बुद्धिजीवी जब सत्ता वा शक्तिबाट ‘परिचालित’ भएर झूटको खेती गर्छ, तब उसको बौद्धिकताले आफ्नो मौलिक सौन्दर्य गुमाउँछ । तर, जब एउटा ज्ञानी व्यक्ति प्रतिकूलताका बीच पनि सत्यको पक्षमा अविचल उभिन्छ, त्यहाँ एउटा ‘नैतिक सौन्दर्य’ (Ethical Beauty) झल्किन्छ, जसले युगौँसम्म मानिसलाई प्रभावित पारिरहन्छ ।
✍ डिल्ली अम्माई
बुद्धिजीवी र ज्ञानीबीचको भिन्नतालाई एउटै कसीमा राखेर हेर्दा, बुद्धिजीवी त्यो व्यक्ति हो जसले आफ्नो मस्तिष्क, तर्क र सूचनाको प्रयोग गरेर समाजका जटिल समस्याहरूको विश्लेषण गर्छ र तार्किक समाधान खोज्छ; उनीहरूमा नेतृत्व गर्ने र नीति निर्माण गर्ने क्षमता प्रबल हुन्छ । अर्कोतर्फ, ज्ञानी त्यो हो जसले ज्ञानलाई केवल सूचनाका रूपमा मात्र राख्दैन, बरु त्यसलाई आफ्नो ‘विवेक’ र ‘चरित्र’मा उतारेको हुन्छ । कवि शिरोमणि लेखनाथ पौड्यालले भनेझैँ, जसरी फल लागेको हाँगो स्वभावैले तलतिर झुक्छ, त्यसरी नै वास्तविक ज्ञानी व्यक्तिमा जति धेरै बोध र दिव्य चेतना भरिँदै जान्छ, उनीहरू त्यति नै विनम्र, करुणावान् र समभावी बन्दै जान्छन् । त्यसैले, तर्क र विश्लेषणमा निपुण हुनु बुद्धिमानी हो भने, त्यो ज्ञानलाई अहंकाररहित बनाएर लोककल्याण र विनम्रतामा बदल्नु नै ज्ञान हो ।
विवेक त्यो शक्ति हो जसले ‘नीर-क्षीर’ (दूध र पानी) छुट्याउँछ । दानवी प्रवृत्ति वा अन्यायलाई चिन्नु र त्यसप्रति ‘घृणा’ वा ‘विरोध’ को भाव राख्नु विवेकको काम हो। विवेकले नै मानिसलाई कुन सही र कुन गलत हो भन्ने कुराको बोध गराउँछ ।
अर्को शब्दमा,ज्ञान त्यो अवस्था हो जहाँ व्यक्तिले आफूलाई मात्र होइन, सम्पूर्ण चराचर जगत् र सृष्टि (Cosmic Consciousness) लाई समेट्छ । जसले आफ्नो समयको अधिकतम हिस्सा विश्व र प्रकृतिको चिन्तनमा लगाउँछ, ऊ नै परम् ज्ञानी हो।
तसर्थ, जो मानिस निर्धाप्रति करुणा र शोषकप्रति प्रतिरोध (घृणा) को भाव राख्छ, उसले आफ्नो ज्ञानलाई ‘विवेक’मार्फत व्यवहारमा उतारेको हुन्छ । केवल तटस्थ बसेर संसार हेर्नु ज्ञान मात्र हुन सक्छ, तर अन्यायको विरुद्धमा उभिनु र असहायको पक्ष लिनु जागृत विवेक हो । त्यसैले,यस्तो व्यक्तित्व नै सच्चा ज्ञानी र विवेकशील पात्र हो ।
पौराणिक कालमा शक्ति (Power) र बोध (Wisdom) बीच सधैँ एउटा द्वन्द्वात्मक सम्बन्ध रह्यो । शासक वर्गसँग ‘दण्ड’ र ‘सामर्थ्य’ हुन्थ्यो, तर त्यसलाई कुन दिशामा प्रयोग गर्ने भन्ने ‘विवेक’ प्रायः अभाव हुन्थ्यो । त्यसैले राजगुरु वा ऋषिहरूको पद सिर्जना गरियो, ताकि शासकको अहंकार (Ego) लाई नैतिकता (Ethics) को अंकुशले नियन्त्रण गर्न सकियोस् ।
