सर्वोच्चको आदेश : ‘ओली र लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभए हिरासत मुक्त गर्नु’

सर्वोच्चको आदेश : ‘ओली र लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभए हिरासत मुक्त गर्नु’


सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालतबाट यही चैत २२ गते भएको आदेशअनुसारको समयावधिमा अनुसन्धान सम्पन्न भइ मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकात सम्पन्न गर्न आदेश दिएको हो ।

‘जिल्ला अदालतबाट मिति २०८२/१२/२२ मा भएको आदेशअनुसारको समयावधिमा अनुसन्धान कार्यसम्पन्न भई मुद्दा चल्ने/नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे-जो गर्नुपर्ने हो गर्नु/गराउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ’, आदेशमा भनिएको छ ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । सो रिटका सन्दर्भमा भने प्रतिवादीहरुलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने जनाइएको छ ।