बलियो खुट्टा टेक्न आग्रहका साथ नयाँ सरकारलाई निश्शेष बधाई

बलियो खुट्टा टेक्न आग्रहका साथ नयाँ सरकारलाई निश्शेष बधाई


वि.स.२०४६ चैत २७ गते प्रारम्भ भएर आजसम्मको ३५ वर्षे अभ्यासमा रहेको लोकतन्त्रलाई कस-कसको प्रभुत्वकालमा कसरी-कसरी बराल्दै ल्याइयो ? – यसको पुनरावृत्ति अब शायद अलिकति पनि आवश्यक छैन । स्थापित लोकतन्त्रको सैद्धान्तिक जीवनमाथि यो कालखण्डसँग कुन-कुन नेतृत्वले कस्ता-कस्ता ठट्टा र बखेडा गरे वा के-कस्ता गुल्च्याइँ र लंगट्याइँ गरेर आजित तुल्याए अनि स्वेच्छाचारी थिचोमिचो गरे भन्ने कैरन लाउन पनि अब जरुरतै छैन । लोकतन्त्रको सबभन्दा क्रूर ढंगले तेजोबध गरी सबभन्दा बढी सिद्धान्त-विलोम चलेको ओलीकालका झर्कोलाग्दा चपेटहरू नेपाली लोकका मन-मस्तिष्कमा आलै छँदैछन् र अब बल्ल त्यो दम्भी र अहंकारी तानाशाही एकाधिपत्यबाट देशको परिभाषाका सम्पूर्ण अवयवले अभिप्सित मुक्ति पाएको सुखद अनुभूति गरिरहेका छन् । यही सार-संक्षेप निष्कर्ष हो ।

यद्यपि, राज्य-व्यवस्थाका अंग-प्रत्यङ्गमा घुसारिएका ‘विगत शासक-मण्डल’-का विषाक्त छावा-औंस्याहरूको जबसम्म अवरोपण हुँदैन, तबसम्म त्यो अवाञ्छित ‘विगत’ स्वयम् वीरमशानको जागित्र बनिरहने लोकको धारणा बुझिन्छ । त्यसो हुँदा अब केवल ११/१२ सय ‘राजनीतिक नियुक्तिप्राप्त’-लाई मात्र धपाएर सुधारको कर्मकाण्ड सकिने होइन, ओली-देउवा-प्रचण्डादिका अराइ-खटाइमा चल्ने शुण्ड-मुण्ड कति झाङ्गिएका होलान् ! त्यसो त, जुनसुकै वा जस्तोसुकै शासन-व्यवस्था चलेका मुलुकमा पनि शासनको उपल्लो स्थानमा ढकमकाउन पुग्नेहरूद्वारा निर्मित-निर्धारित नीतिका प्रयोक्ता ‘कर्मचारी’ नै हुने एक किसिमको परम्परा नै भइसकेको छ । र, त्यसकारण धरातलीय नागरिक समाजले अक्सर आफ्नो ‘प्रत्यक्ष सरोकारको सरकार’ कर्मचारीतन्त्रलाई नै मान्ने मनोविज्ञान पनि अन्यथा होइन । यो सिधै कानूनी बाध्यता नै पनि हो । सरकारका नीति-विधिमै ‘कर्मचारी’-लाई देशको ‘स्थायी सरकार’ त मानिने गरिएकै छ । अर्थात्, लोकतान्त्रिक व्यवस्थाको विधि बमोजिम सरकारमा पुगेको पक्षले कर्मचारीबाटै आफ्नो पक्षपोषण गराउने चलन पनि संसारमा जताततै जीवन्त छ ।

यस पृष्ठभूमिमाथि हाम्रो देशको विगत उदरम्भरी शासकीय चलखेललाई राखेर भन्ने हो भने – बितेका ३५ वर्षसम्म शासकीय शिविरमा पुग्ने पक्ष (पार्टी)-हरूले हरेक प्रशासनिक लगायत प्रायशः हरेक अन्य अड्डा-अंगहरूमा आफ्ना आफन्ती भरेका छन् । सत्ताकै आडमा तिनै कीर्ते-काइतेबाट उत्सर्जित भ्रष्टाचार, कमिशनखोरी, घुसखोरी, माफिया-तस्करहरूसँग ‘दोस्ती’ आदि देशघाती-जनघाती साविक बमोजिमका दुष्कर्महरू पनि रोकिएको पक्कै नहोला । हालैको आम चुनावमा घोर पराजय भोगेर शासनको निर्बाध रजगज खोसिएका पूर्वशासक पार्टीकाहरूले त झन् आजको परिवर्तित सन्दर्भसँग शत्रुता-स्वरूपको इख राखिराखेकै हुनन् । त्यसैले तिनले वर्तमान परिवर्तनको जिम्मेवारीवाहक नयाँ सरकारका लागि तिनै कीर्ते-काइते-द्रव्यलम्पट कर्मचारीलाई हतियार बनाएर अडचनहरू सिर्जना गर्न सक्छन् । नवगठित सरकारलाई गाह्रो-अप्ठ्यारो बनाउने दुष्कर्म नार्न ‘पुराना’–झेलीहरू उद्यत हुनसक्ने सम्भावना कमजोर छँदैछैन ! हरेक सरोकारी नागरिक तप्कालाई असजिलोमा पारेर असन्तोषको उत्ताल उराल्न कर्मचारीको प्रयोग प्रभावी र अदम्य समेत हुन सक्छ ! यस दिशामा वर्तमान सरकारले प्रारम्भदेखि नै चनाखो हुन जरुरी भएको विश्लेषणहरू भइरहेका छन् ।