यसका मुख्य तीनवटा आयाम छन्-
१. विनम्रता पराजय होइन, सामर्थ्य हो : मूर्ख वा तामसी शासकका लागि ‘झुक्नु’ भनेको कमजोरी हो, तर ज्ञानीका लागि यो ‘वृक्षमा फल लाग्नु’ जस्तै प्राकृतिक प्रक्रिया हो । राजा जनक वा राम जस्ता पात्रहरू त्यसैले महान् मानिए, किनभने उनीहरूसँग शक्ति भएर पनि विनयशीलता थियो । जसले आफूलाई ‘सृष्टिको सेवक’ ठान्छ, ऊ मात्र वास्तविक ज्ञानी हो ।
२. बुद्धिजीवी र ज्ञानीको भेद : तार्किक रूपमा निपुण तर व्यवहारमा दुष्ट व्यक्ति ‘चतुर’ (Clever) त हुन सक्छ, तर ‘ज्ञानी’ हुन सक्दैन। बुद्धिले मानिसलाई स्वार्थको बाटो देखाउन सक्छ, तर ज्ञानले परमार्थ र लोककल्याणको मार्ग प्रशस्त गर्छ ।
३. परामर्शको शक्ति : प्राचीन समयमा राजगुरु नियुक्त गर्नुको अर्थ नै ‘शक्तिलाई सत्यको अधीनमा राख्नु’ थियो । जब शक्तिले ज्ञानको परामर्श लिन छोड्छ, तब त्यो विनाशकारी र अधर्मी बन्छ । खासमा,विद्वता बाहिरी सूचनाको सङ्ग्रह मात्र होइन, बरु अहंकारको विसर्जन हो । जो व्यक्ति अरूको हितमा आफ्नो हित देख्छ र न्यायिक समाजको सपना बुन्छ, उही नै वास्तविक अर्थमा ‘ज्ञानी’ र ‘विवेकशील’ हो ।
भारतीय उपमहाद्वीपका ऋषि-मुनिहरू र तिब्बती ‘चौरासी सिद्ध’ परम्पराका यी व्यक्तित्वहरूलाई केवल एउटा परिभाषामा सीमित गर्न सकिँदैन; उनीहरू ज्ञानी, विवेकी, तार्किक र सर्वगुण सम्पन्न महापुरुषहरूको एउटा यस्तो संगम हुन् जसले मष्तिष्कको तर्क र हृदयको करुणालाई एकाकार गरेका थिए । भारतीय परम्पराका वेदव्यास, बुद्ध वा कपिलले दार्शनिक जगत्लाई तार्किक उचाइ दिए भने, चीनका लाओत्से,कन्फुसियस तथा तिब्बती सिद्धहरू जस्तै सरहपा, तिलोपा वा नारोपाले समाजका प्रचलित आडम्बर र विभेदलाई चुनौती दिँदै ‘अनुभवसिद्ध ज्ञान’ (Experiential Wisdom) लाई प्राथमिकता दिए । उनीहरू ‘धर्मभिरु’ वा अन्धविश्वासी थिएनन्, बरु सत्यको खोजीमा स्थापित सत्ता र मान्यतालाई प्रश्न गर्न सक्ने क्रान्तिकारी विचारक थिए। फलेको वृक्ष झैँ उनीहरूमा अगाध विनम्रता थियो, तर अन्याय र अज्ञानताका विरुद्ध उनीहरूको चेतना सधैँ जागृत रहन्थ्यो। त्यसैले, यी महामानवहरू केवल सूचनाका संकलक वा बुद्धिजीवी मात्र नभएर, मानवताको कल्याण र दिव्य चेतनाका संवाहक परम् ज्ञानी हुन्, जसको चिन्तनले आज पनि संसारलाई मार्गदर्शन गरिरहेको छ ।
