सनातन षठ दर्शन र हिन्दु राष्ट्र

सनातन षठ दर्शन र हिन्दु राष्ट्र


कुनैपनि सामाजिक वर-व्यवहारमा आइपर्ने झैझमेलाहरूको निरूपण गर्नुपर्दा वेदलाई स्वीकार गर्ने दर्शनहरूलाई आस्तिक दर्शन भनिन्छ । त्यस्तैमा वेद पनि महर्षि वेदव्यासले लेखेको न हो, त्यसलाई किन आधार मान्नु पर्‍यो र भनी वेदलाई स्वीकार नगर्ने दर्शनहरूलाई नास्तिक दर्शन भनिन्छ । नास्तिक दर्शन अन्तर्गत बौद्ध दर्शन, जैन दर्शन र चार्वाक दर्शन पर्दछन् । गौतम बुद्धद्वारा प्रतिपादित बौद्ध दर्शनमा दुःख, तृष्णा र निर्वाणका सिद्धान्तहरू अनि चार आर्य सत्य र अष्टाङ्गिक मार्गको बारेमा चर्चा हुन्छ । त्यस्तै महावीर जैनद्वारा प्रतिपादित जैनदर्शनमा आत्मसुद्धि, अहिंसा, तप, अपरिग्रहमा जोड दिएर कर्मको सूक्ष्म सिद्धान्तमा विश्वास गर्ने गरिन्छ । चार्वाकद्वारा प्रतिपादित चार्वाक दर्शनमा केवल प्रत्यक्ष अनुभवमा आधारित आत्मा, परमात्मा र पुनर्जन्ममा विश्वास नगर्ने भोगवादलाई प्रवर्धन गर्ने व्यहोराको चर्चा गरिएको पाइन्छ ।

आस्तिक दर्शन अन्तर्गत कपिलमुनिद्वारा प्रतिपादित साङ्ख्य दर्शन, पतञ्जलीद्वारा प्रतिपादित योग दर्शन, अक्षपाद गौतम अथवा गौतम मुनिबाट प्रतिपादित न्यायदर्शन, कणाद ऋषिबाट प्रतिपादित वैशेषिक दर्शन, जैमिनी ऋषिबाट प्रतिपादित मिमांश दर्शन जसलाई पूर्वीमिमांश पनि भनिन्छ र व्यास अथवा बादरायण भन्ने ऋषिद्वारा प्रतिपादित वेदान्त दर्शन गरी षठ (छ) दर्शन पर्दछन् । यसर्थ, ६ वटा दर्शनमा आधारित आस्तिक दर्शनबाट अनुप्राणित हिन्दु दर्शनलाई सनातन षठदर्शन पनि भनिन्छ । यो मानेमा हिन्दु दर्शनले पूर्वजन्म र पुनर्जन्मको विषयमा विश्वास गर्छ र सोही बमोजिम पाप र धर्मबाट आफूलाई तटस्थ राखी धार्मिक क्रियाकलापहरूमा अग्रसर गराई भावी जीवन अर्थात् पुनर्जन्मलाई राम्रो र सफलीभूत बनाउने कोसिस गर्दछ ।

एकपटक विवेकानन्दले प्रवचन दिँदै गर्दा एकजना श्रोताले “तपाईंलाई यो पूर्वजन्म र पर/पुनर्जन्मको विषयमा कस्तो लाग्छ ?” भनी प्रश्न गरेछन् । विवेकानन्दले प्रश्नकर्तालाई नै “तपाईंले आफ्नो जीवनमा कति उमेरको भएदेखि सम्झिनुहुन्छ ?” भन्नुभएछ । “मैले त्यस्तै चार-पाँच वर्षको उमेर भएदेखिको सम्झिन्छु” भनेपछि विवेकानन्दले “त्योभन्दा अगाडि तपाईंको जिन्दगी थियो कि थिएन ?” भनी पुन: प्रश्न गर्नुभएछ । प्रश्नकर्ता अन्यमनस्कभावमा “थियो” भन्न विवश भए । विवेकानन्दले “तपाईंलाई थाहा नभएको अवधिमा पनि त तपाईंको जिन्दगी रहेछ, हैन त ! सो व्यहोरा तपाईंलाई थाहा नभएको मात्र हो । यो मानेमा तपाईं थाहा पाउने बन्न सक्नुहोस् । तपाईंले पूर्वजन्म पनि अड्कल गर्न सक्नुहुनेछ र पर/पुनर्जन्म बारे जानकारी पाउन सक्नुहुनेछ । ऋषि महर्षीहरू – जसले त्रिकाल दर्शन गर्न सक्छन्, उनीहरूले स्पष्ट गर्न सक्छन् कि आफ्नो भावी जीवन उच्च योनीमा हुनेछ वा क्षुद्र योनिमा अथवा उच्च कुल घरानको सम्पन्नशाली जीवनमा जिउन पाइनेछ वा आफ्नो कर्म अनुसार क्षुद्रतम गरिब परिवारमा जन्म लिनुपर्नेछ ।” यो सुनेपछि प्रश्नकर्ता व्यक्तिले वास्तवमा पूर्वजन्म र पुनर्जन्मको विषयमा हामी मानवले आफ्नो खुबीको उच्च उपयोग गर्न नसक्दा, भौतिक सुख सुविधामा लिप्त हुँदा, आफ्नो जानकारीमा लिन नसकिएको मात्रै रहेछ तर वास्तवमा पूर्वजन्म र पुनर्जन्म रहेछ भन्ने अड्कल गर्नुभएछ ।

