राजनीति अब वैचारिक रुझान, रुढता र जडताबाट बाहिर निस्केको छ । समाज खुकुलो र लचिलो हुँदै गएको छ । जीवनभरि एउटै दल र चुनाव चिह्नमा भोट हाल्ने विगतको हुइँयाको साटो परिस्थिति र आवश्यकताअनुरूप भोट फेर्नु कुनै अनैतिक र नराम्रो काम होइन भन्ने बुझाइ स्थापित भएको छ ।
✍ राजबाबु शंकर
एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ,
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक जुगमा एक दिन एकचोटि आउँछ !
क्रान्तिकारी कविवर गोपालप्रसाद रिमालकृत यी कालजयी पंक्तिले दशकौंसम्म नेपाली मानसपटलमा एउटा सुन्दर भविष्यको सपना आजपर्यन्त जीवित राखिरहेको छ । इतिहासको कालखण्डमा धेरै परिवर्तनहरू भए, व्यवस्था फेरिए, तर नागरिकको अवस्था र शासकीय प्रवृत्तिमा तात्विक फेरबदल आउन सकेको छैन । तर, फागुन २१ गते सम्पन्न आम निर्वाचन र त्यसको परिणामले अन्ततः नेपाली राजनीतिमा त्यो ‘एक दिन’को पुनरावृत्ति भएको सन्देश दिएको छ । यो केवल एउटा चुनावी नतिजा मात्र होइन, बरू साढे तीन दशकदेखिको कुशासन, अकर्मण्यता र सिण्डिकेटतन्त्र विरुद्ध नेपाली जनताले गरेको शान्तिपूर्ण विद्रोह सिद्ध भयो ।
यसपटकको चुनावले नेपालको परम्परागत राजनीतिको व्याकरण नै बदलिदिएको छ । काठमाडौंदेखि मधेशसम्म र पहाडदेखि तराईका फाँटसम्म एउटै लहर देखियो- त्यो थियो ‘परिवर्तन र नयाँपन’को भोक । राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चुनावचिह्नमा गोलबन्द भएका मतदाताले पुराना दलहरूको संगठन, शक्ति र स्रोतलाई चुनौति दिंदै ऐतिहासिक मत प्रदान गरे । यो मत केवल एउटा पार्टीको पक्षमा मात्र होइन, बरू वर्षौंदेखि देशलाई दोहन गरिरहेका ‘असुरगण’ जस्ता पात्रहरू विरुद्धको जनआक्रोश र नयाँ पुस्ताप्रतिको अगाध विश्वासको प्रतीक हो ।
यो पटक मतदाताको वैचारिक रुझान पनि भत्किएको छ । बालेन्द्र शाह सबै विचारधाराका मतदाताका लागि साझा व्यक्तित्व बनेका छन्, जबकि उनको राजनीतिक आस्था के हो भन्ने प्रष्ट छैन । समष्टिमा, मतदाताले ‘नयाँ’लाई नै विश्वास सुम्पिए । ‘घण्टी’को देशव्यापी लहरका बीच औपचारिक नभइकन झर्रो पारामा सरल तरिकाले आफ्नो स्पष्ट अडान, जिद्दी र ढिपीका कारण सधैं चर्चामा र विवादमा पनि आइरहने धराने पूर्वमेयर हर्क साम्पाङको ‘माटो’ चुनाव चिन्हलाई पनि पूर्वी नेपालका मतदाताले मन पराए ।
यसको अर्थ हो- राजनीति अब वैचारिक रुझान, रुढता र जडताबाट बाहिर निस्केको छ । समाज खुकुलो र लचिलो हुँदै गएको छ । जीवनभरि एउटै दल र चुनाव चिह्नमा भोट हाल्ने विगतको हुइँयाको साटो परिस्थिति र आवश्यकताअनुरूप भोट फेर्नु कुनै अनैतिक र नराम्रो काम होइन भन्ने बुझाइ स्थापित भएको छ ।
वैचारिक रुझानकै कारण अब भोट बैंक नबन्ने, दलका गढ वा किल्ला नजोगिने भएको छ । ‘वैचारिक मतदाता’ भोट बैंकको आडमा दल, नेता र उम्मेदवारको सदाबहार वर्चश्व अन्त्य भएको छ । चुनावका केही सुखद आयामहरूले लोकतन्त्रलाई थप परिपक्व बनाएको छ । यसपटक मतदाताले उम्मेदवारको जात, धर्म, नृजातीयता वा स्थानीयतालाई भन्दा पनि उसको भिजन र परिवर्तनको एजेण्डालाई प्राथमिकतामा राखे । दशकौंसम्म पार्टीको झण्डा बोकेकै भरमा वा नेताको चाकरी गरेकै भरमा टिकेका ‘दबंग’ र ‘खर्बपति’हरूलाई मतदाताले धुलो चटाइदिए । यसले के प्रमाणित गर्छ भने, अब राजनीति केवल पहुँचवाला र धनीहरूको पेवा रहेन । पेशा र व्यवसायमा दक्षता हासिल गरेका सुशिक्षित युवाहरूले पनि अब सिधै नीति निर्माणको तहमा हस्तक्षेप गर्न सक्छन् ।