पहिलो, तार्किकहरू ज्ञानलाई एक ‘प्रक्रिया’ (Process) र ‘प्रमाण’ (Evidence) को रूपमा हेर्छन् । उनीहरूको तर्कअनुसार, अध्ययन र योगबाट प्राप्त हुने ज्ञान तब मात्र पूर्ण हुन्छ जब त्यसलाई क्रियात्मक अनुभव वा प्रयोगले पुष्टि गर्छ । नवनाथ वा विदुषीहरूले केवल शास्त्र वाचन गरेनन्, बरु समाजको ‘रुपान्तरण’ र ‘आविस्कार’मा योगदान दिए। तार्किकहरूका लागि ज्ञान भनेको इतिहास र सभ्यताका अनुभवहरूको त्यो शृङ्खला हो, जसलाई वर्तमानको आवश्यकता अनुसार परिमार्जन गर्न सकिन्छ। उनीहरूका अनुसार, यदि ज्ञानले समाजको समस्या हल गर्दैन र व्यावहारिक रूपमा उपयोगी छैन भने, त्यो केवल सूचना मात्र हो ।
दोस्रो, विवेकसम्मत अभ्यास र ज्ञानको स्रोतका बारेमा तार्किकहरूको दृष्टिकोण अलि वैज्ञानिक हुन्छ । उनीहरू भन्छन् कि ज्ञान केवल ध्यान वा एकाग्रताबाट मात्र आउँदैन, बरु यो त सभ्यताको निरन्तरता र मानवीय सङ्घर्षको प्रतिफल हो । गार्गी वा लोपामुद्रा जस्ता विदुषीहरूले तत्कालीन समाजका संकीर्णतालाई तोड्न जुन तर्क र साहस देखाए, त्यो उनीहरूको ‘क्रियात्मक अनुभव’ को बल थियो । तार्किकहरूले ज्ञानलाई एउटा यस्तो उपकरण मान्छन्, जसले मानिसलाई अन्धविश्वासबाट मुक्त गराई ‘सत्य’ र ‘तथ्य’ बीचको भिन्नता ठम्याउन मद्दत गर्छ ।
तेस्रो, मेरो तर्क यो छ कि ज्ञान वास्तवमा ‘मस्तिष्कको सूचना’ र ‘हृदयको अनुभूति’ बीचको एउटा पुल हो । अध्ययनले बाटो देखाउँछ, अनुभवले हिँड्न सिकाउँछ र विवेकले गन्तव्यमा पुर्याउँछ। ज्ञानमा इतिहास र सभ्यताका गुणहरू मात्र हुँदैनन्, यसमा भविष्य निर्माण गर्ने ‘नैतिक ऊर्जा’ पनि हुन्छ। नवनाथ र विदुषीहरूले देखाएको बाटो यही हो – जहाँ ज्ञान अहंकारको कारण बन्दैन, बरु विनयशीलता र लोककल्याणको माध्यम बन्छ । त्यसैले, सच्चा ज्ञानी त्यो हो जसको चेतनामा समग्र सृष्टिको चिन्ता हुन्छ र जसले आफ्नो विवेकलाई कार्यदिशामा बदल्ने सामर्थ्य राख्छ ।
ज्ञान : सूचना र उद्देश्यको सम्बन्ध :
आधारभूत तहमा ज्ञान सूचनामूलक (Informational) बाट सुरु हुन्छ, तर यसको सार्थकता तब मात्र हुन्छ जब यो उद्देश्यमूलक (Purposeful) बन्छ। केवल तथ्याङ्क वा जानकारी सङ्ग्रह गर्नु ‘स्मरण शक्ति’ मात्र हो, तर ती जानकारीलाई जीवन, प्रकृति र समाजको हितमा प्रयोग गर्नु ‘विद्वता’ हो । जब आर्जित ज्ञान प्रयोगमा असत्य सावित हुन्छ, त्यो भ्रम बन्छ; त्यसैले ज्ञानलाई सधैँ प्रमाण र तर्कको कसीमा घोटिरहनुपर्छ ।
यस विषयका तीन मुख्य तर्कहरू यस्ता छन् :
