जे-जसरी भए पनि हामी वर्षको एक पटक आमालाई विशेषरुपले खुशी बनाउने गर्दछौँ । तर आमालाई सधैं खुशी बनाउनु हाम्रो कर्तव्य हो । आमा खुशी भए नै हामीमा आमाको आशिष लाग्दछ । मन्दिरमा भाकल गर्दै कालो बोको चढाउनु भन्दा आमालाई मिठोसंग खुवाए आमाको आशीर्वाद लाग्दछ । देवी, देवता, मठ, मन्दिर केवल आस्था मात्रै हो तर आमा साक्षात देवी हुन् । तसर्थ सधैं आमाको सम्मान गर्न सिकौँ ।
✍ सुनिल उलक

आमा, माँ, जननी, माता, मम्मी, अम्मा, वालिदा, मदर, अम, मोइ, माङ, आमु, अमा, ममा, आम्बा, मा, मामा, माआ, आम्मा वा अझै बिभिन्न नाम जे दिए पनि आमाको अर्थ एउटै हुन्छ । प्राण भन्दा प्यारो, जीवनको सबैभन्दा नजिकको तथा माया र प्रेमको खानी नै आमा हुनुहुन्छ । आखिर धेरैलाई खुलदुली हुन्छ आमा शब्द कहाँबाट आएको होला ?
आमा शब्द तामाङ शब्दबाट आएको भन्ने धेरैको अनुमान छ । यो शब्द भारोपेली वा संस्कृतबाट आएको शब्द होइन । आखिर किन आफूलाई जन्म दिनेलाई आमा भनियो भन्नुपर्दा । आमा शब्दको विश्लेषण गरेर हेर्दा ‘आ’ र ‘मा’ दुई अक्षरबाट ‘आमा’ शब्द बनेको छ । तामाङ भाषामा ‘आ’ शब्दले अति नै निकट सम्बन्ध भएको भन्ने जनाउँछ भने ‘मा’ शब्दले महिला जनाउँछ । तसर्थ अति नै निकट रगतको सम्बन्ध भएको महिला नै ‘आमा’ हुन् । हामी आमाको शरिरबाट सिर्जित मांसपिण्ड हौ । तसर्थ हामी आमाबाट अलग्गिन वा टाढिन सक्दैनौँ । संसारमा सबैभन्दा प्यारो कोही हुन्छन् भने तिनी आमा मात्रै हुन सक्छिन् ।
आज बैशाख अमावस्या, यस दिनलाई नेपालमा आमा-औंसीको रुपमा मनाउने गरिन्छ । साथै मातातीर्थ औंसी पनि भन्ने गरिन्छ । यस दिन, जन्म दिने आमा जीवित रहे मिष्ठान्न भोजन गराएर खुशी बनाउने अथवा स्वर्गिय भइसक्नु भएको भए वहाँको नाममा पितृतर्पण गर्ने गरिन्छ । यस दिन थानकोटको मातातीर्थमा दर्शन गर्ने चलन पनि छ । जसले गर्दा त्यहाँ मेला नै लाग्ने गर्दछ ।
जसरी नेपालमा बैशाख अमावश्या तिथीमा आमाको मुख हेर्ने दिनको रुपमा मनाइन्छ । त्यसैगरि विश्वभर खासगरि मार्च र मइ महिनामा Mother’s day मनाउने गरिन्छ । नर्वेमा प्रत्येक वर्ष फेब्रुवरीको दोश्रो आइतवार मनाइन्छ । जर्जियाले मार्चको ३ तारिखमा मनाउने गर्दछ । यूरोपका कतिपय देशका साथ एशियाका लाओस तथा भियतनामले अन्तराष्ट्रिय महिला दिवस अर्थात मार्चको ८ तारिखमा Mother’s day मनाउने गर्दछ । यूरोपका केही देश र बेलायतले Mothering Sunday को रुपमा चालिस दिनको लेंट समयको चौथो आइतबार मनाउने गर्दछ जुन प्राय मार्चमा पर्ने गर्दछ । पर्सियन गल्फ र मेडिटरियन राष्ट्रहरुले भने वसन्त विषुवतका दिन अर्थात मार्च २१ मा Mother’s day मनाउने गर्दछन् । कतिपय देशहरुले मइ महिनाको पहिलो आइतबार तथा भारत, चीन, अमेरिका लगायत कतिपय देशहरुले मइ महिनाको दोश्रो आइतबार Mother’s day मनाउने गर्दछन् । आखिर जुन समयमा मनाउने भए पनि वर्षको एक पटक आफ्नो जन्म दिने आमालाई नसम्झने कोही पनि छैनन् ।
