बल अब राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसमा पनि विशेषगरी बालेन शाह एवम् रवि लामिछानेको कोर्टमा छ । के अब उनीहरूबाट नयाँ र स्वच्छ राजनीति सम्भव छ ? – यही प्रश्नमा अबको नेपाली राजनीति अड्केको छ ।
✍ राजेश ढुंगाना
विगत ३० वर्षदेखि राजनीतिक नेतृत्वको भ्रष्ट र अनैतिक कर्मका कारण नेपाली जनता निराश थिए । निराश मात्र पनि होइन, चरम निराश थिए । स्थिति यस्तो थियो कि, अब मुलुक कहिल्यै बन्दैन, जो आए पनि उस्तै हो, यस्तै हो भन्ने टुङ्गोमा जनता पुगेका थिए । शासकहरू निर्लज्जतापूर्वक नाङ्गो नाचमा थिए ।
लोकतन्त्रमा जनप्रतिनिधिले ‘शासन’ गर्ने होइन, ‘सेवा’ गर्ने सामान्य हेक्का समेतलाई बिर्सेर नेपालको राजनीतिक नेतृत्व केवल अनैतिक किसिमले धनार्जनमा मात्र सीमित भयो । कुनै पर्दा नराखी, हाक्काहाक्की ! तर, अचानक भएको जेन-जेड क्रान्तिले त्यो चरम निराशाको स्थितिलाई अचानक नै बदल्यो । आशाको सानो नै सही, दीप बल्यो । मुलुकलाई सदैव दोहन गरिरहन कसैले पाउँदैन र सक्दैन भन्ने कुरा देखा पऱ्यो ।
हो… क्रान्तिको एउटा लामो प्रक्रिया हुन्छ । तर, नेपालमा केवल २ दिनको जेन-जेड क्रान्तिले राजनीतिक नेतृत्वको दशकौंदेखिको बदनियतले जर्जर बनेको देशको अवस्था अनपेक्षित रुपमै बदलिदियो । १-२ दिनमै क्रान्तिले यसरी सफलता पाएको पनि विश्वमा यो एउटा अपूर्व उदाहरण नै हो ।
त्यसपछि जेन-जेड क्रान्तिको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले केही आशाको धिपधिपे बाल्यो । जनतामा राजनीति र नेतृत्वसँग सम्पूर्णमा मरिसकेको आशा पुनर्जीवित हुनु पनि नेपालको ठूलो उपलब्धि मान्नु पर्छ । कम्तीमा पनि ६ महिना हिजोअस्तिसम्म सत्तामा म्युजिकल-चेयर खेलिरहेका कांग्रेस र अनेकथरि कम्युनिष्टहरूको साइनबोर्डधारी नेतागणले भ्रष्टाचार गर्न त पाएनन् ।
अर्थात्, जेन-जेड क्रान्ति र त्यसपछिको अन्तरिम सरकारले जनतामा सम्पूर्ण रूपले मरिसकेको आशा एकपटक फेरि बौरायो । निराशामा गएको राष्ट्र समाप्ति वा छिन्नभिन्न हुने प्रबल सम्भावना रहन्छ । तर, जेन-जेड क्रान्ति र अन्तरिम सरकारले त्यो दुःखद परिस्थितिलाई किनाराकृत गऱ्यो ।
त्यसपछि अन्तरिम सरकारले तोकिएकै समयमा आम निर्वाचन गर्न सक्नु र हुनु पनि राष्ट्रको अर्को उपलब्धि र सफलता हो । अन्त अरूतिर जानु पर्दैन, यति छोटो समयमा आम निर्वाचन सम्पन्न भएको उदाहरण हाम्रै मुलुकमा पनि छैन ।
पुराना फोहोर साफ गर्न सजिलो छैन । तर, त्यो असजिलोलाई सजिलो पार्न सक्नु नै वर्तमान रास्वपा नेतृत्व सरकारको मूल काम हो – जुन उसले गर्नैपर्ने छ ।
आम निर्वाचनमा कांग्रेस र कम्युनिष्टहरूलाई, जो निरन्तर सत्ताको रजाइँ र दाइँमा थिए, लगभग सम्पूर्णतः दुत्कार्दै केवल ३ वर्षअघि स्थापित नयाँ दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’लाई नेपाली जनताले प्रचण्ड र ऐतिहासिक बहुमत दिए । यो नेपाली जनताले परिवर्तनको पक्षमा गरेको मतदान मात्र होइन, ‘मनदान’ पनि हो ।
बल अब राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसमा पनि विशेषगरी बालेन शाह एवम् रवि लामिछानेको कोर्टमा छ । के अब उनीहरूबाट नयाँ र स्वच्छ राजनीति सम्भव छ ? – यही प्रश्नमा अबको नेपाली राजनीति अड्केको छ । रवि र बालेनहरूले केवल यही प्रश्नको सकारात्मक जवाफ जनमैत्री कामैले दिन सकेमात्र नेपाली जनताको मरिसकेको आशा पूर्णतः ब्यूँतिने छ । त्यसपछि देश बन्ने कुरा त क्रमशः र स्वतः हुन थालिहाल्छ ।
जेन-जेड क्रान्तिको म्याण्डेटबाट नवगठित यो बहुमतप्राप्त सरकारका प्रारम्भिक कामहरू भने सकारात्मक छन् । एक महिना पनि नपुग्दै यो सरकारले गरेका कामहरू र गर्ने कामहरूको जुन प्रस्ताव गरेको छ; त्यो हेर्दा सहजै अनुमान गर्न सकिन्छ- हो… अब पक्कै केही हुन्छ । यो आशा र विश्वास आर्जन नै पनि सानो उपलब्धि होइन ।
मृततुल्य राष्ट्रमा ‘जीवन’को सञ्चार दिने जुन काम वर्तमान सरकारले गर्दैछ, त्यो पनि ऐतिहासिक नै छ । यद्यपि पुराना फोहोर साफ गर्न सजिलो छैन । तर, त्यो असजिलोलाई सजिलो पार्न सक्नु नै वर्तमान रास्वपा नेतृत्व सरकारको मूल काम हो – जुन उसले गर्नैपर्ने छ । यो सरकारले पाएको म्याण्डेट पनि त्यसैका लागि हो ।
यसमा पुरातन शक्तिहरू अर्थात् कांग्रेस-कम्युनिष्ट प्रभृत्तिबाट पूर्णतः असहयोग हुने नै छ । नयाँ कुरालाई उनीहरूले स्वीकार्न सकिरहेका छैनन्, चाहेका नै छैनन् । त्यसमाथि उनीहरूको खाइन-पाइन जो हराएको छ । यस विषयमा यो सरकार सचेत मात्र भए पुग्छ । आफ्नो काम दनादन गरे त्यस्ता छिर्के लाउनेहरूको केही लाग्दैन । ती आफूहरू पनि केही नगर्ने र अरूलाई पनि गर्न नदिने तत्वहरूको कथित आन्दोलन र प्रतिरोध ‘टायँटायँफिस्’ हुनेछ । जनता विपक्षमा रहेका तिनका कथित आन्दोलन वास्तवमा आन्दोलन नै होइन, अरण्य रोदन मात्र हो र हुनेछ ।
प्रतिक्रिया