यो मानेमा पूर्वजन्ममा गरिएका कर्महरूको फल अथवा भनौँ अघिल्लो जुनीमा गरिएका कर्मका माध्यमले जे जस्तो बिउ रोपण गरियो, त्यसैको फल हो – यो वर्तमान जीवन । अनि यो जीवनमा गरिएका कर्महरूको फसलका रूपमा भावी जीवन प्राप्त गर्न सकिने सहज अड्कल गर्न सकिन्छ । यसर्थ सनातनी हिन्दु षठदर्शनमा स्वर्ग-नर्क, पाप-धर्म, पूर्व/पुनर्जन्मका बारेमा विश्वास गर्दछ । यो भन्दै गर्दा भौतिक दृष्टिकोणका आँखाले नियालेको बाहेकको प्रसङ्ग सत्य होइन भन्ने नास्तिक सोचमा पुनर्जन्मको विषय अपत्यारिलो लाग्ने नै भयो ।

सङ्घीय गणतान्त्रिक नेपाल नहुँदै साबिकमा नेपाल विश्वको एकमात्र हिन्दु राष्ट्र थियो । विभिन्न चरणका आन्दोलन अनि सङ्घर्षहरूको परिणाम वर्तमानमा नेपाल सङ्घीय गणतन्त्रात्मक धर्म निरपेक्ष राष्ट्र बनेको छ । हिन्दु राष्ट्र कायम रहँदासम्म मुलुकमा धार्मिक सहिष्णुताले उच्च प्राथमिकता पाएको थियो । बुद्ध जन्मेको देश, सगरमाथाको देश भने जस्तै विश्वमञ्चमा एकमात्र हिन्दु राष्ट्र पनि नेपालको परिचय थियो ।

पङ्क्तिकारले आफ्नै बाल्यकालको स्मरण गर्दा तिनताकाको गाउँघरमा चुरा बेच्ने काम मुलत: मुसलमानहरूले मात्र गर्दथे, जसलाई चुरेटा/चुरेट्नी भनिन्थ्यो । हाम्रो बस्तीमा पनि एउटा घर मुसलमानको थियो । विजयादशमीका दिन मसँगै पढ्ने साथी मोहम्मद हुसेनका बुवा रजक मिया मेरो बुवासँग पुगेर ‘हैन पुसाइँ ! हजुरका हातको टिका नलगाई त मन सन्तोषै हुँदैन । बरु मलाई सेता अक्षताहरू लगाइदिनुहोला’ भन्दै आफ्नो मुस्लिम धर्म अनुसार जकात, रमजान, इद मनाउने गरेका मुस्लिम रजक मियाले बुवासँग दसैँको टीका लगाएकोबाट त्यो बेला कतिसम्मको धार्मिक सहिष्णुता रहेछ भनेर सहज अनुमान गर्न सकिन्छ । त्यसो गर्दै गर्दा कुन धर्मका लागि के बन्देज थियो र ! रपनि कुन शक्तिको आड-भरोसामा हो वा आफ्नो अन्तरचाहना हो – गणतन्त्रको बहाल भएपछि मुलुक ‘हिन्दु राष्ट्र’बाट ‘धर्मनिरपेक्ष राष्ट्र’मा परिणत भएको छ । यस उप्रान्त हिन्दु सनातनको अनर्गल प्रचारप्रसार गरी इसाई धर्मतर्फ गाउँघरका सोझा-निमुखालाई आकर्षित गरी टोल-टोलमा इसाई सच्चाइ मण्डलीहरू स्थापना गरी स्थानीय चर्चको रूपमा विकास गरिएको देखिन्छ । यसो हुनुले धर्मभिरु नेपालीको मनमा म्लेच्छ धर्मको रूपमा परिभाषित इसाई भित्रिँदा आपसमा धार्मिक मनोबालिन्यता नबढ्ला भन्न सकिँदैन ।