शासनपछि अब प्रशासन सुधार्न र नागरिकलाई समृद्ध बनाउने मार्गमा डोऱ्याउन नयाँ सरकारको पाइला दह्रो बनोस् । विगतमा देश र शासन/प्रशासनमा रैंफाडो मच्चाउँदै आएका द्रोहीहरू अबका दिनहरूमा कानूनको कठघरामा पर्दै जाउन् भन्ने चिर जनअपेक्षालाई सम्बोधन गर्न नयाँ सरकार सफल रहोस् ।
पछिल्लो समय उदाएका बालेन्द्र शाह र हर्क साम्पाङ जस्ता पात्रहरूले राजनीतिको ‘वैचारिक रुढता’लाई भत्काइदिए । मानिसहरू अब कुनै दलको अन्धभक्त वा ‘भोट बैंक’ बन्न तयार भएनन् । यो नतिजाको सन्देश के पनि हो भने, जीवनभर एउटै चुनाव चिह्नमा भोट हाल्ने बाध्यकारी मानसिकताबाट समाज मुक्त हुँदैछ । जनताले प्रष्ट रूपमा भनिदिएका छन्- ‘काम नगर्नेलाई विस्थापित गर्नु अनैतिक होइन, बरू नागरिकको सार्वभौम अधिकार हो ।’ यो वैचारिक रूपान्तरणले दलहरूलाई अब सधैं देशलाई सर्वोच्च प्राथमिकतामा राख्न, जनमैत्री कर्म गर्न, बेइमानीबाट टाढिन र सेवाप्रवाहमुखी बन्न बाध्य पार्ने आशा जगाएको छ ।
नयाँ सरकार गठनसँगै जनअपेक्षाको चाङ लागेको छ । वर्षौंदेखि शासन/प्रशासनमा ब्रह्मलूट मच्चाउनेहरूलाई कानूनको कठघरामा उभ्याउनु यो सरकारको पहिलो र अनिवार्य शर्त हो । जनताले शासनसँगै प्रशासनमा अब ‘ओभरअल’ मर्मत-सम्भार खोजेका छन् । यो अकल्पनीय, तर चिर प्रतीक्षित परिवर्तन केवल सत्ताको हेरफेर मात्र नभई प्रणालीमा अन्तर्भुक्त हुनु पर्दछ । विधि र थितिको पूर्ण पालना, भ्रष्टाचारीप्रति कठोर र सुशासनको प्रत्याभूति नै नयाँ नेतृत्वका लागि अग्निपरीक्षा हुने छ ।
आज हामी जुन परिवर्तनको सँघारमा उभिएका छौं, यसको जगमा ती तमाम वीर-वीरांगनाहरूको त्याग सतिसाल बनेर खडा छ । ती सबै वरेण्य शहीदहरू, न्यायका संवाहक र परिवर्तनका लागि अडिग रहेका आम नेपालीजन नै यस परिवर्तनका असली हकदार हुन् । ऐतिहासिक परिवर्तनको यो स्निग्ध पटांगिनीमा उभिएर आज हामी पनि देशमा विधि र थितिको पूर्ण पालना हुनु पर्छ, सरकारी निरंकुशता सह्य छैन र हरहालमा सुशासन बहाली हुनै पर्छ – भनिरहेका छौं । यही मेसोमा नयाँ युवा नेतृत्वलाई सचेत पनि गराउन चाहन्छौं- यो विजय अवसर मात्र होइन, ठूलो जिम्मेवारी पनि हो । जनताको आशा पल्लवित भएको छ, यसलाई निराशामा बदल्ने छुट अब कसैलाई छैन ।
शासनपछि अब प्रशासन सुधार्न र नागरिकलाई समृद्ध बनाउने मार्गमा डोऱ्याउन नयाँ सरकारको पाइला दह्रो बनोस् । विगतमा देश र शासन/प्रशासनमा रैंफाडो मच्चाउँदै आएका द्रोहीहरू अबका दिनहरूमा कानूनको कठघरामा पर्दै जाउन् भन्ने चिर जनअपेक्षालाई सम्बोधन गर्न नयाँ सरकार सफल रहोस् । युवा पुस्ताको नयाँ सरकारलाई अब विधि र थिति अनुकूल देश र नागरिकलाई सुशासनोन्मुख गराउने आत्मबल प्राप्त हुँदै जाओस् ।
ऐतिहासिक परिवर्तनपछि भविष्यप्रति आशावादी यही घडीमा शहादतप्राप्त आजसम्मका तमाम वीर-वीरांगनाहरूप्रति हामी सश्रद्धा सम्मान अर्पण गर्दछौं – जसले ‘एक जुगमा एकपल्ट आउने एक दिन’सँग भलिभाँती साक्षात्कार गराउन प्राणको आहूति दिएका छन् ।
र, यी सब सुकर्मले मात्र कुशासनीहरूलाई कानूनी कोर्रा लाउने दिन आउँछ,
भ्रष्ट, अपराधी, पातकी र जनपीडकलाई जेल कोच्ने दिन आउँछ,
अर्थात्, एक जुगमा एक दिन एकचोटि आउँछ !
यिनै अपेक्षा र कामनाका साथ-
नमन… तमाम श्रद्धेय शहीदहरूप्रति,
आभार… संगीन परिस्थितिमा देशको बागडोर सम्हाल्दै कुशल एवम् सुरक्षित अवतरण गराउने नेतृत्व- लौह-नारीप्रति,
कृतज्ञता… परिवर्तनका लडाकु – नेपालीजनप्रति,
बधाई… आशा-अपेक्षा-भरोसाका पुञ्ज बनेका वर्तमान युवा नेतृत्वप्रति ।
प्रतिक्रिया