यक्तिगत लोकप्रियता उनको ऱ्यापर पृष्ठभूमि, युवा अपील र सोशल मिडिया प्रभावबाट आएको छ । बार्बरिकले जसरी कृष्णलाई मात्र देखे, त्यसैगरी यो चुनावमा मतदाताले बालेनलाई मात्र देखे, उनको लोकप्रियता चारैतिर फैलिएको जस्तो थियो; उनको अभियानले जेनजी आन्दोलनलाई सीधा च्यानलाइज गरेर पार्टीको जीतको आधार तयार पाऱ्यो ।

यसैबीच, अन्य क्षेत्रका रास्वपाका उम्मेदवारहरूले आफ्नो निर्वाचन क्षेत्रमा बालेनलाई बोलाउने प्रतिस्पर्धा नै चलाएका थिए । उनीहरू बुझेका थिए कि बालेनको एक भाषण वा उपस्थितिले मात्रै सयौं-हजारौं मतको फरक पार्न सक्छ । मतदाताहरूले स्थानीय उम्मेदवारको नामभन्दा पनि ‘बालेनको पार्टी’ भनेर भोट दिने प्रवृत्ति देखिन्थ्यो, र उम्मेदवारहरूले पनि त्यही लोकप्रियताको फाइदा उठाउन बालेनलाई आफ्नो क्षेत्रमा ल्याउन प्रयास गर्थे । यो अवस्थाले देखाउँछ कि पार्टीको यो सफलता कुनै सामूहिक संगठनको मात्र परिणाम होइन, बरु बालेनको व्यक्तिगत प्रभाव र आकर्षणले नै मुख्य भूमिका खेलेको थियो, जसले अन्य सबैलाई पनि ‘उनको छायाँ’मा जित हासिल गर्ने अवसर दियो ।

बालेनको लागि पार्टी : बालेनले पार्टीको समग्र अभियानलाई उनको छायामा मात्र सीमित बनाएको देखिन्छ । उनले आफ्नो निर्बाचन कार्यालय झापामा आफ्नो पार्टी अध्यक्षको फोटो समेत नराखेको समाचारहरू आइरहेका थिए, यो सानो घटनाले पनि पार्टीभित्रको शक्ति सन्तुलनको स्पष्ट संकेत दिन्छ । यो कदमले बालेनलाई पार्टीको औपचारिक संरचनाभन्दा माथि राखेको जस्तो देखियो । बालेनको यो निर्णयले उनलाई स्वतन्त्र र निर्भीक छवि दिएको छ, जसले जनताको मन जितेको छ । अझै अगाडि सरेर भन्नुपर्दा उनी पार्टीका लागि होइनन्, पार्टी उनको लागि बनेको जस्तो देखिन्थ्यो । चुनावी अभियानका क्रममा जनसभाहरूमा देखिएको दृश्य अझ रोचक छ । जब बालेन र रवि सँगै हिँड्थे वा मञ्चमा उभिन्थे, सर्वसाधारणले धेरै जस्तो बालेनको नाम उच्चारण गरेको सुनिन्थ्यो । चुनावी सभामा बालेनले बोलेपछि धेरैजसो श्रोता उठेर हिँड्ने गर्थे, जसले उनको भाषणलाई पार्टीको मुख्य आकर्षण बनाएको प्रमाणित गर्छ ।

व्यक्तिगत ब्रान्डिङ र युवा अपील : उनि प्रधानमन्त्रीमा प्रस्तावित उम्मेदवार मात्र थिएनन, उनि त्यो दलको स्टार प्रचारक पनि थिए । बालेन उभिएपछि मात्र सभामा प्राण आउँथ्यो, यो चुनावमा सबै ध्यान एक व्यक्तिमा केन्द्रित थियो । पार्टीले देशव्यापी चुनावी कुच गर्दा ‘अबकी बार बालेन सरकार’ नारा लगाउँदै हिँडेको थियो, जसले बालेनलाई पार्टीको एक मात्र चेहरा बनाएको स्पष्ट हुन्छ । मतदाताहरूले आफ्नो क्षेत्रको स्थानीय उम्मेदवार को हो भन्ने कुरा थाहा पाउन पनि आवश्यक ठानेनन्; उनीहरूले मात्र बालेन प्रधानमन्त्री बन्ने आशामा भोट हाले । यो प्रवृत्तिले देखाउँछ कि रास्वपाको यो विजय पार्टीको संगठन वा अन्य नेतृत्वको योगदानभन्दा बढी बालेनको व्यक्तिगत ब्रान्डिङ र युवा अपीलबाट आएको हो । यसले नेपालको राजनीतिमा एक नयाँ युगको सुरुवातलाई संकेत गर्छ, जहाँ व्यक्तिगत करिश्मा र जनआन्दोलनको लहरले परम्परागत पार्टी संरचनालाई पछाडि पार्छ । यी सबैले महाभारतको प्रसङ्गलाई अझ सान्दर्भिक बनाउँछ, बार्बरिकले जसरी कृष्णलाई मात्र देखे, जनताले पनि बालेनलाई मात्र देखे । रवि र अन्य नेताहरूको भूमिका जग बसाउनेमा सीमित रह्यो, तर निर्णायक ऊर्जा र सफलता बालेनबाट नै आयो । यो परिवर्तनले नेपालमा युवा पुस्ताको शक्ति र नयाँ नेतृत्वको उदयलाई प्रमाणित गरेको छ ।