हुनपनि एकपटक भारतका प्रधानमन्त्री अमेरिकाको भ्रमणमा गई फर्किने बेलामा अमेरिकाका प्राय: सहरहरू हुँदै फिर्ता हुनुभएछ । उनले हरेक सहरहरूमा आफ्नो सम्बोधन गर्नुभएछ । सम्बोधन सकिएपछि अग्र स्थानमा बसेका व्यक्तिहरूसँग परिचय गर्ने क्रममा अधिकांश भारतीय रहेको र प्राय:जसो सबै ‘म्यानेजरियल लेभल’मा रहेको पाउनु भएछ । तब ०.००३ प्रतिशत भन्दा कम भारतीय रहेको मुलुक – अमेरिकामा विकासको गति यस्तो तीव्र हुनु र सत प्रतिशत भारतीय रहेको भारतमा विकासको गति धिमा हुनु आफैँमा आश्चर्यको विषय महसुस भएछ । तसर्थ महामहिम प्रधानमन्त्रीले आफ्ना स्वकीय सचिवलाई अमेरिकाको भ्रमणमा पठाई अमेरिकी राष्ट्रपतिसँग सो व्यहोराबारे स्पष्ट हुन खटाउनुभएछ ।

स्वकीय सचिवले अमेरिकी राष्ट्रपतिलाई भेट्दा र व्यहोरा जनाउँदा राष्ट्रपतिले यो व्यहोरा तिम्रा प्रधानमन्त्रीलाई अवगतै छ रपनि तिमीलाई खटाएछन्, ठिकै छ । त्यसको लागि मद्वारा भनिएकै भनेर व्यहोरा सुनाइदिनु भन्दै ‘हामीले यतिखेर दक्षिण एसियाका विकासशील मुलुकहरूमा सकारात्मक विभेद, आरक्षण जस्ता सामाजिक सद्भावका तथाकथित औषधिका चक्कीहरू खुवाइदिएका परिणाम ८०-८५ प्रतिशत ल्याउने उच्च जात मानिएका बाहुन, क्षेत्रीका छोराछोरीले आफूले मन लागेको विषय पढ्नबाट वञ्चित हुन पुगेका छन् भने तथाकथित तल्लो जात भनिएका दलित, जनजातिहरूका छोराछोरीले ४०-५० प्रतिशत अङ्ककै आधारमा प्राविधिक विषयहरू पढेर डाक्टर वा इन्जिनियर बन्न पाएका छन् । त्यो बेलामा ८०-८५ प्रतिशत ल्याएका ब्राह्मण क्षेत्रीका छोराछोरीहरू अन्यमनस्क भावमा टोलाइरहँदा हामीले यहाँ एप्रेन्टीशिप, स्कलरशिप, फ्रिशिप लगायतका ललिपपहरू राखिदिन्छौँ । अनि त्यो समूहका शारीरिक रूपले सुसङ्गठित, मानसिक रूपले जेहन्दार र सामाजिक हिसाबले मिलनसार नौजवानहरूलाई भाषासमेतको परीक्षा लिएर यहाँ डाक्छौँ । यहाँ आएपछि उनीहरूलाई किस्ताबन्दीमा गाडी दिन्छौँ । केही समयपछि बिहा गरेर उनका श्रीमान/श्रीमतीलाई आश्रितको रूपमा प्रवेश हुने आज्ञा दिन्छौँ । उनका यतै छोराछोरीहरू जन्मिन्छन् अनि उनीहरूलाई घरको आवश्यकता हुन्छ । घरका लागि फेरि किस्ताबन्दीमा सुविधा उपलब्ध गराइदिन्छौँ । परिणाम उनीहरूले त्यो किस्ता तिर्दासम्म उनका छोराछोरीहरू नै स्नातक/स्नातकोत्तर पढ्ने तहमा पुग्छन् र उनीहरू त्यताको माया बिर्सेर यतैको मायामा रमाउन पुग्छन् । अब सोच त ! त्यो ४०-५० प्रतिशत को मस्तिष्क भन्दा यहाँ आएर रमाएको ८०-८५ प्रतिशत को मस्तिष्कले बढी सक्रिय, सिर्जनशील काम गर्ने भएन त ! अनि त्यसबाट मुलुकको आर्थिक विकासमा गति बढ्ने भएन त ! यो व्यहोरा तिम्रा प्रधानमन्त्रीलाई पनि जानकारी नै छ । रपनि मैले भनेको भनेर सुनाइदिनु । बरु अब हामी तिनै मुलुकहरूमा धार्मिक संवेदनशीलताका सुईहरू लगाइदिसकेका छौँ । यो मानेमा अब हरेक टोल-टोलमा धार्मिक मनोमालिन्यको शिलान्यास हुनेछ र तिम्रो त्यहाँको आदिधर्म हाम्रो इसाई धर्मद्वारा विस्थापित हुनेछ’ भनेर अमेरिकी राष्ट्रपतिले भारतीय प्रधानमन्त्रीका स्वकीय सचिवलाई भन्नुभएको भनी सो व्यहोरा सामाजिक सञ्जालमा आँखा दौडाउन पाइएको थियो । अहिले यो व्यहोरा साँच्चै रहेछ कि जस्तो हुँदै आएको छ ।

