आफैलाई हेर्नुहोस्, तपाईंले खाएको खानामा अभिभावकको अघोर परिश्रमको पीयूष छ कि, बर्जित आम्दानीको व्यञ्जन छ, थाहा पाउनुहोस्, परीक्षण गर्नुहोस् । सबभन्दा कठोर व्युह यही हुनसक्छ । यसरी तपाईंहरूले भदौ २३ को अभियान सफल बनाउन सक्नुहुन्छ ।
✍ त्रिभुवनचन्द्र वाग्ले
पहिलो कुरा बे’ गर्ने दिन पुग्यो
दोस्रो कुरा तोलाको तीन पुग्यो,
बढ्यो सुनको भाउ.. बढ्यो सुनको भाउ
फूलमाला लाएर बिहे गरौँ आऊ !

समकालीन नेपाली गीत–सङ्गीतमा वसन्त थापा दुई नाम चर्चामा छन् । वसन्त थापा र वसन्त बित्यासी थापा । गाउँमा उखान चल्थ्यो– ‘अरुले गीत गाएको र कालेका बाले खोकेको ।’ यी दुई वसन्त थापाले सुसेले सङ्गीत बन्छ, बोले मात्र पनि गीत बन्छ । हुनसक्छ वसन्त भन्नु गीत गाइने ऋतु र राग हो । सन् २०२६ को सुरुमै वसन्त थापाको सङ्गीत, विष्णु सापकोटाको शब्द, विष्णु सापकोटा, वसन्त थापा र सम्झना भण्डारीका आवाज, वसन्त थापा, तेजस रेग्मी, नारायणी खत्री र प्रतीक्षा अधिकारीको अभिनयमा प्रस्तुत गीत ‘बढ्यो सुनको भाउ’ लोकगीत मात्र नभएर नेपाली समाजको दशा र दृश्य दुवै लाग्छ ।
यस्ता गीतलाई समाज रूपान्तरणको सुत्र बनाउन सकिन्छ, सक्नुपर्छ । आज हामी कस्तो समाजमा छौँ, बडो अन्तरविरोध हुन्छ । हामी छाउगोठमा छोरीचेली मरेका घटनालाई कथा बनाउछौँ र ‘उत्कृष्ट कथा’ पुरस्कार थाप्छौँ । हामी जातीय विभेदका विकीर्ण क्रन्दनलाई ‘विचार’ बनाउँछौँ र विद्वान् हुन्छौँ । हामी दहेज वा दाइजोका कारण घटित हिंसामाथि चलचित्र बनाएर दर्शकको मन जित्छौँ । जे ‘नराम्रा’ छन् तिनैलाई ‘राम्रा’ भन्नुपर्ने कस्तो विरोधाभाषामा बाँचेको छ हाम्रो वर्तमान ! यो गीत सुन्दैगर्दा मेरा आँखाअगाडि छाउगोठाका दृश्य मञ्चन भए, गाग्री बनाउनेहरूले पँधेरो छुन नपाएका दैनिकीले मन च्यातियो । सन्तानका बिहेबारी गर्न सञ्चय कोषमा लाइन लागेका निमुखा कर्मचारी र धितो जमानी गर्न बैंकको आँगनका उभिएका औसत नेपालीले टेकेको भुइँ भासिएको अनुभव भइरह्यो । धेरै पटक सुनेँ, सुनिरहेँ र अरुलाई पनि सुन्न आग्रह गरेँ ।
यो गीत एउटा विम्ब मात्र हो । यसले गरेको सङ्केत र दिएको सन्देशका लक्षणा र व्यञ्जनालाई मुलतः नव पुस्ताले सुनून् र गुनुन् भन्ने चाहन्छु । गीत सुन्दै गर्दा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालको निर्वाध प्रयोगजस्ता युगीय चेतनाको माग उचालेका पवित्र पुस्तामाथि २०८२ भदौ २३ गते भएको अत्याचार तथा युग–चेतनाको आक्रोशमा २४ गते मिसिएको अपराधले पोतेको राजधानीको विद्रूप विम्ब आँखामा पोखिन्छ । म यो गीत आफूलाई जेन्जी भन्नेहरूलाई सुन्न भन्छु जसका