ए, झिल्के माइला ! चुरीफुरी त निकै छ नि त…

ए, झिल्के माइला ! चुरीफुरी त निकै छ नि त…


श्री गणेशाय नमः । श्री सरस्वतै नमो नमः । वैदिक साहित्यको अवहेलना, पाश्चात्य साहित्यको सह्राहना । नजिकको तीर्थ हेला भएको हो कि ! वैदिक साहित्य मातृशक्ति; यसको महिमा अपरम्पार । भगवद्गीताको सोह्रौं अध्याय आत्मसात् गरेमा जीवन अनुशासित र जीवनमय हुने यथार्थमा सन्देह गर्नु परोइन । स्वयम् भगवान् श्रीकृष्णले अर्जुनलाई दिनुभएको दिव्यज्ञान अद्यावधि समस्त मानव जगतको लागि सान्दर्भिक र अनुकरणीय छ । भगवान्को अस्तित्व यत्र तत्र सर्वत्र । आफू भलो त जगतै भलो । सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: । वसुधैव कुटुम्बकम् त हाम्रो जीवन दर्शन नै हो नि, किन गोडा कमाउनुपऱ्या छ र ? 

परनिन्दा त किन गर्नुपऱ्या छ र ? गोराको पत्रु रचना नि महत्तम ठहर्ने; हाम्रा साहित्यशिल्पीहरूको उम्दा सिर्जना चैं लघुत्तम ठहर्ने हो र ? जीवन सार्थक तुल्याउन त वैदिकता नै अपरिहार्य । 

साहित्य समाजको दर्पण । परिष्कृत साहित्य समाजलाई दिशानिर्देश गर्दो । आख्यानिका/गैरआख्यानिकामा वर्गीकृत गरे नि यसको मूल धर्म भन्या सामाजिक/देशीय/मानसिक उत्थान हो ।

पोस्तक पाठकगणको कमी हुँदाको डिजिटल युगमा साहित्योत्थान हेतु पत्रपत्रिका छपाउनु भन्या कम्ता दुस्साहसपूर्ण होइन नि । मधुपर्क जेतेमेते चल्दो छ; कतिपय त अर्थाभावले मृतप्राय छन् । कुनै कर्मको थालनी ठुलो कुरो होइन, नैरन्तर्य ठुलो ।

नश्वर इहलोक । स्थायीत्व के को छ र ? बैसाखपछि बैसाख । चालीसको दशकमा जो कोही नि पढन्ता थिए नै । म्युचल पुस्तक भण्डार, पुतलीसडकमा दोस्तोभ्स्कीको ‘अपराध र दण्ड’, टाल्स्टायको ‘अन्ना कारेनिना’,  गोर्कीको ‘आमा’, लेर्मोन्तोभको’ हाम्रो जमानाको चरित्रनायक’, पुश्किनको ‘बेल्किनको कहानी’ र चेखभको ‘पैयुँबारी’ किनेको अहिले झैं लाग्छ । डिजिटल संसार विस्थापित भएर फेरि किताब पढ्ने दिन नआउला भन्न सकिन्न । यो उपक्रम त कुम्हालेको चक्का झैं घुम्दो छ ।

साहित्य साधकहरू जीवित छउन्जेल अपमान , मरेसि सम्मान गर्ने कुपरम्परा रोकिनुपर्छ । गोहीको आँसु चुहाएर केही हुन्न । बाँच्दैमा सम्मान गर्नु राम्रो । पुरस्कारमा नि नातावाद/कृपावादको ग्रहण लागेर माऱ्यो बा । दूषित पुरस्कार मूल्याङ्कनमा अक्षम ।

विचार सरल रेखामा हिँड्दैन; यसलाई नियन्त्रण गर्नुहुन्न है । यो त छिरल्लिन्छ । विचारका हत्याराहरू अतीत भइसके । विचार त मौलाउनुपर्छ परन्तु बिखालु विचार चैं निषेध छ है !

सांसद/न्यायाधीश निष्पक्ष, निर्भिक र निर्दोष हुनु अत्यावश्यक । समभावी कानुन बनेमा/पालना भएमा (सांसदले कानुन बनाउने, मन्त्रिपरिषद्ले कानुन लागु गर्ने, न्यायाधीशले कानुन लागु गराउने) कानुनी राज्य बन्न सक्छ; दुराग्रही हुँदा अन्यथा हुन सक्छ । कानुनको परिपालना हरेक नागरिकको कर्तव्य । गरीबलाई ऐन धनीलाई चैन नहोस् । भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । भ्रष्टाचारीसितै सति जाने चैं हैन है । मुलुकमा सुशासन भए त राम्रै भो । षड्यन्त्रकारीको पतन निश्चित हुने हो । इतिहासले दर्शाएकै छ नि । 

नेपालमा सर्काउने (देवत्वकरण) खेती फस्टाउँदो । राजालाई सर्काए; राजसंस्था सकियो । काङ्ग्रेस/कमिस्टलाई सर्काए; काङ्ग्रेस/कमिस्ट टुस्सिए । घण्टी पार्टीलाई सर्काउँदो , त्यस्तै हविगत पो हुने हो कि । सर्काउँदैमा सर्किनु हुन्न । सर्काउनेवालाहरू त अदृश्य शक्ति हुन् । यिनीहरूले  अर्कोलाई भड्खालोमा जाकेर आफू चैं जहाज फेर्छन् – डुकुरे मुसाहरू । सचेत भया ।

इस्ट इन्डिया कम्पनीको शासनकालताकाको कुरो हो । त्यतिबेला रासबिहारी बोसले जापानमा निर्वासित जीवन बिताउँदै थिए । उनीले त्यहाँ छउन्जेल दक्षिण-पश्चिमतर्फ मुख फर्काएर सुतेको देखेसि एक दिन उनको जापानी साथीले सोध्यो, ‘जापानमा दक्षिण-पश्चिमतर्फ मुख फर्काएर सुत्नलाई निको मानिन्न भन्ने कुरो तपाईंलाई थाहा नभएको हो वा बुझ पचाएर सुत्नुभएको हो ?’

उनीले प्रत्युत्तरमा भने- ‘मित्र, यो कुरो मलाई थाहा हुँदाहुँदै नि दक्षिण-पश्चिमतर्फ मुख फर्काएर सुत्छु । तिम्रो देशको दक्षिण-पश्चिम दिशामा मेरो मातृभूमि भारत छ । यो दिशामा मुख फर्काएर सुत्दा मलाई आफ्नी आमाको काखमा सुते झैं लाग्छ । विपनीमा नपाए नि सपनीमा आफ्नो प्यारो मातृभूमिलाई पाउँछु ।’

यो जवाफ सुनेसि जापानी साथीहरूले उनको (मातृभूमिप्रतिको अगाध माया देखेर) प्रशंसा नगरिकन रहन सकेनन् ।

सत्य कुरो बक्नैपरो । असत्यप्रेमी भए त सबैले  रुचाउने । आफू परियो सत्यप्रेमी; मान्छे नखुनासिने कुरै भएन नि । जे होस् ढिलोचाँडो सत्याभास होस्, पछुताउनु नपरोस् । व्यक्ति विशेष हैन, समग्रतामा सत्य कुरो ओकल्नैपरो । अनि मान्छे टेढिने, क्या फसाद ?! बाउसे सकियो । आजलाई मैजारो । अस्तु !