उच्चतहका नेतागणहरू मात्र नभएर तत्कालीन बहालवाला एवम् पूर्व प्रधानमन्त्री समेतले इसाई धर्मको प्रचारप्रसारको कार्यक्रममा सक्रिय सहभागिता जनाई ‘होली वाइन’ नामक पञ्चामृत सेवन गरेर आफूलाई ‘क्रिप्टो हिन्दु’ बनाएको ताजा उदाहरणहरू हाम्रै मुलुकमा छन् । यही व्यहोरा भारत, श्रीलङ्का, माल्दिप्स, बर्मा, भुटान जस्ता मुलुकहरूमा पनि लागू हुँदै गएको व्यहोरा वार्षिक रूपमा इसाई धर्मावलम्बीको सङ्ख्या बढ्दै गएकोले प्रमाणित भइरहेको छ ।

यो मानेमा उपर उल्लिखित मेरो पिताजीको र रजक मिया बीचको धार्मिक सहिष्णुतालाई अग्र प्राथमिकतामा राखी नेपाललाई विश्वको एकमात्र हिन्दु राष्ट्रको रूपमा पुनर्स्थापित गर्दा विश्व रङ्गमञ्चमा परिचय गराउने गौतमबुद्ध, सगरमाथामा थप अर्को व्यहोरा पनि मिसिने देखिन्छ । यसो गर्दा धार्मिक सहिष्णुतालाई अग्र र उच्च प्राथमिकतामा राखिनै पर्दछ ।

हुन त हामी पनि हिन्दु हौं भन्ने, हिन्दुका सबै कर्महरू गर्ने, संस्कारहरूको अवलम्बन गर्ने तर नेपाललाई हिन्दु राज्य बनाउने उद्देश्य राखेको राजनीतिक दललाई समर्थन गर्न नसक्ने हुँदा यो व्यहोरा वर्तमानमा पर्गेलिएको जस्तो देखिन्छ । होइन भने पाप र धर्म, पूर्व जन्म र परजन्म अथवा पुनर्जन्म आदिको विषयमा हाम्रै हिन्दु शास्त्रहरूले व्याख्या गरेका छन् । तर अहिलेको पुस्ता व्रतबन्ध गरेर जनै काँधमा राख्छ र भोलिपल्टबाटै मेडिटेसनको आदिरूप ‘जप’ गर्न छाडिदिन्छ । अष्ट चिरन्जीवीको पूजा गरेर जन्मोत्सव मनाउन छाडेर बोलिरहेका बत्ती निभाएर ‘happy birthday’ भन्दै जन्मदिन मनाउँछ । यस्ता धेरै उदाहरणहरू लिन सकिन्छ, जसबाट हामी शरीरमा हिन्दुत्व बगाइरहेका छौँ, षोडश संस्कारहरूको अवलम्बन गरिरहेका छौँ तर त्यसैका मर्मभेदी (हिन्दु राष्ट्र बनाउने जस्ता) कर्महरू गैर हिन्दुयीय हिसाबले गरेका छौँ । यो मानेमा हामीले नै पापको डरलाई वास्ता नगरिरहेको जस्तो देखिँदै आएको छ । वास्तवमा आत्मा र परमात्माको प्रत्यक्ष सम्पर्क हुने हुँदा आत्माले गरेको सबै व्यहोराहरू (कतिपय आफ्नै श्रीमान वा श्रीमती छोराछोरी इष्टमित्र साथीभाई कसैसँग पनि नभनिएका) परमात्मासँग सेयरिङ भएको हुन्छ र चित्रगुप्त नामको एउटा पात्रले मान्छेको मृत्यु हुँदा बित्तिकै उसले जीवनमा गरेका राम्रा र नराम्रा कर्महरूको फेहरिस्त देखाई स्वर्ग/नर्कमा पठाइदिन्छ ।

