जब प्रविधि र स्रोतहरूमा सबैको समान पहुँच हुनेछ र मानिस अस्तित्ववादी संघर्षबाट मुक्त हुनेछ, तब मात्र ‘मौलिक दार्शनिक मानव’ को उदय हुनेछ । यो असम्भव छैन, तर यसका लागि हामीले आफ्नो ‘सुरक्षित घेरा’ तोडेर प्राकृतिक लयमा फर्कने साहस गर्नुपर्छ ।
✍ डिल्ली अम्माई
‘कपी-पेस्ट सभ्यताको अन्त्य, मौलिक मानवको पुनर्जन्म : प्रकृति र प्रविधिको साझा स्वामित्व नै हाम्रो अन्तिम गन्तव्य !’ यो नै भविष्यका वैश्विक मानवको एक अभियानको लक्ष्य हुने छ । यो अभियानले सर्वप्रथम वैचारिक स्वतन्त्रता (आयातित विचारको त्याग)को शुरुवात गर्ने छ । दोश्रो, कर्पोरेटहरूको प्रविधिमाथिको नियन्त्रण (सिलिकनको साङ्लो)बाट संसारलाई मुक्त बनाउने र प्रविधिलाई समुदायको माताहतमा ल्याउने काम गर्नेछ । मानवलाई नयाँ वैचारिक स्रोतमा पुनर्स्थापित गर्न प्राकृतिक पुनरागमन (शून्य र प्रकृतिमा फिर्ती)मा लैजाने अभियानलाई तीव्रता दिनेछ ।
सृष्टिको कण-कणमा एउटा अद्वित्तियता छ । एउटा पातको नसादेखि ब्रह्माण्डको तारासम्म कोही पनि कसैको ‘फोटोकपी’ होइनन्, तर चेतनाको शिखर भनिएको मानिस आज ‘वैचारिक कपी-पेस्ट’को सिकार बनेको छ । आफ्नै भनिएको मौलिकता हराएर मानिस अहिले आयातित विचार, थोपरिएका संस्कार र बजारमुखी उपरिसंरचनाको एउटा सानो पुर्जा मात्र बनेको छ । यो निबन्धले वर्तमान मानवीय संकट, वैचारिक दासत्व र यसबाट मुक्तिका सम्भावित बाटाहरूको खोजी गर्छ ।
जबसम्म ‘सिलिकन बेस’ प्रविधि (AI, डाटा, र डिजिटल पूर्वाधार) केही मुठ्ठीभर इलिट र कर्पोरेटहरूको नियन्त्रणमा रहन्छ, तबसम्म उनीहरूले ‘एल्गोरिदम’मार्फत मानिसको चिन्तनलाई नियन्त्रण गरिरहनेछन् । उनीहरूले मानिसलाई ‘डाटा माइनिङ’ गर्ने वस्तु मात्र बनाउँछन् ।
संरचना र दासताको दलदल
पुँजीवादी उपरिसंरचनाले मानिसलाई केवल एउटा ‘उपभोक्ता’ र ‘आर्थिक एकाइ’मा सीमित गरिदिएको छ (०.४.१७) । आधारभूत आवश्यकता परिपूर्तिको अनन्त दौडमा फसेको मानिससँग ‘म को हुँ ?’ भनेर चिन्तन गर्ने न समय छ न त शान्त स्थान (०.४.१) । हाम्रा नदी, वन र बाटिकाहरू भौतिक निर्माणको नाममा कोलाहलमय बनाइएका छन् । जहाँ मौनता हुँदैन, त्यहाँ मौलिक विचारको जन्म हुन सक्दैन । यो संरचनाले मानिसलाई ‘एडजस्ट’ (अनुकूलन) गर्न सिकाउँछ, जसले बिस्तारै उसको मौलिकताको सुद्धतालाई निल्दै जान्छ ।
प्रविधिको कब्जा र सिलिकन दासता
अहिलेको युगमा ‘सिलिकन बेस’ प्रविधि र एआई (AI) मानवीय चेतनालाई नियन्त्रण गर्ने नयाँ हतियार बनेका छन् (०.४.९, ०.४.१०) । सूचनाको बाढीले मानिसलाई यति धेरै भरिदिएको छ कि ऊ भित्रैबाट रित्तो (Empty) छ । इलिट वर्गको नियन्त्रणमा रहेको यो प्रविधिले मानिसलाई आफ्नै मौलिक निर्णय क्षमताबाट वञ्चित गर्दै ’एल्गोरिदम’ को दास बनाइरहेको छ । जबसम्म यो प्रविधि वैश्विक समुदायको साझा सम्पत्ति बन्दैन, तबसम्म वैचारिक स्वतन्त्रता एउटा भ्रम मात्र रहनेछ ।
मौलिकताको खोजी : त्याग र तपस्या
मौलिक हुनु भनेको अरूको छाया बन्नु होइन । यसका लागि ‘ब्याक टू नेचर’ र ‘ब्याक टू अन्तरात्मा’को यात्रा अनिवार्य छ । तर यो यात्रा सहज छैन; यसका लागि घनघोर त्याग, संकल्प शक्ति र वर्तमान प्रणालीको सुख-सुविधा त्याग्ने साहस चाहिन्छ । थोपरिएका धार्मिक, राजनैतिक र सामाजिक डोग्माहरूलाई ‘अन-लर्न’ (Un-Learn) नगरेसम्म मानिसको आफ्नै मौलिक सुगन्ध प्रकट हुन सक्दैन ।
निष्कर्ष र सम्भावना
वर्तमान सभ्यता एक यस्तो बिन्दुमा पुगेको छ जहाँ यसको ‘रिसेट’ (Reset) अनिवार्य देखिन्छ । प्रकृतिले विनास गर्दा फिल्टर नगर्ने हुनाले, एउटा सचेत वैश्विक नागरिक विद्रोह वा डिजिटल क्रान्तिमार्फत वर्तमान उपरिसंरचनाको उलटफेर गर्नु आवश्यक छ । जब प्रविधि र स्रोतहरूमा सबैको समान पहुँच हुनेछ र मानिस अस्तित्ववादी संघर्षबाट मुक्त हुनेछ, तब मात्र ‘मौलिक दार्शनिक मानव’ को उदय हुनेछ । यो असम्भव छैन, तर यसका लागि हामीले आफ्नो ‘सुरक्षित घेरा’ तोडेर प्राकृतिक लयमा फर्कने साहस गर्नुपर्छ ।
प्रतिक्रिया