१. सूचना आधार हो, उद्देश्य गन्तव्य होले सूचनाले ‘के हो ?’ भन्ने बताउँछ, तर ज्ञानले ‘किन र कसरी ?’ भन्ने बोध गराउँछ । सूचना कच्चा पदार्थ हो भने उद्देश्य त्यसबाट निर्मित मूल्यवान् वस्तु हो । जस्तै, परमाणु शक्तिको बारेमा जान्नु ‘सूचना’ हो, तर त्यसलाई ऊर्जाका लागि प्रयोग गर्ने कि विनाशका लागि भन्ने कुरा ‘उद्देश्य’ र ‘विवेक’मा भर पर्छ ।
२. परिवर्तनशीलता र आविष्कार : ज्ञान युगसापेक्ष हुन्छ । हिजोको सत्य आजको रुढिवाद हुन सक्छ। त्यसैले, विद्वान् त्यो हो जसले पुराना सूचनाहरूलाई वर्तमानको अनुभवसँग जोडेर नयाँ उद्देश्यमूलक सत्यको खोजी गर्छ । विशिष्ट वैचारिक चित्त भएका व्यक्तिहरूले सधैँ ज्ञानलाई समुदायको सेवा र आविष्कारसँग जोड्छन् ।
३. विनम्रता र व्यवहारिक कसी : लेखनाथ पौड्यालको दर्शन अनुसार, सच्चा ज्ञानको उद्देश्य नै विनम्रता र लोककल्याण हो । यदि ज्ञानले मानिसलाई अहंकारी बनाउँछ भने त्यो केवल ‘सुख्खा सूचना’ मात्र हो । तर, यदि ज्ञानले मानिसलाई समाजप्रति जिम्मेवार र दयालु बनाउँछ भने त्यो परम् उद्देश्यमूलक ज्ञान हो ।
अत: ज्ञान केवल जान्नु मात्र होइन, जान्नुको बोध हुनु र त्यसलाई व्यवहारमा उतार्नु हो । त्यसैले ज्ञान सधैँ उद्देश्यमूलक हुनुपर्छ, जसले अन्धकारबाट प्रकाशतर्फ डोहोर्याओस् ।
विज्ञान, राजनीति र दर्शनका धेरै शिखर पुरुषहरूले संसारलाई बदल्ने सूत्र त दिए, तर उनीहरूका कर्मभित्रको त्यो ‘सौन्दर्यबोध’ र ‘कला’लाई बुझ्न अझै पनि धेरैलाई कठिन परिरहेको छ। दर्शन भित्रको यो ‘कलाभित्रको पनि कला’लाई बुझ्न निम्न तीनवटा कोणबाट हेर्न सकिन्छ-
पहिलो, सृजनशीलता र लयको कला : न्युटन वा आइन्सटाइनले केवल गणितीय सूत्र मात्र दिएनन्, उनीहरूले ब्रह्माण्डको एउटा अदृश्य ‘लय’ (Harmony) पत्ता लगाए। मार्क्स वा गान्धीले समाजको जुन तस्बिर खिचे, त्यो केवल राजनैतिक दस्तावेज मात्र थिएन, त्यो त मानव मुक्ति र न्यायको एउटा ‘महाकाव्य’ जस्तै थियो । उनीहरूले संसारलाई जसरी आफ्नै लयमा ताने, त्यो एउटा चित्रकारले क्यानभासमा रङ भरे जस्तै बौद्धिक कला थियो । जब कुनै विचारले करोडौँको हृदयलाई स्पन्दित पार्छ, त्यहाँ तर्कभन्दा माथि एउटा गहन सौन्दर्य हुन्छ, जसले मानिसलाई त्याग र बलिदानका लागि प्रेरित गर्छ ।
दोस्रो, विरोधाभासभित्रको सामञ्जस्य : डार्विनले पुरानो जडतालाई उल्ट्याउँदा वा मण्डेलाले जेलको भित्ताभित्र बसेर स्वतन्त्रताको सपना बुन्दा, उनीहरूले समाजको कुरुपता (विभेद र अज्ञानता) भित्र लुकेको सुन्दरता (सत्य र समानता) लाई बाहिर ल्याए । कठिन सङ्घर्ष र खोजका बीचमा पनि विचलित नहुनु र आफ्नो कर्मलाई ‘तपस्या’ बनाउनु नै सबैभन्दा ठूलो कला हो । यो कलालाई नबुझ्नेहरूले उनीहरूलाई केवल ‘विद्वान्’ मात्र देख्छन्, तर बुझ्नेहरूले उनीहरूमा एउटा ‘दिव्य सौन्दर्य’ देख्छन्, जसले संसारलाई अझै पनि प्रभावित पारिरहेको छ ।