ग्रीक पौराणिक आख्यानहरुमा पनि आमाहरुको देवीको चर्चा गरिएको छ । रियालाई मातृत्वको देवीको रुपमा पूज्ने गरिन्थ्यो । रिया धर्ती माता गेए (पृथ्वी) तथा पिता यूरेनस (स्वर्ग)को छोरी थिइन् । साथै रियालाई क्रोनोस (समय)को पत्नीको रुपमा पनि पूज्ने गरिन्छ । उनलाई समय र पुस्ताको अनन्त प्रवाहका रुपमा पनि पूज्ने गरिन्छ । आमाहरुमा हुने मासिक धर्ममा बग्ने रगत, बालक जन्मदा बग्ने पानी र आमाको दुधलाई पुस्ता बृद्धिका लागि आबश्यक प्रवाहका रुपमा लिने गरिन्छ ।
ग्रीक आख्यानमा यो कथा पनि छ । क्रोनोस स्वर्गका राजा थिए । एक पटक क्रोनोसलाई एक ज्योतिषले भविष्यवाणी गरेर भने तिम्रो एक छोराले तिम्रो सत्ता खोस्नेछ । त्यसपछि बौलाएका क्रोनोसले हरेक जन्मने छोरालाई खान थाले । तर रियाले अन्तिम छोरालाई बाबुबाट जोगाउन गुफा भित्र लुकाए र क्रोनोसलाई एउटा ढुङ्गालाई कपडाले बेरेर जन्मेको छोरा भन्दै दिए । क्रोनोसले त्यो ढुङ्गा खाइदिए । यसरी रियाले क्रोनोसबाट लुकाइ छिपाइ हुर्काएको छोरा जिउस नै देवताहरुको देवता हुन् । उनलाई स्वर्गका देवताका रुपमा लिने गरिन्छ । यसरी पिता जति मुर्ख भए पनि आमा मुर्ख हुन सक्दैनन् भन्ने मान्यता रहेको छ ।
भनिन्छ, आमाले आफ्नो दुधको धारा बगाएर छोरालाई आशिष दिन्छ भने त्यो लाग्छ । जस्तो सुकै कठिन काममा पनि सफलता मिल्दछ । सबै कुरा अर्को खोजे पाइन्छ, तर आमा अर्को खोजेर पाइँदैन ।
हामीले आमाको मुख हेर्ने दिनको रुपमा बैशाख अमावश्याको दिनलाई सम्झन्छौँ । त्यसको चार महिनापछि भदौको अमावश्याको दिन हामी पितालाई सम्झने गर्दछौ । यस दिनलाई बुबाको मुख हेर्ने दिनको रुपमा मान्दछौँ । तसर्थ हामी बुझ्न सक्छौ बुबा भन्दा आमा सर्वोपरि हुनुहुन्छ । आमाको स्थान उच्च हुन्छ । हाम्रा धर्मशास्त्रहरुमा पनि आमालाई नै सर्वोपरिका रुपमा राखेको पाउँछौँ । मातृदेवो भवः पितृदेवो भवः भन्दै आमाबुबा नै देवतासरह हुन भनिन्छ । जसमा पहिले आमालाई नै सम्बोधन गरिन्छ ।
शास्त्रको अनुसार बैशाख अमावश्या पितृलाई तृप्त गर्ने दिनको रुपमा उल्लेख गरिएको छ, जसले गर्दा यस दिन नुहाइ धुवाइ गरेर श्राद्ध गर्ने तथा दानदक्षिणा गर्ने उल्लेख गरिएको छ । शास्त्रका अनुसार आमालाई मात्र सम्झने दिनको रुपमा उल्लेख गरिएको छैन । तर हामीकहाँ यसर्थ पनि नेपालमा आमाको मुख हेर्ने दिनको रुपमा मनाइएको हुन सक्छ । यस दिन जीवित भए मिष्ठान्न खुवाउने स्वर्गिय भइसकेको भए श्राद्ध गर्ने, सिधा दिने तथा पण्डितलाई भोजन तथा दान दक्षिणा दिएर पितृ सम्झने गरिन्छ ।