हुन पनि हाम्रो शरीरमा स्वचालित, अर्धचालित र परचालित प्रकृतिका अङ्गहरू छन् । मुटु, फोक्सो, कलेजो जस्ता आफैँ सञ्चालित अङ्गहरूप्रति भौतिक हिसाबले कसैले निगरानी गर्न सक्दैन । त्यस्तै अर्धचालित र परचालित अङ्गहरूलाई स्नायु प्रणालीले नियन्त्रण गरिरहेको हुन्छ । त्यसैकारणले गर्दा कसैले सनातनभन्दा पृथक काम गर्‍यो भने फलानाको दिमाग खुस्केछ कि क्या हो भन्ने गरिएको पाइन्छ । अब ती हाम्रा स्वचालित र स्नायु प्रणालीलाई कसले नियन्त्रण गरेको छ त ! अथवा परिचालन गरेको छ त ! भनेर सोध्दा त्यसलाई परिचालन गर्ने आत्मा हो अथवा हो । हरेक जीवको अन्तरात्मामा ‘म’ हुन्छ त्यसैले गर्दा हरेक व्यक्तिले मेरो, मैले भनेको भनेर दावा गरिरहेको हुन्छ । मेरो, मैले भन्नका लागि त ‘म’ चाहिने भयो । तर मलाई सम्पूर्ण शरीर चिरफार गरेर हेर्‍यो भने पनि पाउन सकिँदैन तर हेर्न नसकिए पनि, छुन नसकिए पनि, देख्न नसकिए पनि अनुभूत गर्न भने सकिन्छ । हो त्यही नै तत् शरीरको ‘आत्मा’ हो । गीतामा भनिएको छ

नैनं छिन्दन्ति शस्त्राणी, नैनं दहति पावक:

नचैनं क्लेदयन्त्यापो, नशोषयति मारुत: अर्थात् ‘न कुनै हातहतियारले काट्न सकिन्छ, न आगोले डढाउन सक्छ, न पानीले भिजाउन वा बगाउन सक्छ, न हावाले उडाउन अथवा सुकाउन सक्छ आत्मा भनेको त्यही हो । यो शरीर भनेको त्यही आत्माको कपडा जस्तै हो । गीतामा अर्को प्रसङ्गमा भनिएको छ

वासांसि जीर्णानि यथा विहाय,

नवानि गृह्णाति नरोऽपराणि

तथा शरीराणि विहाय जीर्णा,

न्यन्यानि संयाति नवानि देही ॥ जसरी शरीरमा लगाइएको कपडा जीर्ण भएपछि या फाटेपछि अर्को नयाँ कपडा फेरिन्छ, त्यसैगरी जब आत्मालाई ढाकेको शरीर जीर्ण अथवा थोत्रो हुन्छ तब आत्माले अर्को शरीर धारण गर्दछ । यो मानेमा आत्मा अजर, अमर छ; जुन देख्न, छुन, हेर्न नसकिए पनि अनुभूत गर्न सकिन्छ । त्यही भएर त्यसमा सबै प्रकारका बर-बेहोराहरू सङ्कलित छन्, जुन परमात्मासँग खुल्छन् र चित्रगुप्त नामको पात्रले त्यसको अभिलेखीकरण गरिरहेको हुन्छ । यसरी हाम्रो हिन्दु संस्कारमा पाप र धर्म, आत्मा र परमात्माको सम्बन्ध मिलाएर व्याख्या गरेको पाइन्छ । यो मानेमा हामी हिन्दु धर्मलाई अवलम्बन गर्नेहरूले वास्तवमा मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्ने राजनीतिक दलविशेषलाई समर्थन गरी विश्व रङ्गमञ्चमा एकमात्र हिन्दु राष्ट्रको परिचय पुनर्स्थापित गर्नु आफैँमा धार्मिक हिसाबले विवेकी देखिन्छ । यसर्थ हालमा करिब दुई तिहाई बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानलाई संशोधन गर्दै गर्दा आफ्नो संशोधनको अथवा परिमार्जनको प्रस्ताव बनाउँदा उल्लिखित विषयलाई पनि यथोचित स्थान दिँदा ‌ॐकार परिवारी अनुपम धार्मिक सहिष्णु नेपालीहरूको लागि मात्रै हितको विषय नभएर स्वयं नवोदय राजनैतिक दललाई पनि आगामी निर्वाचनहरूमा थप समर्थनको सम्भावना नकार्न सकिँदैन । यथासमयमा समुचित पहल हुने आशा गरौँ ।

…सके सपारौँ, नसके नबिगारौँ