तेस्रो, कर्मको सौन्दर्यशास्त्र (Aesthetics of Action): उनीहरू केवल बुद्धिजीवी मात्र होइनन्, ‘ज्ञानी’ हुन् किनभने उनीहरूको ज्ञानमा समुदायको हित जोडिएको थियो। कलाको काम हृदयलाई छुने हो भने, माथि उल्लेख गरेका महामानवहरूको ‘विचारको कला’ले मानव सभ्यताको इतिहासलाई नै नयाँ मोड दियो । जब ज्ञानले अहंकार त्यागेर विनम्रता र करुणाको बाटो समात्छ, तब त्यो ‘विज्ञान’ मात्र रहँदैन, त्यो एउटा ‘जीवन जिउने कला’ बन्छ । यही नै ‘कलाभित्रको कला’ हो – जसले मानिसलाई मेसिन बन्नबाट रोक्छ र मानव बनाउँछ ।
सूचनाको संकलन, अध्ययन वा अडियो-भिडियोको माध्यमबाट प्राप्त गरिने जानकारीले मानिसलाई ‘विद्वान्’को स्वाङ पार्न त सघाउला, तर प्रज्ञा र विवेक बिनाको त्यस्तो विद्वताले न त व्यक्तिको रूपान्तरण गर्छ, न त समुदायलाई नै कुनै ठोस दिशा दिन्छ । विद्वता जब अनुभवको भट्टीमा खारिन्छ र कर्मसँग जोडिन्छ, तब मात्र त्यो ‘ज्ञान’मा परिणत हुन्छ, जुन राष्ट्र र विश्वकै लागि मार्गदर्शक बन्न सक्छ । ऐतिहासिक व्यक्तित्वहरूका विचारलाई केवल ‘समर्थन’ गर्नुभन्दा पनि आजको वैश्विक अन्तरविरोधलाई ठम्याएर ती दर्शनहरूलाई थप ‘विकास’ गर्नु नै वास्तविक बौद्धिक चुनौती हो । त्यसैले, साँचो ज्ञानको जन्म तब मात्र हुन्छ, जब मानिसले आर्जित विद्वतालाई आत्मसात् गरेर पहिले स्वयंलाई रूपान्तरण गर्छ र त्यसलाई लोककल्याणको एउटा जीवन्त विज्ञानका रूपमा प्रस्तुत गर्छ ।
पहिलो, वास्तविक बुद्धिमत्ता र ज्ञानको प्रक्रिया अत्यन्तै गहिरो र रूपान्तरणकारी हुन्छ । जब अध्ययन र व्यावहारिक अनुभवको संश्लेषणबाट अन्तःस्करण परिपक्व हुन्छ, तब मात्र ‘ऋतम्भरा प्रज्ञा’ (सत्यलाई मात्र धारण गर्ने बुद्धि) को उदय हुन्छ । यस्तो अवस्थामा मानिसभित्रका सबै विभेदहरू हराउँछन् र ऊ ‘बुद्ध’ झैँ कञ्चन विवेकको प्रकाशले ओतप्रोत हुन्छ । विद्वताको यो पराकाष्ठा भनेको केवल सूचनाको थुप्रो होइन, बरु मानव हित, सामुदायिक समानता र प्रकृतिको श्रेष्ठतालाई आत्मसात् गर्नु हो । माथि भनेझैँ जब ज्ञानले अहंकारलाई पगालेर विनम्रता र करुणाको रूप लिन्छ, तब मात्र व्यक्ति वास्तविक अर्थमा ‘ज्ञानी’ बन्दछ ।
