नयाँ सांसदहरू : कस्तो भाष्य निर्माण हुँदैछ ?

नयाँ सांसदहरू : कस्तो भाष्य निर्माण हुँदैछ ?


कुनै पनि विषय, घटना सन्दर्भ, ब्यक्तित्व लगायतलाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुराले ती कुराहरूप्रति मानिसको दृष्टिकोण बनाउँछ । उक्त दृष्टिकोण बनाउनका लागि, भाष्य निर्माण गर्नका लागि मिडियाको ठुलो भूमिका हुन्छ । मिडियाले बनाएको भाष्यले समाजको सोच र ब्यवहारमा फरक पर्छ । कतिपय अवस्थामा नीतिगत निर्णयमा पनि फरक पार्छ । विगतमा मानिसहरूले बोल्थे, भाषण गर्थे जतिले सुन्यो त्यतिमै सीमित हुन्थ्यो । हिजोआज सामाजिक सन्जालका कारण मिडियाले निर्माण गरेको भाष्य संसारभर फैलन्छ । मोबाइलमा मात्रै नभइ जनमानसमा गढेर बस्छ ।

संविधानसभाको पहिलो निर्वाचनपछि नेपालको मिडियाले समानुपातिक सांसदहरूको सवालमा जुन भाष्य निर्माण गऱ्यो, त्यसको मूल्य समानुपातिकबाट सांसद बन्नेहरूले अहिलेसम्म चुकाइरहेका छन् । मिडियाले त्यतिबेला समानुपातिकबाट आएका कतिपय सांसदको बारेमा ‘भाँडा माझ्दामाझ्दै संसदमा, चुरा लाउँदालाउँदै संसदमा’ जस्ता शीर्षक राखेर समाचार बनाइदिँदा समानुपातिकबाट आएका सांसदले त केही नै जानेका हुँदैनन् भन्ने भाष्य बन्यो । फलतः सबै समानुपातिक सांसदप्रति ‘संविधानले निर्देश गरेअनुरुप राख्नैपर्ने भएर यिनीहरू आएका हुन्, यिनलाई केही थाहा छैन, त्यसै सांसद बनेर आए’ भन्ने दृष्टिकोण बन्यो । संविधानले एउटै हैसियत दिएपनि उहाँहरूलाई मानिसले हेर्ने दृष्टिकोण र गर्ने ब्यवहार फरक भयो । सङ्घीय संसद्देखि प्रदेशसभाहरूसम्म समानुपातिक सांसदहरूले विभेद भोग्नुपऱ्यो, परिरहेको छ ।

अहिले प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रायः विभिन्न पेशा, ब्यवसाय गरिरहेका ब्यक्तिहरूलाई समानुपातिक सांसदको सूचीमा राख्यो । खासमा समानुपातिकको मर्म समावेशिता सुनिश्चित गर्नु हो । हाम्रो जस्तो विविधतापूर्ण समाजमा निश्चित जात, वर्ग, समूदायको मात्र बर्चश्न नहोस भन्ने उद्देश्यले समानुपातिक निर्वाचन प्रणालीको अवधारणा ल्याइएको हो । समानुपातिकको मूल मर्म सबैको आवाज संसदमा पुगोस्, सबैको प्रतिनिधिमुलक उपस्थिति र आवाजले संसदमा ठाउँ पाओस् भन्ने हो । जसका लागि क्लष्टर नै बनाएर महिला, दलित, जनजाति, मधेशी, पिछडिएको वर्ग समुदायको प्रतिनिधित्व गराइएको हो । प्रत्यक्ष निर्वाचन लड्न नसक्ने तर उनीहरूको आवाज नभइनहुने भएर विविधतापूर्ण समाजको प्रतिनिधित्व गर्दै फरक विचार, पहिचान, वर्गको सहभागिता गराइएको हो । जुन मर्मको सम्मान हिजो खासै गरिएको थिएन, अहिले पनि गरिएन । जसले समावेशिताको अर्थलाई साकार पार्न सक्थे उनीहरूलाई महत्व दिइएन । चुरा लाउँदालाउँदै, भाँडा माझ्दामाझ्दै संसदमा आउनेहरू सुकिलामुकिला थिएनन् होला तर ती समुदायका कुरा राख्न सक्थे ।

यसपटक रास्वपाले समानुपातिकमा धेरैजसो विभिन्न पेशा, ब्यवसायमा संलग्न मानिसहरूलाई राखेको छ । कलाकार, पत्रकार, विभिन्न पेशा, ब्यवसायीको प्रतिनिधित्व खासमा राष्ट्रियसभामा हुनुपर्ने थियो । तर राष्ट्रियसभाको संरचना जसरी गरिएको छ त्यसले विभिन्न पेशा, ब्यवसायमा भएका मानिसहरूलाई त्यहाँ पुग्न दिँदैन । अहिलेको जस्तो संरचनाबाट राजनीतिक दलसम्बद्ध मानिसहरू मात्रै आउन सक्छन् । त्यसैले संविधान संशोधन गर्दा राष्ट्रियसभाको गठन प्रक्रिया परिवर्तन गरी विभिन्न पेशा, ब्यवसायमा अनुभव हासिल गरेका मानिसहरू आउनसक्ने बनाउनु आवश्यक छ ।

