कांग्रेसका निवर्तमान सांसद बजगाईंको उद्घोष- ‘अन्ततः कांग्रेसमा बसिएन’ !

कांग्रेसका निवर्तमान सांसद बजगाईंको उद्घोष- ‘अन्ततः कांग्रेसमा बसिएन’ !


खरो अभिव्यक्ति र ब्यवहारका कारण चर्चामा रहँदै आएका नेपाली कांग्रेसका नेता एवम् निवर्तमान सांसद राजेन्द्र बजगाईंले कांग्रेस परित्यागको घोषणा गरेका छन् ।

आइतबार (२९ चैत) सामाजिक सञ्जालमार्फत नेता बजगाईंले नेपाली कांग्रेसलाई ‘संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड बनेको’ विशेषणका साथ पार्टीमा नबस्ने निर्णय सुनाएका हुन् ।

विशेष महाधिवेशनमार्फत् आफूलाई सभापति तुल्याएका गगन थापालगायतप्रति ब्यंग्य गर्दै बजगाईंले ‘विशेष वृन्द’हरू चरणबद्ध रूपमा पार्टी कब्जा अभियानमा लागेका आरोप लगाएका छन् ।

‘अन्ततः कांग्रेसमा बसिएन’ भन्दै उनले सोसल मिडियामा लेखेका छन्-

सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्। अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन् ।

किसुनजीका सदस्यता पुनःस्थापन गर्ने निर्णयप्रति म खेद व्यक्त गर्दछु, त्यो फेरि-फेरि भर्न किन पर्थ्यो र ? त्यसको औचित्य छैन थिएन नि !

संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड बनेको पार्टीमा नबस्ने निर्णय गरेको छु ।

विशेष वृन्दहरू चरणबद्ध रूपमा पार्टी कब्जा अभियानमा लागेका छन् ।

उनीहरूले यसरी खेल खेलिरहेका छन्-
सके प्रभावको कोर्रा हानेर आधिकारिकता लिने,
नसके अप्ठ्यारो ढुंगाको पर्खाल खडा गरेर तथ्यांक संकलनको आडमा भित्री षड्यन्त्रमार्फत कांग्रेसमाथि नियन्त्रण जमाउने गरी सदस्यताको ‘डीएनए’ बनाउने ।