दोस्रो, वर्तमान समयमा ‘विद्वान्’ र ‘बुद्धिजीवी’ शब्दको जुन सस्तो प्रयोग भइरहेको छ, त्यो वास्तविक ज्ञानप्रतिको अपमान हो । कुनै विषयको आधारभूत बोध समेत नभएका, तर समाजमा अनावश्यक विवाद सिर्जना गर्ने र समस्याको समाधान गर्नुको सट्टा जटिलता थप्नेहरूलाई ‘विद्वान्’ मान्नु बौद्धिक दिवालियापन हो । सङ्कीर्ण सोच राखेर टाउको हल्लाउने यस्ता व्यक्तिहरूले ज्ञानलाई केवल प्रदर्शन र स्वार्थको माध्यम बनाएका छन् । माथिका तर्कले प्रस्ट पार्छ कि वास्तविक विद्वता ‘स्वाङ’मा होइन, व्यवहारिक कसी र विभेदरहित चेतनामा निहित हुन्छ; जसले समाजलाई जोड्ने काम गर्छ, फुटाउने होइन ।
योग्यताको कसी :
पहिलो, शैक्षिक प्रमाणपत्र बुद्धिको मापन होइन; यो त केवल एउटा प्राविधिक योग्यता मात्र हो । वास्तविक विद्वत् वर्ग त्यो हो, जो आफ्नो अनुभवले निखारिएको छ र जसको चेतनाले समाजलाई उज्यालो दिन्छ । चोम्स्कीले भनेझैँ, सत्ताले फैलाउने भ्रमको जालोलाई चिरेर सर्वसाधारणलाई ‘ब्युँझाउने’ र सामाजिक न्यायका लागि ‘विद्रोह’ गर्न प्रेरित गर्ने व्यक्ति नै सच्चा बुद्धिजीवी हो । जब विद्वताले शक्ति (Power) सामु घुँडा टेक्छ, तब त्यो केवल ‘दरबारी चाकरी’ बन्छ। तर, जब यसले निर्भिकतापूर्वक सत्यको पक्ष लिन्छ, तब मात्र यसले मानव सभ्यतालाई अगाडि बढाउने सामर्थ्य राख्छ ।
दोस्रो, एटम बम वा घातक हतियारका आविष्कारकहरूको प्रश्नमा, उनीहरूलाई ‘विद्वता’को श्रेणीमा त राख्न सकिन्छ, तर ‘ज्ञान’ वा ‘गुण’को उच्च श्रेणीमा राख्न सकिँदैन । प्राविधिक रूपमा उनीहरू उच्चकोटिका बुद्धिजीवी र वैज्ञानिक हुन्, किनकि उनीहरूसँग सृष्टिको रहस्य (अणुको शक्ति) बुझ्ने क्षमता थियो । तर, लेखनाथ पौड्यालले भनेको ‘फलेको वृक्ष’को विनम्रता र ‘लोककल्याण’को कसीमा उनीहरू चुक्न पुगे। यदि उनीहरूको आविष्कारले मानवताको संहार गर्छ भने, त्यो ‘विवेकहीन विद्वता’ हो । ज्ञानको सर्वोच्च श्रेणी (ज्ञानी) मा त ती व्यक्ति मात्र पर्छन्, जसको आविष्कार वा विचारले जीवनको रक्षा र मर्यादालाई उच्च राख्छ ।
तसर्थ, मेरो विचारमा जो व्यक्ति शक्ति र साधनले सम्पन्न सत्ताको विरुद्धमा उभिएर निमुखाको आवाज बन्छ, उही नै ‘सर्वगुण सम्पन्न’ विद्वान् हो । विज्ञानका ती आविष्कारकहरू जसले अन्त्यमा आफ्नै सृजनाप्रति पश्चाताप गरे (जस्तै ओपेनहाइमर), उनीहरू विद्वताबाट ज्ञानतर्फ लाग्न खोजेका ‘अधुरा ज्ञानी’ हुन् ।
