नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहबाट शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहबाट शपथ ग्रहण


राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज (१३ चैत) आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता साहलाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले आजै बिहान उहाँलाई नेपालको संविधानको धारा, ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरु उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक-सनातन परम्परा झल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति-शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ-मङ्गल पाठ गर्नुभएको थियो ।

रास्वपा वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।

नवनियुक्त प्रधानमन्त्री साहको जीवनी

नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र साह (बालेन) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएको थियो । उहाँले त्यस निर्वाचनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गर्नुभयो ।

नवनियुक्त प्रधानमन्त्री साह आयुर्वेदिक चिकित्सक डा. रामनारायण साह र ध्रुवादेवी साहका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म विसं २०४७ वैशाख १४ गते काठमाडौंको नरदेवीमा भएको हो । उहाँको पुर्ख्यौली घर महोत्तरीको एकडारा हो ।

‘ऱ्याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाउनुभएका साह ले भारतबाट एम टेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गर्नुभएको छ । विसं २०७९ को स्थानीय तह निर्वाचनमा साह काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन उहाँले गत माघ ४ गते महानगर प्रमुख पदबाट राजीनामा दिनुभएको थियो । साहले काठमाडौंको प्रमुख रहँदा पर्यटन र अर्थतन्त्र प्रवर्द्धनका लागि नेवा संरचनाको संरक्षणमा महत्वपूर्ण योगदान दिनुभयो । शहरी शासन र विकास कार्यक्रमको नेतृत्व, पूर्वाधार सुधार, सम्पदा संरक्षण र सेवा प्रवाहमा सुधारमासमेत उहाँको योगदान छ ।

महानगरपालिकाका अवैध संरचना हटाउन, फुटपाथ तथा शहरी व्यवस्थापन गर्न योगदान दिनुभयो । नेपालका विभिन्न क्षेत्रमा विशेषगरी भूकम्पपछिको पुनःनिर्माण र सहरी व्यवस्थापनमा उहाँले उल्लेखनीय योगदान गर्नुभएको छ । साहले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माणमा सक्रिय सहभागिता जनाउनुभएको थियो । पुल, सडक र भवन डिजाइन तथा निर्माणमा अनुभव आर्जन गर्नुभएका साहले सम्पदा संरक्षण तथा संरचनागत संरक्षण, पर्यटनमार्फत आर्थिक विकास र परम्परागत नेवा वास्तुकलामा विशेष जोड दिनुभएको छ ।

दुई दर्जनभन्दा बढी ऱ्याप कम्पोज गर्नुभएका साहका सिर्जना भ्रष्टाचारको विरोध तथा सुशासनको अपेक्षा, युवा तथा सामाजिक मुद्दामा बढी केन्द्रित छन् । उहाँका गीतमा बेरोजगारी, असमानता, राजनीतिक विकृतिका साथै राज्य प्रणालीमाथि प्रश्न गरिएको हुन्छ ।

संविधानसभाको दोस्रो निर्वाचनपछि नै साहले ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत सार्वजनिक गर्दै देशप्रतिको आफ्नो चिन्ता व्यक्त गर्नुभएको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा समर्थन जनाउनुभएका शाहमाथि आन्दोलनको कार्यादेश पूरा गर्नुपर्ने अभिभारा आइलागेको छ । नयाँ पुस्ताको बेचैनी र विद्रोहलाई सम्बोधन गर्दै परिवर्तनको चाहनालाई उहाँले पूरा गर्नुपर्नेछ ।

photo: rss