इरानले आफ्नो लावान टापुस्थित तेल संरचनामाथि भएको हवाई आक्रमणपछि कुवेत र संयुक्त अरब इमिरेट्समाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । त्यहाँको सरकारी टेलिभिजनले जनाएअनुसार, लावान टापुको तेल संरचनामा आक्रमण भएको केही घण्टापछि कुवेत र इमिरेट्सतर्फ मिसाइल र ड्रोन प्रहार गरिएको हो ।
इरानी राष्ट्रिय तेल प्रशोधन तथा वितरण कम्पनीका अनुसार मङ्गलबार राति सङ्घर्षविराम घोषणा भए पनि बुधबार बिहान करिब १० बजे लावान टापुको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको थियो । उक्त आक्रमणलाई कम्पनीले ‘कायरतापूर्ण’ भन्दै आलोचना गरेको छ ।
हाल आगलागी नियन्त्रणका लागि सुरक्षा तथा दमकल टोली सक्रिय रूपमा खटिएको र संरचना सुरक्षित बनाउने प्रयास भइरहेको जनाइएको छ । कर्मचारीहरूलाई समयमै सुरक्षित स्थानमा सारिएको कारण मानवीय क्षति नभएको पनि पुष्टि गरिएको छ ।
लावान टापुस्थित तेल प्रशोधन केन्द्र नजिकैको तेल क्षेत्रबाट निकालिएको कच्चा तेल प्रशोधन गर्ने महत्वपूर्ण केन्द्र हो, जसबाट इरानको उच्च गुणस्तरको तेल निर्यात गरिन्छ ।
उपलब्ध तथ्याङ्कअनुसार, यो प्रशोधन केन्द्र इरानका प्रमुखमध्ये एक हो र दैनिक करिब ६० हजार ब्यारेल कच्चा तेल प्रशोधन गर्ने क्षमता राख्छ ।
यसअघि पनि खाडी क्षेत्रमा रहेका इरानी टापुहरू द्वन्द्वका क्रममा आक्रमणको निशानामा परेका थिए । विशेषगरी तेल निर्यातका लागि महत्वपूर्ण खार्ग टापुमा रहेका सैन्य संरचनाहरूमा दुई पटक हवाई आक्रमण गरिएको थियो ।
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
इरानस्थित भारतीय दूतावासले दूतावाससँगको समन्वयमा भारतीय नागरिकहरूलाई इरानबाट तुरुन्त बाहिरन आह्वान् गरेको छ ।
दूतावाससँग पूर्व परामर्श र समन्वयबिना अन्तर्राष्ट्रिय सीमामा पुग्ने प्रयास नगर्न सुझाव दिँदै दूतावासका आपतकालीन नम्बरहरू समेत सार्वजनिक गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताको युद्धविरामको घोषणा गर्दै र इरानको १० बुँदे प्रस्तावबमोजिम इरानमाथि बम विस्फोट र आक्रमण अभियान स्थगित गर्ने घोषणा गरेपछि यो आह्वान् आएको हो ।
प्रतिक्रिया