पढे लेखेका, ब्यवसायिक, हाइफाई, धनसम्पत्ति भएका, बौद्धिक भनी यसपटक सांसदहरूको बारेमा मिडियाले फरक भाष्य निर्माण गर्दैछ, गरिरहेको छ । नयाँ सांसदहरूको बारेमा जसरी दृष्टिकोण निर्माण गरिँदैछ, त्यसले जनमानसमा अपेक्षा बढाएको छ । अपेक्षा बढ्नुपर्छ, आशा जाग्नुपर्छ तर आशा, अपेक्षाको चाङ त्यति ठुलो पनि नहोस् जहाँ सांसदहरूलाई धान्नै गाह्रो होस् । अहिले निर्माण हुँदै गएको सांसदहरूप्रतिको भाष्यले भुइँमान्छे या भनौँ सर्वसाधारणलाई यी हाम्रा नभइ अलि हुनेखानेका, कुरा जानेका, टाठाबाठा मानिसका मात्रै सांसद हुन् झैं बनाइरहेको छ । पेशागतरूपमा सफलता प्राप्त गरेका मानिसहरू मात्रै सांसद भएका छन् भन्ने सन्देश गइरहेको छ । आफूले गरिरहेको काम र पेशामा सफल हुनु र राजनीतिमा सफलता हासिल गर्नु फरक कुरा हो ।

आफ्नो पेशामा सफल भएर राजनीतिमा असफल हुनेहरूको सङ्ख्या विश्वमा ठुलै छ । हलिउड अभिनेता अर्नोल्ड स्वार्जनेगर सफल अभिनेता भएपनि क्यालिफोर्नियाका गभर्नरका रूपमा खासै सफल हुन सकेनन् । आर्थिक सङ्कट समाधान गर्न र नीतिगत स्थिरता कायम गर्न उनलाई हम्मे-हम्मे परेको थियो । पाकिस्तानका पूर्व क्रिकेट खेलाडी इमरान खानको प्रधानमन्त्रीसम्मको यात्रालाई पदप्राप्तिमा सफल मानिएपनि नेतृत्वदायी भूमिकामा सफल मानिदैन । युक्रेनका भ्लादमिर जेलेन्स्कीको त कुरै गर्नु परेन । भोग्नुपर्ने, नपर्ने सबै कुरा जनताले भोगिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सफल ब्यवसायी थिए, राष्ट्रपतिका रूपमा अहिले के भइरहेको छ, जगजाहेर छ । राजनीतिमा पेशागत सफलता र लोकप्रियता मात्रै पर्याप्त हुँदैन । दूरदर्शिता र नेतृत्व गर्नसक्ने क्षमता बढि महत्वपूर्ण हुन्छ । प्राविधिक र पेशागत ज्ञानले मानिसलाई आफ्नो क्षेत्रमा सफल बनाएपनि राजनीतिमा न्तृत्व लिने क्षमता, रणनीति, धैर्य जस्ता कुराले बढि काम गर्ने हुँदा परिस्थिति फरक हुनसक्छ ।

पेशागत मानिसहरू राजनीतिमा आएर सफल भएका उदाहरणहरू पनि विश्वमा धेरै छन् । भौतिक शास्त्रीका रूपमा नाम कमाएकी एन्जेला मार्केलले जर्मनीको चान्सलरका रूपमा सफल कार्यकाल पूरा गरिन् । सिंहापुरका ली हसिनदेखि फ्रान्सका इमानुअल मार्कोनसम्मलाई हेर्दा पेशागत पृष्ठभूमिका मानिसहरू राजनीतिमा आएर मुलुकलाई राम्रो गर्न सक्छन् भन्न मिल्छ, सकिन्छ । अहिले हामीकहाँ सांसद हुनुभएका विभिन्न पृष्ठभूमिका ब्यक्तित्वहरूसँग जनताको अपेक्षा ठुलो छ । यिनीहरू नयाँ हुन्, जे गर्छन् ठिक गर्छन् भन्ने सोच छ । जनताको यो भरोसालाई सरकारमा जानेहरूले र संसद्मार्फत नीति बनाउनेहरूले जोगाएर राख्नुपर्नेछ ।

यसपटक सेलिब्रेटी सांसदहरूको सङ्ख्या पनि त्यत्तिकै छ । मिडियाले उहाँहरूका प्रति आ-आफ्नै प्रकारको भाष्य निर्माण गरिरहेको छ । हिजो सेलिब्रेटी हुँदा ‘पब्लिक’ले ‘एटेन्सन’ मात्रै दिँदा काफी हुन्थ्यो, तर अब उहाँहरूले सबै क्षेत्रलाई समान आँखाले हेर्नुपर्नेछ । मुलुक फरक खालको सङ्क्रमणमा भएकाले यसको ब्यवस्थापनमा चुनौतीहरू आउन सक्छन् । चुनौतीहरूलाई सहज रुपमा लिएर समाधानका उपायहरू अवलम्बन गर्ने नेतृत्व कालान्तरमा सफल हुन्छ । अहिलेका सांसदहरूको चुनौतीमध्ये एक समानुपातिकको अवधारणा र मर्मलाई मर्न नदिनु पनि हो । मिडियाले नयाँ अनुहार, पेशागत, ब्यवसायिक, सफल भन्ने भाष्य निर्माण गर्दैगर्दा पहिलेका राम्रा कुराहरूको निरन्तरता र नयाँ सोचको संयोजनको आवश्यकतालाई बिर्सन हुँदैन । अहिले जसरी उहाँहरूलाई त सबै थाहा छ झैँ गरेर भाष्य निर्माण गरिँदैछ, त्यसले जान्नुपर्ने/सिक्नुपर्ने धेरै कुराबाट उहाँहरूलाई टाढा राख्न सक्छ । त्यसैले सिक्ने, बुझ्ने, जान्ने प्रक्रियाबाट अलग्याउने गरी भाष्य निर्माण नगरौँ ।