कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया


  • रोशन पोखरेल, विराटनगर

कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम बिहीबार (१२ चैत) विराटनगरमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो ।

कार्यक्रममा यातायात क्षेत्रमा लागू भइरहेका बीमा नीतिहरू, विद्यमान समस्या, मोटर बीमाको अवस्था तथा अनिवार्य तेस्रो पक्ष मोटर बीमाको कार्यान्वयनबारे विस्तृत रूपमा छलफल गरिएको थियो । साथै बीमा दाबी प्रक्रियामा देखिएका जटिलता र तिनका समाधानका उपायबारे सरोकारवालाहरूबीच विचार आदान–प्रदान भएको थियो ।

छलफलका क्रममा नेपाल बीमा प्राधिकरण, प्रदेश सरकार, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय तथा बीमा कम्पनीहरूबीच समन्वय थप सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याइयो । सहभागीहरूले बीमा नगरी सवारी साधनको विलबुक नवीकरण नहुने व्यवस्था सकारात्मक भए पनि सबै कागजपत्र पूरा गर्दा पनि दाबी प्रक्रिया ढिलो हुने समस्या रहेको बताए । यसले बीमा प्रणालीप्रति विश्वास घटाउने गरेको उनीहरूको भनाइ थियो ।

कोशी बस व्यवसायी संघका नेत्रलाल थापाले केही बीमा कम्पनीले मात्र ‘नो क्लेम डिस्काउन्ट’ दिने र सवारी नामसारीपछि उक्त सुविधा नपाइने गुनासो गरे । साथै बीमा दाबी प्रक्रिया जटिल रहेको र अस्पतालमा उपचारका क्रममा सक्कल बिल हराएमा प्रमाणित कागजात पेश गर्दा पनि दाबी नपाइने समस्या रहेको उनले उल्लेख गरे ।

त्यसैगरी, नक्कली तथा कीर्ते बीमा अभ्यास रोक्न प्रभावकारी अनुगमन र छानबिन आवश्यक रहेकोमा जोड दिइयो । ट्यांकर व्यवसायी संघका अध्यक्षले पनि बीमा दाबी प्रक्रियामा देखिएका समस्याबारे जानकारी गराउँदै समाधानका लागि प्राधिकरणसँग सहयोगको आग्रह गरे ।

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका प्रमुख गोपाल दाहालले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आर्थिक क्षति न्यूनीकरणका लागि बीमा प्रक्रियामा सहभागी हुन सबै यातायात व्यवसायी र सेवाग्राहीलाई आग्रह गरे ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयकी प्रमुख प्रिती देवले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि कार्यालयले आवश्यक पहल गर्ने बताए । उनले समयमै बीमा नवीकरण गर्न र दाबी प्रक्रिया बुझेर सहभागी हुन सबैलाई आग्रह गरे ।