✍ युवराज गौतम

राजा महेन्द्रका छोरा, राजा वीरेन्द्रका दाजु गीतकार रवीन्द्र शाह ।
महेन्द्र सरकारकी प्रेमिका गीता (रम्भा गुरुङ) बाट जन्मिनुभएका शाहलाई ‘राजकुमार’ पदवी प्रदान गरिएको थियो ।
विक्रम सम्वत १९९५ मा जन्मिनुभएको हो, रवीन्द्र शाह । मैले २०३८ सालमा जुद्धसडक (न्युरोड काठमाडौं)मा उहाँलाई देखेपछि छक्क परेको थिएँ ।
गायक गणेश रसिक र म पिपलबोट छेउमा उभिएर गफ गरिरहेका थियौं । ऊबेला त्यहाँ साहित्यकार, राजनीतिक नेता कार्यकर्ता, प्राध्यापक आदि साँझमा भेला हुन्थे । सबैजना भेट्ने थलो थियो, पिपल बोट।
गाडी पार्क गरेर हामीतिर आइरहेका सज्जन राजा महेन्द्र जस्तो देखेर मैले रसिक दाजुलाई सोधेँ- ‘ठ्याक्कै महेन्द्र जस्तो को मान्छे होला ? ‘
उहाँले बिस्तारै भन्नुभयो, ‘महेन्द्र सरकारको छोरा रवीन्द्र शाह ।’
शाहले कफी खाउँ भनेर नजिकै रेस्टुरेन्टमा लैजानुभयो ।
रसिक दाजुले मेरो परिचय गराउनुभयो ।
स्कुल पढ्दा दार्जिलिङ जिल्लामा पर्ने खरसाङ रेडियोमा उहाँका गीत सुनेको थिएँ । रेडियो नेपालमा गौरी केसीले गाउनुभएको ‘रानी तलाउ किनारा..’ सुनेर आनन्दित बनेको सम्झना छ ।
‘झरेको फूल’ पुस्तकमा रवीन्द्र शाहका चुनिएका गीत छन् ।
भूमिकामा गीतकार मवीवि शाह (राजा महेन्द्र)बाट रवीन्द्र शाहका रचनाहरुको प्रशंसा गरिएको छ ।
शैली मवीवि शाह जस्तो थियो, रवीन्द्र शाहको ।
राजदरबारमा भाइहरु वीरेन्द्र, ज्ञानेन्द्रसंग खेल्दै रवीन्द्रको शैशवकाल बित्यो ।
पछि राजकुमार रवीन्द्र र उहाँकी मुमालाई बालुवाटारमा घर बनाएर राखिबक्स्यो, महेन्द्र सरकारबाट ।
दरबारबाट भाइहरुसँग छुट्टिनु पर्दा रवीन्द्र शाह धेरै रुनुभयो ।
दरबारका पुराना सेवकहरु भन्छन्, साह्रै मेलमिलाप थियो उनीहरूको ।
राजदरबारमा बाल्यकाल बितिरहँदा सानो उमेरमा टाढा हुनुपर्दा रवीन्द्र दुःखी थिए भने भाइहरु दुःखी हुनु झन् स्वाभाविक थियो ।
बिछोड हुँदा ससाना केटाकेटी रोए । गीता नरुने कुरै थिएन ।
भाइहरु वीरेन्द्र र ज्ञानेन्द्रको पनि आँसु रोकिएन । उनीहरू झन् धेरै रोएका थिए ।
२४ बर्षको उमेरमा ६ सन्तानकी आमा युवराज्ञी ईन्द्र राज्यलक्ष्मीको स्वर्गारोहण भयो । देहान्त हुनुअघि इन्द्रबाट हुकुम भएको रहेछ, ‘म मेरा ससाना छोराछोरी तिमीलाई जिम्मा दिँदैछु । राम्रो हेरचाह गर्नु है गीता १ तिमी नै यी सबैकी आमा हौ ।’
राजकुमार रवीन्द्रकी मुमाले सबैलाई उत्तिकै माया गर्नुभयो । सन्तानका बीचमा भेदभाव गर्नुभएन ।
साहित्यकार श्यामदास बैष्णवले भन्नुभएको थियो- ‘महेन्द्र सरकारले रत्नराज्यलक्ष्मीदेवीसंग विवाह गरेपछि गीता गुरुङ र रवीन्द्र शाहले राजदरबार त्याग्नुपरेको हो !’
गीता र निजका छोरा रवीन्द्रलाई भेट्न गइरहनुहुन्थ्यो, श्यामदास ।
राजकुमार शाहका छोरा पवीन्द्र तथा जुम्ल्याहा छोरी रचना र सिर्जना रहेको श्यामदासबाट सुनेको हुँ ।
(गौतमको फेसबुक बाट)
प्रतिक्रिया