भ्रष्टाचारजन्य कुशासनले विदीर्ण नेपाली नागरिक समाजले ‘अति’ हुँदै गएको अवस्थामा यसपटक नयाँ पुस्ताले शुरु गरेको विद्रोहलाई पुठ मात्र दिएनन्, काँधै हालेका हुन् । ‘अति भएपछि जनता धागो छिनेको चङ्गा हुन सक्छन् – वर्षायामको गंगा हुन सक्छन्, तिनलाई कज्याएर नियन्त्रणमा बल्झाउन सकिंदैन’ – भन्ने महाकवि देवकोटाको सूक्तिलाई यसपल्ट नेपाली जनमतले शिरोधार्य गरेको छ । प्रजातन्त्रोत्तर गुज्रिंदै आएको नेतामुखी पार्टीहरूका पार्टीमुखी शासनका विरुद्ध यसपल्ट जनमतले अकल्पनीय राजनीतिक प्रलय नै मञ्चित गराएको छ । र, प्रतिभावान, आशलाग्दा एवम् ऊर्जाशाली नवोदितहरू संश्लिष्ट नयाँ पुस्तामय सरकार निर्माण भएको छ । यो सरकारले उपर्युक्त यथार्थको सम्मान गर्न सक्नु पर्दछ भन्ने सदाशययुक्त सुझावहरू जताततै सुनिनुले वस्तुतः ‘परिवर्तन’-ले अविच्छिन्न संगति पाउनु पर्दछ, जो अन्याय भोग्दै आएका देशका प्रति सर्वथा अपेक्षित न्याय मानिने छ ।

‘विगत’-ले थापेका अनगिन्ती धरापहरू गौंडा-गल्छेंडामा छन् । प्रथमतः ती दुरुत्साहनका चरणबद्ध धरापहरूसँग यो सरकारले होशियारी बर्तिनु पर्ने छ । कर्मचारीतन्त्रमा पोसिएको वा निहित रहेको र जहिलेसुकै नकारात्मक वातावरण बनाउन सक्ने व्यावहारिक र मनोवैज्ञानिक धराप र अहिलेको संघीय अभ्यासका जनसरोकारी कतिपय प्रयोक्तासँग पनि होशियार हुनै पर्ने देखिन्छ । यसलाई सरलीकरण गरेर भन्नुपर्दा – नागरिकसँग ‘प्रत्यक्ष सरोकारी सरकार’ बनेका स्थानीय कतिपय पालिकाका कतिपय ठालूहरू मधेशतिर ‘छोटे राजा’ र अन्यत्र कतिपयले राणाकालीक ‘जिम्मावाल-पटवारी’का रूपमा उफ्रीपाफ्री गर्ने चेष्टा गर्न थाल्ने छन् । वस्तुतः हिजोअस्तिका सत्ताभोज डकारिरहेका मैमत्त-दम्भी र विभिन्न साइनबोर्ड राखेर पार्टीको ‘पसल’ थापिरहेका बनियाँहरू अब पसल चल्न छोडेपछि स्वभावतः बिच्किने नै छन् । हाल प्रतिशोधभावमा तिल्मिलाइरहेका, आफूलाई देशको ‘जिम्दार’ भन्ठान्ने मनोरोगी ‘पूर्ववर्तीहरू’ जन-भावना बिथोल्ने भूमिकामा उतारू हुन सक्छन् । यसतर्फ पनि यो परिवर्तनको भारवाहक नयाँ सरकार सचेत र सजग हुन उत्तिकै आवश्यक छ ।

चरम अहंकारले देशका हरेक तह-तप्कालाई तर्छाउने र अनेकन् प्रपञ्च मिलाएर सरकारी ढिकुटी कोतर्दै पाल्दै-पोस्तै आएका आफ्ना कमैया-हन्जाका बलमा जङ्गे शासन लाद्ने गर्दै आएका केपी ओली अहिले पनि दुर्याेधनीय घमण्डको प्रहसन फर्माइरहेका छन् । त्यस्ता लोफर धाकसँग बज्रवत् लोकमतका साथ उपस्थित वर्तमान समयले अब अलिकति पनि धकाउनु पर्ने आवश्यकता छैन । त्यो समयलाई लोकमतले, फेरि चल्मलाउन नसक्नेगरी ठाडै उनीहरूकै ‘ढाडमा टेकेर टाउको हान्ने’ फर्मूला प्रयोग गरिसकेको छ । लोक पनि ती पुराना साइँदुवाहरूको शेखी झरेकोमा मनग्गे सन्तोक मानिरहेका छन् । अतः, नेपाल भूमिलाई नर्कटाहरूको क्रूर कब्जाबाट मुक्त गराइ आजको अपेक्षित बिहानी प्रक्षेपण गर्ने क्रममा शहीद भएका नेपाल-आमाका सबै सपुतहरूमा श्रद्धाका साथ देशका खातिर शहादतप्राप्त ती तमाम वरेण्यहरूको सपना ब्यूँताउन निर्मित सरकारमा बलियो खुट्टा टेक्ने मानसाग्रहका साथ निश्शेष बधाई ।