भक्तपुरका नेवाःहरुले हनुमानघाटमा गएर पितृको नाममा बत्ती बाल्ने गर्दछन् । काठमाडौ तथा पाटनका नेवास्हरु भने मातातीर्थमा गएर पितृतर्पण गर्ने गर्दछन् । नेवाः बाहेक अन्य पनि मातातीर्थमा नै जाने गरेको पाइन्छ ।
हाम्रो हिन्दु संस्कारमा पारिवारिक सौहार्द्रताको लागी पनि परिवारका सदस्यहरुलाई पूजा गर्ने परम्परा बसेको छ । बैशाख कृष्ण औँसीको दिन हामी आमालाई सम्झने गर्दछौँ । त्यस्तै भाद्र कृष्ण औँसीको दिन हामीले बुबालाई सम्झने गर्दछौ । आषाढ शुक्ल पूर्णिमाका दिन गुरुलाई सम्झन्छौँ । कार्तिक शुक्ल द्वितियाको दिन दाजुभाइलाई पूजा गर्छौं भने श्रावण शुक्ल पूर्णिमाका दिन दाजुभाइलाई रक्षाबन्धन बाँधीदिने गर्दछन् । दिदीबहिनी तथा सम्पूर्ण चेलीहरु तीजलाई आफ्नै चाडको रुपमा मनाउने गर्दछन् ।
आखिर मातातीर्थ औँसीको प्रचलन कसरी भयो भन्नेमा एउटा किम्वदन्ती छ । तर म किम्बदन्तीको चर्चा म यहाँ गर्दिनँ किनकि यो इतिहास नभइ केवल आख्यान मात्र हो । इतिहासलाई खोतल्ने हो भने आजको मातातिर्थ रहेको ठाउँमा कुनैबेला ठूलो तलाउ थियो जसको पानी सुकाएर गोपालबंशीहरुले राजधानी बसाइ राज्य गरेका थिए । गाई पालेर जीविकोपार्जन गर्ने गोपालवंशीहरुले ५२१ वर्ष राज्य गरेका थिए । यहि गोपालवंशलाई मातातीर्थ वंश पनि भन्ने गरिन्छ । हाल मातातीर्थ भनिने स्थानको नाम गोपालवंशीहरुको राज्यको समय पद्मकाष्ठगिरी भनिन्थ्यो । गोपालकालमा यी राजाहरुको पनि भव्य दरबार थियो, जसलाई सबम्बु राजवासक भनिन्थ्यो । अचेल तराइका यादवहरुले आफूहरुलाई नेपालको पहिलो राजवंशक गोपालहरु भएको भनेर उल्लेख गर्ने गर्दछन् । ती यादव र नेपालका गोपालहरु एकै होइनन् । नेपालमा राजकाज चलाउने तथा जनताहरु किराँत आक्रमण पछि चन्द्रागिरी बाहिर पुगेका हुन् ।
गोपालपछि राज्य चलाएका महिषपालहरुले धेरै वर्ष शासन चलाउन पाएनन् । तीन राजापछि किराँतहरुको प्रवेश भयो र गोपाल तथा महिषपालहरु लखेटिए । गोपालहरु चन्द्रागिरी कटेर बाहिर गए । पछि मल्लकालमा उस्तै नामको रुपमा पद्मकाष्ठपुर भनेर अहिलेको कीर्तिपुरको नामाकरण गरेका थिए ।
गोपालराज वंशावलीका अनुसार गोपालहरुका ८ राजाहरुले ५०५ वर्ष राज्य गरेका थिए । अहिले पनि यि गोपालवंशी गोपालीहरुको बलियो बस्ती चन्द्रागिरी नगरपालिकाको च्वःछे र चित्लाङको बिसंखेलतिरै निकै भेटिन्छ । यी दुबै बस्ती चन्द्रागिरी पहाडको नजिकै पर्दछ । यसपछि पूर्वबाट प्रवेश गरेका किराँतहरुले उपत्यकामा राज्य गरेका थिए । किराँतहरुले भने राजधानी देवपाटनमा सारे । यसपछि लिच्छवीकालमा हाँडीगाँउमा राजधानी बनाए ।
