सञ्चालक अग्रवाललाई झिकाउन माग
- पुरुषोत्तम सुवेदी, पश्चिम नवलपरासी
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सञ्चालित इन्दिरा सुगर मिल्स एण्ड इन्डष्ट्रिजले किसानहरूको करोडौँ रुपैयाँ बक्यौता भुक्तानी नगरेको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा उजुरी परेको छ ।
स्थानीय युवा समाजसेवी एवं अभियन्ता विजय कँडेलले गृह मन्त्रीलाई पत्र लेख्दै उद्योगका सञ्चालक राकेश कुमार अग्रवालले किसानको पसिनाको मूल्य नतिरी सम्पर्कविहीन भएको भन्दै तत्काल कारबाहीको माग गरेका हुन् ।

निवेदनका अनुसार इन्दिरा सुगर मिलले उखु किसानहरूलाई झण्डै ७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । पटक-पटक ताकेता गर्दा पनि उद्योगले रकम नतिरेको र हाल सञ्चालक अग्रवाल सम्पर्कमा नरहेकाले किसानहरू निकै मर्कामा परेका छन् ।
निवेदक कँडेलले गृह मन्त्रालयमा दर्ता गराएको पत्रमा मुख्य रूपमा दुई विषय उठान गराएका छन् । सम्पर्कविहीन रहेका उद्योग सञ्चालक राकेश कुमार अग्रवाललाई सरकारले तत्काल उपस्थित गराई किसानहरूको बक्यौता रकम भुक्तानी गराउनु पर्ने र निजी क्षेत्रबाट उद्योग चल्न नसकेको र किसानले सधैँ दुःख पाएको अवस्थामा उक्त मिललाई सरकारको मातहतमा ल्याई सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने माग छ ।
लामो समयदेखि भुक्तानी नपाउँदा सुस्ता र प्रतापपुर क्षेत्रका सयौँ किसानहरूको घरखर्च र बैंकको ब्याज तिर्न समेत समस्या भएको छ । ‘किसानको रकम नतिरी उद्योगी भाग्नु अपराध हो, यसमा सरकारले कडा कदम चाल्नुपर्छ’- कँडेलले पत्रमा उल्लेख गरेका छन् । गृह मन्त्रालयले यस विषयमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको बुझिएको छ।
प्रतिक्रिया