सुन्दर सपना जल्न हुँदैन । जेन्जी, म भने तपार्ईंंहरूलाई अभिमन्यु पुस्ता भन्न चाहन्छु । तपाईंंहरूले अन्याय, अत्याचार, भ्रष्टाचार, विकृत र विसङ्गतिविरुद्ध महाभारत लडेकै हो । जित तपाईंहरूकै भएको, अझै हुनेछ । यसो किनभने, तपार्ईंहरू सत्यको पक्षमा हुनुहुन्छ । तर तपाईंहरूले चक्रव्यूहको सातौँ ढोकाबाट निस्कन थप ज्ञान, विज्ञान, सीप, साधना र अठोट गर्नुपर्छ । जुन ढोका खोल्न सकेनन् अभिमुन्यले महाभारतमा । प्रिय अभिमन्युहरू, तपाईंहरूसँग पूर्णतः सहमत हुँदै, तपाईंहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्दै, तपाईंहरूलाई साथमा पाउनुको गर्व गर्दै, तपार्ईंहरूसँग संवादका केही व्युह उल्लेख गर्छु ।
व्युह एक, आफैभित्रको व्यूह
प्रिय अभिमन्युहरू, तपाईंंहरू सुशासन खोज्न सिंहदरबार होइन आफ्नै घरबारतिर हेर्नुहोस् । तपाईंहरूको घर कसरी चलेको छ, सक्नुहुन्छ भने आफ्ना अभिभावकलाई प्रश्न गर्नुहोस्– तपाईंंले कसरी आम्दानी गर्दै हुनुहुन्छ ? तपाईं आफै पनि कमाउँदै हुनुहुन्छ भने हेर्नुहोस् तपाईंको कमाइमा कतै धब्बा लागेको छ कि छैन । बडामहाराजधिराज पृथ्वीनारण शाहले ‘अदालतको दाम दरबार नहुल्नू’ किन भनेका थिए ? त्यतिखेर पनि नेपालमा भ्रष्टाचार फैलिएको ‘घुस लिन्या र दिन्या’ सन्दर्भले प्रमाणित गर्छ । अदालतमा हुने ‘लिन्या र दिन्या’बाट उठेको दाम दरबार हुले त्यसले पुस्ता पिर्छ भनेर पृथ्वीले यस्तो भनेका थिए । अर्कोतिर, अदालतले सँधै सतप्रतिसत न्याय,अन्याय छुट्याउन सक्दैन । कथम्कदाचित अन्यायमा परेकालाई नै जरिवाना तिराइएको रहेछ भने त्यो महापापको दाम दरबार ल्याउन हुन्न भनेका थिए । आजसम्म आइपुग्दा हाम्रा दरबार र दरबारहरू यस्ता मान्यतामा अडिन सके,सकेनन् ? इतिहास र वर्तमान हेरेर विवेचना गर्नुहोस् । दरबार मात्र होइन, आफै घरबारमा आएका पैसामा अभिभावकको पसिना सुगन्धित छ कि अनियमिताकोे दुर्गन्ध छ, सुघ्नु होला । तपाईंंहरूको घरमा तपाईंं जस्तै छाला र मासुको बायोलोजीले बनेको ‘कान्छा’ वा ‘कान्छी’ पालिएका छन् कि छैनन्, हेर्नुहोला । राज्यको ढुकुटीबाट तलब खानेहरूलाई तपाईं र तपाईंहरूको घरमा घरेलु श्रमिक बनाइएको छ कि छैन ? तपाईंहरूको घरमा भेट्न आउने भिआइपीले आउँदा एउटा र फर्कादा अर्को सुटकेस लिएर फर्कन्छ भने खोज्नुहोला त्यो सुटकेस नभएर नोटकेस हुन सक्छ ।
व्युह दुई, फूलमाला लाएर बिहे गरौँ आऊ
