छिमेकीको ‘इन्ट्रेष्ट’ बुझ्न नखोजे नेपाल ‘प्यालेस्टाइन’ बन्ने चेतावनी !

छिमेकीको ‘इन्ट्रेष्ट’ बुझ्न नखोजे नेपाल ‘प्यालेस्टाइन’ बन्ने चेतावनी !


पछिल्लो एक दशकदेखि अमेरिका, जापान, अष्ट्रेलिया र भारतले चीनको उदयलाई घेर्न ‘इन्डो-प्यासिफिक रणनीति’ (IPS) लाई साझा सुरक्षा कवचका रूपमा आत्मसात् गरेका थिए । सामुद्रिक गठबन्धन बनाएर अन्तर्राष्ट्रिय प्रणालीलाई स्थायित्व दिने भनिएको यो रणनीति अहिले इतिहासकै सबैभन्दा जटिल र संकटपूर्ण मोडमा उभिएको छ ।

इजरायल–इरान युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नता र त्यहाँ ब्यहोर्नुपरेको रणनीतिक क्षतिले यो सामुद्रिक अवधारणाको सान्दर्भिकतामाथि नै गम्भीर प्रश्न उठाइदिएको छ । चिनियाँ प्रोफेसर जियाङ सुयकिन र रुसी दार्शनिक अलेक्ज्याण्डर दुगिनले संकेत गरेझैँ, अमेरिकाले आफ्नो महँगो सैन्य प्रविधि र आर्थिक शक्ति पश्चिम एसियाको ‘असमित युद्ध’ (Asymmetric War) मा खर्च गरिरहँदा इन्डो–प्यासिफिक क्षेत्रमा उसको पकड ढिलो गरी ‘समुद्रमै डुब्ने’ अवस्थामा पुगेको देखिन्छ।

यसै सन्दर्भमा येल विश्वविद्यालयका स्नातक तथा चिनियाँ दार्शनिक प्रोफेसर जियाङ सुयकिनको ‘भविष्यवाणी’ हाल विश्वभर भाइरल भइरहेको छ । जियाङका अनुसार अमेरिकी साम्राज्यको पतनको मुख्य कारण उसको ‘रणनीतिक अहंकार’ र आधुनिकतावादको भ्रम हो । अयातोल्लाह खामेनीको हत्या जस्तो संवेदनशील कदमलाई उनले इजरायल र अमेरिकाको ‘ऐतिहासिक गल्ती’ भनेका छन्, जसले पूरै शिया विश्वलाई एउटै प्रतिरोधात्मक केन्द्रमा ल्याइदिएको छ । जियाङ र दुगिन दुवैको ठम्याइ छ कि अबको विश्व व्यवस्था ‘पश्चिमी आधुनिकतावाद’बाट मुक्त भइ ‘प्राचीन सभ्यता र विवेक’मा आधारित ‘ग्लोबल साउथ’ (तेस्रो विश्व)को वर्चस्वतिर उन्मुख छ ।

अमेरिकाले भियतनाम वा अफगानिस्तानमा जस्तै इरानको मोर्चामा पनि ‘इज्जत जोगाएर निस्कने’ बाटो खोज्नुपर्ने स्थिति आउनुले इन्डो-प्यासिफिक रणनीतिका साझेदार राष्ट्रहरू (जापान र अष्ट्रेलिया)मा समेत अमेरिकी सुरक्षा ग्यारेन्टीप्रति गम्भीर सन्देह पैदा गरिदिएको छ । अझ रोचक कुरा त, अहिले अमेरिका आफ्नै पुराना मित्रहरूबाट एक्लिँदै गएको छ । नाटो (NATO)भित्र आएको दरार, स्पेनले अमेरिकी युद्धक विमानका लागि आफ्नो आकाश र सैन्य आधार इलाका बन्द गरिदिनु, र फ्रान्स-जर्मनीले अमेरिकाको युद्धमा भाग लिन अस्वीकार गर्नुले ‘युरोप’ एउटा छुट्टै र स्वतन्त्र ध्रुवका रूपमा उदय भइरहेको स्पष्ट पार्छ ।

पश्चिमा सैन्य र गुप्तचर नेतृत्वले नै अहिले अमेरिकी वर्चस्वमा गम्भीर संकट मडारिएको स्वीकार गरिरहेका छन् । सामुद्रिक शक्तिको भरमा संसार हल्लाउने पुरानो शैली अब असान्दर्भिक हुँदैछ, किनकि जमिनमा आधारित ‘स्ट्राटेजिक डेप्थ’ र सस्तो तर प्रभावकारी ड्रोन प्रविधिले महँगा विमानवाहक जहाजहरूलाई चुनौती दिइरहेका छन् ।

यस बदलिँदो र असुरक्षित वैश्विक परिवेशमा नेपाल जस्ता साना राष्ट्रहरूका लागि गम्भीर चेतावनी खडा भएको छ । अमेरिकी सैन्य साझेदारी कार्यक्रम (SPP) वा त्यस्तै प्रकारका सामरिक फ्रेमवर्कमा फस्नु नेपालका लागि ‘प्यालेस्टाइन बन्ने’ जत्तिकै आत्मघाती कदम हुन सक्छ । चीन र भारत जस्ता परमाणु शक्तिसम्पन्न छिमेकीहरूको सुरक्षा संवेदनशीलतालाई चिढ्याएर कुनै एक ध्रुवको सैन्य गोटी बन्नुले नेपालको सार्वभौमसत्तालाई नै जोखिममा पार्छ । त्यसैले, नेपालले अब ‘निष्क्रिय तटस्थता’ मात्र होइन, ‘सक्रिय र गतिशील असंलग्नता’को नीति अवलम्बन गर्नुपर्छ । जियाङले भनेझैँ, नयाँ विश्व व्यवस्थामा अब सैन्य शक्तिभन्दा ‘सभ्यतागत पहिचान’ र ‘आर्थिक सेतु’ (Strategic Bridge) को भूमिका बढी प्रभावशाली हुनेछ । नेपालले आफ्नो आध्यात्मिक जग र भौगोलिक अवस्थितिलाई कूटनीतिक ‘सफ्ट पावर’का रूपमा प्रयोग गर्दै दुई उदयमान छिमेकीहरूको बीचमा सन्तुलित रहनु नै वर्तमान संकटको एकमात्र निकास हो ।