✍ राजन घिमिरे
नवीन जोश, उमङ्ग, उत्साह र आत्मबल बोकेर अभिनेता दिल श्रेष्ठको नेपाली सिनेमा वृत्तमा पुनरागमन भएको छ । यसअघि केही सिनेमा, म्यूजिक भिडियो र टेलि विज्ञापनहरूमा आफ्नो कौशल प्रस्तुत गरिसकेका उनी सफल ब्यवसायी पनि हुन् । थुप्रै सामाजिक सन्देशमूलक डकुमेन्ट्रीहरूमा काम गरिसकेका दिलले बैंक र वित्तिय संस्थाहरूको ब्राण्ड ऐम्बेष्डरको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् । ब्यावसायिक क्षेत्रमा ब्यस्त रहनु परेकाले केही समय अभिनय विधाबाट टाढा रहेका दिल अब भने अभिनय यात्रालाई निरन्तरता दिने उद्देश्य लिएर चलचित्र मैदानमा उत्रिएका छन् ।
लामो समयको अन्तरालपछि ‘माया भनेकै यस्तो होला’मार्फत दिलको नेपाली चलचित्रमा कम्ब्याक भएको हो । नेपाली चलचित्र क्षेत्रमा निर्माण, अभिनय र निर्देशन विधामा विशिष्ट पहिचान बनाउन सफल रेखा थापाले दिलको क्षमता र दक्षतामाथि विश्वास गरेकै कारण दिलको नेपाली चलचित्रमा पुनरागमन भएको हो । चलचित्र माया भनेकै यस्तो होलालाई रेखा थापाले निर्देशन गरेकी हुन् । यसै साता मात्र छायांकन सकिएको यो चलचित्रमा दिलको साथमा मदनकृष्ष श्रेष्ठ, निती शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र उषा खड्गी गरेर चार पूर्व मिस नेपालहरूको जमघट रहेको छ ।
एक त रेखा थापाको निर्देशन अर्को कुरा चार मिस नेपाल अनि दिल श्रेष्ठको पुनरागमन, यी कुराहरूले पनि यतिबेला चलचित्र माया भनेकै यस्तो होलाको चर्चा चुलिएको छ, बजारमा । तीन मिस नेपाल र दिल श्रेष्ठको वरिपरि कथा घुमेको बुझिएको छ ।
‘चलचित्रको मर्म, कथा र पाटो निकै बलियो छ । यो कथालाई निर्देशक रेखा थापाले निकै मन छुने सफल तरिकाले संयोजन गर्नुभएको छ । छायांकार सुदीप बरालको उत्कृष्ट छायांकनसंगै पुरा फिल्म यूनिटले राम्रो काम गरेका कारणले पनि चलचित्रले दर्शकहरूको मन जित्ने कुरामा हामी बिश्वस्त छौं’- दिलले बताए ।
त्यसो त, आफ्नो पुनरागमन भएको चलचित्र भएका कारण पनि दिलले चलचित्रमा निकै मिहेनत गरेको चर्चा बजारमा चलेको छ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा केही गर्ने जोश र उत्साह बोकेर प्रवेश गर्ने अभिनेताहरूको खडेरी लागेको समयमा चलचित्र माया भनेकै यस्तो होला मार्फत बजारमा छाउन लागेका दिलले नेपाली चलचित्र वृत्तमा छलाङ मार्ने चर्चासमेत चल्न थालेको छ ।
प्रतिक्रिया