प्रिय अभिमन्यु पुस्ता, आचार र समाचार भिन्न पदार्थ हुन् । आचार आफैले बनाउने हो । समाचार अन्यले बनाउने आफूले पढ्ने हो । तपाईंहरू समाचार कति पढ्नु हुन्छ ? हाम्रो देशमा दहेज नपाएर महिलामाथि आगो लगाइएका समाचार आउँछन्, दाइजो नपुगेर छोडपत्र भएका छन्, यातना र शब्दवाण चलेका हुन्छन् । विनायक नरहरि भावेलाई जान्नुहुन्छ ? उनै हुन् विनोबा भावे (१८९५–१९८२ भारत) उनले भूदान आन्दोलन मार्फत भारतीय समाज सुधारमा कत्रो ठुलो योगदान थिए ? तपाईंहरू कुन आन्दोलन गर्नुहुन्छ ? ‘फूलमाला लाएर बिहे गरौँ’ यो एउटा ठूलो आन्दोलन वा अभियान हुनसक्छ तपाईंहरूका लागि । हाम्रो समाज दहजे र दाइजोको व्युहमा छ, प्रिय अभिमन्यु पुस्ता यो तोड्नुस्, मानवता जोड्नुस । नयाँ आचार बनाउनु होस् । विनोबा भावेले प्रतिज्ञा गरे- ‘दिदीको विवाहको भोजभतेर खान्न ।’ आमा रुक्मिणीले कर गरिन्- सामान्य दालरोटी खाऊ, घरैमा बनाइ दिन्छु । भावेले त्यो खाए । सामाजिक सुधार ऐन २०३३ ले विवाहमा कति जना जन्ती लैजान र जान पाइने भनेको थियो ? खै त्यसको पालना ? एक दिनमा विश्वभरका मानिसले खाई नसकेर फालिएको अन्नले करिब सबै नेपालीलाई एक छाक खान पुग्ने तथ्याङ्क पढ्नु भएको छ । मैले कोरोनाकालीन गृहबन्दीमा पढेको थिएँ । घरमा आमाले दिएको भात रुच्छ कि मःम पिजमा ध्यान जान्छ तपाईंहरूको ? भोज-भतेरमा औसत नेपालीले जस्तै प्लेटमा सगरमाथा लिएर, अन्नपूर्ण फाल्ने गर्नुहुन्छ ? यी र यस्ता आचार बदलेर सामाजिक रुपान्तरणका लागि तपाईंहरूसँग युगले माग गरेको छ । युगको माग पूरा गरिदिनुहोस् । यो महङ्गीमा ’…..फूलमाला लाएर बिहे गरौँ आऊ’ अभियान चलाउनुभयो भने तपाईंहरू नेपाली समाज रुपान्तरणको प्रेरणा बन्न सक्नहुन्छ । विनोबा भावेको नेपाली संस्करण ।
व्युह तीन, राजनीति होइन समाज रुपान्तरण
छविलाल पोखरेल, हलो क्रान्ति, पण्डित तोयानाथ अधिकारी, शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मुखिया हरिदास पण्डित मुक्तिनाथ तिमिल्सिना पूर्णप्रसाद ब्राह्मण देवीप्रसाद पौडेल दम्पती (केवलपुरे किसान) का नाम र काम जान्नुहुन्छ ? भगत सर्वजित विश्वकर्मा, योगमाया न्यौपाने, डा. स्वामी प्रपन्नाचार्य (काले राई) हरूलाई जान्नुहुन्छ ? मार्टिन लुथर किङ जुनियर, नेल्सन मण्डेला, लालबहादुर शास्त्री वा ली क्वान यु कसलाई बढी पढ्नु भएको छ ? कोबाट प्रभावित हुनुहुन्छ ? राजनीतिक परिवर्तन तडकभडक हुन्छ, जो अक्सर साधनले परिवर्तन हुन्छ तर सामाजिक परिवर्तन साधनाले परिवर्तन हुन्छ । कतिजना तपाईंहरूको गोडामा नेपाली गोल्डस्टार जुत्ता छ ? गान्धीको खादी आन्दोलन सुन्नुभएको छ ? बुझ्नुहुन्छ, कवि बालकृष्ण समको भावबोली ‘नेपाली सुकमार हातहरूले खस्रा बुनेका लुगा’ तपाईंहरूलाई अन्तरजातीय विवाहका कारणले घर, गाउँ र देश छोड्न बाध्य प्रेमीको प्रेमले पोल्छ ? कि पोल्दैन ? तपाईंहरूलाई अहिले पनि विद्यालयको दायरामा नआएका बालबच्चा देखेर घोच्छ कि घोच्दैन । आशिका तामाङले गर्नुभएको सामाजिक सेवा देखेर लोभ लाग्दैन तपाईंहरूलाई ? तपाईंहरूले समाज सेवाका लागि विश्वसनीयता प्रदर्शन गर्नुभयो भने स्रोत स्वदेशबाटै सङ्कलन गर्न सकिन्छ । नेपालमा मन र धन भएका धेरै मानिस छन् । मन र धनलाई संयोजन गर्ने विश्वसनीय पुस्ता आवश्यक छ । त्यो खाली ठाउँमा तपाईंहरूको अनुहार देख्दछु ।
व्युह चार, विदेश कि देश
देशमा समस्या छ, सम्भावना छैन, अधिकांश युवा यही भन्छन्, कि सम्भावना खोज्न विदेश जानु बाध्यता हो । यसमा धेरै सत्यता छ तर थोरै गलत छ यो भाष्य । सिङ्गापुरका लि क्वान युले देशमा सम्भावना नदेखेर, नदी किनारलाई उकास गर्न छाडेको भए आज सिङ्गापुर बन्ने थियो ? नेपालमा सम्भावना छैन, र त तपाईंहरूले सम्भावना खोज्न यहीं बस्नुपर्छ । हो अनगिन्ती समस्या छन् र त समाधानमा तपाईंहरूले लाखौं लिटर पसिना यहीं चुहाउनु छ । सुन्छु र केही हाँसो लाग्छ, नेपालका केही युवा ‘नो भोट’ बाट देश बनाउन सकिन्छ भन्ने सपना बुन्नुहुन्छ, जब कि लि क्वान युको देशमा मतदान अनिवार्य छ र यही बाटोबाट उनले सिङ्गापुर बनाए । तपाईंहरू गे्रटा थुनवर्गलाई एउटा पुस्तक मान्नुहुन्न ? मलाई त उनले चलाएको ‘फ्राइडे पर फ्युचर’, जलवायु परिवर्तनका अभियान र स्वीडिस संसद भवन अगाडिको अभियानले निकै ल्योभ्याउँछ । लि क्वा युले चलाएको नदी सफाइ र हरियाली अभियानले मुर्छै पर्छु । अनि, हाम्रा बागमती, विष्णुमती र त्रिशुलीको विद्रूप अनुहारले उँधोमुन्टी पर्छु । र प्रश्न गर्छु, प्रिय अभिमन्यु पुस्ता तपार्ईंहरू आफू सुत्ने कोठा, तन्ना, ओच्छ्यान मिलाउनु हुन्छ ? घरको सफाइ गर्न आमालाई सघाउनु हुन्छ ? शहर सफाइमा ‘बाल’ दिनुहुन्छ ? तपाईंका मोजा, गन्जी र भित्री लुगा खोज्न आमालार्ई हैरानी हुन्छ ? फेरेका लुगा धुन जान्नुहुन्छ ? किशुनजी महान् सादगी नेता, जो प्रधानमन्त्री हुनुहुँदा पनि आफ्नो जुत्तामा आफै पालिस गर्नुहुन्थ्यो, जान्नुहुन्छ ? यसलाई मान्नुहुन्छ ? संस्कार, सम्पन्नता र सम्भावना विदेशमा मात्र देख्नुहुन्छ भने नेपालमै खोज्नुहोस् हर तपाईंहरूमा लि क्वानको उज्यालो अनुहार देख्छु, जस्तो कि चीनमा प्रचलित एक भाषिका अनुसार क्यान यु भनेको उज्यालो हो ।
व्यूह पाँच, विसङ्गतिमा सुप्रहार