मार्क्स, गान्धी, मण्डेला र चोम्स्की जस्ता व्यक्तित्वहरू आधुनिक युगका ‘ऋषि’ हुन् । उनीहरूमा केवल सूचनाको थुप्रो थिएन, बल्कि समाजको ‘सकस’ (Suffering) लाई चिर्ने र त्यसलाई निकास दिने करुणा र क्रान्तिकारी चेतना थियो । ज्ञान जब केवल आदर्शमा सीमित नभएर व्यावहारिक र प्राविधिक प्रयोगबाट ‘परिणाम’मा बदलिन्छ, तब मात्र त्यसले समाजको रूपान्तरण गर्छ । सत्यलाई ‘हतियार’का रूपमा प्रयोग गर्न सक्ने यस्तो सीप नै वास्तविक विद्वता हो, जसले सत्ताको झूटो जालोलाई च्यात्ने सामर्थ्य राख्छ ।
शिल र विद्धतालाई कला र सौन्दर्यको कसीबाट हेर्दा –
क्रान्तिकारी सौन्दर्य र रूपान्तरणको कसीबाट हेर्दा मार्क्स, लेनिन, माओ, होचिमिन्ह, मण्डेला र चे ग्वाभारा जस्ता व्यक्तित्वहरूलाई पश्चिमा संकीर्ण परिभाषामा मात्र सीमित राख्न सकिँदैन । उनीहरू ‘ज्ञानी’ र ‘दार्शनिक’ दुवै हुन्, किनकि उनीहरूले संसारलाई बुझ्ने मात्र होइन, बदल्ने साहस गरे। उनीहरू ‘स्वचालित’ थिए, किनकि उनीहरूको चेतना कुनै बाह्य शक्ति वा स्वार्थबाट होइन, बरु उत्पीडित वर्गप्रतिको अगाध करुणा र सामाजिक न्यायको आन्तरिक हुटहुटीबाट निर्देशित थियो । उनीहरूले ज्ञानलाई केवल पुस्तकालयको शोभा बनाएनन्, बरु त्यसलाई वर्ग-सङ्घर्ष र मानवीय मुक्तिको एउटा ‘जीवन्त सौन्दर्य’ मा रूपान्तरण गरे ।
दोस्रो पक्षबाट हेर्दा, उनीहरू ‘वैकल्पिक मानवशास्त्री’ हुन्, जसले मानिसलाई पुँजीवादी मेसिन वा उपभोक्ताको रूपमा होइन, बरु आफ्नो भाग्यको आफैँ मालिक हुने ‘नयाँ मानव’ (New Man) का रूपमा परिभाषित गरे । जुछे विचारधारा वा माओका मौलिक चिन्तनहरूले मानिसको आत्मपरक शक्ति र सामूहिक सामर्थ्यलाई केन्द्रमा राखेर एउटा नयाँ सभ्यताको जग बसाले । उनीहरू त्यस्ता तार्किक बुद्धिजीवी थिए, जसले तर्कलाई शब्दको जाल बुन्न होइन, बरु इतिहासको कुरुप जगलाई भत्काएर एउटा सुन्दर र समतामूलक समाज निर्माण गर्ने ‘रचनात्मक कला’का रूपमा प्रयोग गरे ।
यी महामानवहरूलाई ‘क्रान्तिकारी सौन्दर्यका चिन्तक’ का रूपमा बुझ्नुपर्छ, जसको कर्ममा एउटा महाकाव्यको जस्तो लय र त्यागको गहिरो सौन्दर्य थियो । चे ग्वाभाराको आत्मत्याग होस् वा होचिमिन्हको सादगी, यी सबैमा एउटा साँचो ‘ज्ञानी’ मा हुनुपर्ने विभेदरहित चेतना र दृढ संकल्प झल्किन्छ । उनीहरूले देखाएको बाटो केवल राजनीतिक परिवर्तन मात्र थिएन, बरु मानव चेतनाको एउटा विशिष्ट रूपान्तरण थियो, जसले आजको अति-व्यक्तिवादी र उपभोक्तावादी संसारमा अझै पनि एउटा शक्तिशाली वैकल्पिक मार्गको झल्को दिइरहन्छ ।