यिनै गोपालहरुले बनाइदिएको कुण्ड नै अहिलेको मातातीर्थ हो । त्यस समय मातातीर्थ क्षेत्रनजिकै पानीको अभावले पनि कुण्ड बनाइएको थियो । त्यसबेला हिन्दुका आख्यानहरु थिएनन् न त स्वस्थानी वा महाभारत र रामायणका कथा नै प्रचलित थिए, न गौतम बुद्ध नै जन्मेका थिए । यो त इसा पूर्व १५०० तिरको इतिहास थियो । गोपालवंशीहरु प्रकृतिपूजक थिए । प्रकृतिलाई पूजा गर्दथे । गाई पाल्नु नै उनिहरुको कर्म थियो । साथमा अन्न उत्पादनहरु पनि गर्दथे । गाईलाई आबश्यक पोषिलो घाँस धर्तिबाट उब्जोस् भनेर धर्तिलाई पूज्दथे । जमिन मुनि खाल्डो खनेर जमिन भित्र प्रकृतिको पूजा गर्दथे ।
सोह्रौँ शताव्दीको अन्ततिर काठमाडौं उपत्यकामा स्वस्थानी ब्रतकथा सुन्ने परम्पराको शुरुवात भयो । वि.सं. १६३० मा संस्कृतमा लेखिएको स्वस्थानीलाई १६५९ मा नेवारी भाषामा लेखिएपछि उपत्यकाका नेवारहरुबीच सर्वप्रचलित हुन पुग्यो । यसका आस्थाले ब्रत बस्ने क्रम बढ्न थाल्यो । यसमा उल्लेख गरिएका सतीदेवीको अंग पतन भएको ठाउँहरुमा पूजा गर्ने परम्परा बढ्न थाल्यो । यहीँ स्वस्थानीको कथामा मातुलेश्वरमा पुग्दा दायाँ स्तन पतन भएको तथा त्यस ठाउँमा मातुलेश्वर पीठ योगेश्वरी देवी, पिङ्गला योगिनी, बुधराधेश्वर महादेव उत्पत्ति भइ शिवशक्ति स्वरुपले रहन थालेको वर्णित गरिएको हुँदा यस स्थानको नाम मातातीर्थ रहन गयो ।
महाभारतको कथामा सबैभन्दा ठूलो ८१००० श्लोक भएको पुराण स्कन्द पुराणको पहिलो खण्ड माहेश्वर खण्डभित्र रहेको केदार खण्डको केही कथालाई स्थानीयकरण गर्ने प्रयास गरेर लेखिएको कथा नै स्वस्थानी ब्रत कथा हो । इ.पू. १४०० मा लेखिएको महाभारतमा नवौँ शताव्दीमा आइपुग्दा स्कन्दपुराणलाई पनि महाभारतमा समाहित गरिएको थियो । यहि स्कन्द पुराणका केही कथामा गोमयजूको कथा गाँसेर स्वस्थानी बनाइएको हो । पछि नेपाली भाषामा रुपान्तर गरिँदा गोमयजू गोमा ब्राम्हणी हुन पुगे । यही स्वस्थानीमा सतीदेवीको दायाँ स्तन पतन भएको विश्वासमा मातातीर्थको रुपमा प्रचलिन हुन पुग्यो ।
आखिर जे जसरी भए पनि हामी वर्षको एक पटक आमालाई विशेषरुपले खुशी बनाउने गर्दछौँ । स्वर्गीय आमाहरुलाई सम्झने गर्दछौँ । तर वास्तवमा भनौँ भने आमालाई सधैं खुशी बनाउनु हाम्रो कर्तव्य हो । आमा खुशी भए नै हामीमा आमाको आशिष लाग्दछ । मन्दिरमा भाकल गर्दै कालो बोको चढाउनु भन्दा आमालाई मिठोसंग खुवाए आमाको आशीर्वाद लाग्दछ । देवी, देवता, मठ, मन्दिर केवल आस्था मात्रै हो तर आमा साक्षात देवी हुन् । तसर्थ सधैं आमाको सम्मान गर्न सिकौँ ।
प्रतिक्रिया