प्रहार होइन सुप्रहार गर्नुहोस् विसङ्गतिमाथि जस्तो कि, तपाईं हामी कुनै कामका खाँतिर अड्डा अदालत जान्छौं भने त्यहाँका अनियमितता, लम्बेनात प्रकृया, टेबलमुनि र माथिका सन्दर्भलाई शिष्ट तरिकाले क्रमशः बाहिर ल्याइदिनुहोस् । कर्मचारीलाई कुनै प्रहार गर्नु पर्दैन । आज यस्तो भयो भनेर सामाजिक सञ्जालमा राख्नुहोस् मात्र, भोलि यसै सन्दर्भमा सार्वजनिक वहस चलाउनु होस् । पर्सी सम्बद्ध अधिकारीसँग संवाद गर्नुहोस् । प्रत्येक कार्यालयमा सभ्य निगरानीका लागि ‘विसङ्गति विरुद्ध ब्रिगेड’ बनाउनुहोस् । आफ्ना अनुभव सार्वजनिक गर्नुहोस् । कतिपय कर्मचारीहरू अति शिष्ट र कर्तव्य परायण छन् । उनीहरूको प्रशंसामा चुक्नु हुँदैन । अनि अर्का भानुभक्तले नेपाली प्रशासनको ’प्रसस्ति’ गाउने छैनन्- ‘भोलि भोलि हुँदैमा सबघर बितिगो बक्सोस आज झोली’ ।
व्यूह छ, सामाजिक सञ्जालको सुप्रयोग
म जान्दछु, तपाईंहरूको एउटा माग सामाजिक सञ्जालको निर्वाध प्रयोग थियो । प्रिय अभिमन्यु पुस्ता ऋतिक रोशन काण्ड थाह छ ? अथवा हिल्टन होटलमाथिको आक्रमणको कारण के होला ? एक नेपाली नायिकाले किन आत्महत्याको बाटो रोजिन् ? तपाईंहरूको अभियानलाई पूरै सहयोग गरेको नेपाली पत्रकारितालाई तहसनहस पार्ने गरी किन मिडिया हाउस जलाइएको होला ? समाजमा सञ्चारले धेरै राम्रो गरेका छ तर सञ्चार दोहोरै धार भएको हतियार हो भन्ने नबिर्सनू, यसको सदुपयोगमा सचेत हुनुपर्छ । सामाजिक सञ्जालले हाम्रा आशाका केन्द्र नव पुस्तालाई प्रयोग गर्न हुँदैन । तपाईंहरूले हो सामाजिक सञ्जाल प्रयोग गर्ने । तपाईंहरूको उर्जाशील समयको कति प्रतिशत सामाजिक सञ्जाल, सामाजिक कर्तव्य, पारिवारिक सम्पर्क, देशी, विदेशी घटना जान्न खर्चनु हुन्छ ? सामाजिक सञ्जालको सुप्रयोगको जिम्मा युगले तपाईंहरूको पुस्तालाई सुम्पेको छ । प्रविधिमा तपाईंहरूबाट अघिल्ला र पछिल्ला पुस्ताले धेरै सिक्नु छ ।
व्यूह सात, स्व-परीक्षण
यो सबैभन्दा अप्ठेरो व्यूह हो, जुन पार गर्न सकेनन् अभिमन्यूले । तपाईं परिवारमा बसेर खानुहोस् । कतिपयको घरमा चार सदस्यले छुट्टा, छुट्टै चार पटक खानुपर्ने अवस्था छ, ठिक छ, काम विशेषले भएको भए यसको व्यवस्थापन गर्न सक्नुपर्छ तर तपाईं परिवारका सदस्य नजिक पर्नुहुन्न । सँगै बसेर खाना खानुहुन्न, घरको सुखदुःख सोधखोज गर्नुहुन्न, हुनसक्छ, अभिभावकले आज दैनिक ज्यालादारीको काम नपाएर तपाईंलाई मःम ल्याइदिन सक्नु भएन । अथवा, तपाईंका अभिभावकले आजकै दिन लाखौं रुपियाँ कमाएर ल्याउनु भएको छ । दुवै दृश्यलाई तपाईंले सँगै देख्नुपर्छ । आफैलाई हेर्नुहोस्, तपाईंले खाएको खानामा अभिभावकको अघोर परिश्रमको पीयूष छ कि, बर्जित आम्दानीको व्यञ्जन छ, थाहा पाउनुहोस्, परीक्षण गर्नुहोस् । सबभन्दा कठोर व्युह यही हुनसक्छ । यसरी तपाईंहरूले भदौ २३ को अभियान सफल बनाउन सक्नुहुन्छ ।
प्रतिक्रिया