प्रहरी हिरासतमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस नेता रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार (१५ चैत) पाँच दिन म्याद थपको अनुमति दिएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।
‘प्रस्तुत मुद्दामा प्रतिवादीहरुको बयान गर्न, बुझ्नुपर्ने मानिसहरुको घटना विवरण कागज गर्न तथा मिति २०८२/०५/२३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन अध्ययन विश्लेषण गर्नेलगायतको प्रयोजनका लागि प्रतिवादीहरुलाई प्रहरी हिरासतमा राख अनुमति माग गरेको देखिन्छ, आदेशमा भनिएको छ- ‘अनुमति माग गरेको व्यहोरा मनासिव देखिँदा प्रतिवादीहरु केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरी हिरासतमा राखी उपरोक्त लेखिएबमोजिमको कार्यहरु सम्पन्न गर्ने प्रयोजनका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (६) बमोजिम ५ (पाँच) दिनको म्याद थपको अनुमति प्रदान गरिदिएको छ ।’
आदेशमा एमाले अध्यक्ष ओली अस्वस्थ भइ उपचारार्थ अस्पतालमा रहेको भन्नेसमेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न भनिएको छ । सरकारी वकिलले अध्यक्ष ओली र नेता लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता लेखक गृहमन्त्री थिए । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर शनिबार बिहान पक्राउ गरिएको थियो । अध्यक्ष ओली बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत ‘भर्चुअल’ र नेता लेखक आफैं उपस्थित भएका थिए ।
प्रतिक्रिया