दोस्रो, ‘प्रज्ञाविहीन पाखण्डी’ र ‘श्रम चोर’हरूलाई बुद्धिजीवीको दर्जा दिनु वास्तवमै बौद्धिक जगतको अपमान हो । विद्वता र ज्ञानको कसी नैतिकता र लोककल्याण हुनुपर्छ । जसरी फलेको वृक्ष नुहिनु अनिवार्य छ, त्यसरी नै साँचो विद्वान् विनयी र करुणामयी हुनुपर्छ । यदि कसैको बौद्धिकताले समाजमा विभाजन, घमण्ड र शोषणलाई प्रश्रय दिन्छ भने, त्यो ‘कुबुद्धि’ हो, ज्ञान होइन । माथिका तर्कले स्पष्ट पार्छ कि अबको युगमा बुद्धिजीवी त्यो हो, जो केवल पुस्तकालयमा मात्र सीमित रहँदैन, बरु सडक र समाजको न्यायका लागि सत्यको पैरवी गर्दै मान्छेसँगै उभिन्छ ।
अन्त्यमा,यो चिन्तनले विद्वतालाई कर्मसँग र ज्ञानलाई विवेकसँग जोडेको छ । ज्ञान सूचनाको संकलन मात्र होइन, यो त ‘स्वयंको रूपान्तरण’ र ‘सामाजिक उत्तरदायित्व’को संगम हो। लेखनाथ पौड्यालले देखाएको विनम्रता र आधुनिक युगले मागेको तार्किक हस्तक्षेप जब एकै ठाउँमा उभिन्छन्, तब मात्र ‘विवेकशील ‘ज्ञानी’को जन्म हुन्छ । यहाँ राखिएको यो स्पष्ट धारणा नै आजको अन्योलग्रस्त समाजका लागि एउटा बलियो बौद्धिक मार्गचित्र हो भन्ने मेरो ठम्म्याइ छ ।
निष्कर्षमा, कला र सौन्दर्यको दृष्टिकोणबाट हेर्दा, ज्ञानी र बुद्धिजीवीबीचको यो बहस केवल शब्दको तार्किक विन्यास मात्र नभएर मानवीय अस्तित्वको ‘आन्तरिक लय’ खोज्ने एउटा सुन्दर प्रक्रिया हो । कलाले वस्तुको बाहिरी स्वरूपलाई भन्दा त्यसभित्र लुकेको भाव र जीवन्ततालाई स्पर्श गरेझैँ, यो बहसले पनि प्रमाणपत्रको ‘कुरुप’ अहंकारलाई चिरेर विवेकको ‘सुन्दर’ विनम्रतालाई उजागर गर्दछ। एउटा कलाकारले क्यानभासमा रङ भरेर प्राण जोडेझैँ, ज्ञानीले आफ्नो ‘स्वचालित’ विवेकद्वारा समाजमा करुणा र न्यायको सौन्दर्य भर्दछ । त्यसैले, यो बहस बौद्धिक विलासिता मात्र नभएर मानव सभ्यतालाई कुरूप स्वार्थबाट जोगाएर आत्मिक र नैतिक सुन्दरतातर्फ डोहोऱ्याउने एउटा सृजनात्मक हस्तक्षेप हो ।
दोस्रो कुरा, सौन्दर्यशास्त्रको मान्यता अनुसार ‘सत्य नै सुन्दर हो’ (Satyam Shivam Sundaram); र यो सत्यलाई चिन्नु र समाजमा स्थापित गर्नु नै सबैभन्दा ठूलो कला हो । बुद्धिजीवी जब सत्ता वा शक्तिबाट ‘परिचालित’ भएर झूटको खेती गर्छ, तब उसको बौद्धिकताले आफ्नो मौलिक सौन्दर्य गुमाउँछ । तर, जब एउटा ज्ञानी व्यक्ति प्रतिकूलताका बीच पनि सत्यको पक्षमा अविचल उभिन्छ, त्यहाँ एउटा ‘नैतिक सौन्दर्य’ (Ethical Beauty) झल्किन्छ, जसले युगौँसम्म मानिसलाई प्रभावित पारिरहन्छ । अतः यो बहसले हामीलाई केवल ‘जान्ने’ (Informative) मात्र होइन, ‘हुने’ (Transformative) कला सिकाउँछ, जसले जीवनलाई एउटा अर्थपूर्ण र सन्तुलित महाकाव्यमा रूपान्तरण गर्न मद्दत गर्दछ । धन्यवाद, जय मातृभूमि !
प्रतिक्रिया