‘पारिवारिक सम्पत्ति’बारे भ्रम फैलाइएको देउवाको जिकीर !

‘पारिवारिक सम्पत्ति’बारे भ्रम फैलाइएको देउवाको जिकीर !


पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जिकीर गरेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि देउवा दम्पतीलाई पक्राउ पूर्जी जारी भएपछि बुधबार (२५ चैत) साँझ सामाजिक सञ्जालमार्फत देउवाले प्रस्टिकरण दिएका हुन् ।

आफ्नो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको दाबी गर्दै देउवाले नेपालको कानुनअनुसार आफूले सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको बताएका छन् ।

स्वास्थ्य उपचारका निम्ति हाल आफूहरू विदेशमा रहेको र अझै उपचारको क्रम जारी रहेको पनि उनले बताएका छन् ।

यस्तो छ देउवाद्वारा जारी विज्ञप्ति-

आदरणीय दाजुभाइ, दिदी-बहिनी तथा साथीहरू,
म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ ।

म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।

नेपालको कानुनअनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।

देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै ब्यतीत गरेको हुँ ।

मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।

स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।

वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।
जय नेपाल ।
शेरबहादुर देउवा