जनतासँगको भावनात्मक स्पर्श : बालेनले चुनावी अभियानमा जादा स्थानीय भाषा, संस्कृति र पहिचानसँग जोडिएका कुराहरू बोल्दै मतदातालाई आफ्नै परिवारको सदस्य जस्तो महसूस गराए । जनकपुर जस्तो मिथिला क्षेत्रमा उनले मैथिली भाषा प्रयोग गरेर भाषण दिए, जसले त्यहाँका जनतालाई आफ्नो संस्कृति र मातृभाषाको सम्मान भएको अनुभूति दिलायो । इटहरी जस्ता पूर्वी क्षेत्रमा लिम्बु संस्कृति को प्रतीक ‘सिलाम साक्मा’ (लिम्बु नृत्य वा परम्परागत गीत/संस्कृति) बारे उल्लेख गरेर स्थानीय भावनासँग जोडिए । सुदूरपश्चिम जाँदा उनले ‘सूदुर अब दूर नाइ’ जस्तो सान्दर्भिक नारा वा वाक्य प्रयोग गरेर यो क्षेत्रलाई अब ‘दूर’ नराख्ने, केन्द्रसँग जोड्ने र विकास ल्याउने प्रतिवद्धता देखाए । यी प्रयासहरूले उनको अभियानलाई विकेन्द्रित र समावेशी बनायो, जसबाट मतदाताहरूले बालेनलाई टाढाको नेता होइन, आफ्नै घरको एक सदस्य जस्तो ठाने । यसले उनको लोकप्रियता बढाउन र विविध जाति/क्षेत्रका मतहरू जुटाउन ठूलो भूमिका खेल्यो, जसले रास्वपाको समग्र सफलतामा पनि योगदान दियो ।

धारणा होइन वास्तविकता : यदि अहिलेको चुनावलाई एक पर्यवेक्षकको चश्माबाट हेऱ्यौं भने, एक अनौठो दृश्य अगाडि आउँछ । रवि र उनका उम्मेदवारहरू मतपत्रमा थिए तर बालेनको आत्मा ती हात चलाउने उर्जा थियो जसले स्वस्तिक छाप लगाउँथे । यसो किन भनिएको हो भने बालेनले २०७९ मा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार भएर जितेका थिए । यो जित मात्र काठमाडौंको स्थानीय स्तरको सानो सफलता थिएन । यो जितले नेपालको पुरानो राजनीतिक प्रणालीले नियन्त्रण गरेको राजनीतिलाई ठुलो मात्रामा खलबलाएको थियो । यसले देखायो कि नेपालका ठूला-ठूला पार्टीहरू नेपाली कांग्रेस, एमाले, माओवादीहरूलाई कमजोर बनाउन सकिन्छ र ब्यालेटको माध्यमबाट हराउन सकिन्छ, जित्न गाह्रो छैन । यो एउटा सामान्य जित थिएन, बरु नेपालको राजनीतिमा नयाँ युग सुरु गर्ने क्रान्तिकारी घटना जस्तो थियो ।

बदलिएको मनोविज्ञान : बालेन चुनावमा आउनुअघि धेरै मतदाताहरूले सोच्थे कि यदि उनीहरूले नयाँ अनुहार (स्वतन्त्र वा नयाँ पार्टीका उम्मेदवार)लाई भोट दिए भने त्यो भोट खेर जानेछ । किनभने नेपालमा पुराना ठूला पार्टीहरू (जस्तै कांग्रेस, एमाले, माओवादी)ले नै जित्ने चलन थियो, त्यसैले नयाँलाई भोट दिनु ब्यर्थ लाग्थ्यो, उनीहरूले जित्ने सम्भावना कम देखिन्थ्यो, र मत खेर जान्थ्यो भन्ने डर थियो । बालेनले नेपाली मतदाताको मनोविज्ञान नै बदलिदिए अर्थात् त्यो डर हटाइदिए र मतदाताहरूमा आत्मविश्वास भरे कि अब नयाँलाई भोट दिनु ब्यर्थ हुँदैन, यो प्रभावकारी हुन्छ । बालेनले भरिदिएको यो नयाँ साहसको फाइदा रवि लामिछाने र रास्वपाले उठाए – अर्थात्, बालेनले बीउ रोपे र रविले फसल काटे । अर्थात्, बालेनले प्रेरणा प्रदान गरे, रवि लामिछानेले पूर्वाधार प्रदान गरे । तर पूर्वाधारहरू आफै चलायमान नहुने हुँदा बालेन फ्याक्टर नभएको भए, रास्वपा सायद एउटा सानो, सीमान्त पार्टीमा मात्र सीमित रहन्थ्यो । बालेनले नै ठूलो लहर र ऊर्जा सिर्जना गरे ।