पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित


पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमा ठूला विकास आयोजनाको काम प्रभावित बनेका छन् । निर्माण व्यवसायीहरुले आफूसित मौज्दात रहेको इन्धनबाट काम गरिरहेको भए पनि इन्धनमा भएको मूल्य वृद्धि र अभावका कारण आयोजनालाई अगाडि बढाउन समस्यामा परेका बताइएको छ । यहाँको सेती राजमार्ग दक्षिण खण्ड (टीकापुर-लोडे-चैनपुर-ताक्लाकोट सडक आयोजना)को काम बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख रामकुमार देवले बताएका छन् ।

‘निर्माण व्यवसायीसित भएको मौज्दात इन्धन सकियो अब काम रोकिने अवस्थामा गइसक्यो, ट्रयाक खोल्न प्रयोग भएका ठूला उपकरण पनि रोकिसके’, उनले भनेका छन् ।

दुई सय चार किलोमिटरका उक्त आयोजना २०७४ सालदेखि सुरु भएको हो । आयोजनाअन्तर्गत ३५ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । हालसम्म कूल दश किलोमिटर खण्ड कालोपत्रे भएको छ । आयोजनाअन्तर्गत डोटी, अछाम र कैलालीमा विभिन्न प्याकेजमा काम भइरहेको आयोजना प्रमुख देवले जानकारी दिए ।

चालु आर्थिक वर्षमा सात किमी कालोपत्रे भएपनि कालोपत्रे गर्न बिटुमिनको अभाव रहेको र चालु आवमा उक्त आयोजनाका लागि सरकारले रु २५ करोड रकम विनियोजन गरेको उनको भनाइ छ । ‘काम सुस्त भयो, बन्द हुने अवस्था छ, मेसिनरी बन्द हुने अवस्थामा छन्, महँगो पनि पाउन गाह्रो पनि भयो’, उनले बताए ।

पेट्रोलियम पदार्थ मूल्य वृद्धिपछि निर्माण व्यवसायीहरुले काम गर्न नसकिने जनाउँदै कार्यालयमा निवेदन दिन थालेका छन् । सुदूरपश्चिमकै गौरवको महाकाली सिँचाइ तेस्रो चरण आयोजनासमेत यसको प्रभाव परेको छ । सिँचाइको मूल नहर निर्माणका लागि सात प्याकेजमा ठेक्का सम्झौता भएर काम भइरहेको भए पनि अहिले निर्माण व्यवसायीहरुले कार्यालयमा मूल्यवृद्धिले काम गर्न नसकिने जनाउँदै कार्यालयमा निवेदन दिएको महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयका सूचना अधिकारी यादव बरालले जानकारी दिए ।

उनका अनुसार कार्यालयले नदी नियन्त्रणका लागि ठेक्का लगाए पनि तारजालीको मूल्य वृद्धिका कारण काम हुन सकेको छैन । ‘मूल्यवृद्धिका कारण नदी नियन्त्रणका लागि ठेक्का भएको काम हुनज सकेको छैन, यसले बर्सातमा समस्या पार्छ कि भन्ने डर छ, पेट्रोलिय पदार्थमा मूल्यवृद्धि भएपछि निर्माण व्यवसायीहरुले पनि कार्यालयमा निवेदन दिएका छन्’, सूचना अधिकारी बरालले भने ।

त्यसैगरी महाकाली करिडोरको काम पनि मूल्य वृद्धिको असरको चपेटामा छ । तेह्र वटा प्याकेजमा ठेक्का भई कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्मको करिडोरको निर्माण भइरहेको भए पनि पछिल्लो समय निर्माण व्यवसायीले महँगी बढेको जनाउँदै काम गर्न छाडेका छन् ।

महकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले इन्धन, बिटुविनलगायतका सामग्रीको भएको मूल्यवृद्धिका कारण करिडोरको काम प्रभावित बनेको बताए । चार सय २५ किलोमिटर खण्डको उक्त करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५६, बैतडीमा १४४ र दार्चुलामा १२० किलोमिटर सडक पर्छ । दार्चुलामा ७९ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । निर्माण व्यवसायीले मूल्यवृद्धि समायोजन नहुँदासम्म काम गर्न नसकिने बताउँदै सरकारलाई मूल्यवृद्धि समायोजनको माग गरेका छन् ।

निर्माण व्यवसायी कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थीले निर्माण व्यवसायीहरुले निर्माण उद्योगमा आपत्काल घोषणाको माग गरिएको जानकारी दिए । निर्माण व्यवसायीहरुले घरदेख बेचेर काम गनुपर्ने अवस्था आएको उनको भनाइ छ । सङ्घमा आबद्ध कञ्चनपुरका ६०० बढी निर्माण व्यवसायीहरुले बजारमा देखिएको मूल्यवृद्धि र सामग्री अभावका कारण काम गर्न नसकिने बताउँदै निर्माण होलिडेको तयारी गरिरहेको उनले जानकारी दिए ।

Representative image