मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सुं कसरी ।

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सुं कसरी ।


नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत ‘बिर्सुं कसरी’ सार्वजनिक भएको छ । सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति बोकेको छ । गीतमा चर्चित गायक मोतिराज खनाल र लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरले भावनालाई अझ सशक्त बनाएको छ ।

गीतको शब्द स्वयं नवराज गौतमले लेखेका हुन् भने संगीत संयोजन गायक मोतिराज खनालकै रहेको छ । महेन्द्र भण्डारीको संगीत संयोजनले गीतलाई कर्णप्रिय बनाएको छ । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा तयार गरिएको यस गीतमा सुमन रानाले रेकर्डिङ र कुमार रानाले मिक्सिङको काम सम्हाल्नुभएको छ ।

यस गीतको म्युजिक भिडियोमा नवराज गौतमसँगै सरिता ढुंगाना, भगवान भण्डारी, चन्दा बिडारी, कमला भुजेल, सागर गिरी, गीता खनाल, कृष्टीना शाह, सरिता कुँवर, सिद्धार्थ कंडेल, साइब्रीना थिङ, विक्रम थापा, लक्ष्मण खड्का लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन सयौं गीतमा निर्देशन गरिसकेका चर्चित निर्देशक देवेन्द्र कुँवरले गरेका हुन् भने छायांकन दीपक गिरी र सम्पादन राजेश कुमारको रहेको छ ।

यो गीतको कथावस्तु नवराज गौतमको वास्तविक जीवनमा आएको एक दर्दनाक घटनासँग जोडिएको छ । उनको जीवनमा अचानक बज्रपात प¥यो, जब अत्यन्तै माया गर्ने उनकी प्रेमिका पारिवारिक दबाब र यातनाका कारण असहनीय अवस्थाबाट गुज्रिन बाध्य भइन् । नवराजसँग छुट्टिएर बाँच्न नसक्ने अवस्थामा पुगेकी उनी आफ्ना आफन्तबाट सहयोगको अपेक्षामा थिइन्, तर उनको पुकार कसैले सुनेनन् । अन्ततः जबर्जस्ती छुट्याइएपछि एक्लै बाँच्नुभन्दा संसार नै त्याग्ने कठोर निर्णय उनले गरिन् ।

उनको त्यो निर्णयले नवराजलाई गहिरो पीडामा डुबायो । त्यही असहनीय बिछोड, सम्झना र भावनात्मक घाउलाई उनले ‘बिर्सुं कसरी’मार्फत व्यक्त गरेका छन् । गीतले प्रेममा हार, सामाजिक बन्धन र मानवीय संवेदनाको कथा अत्यन्त मार्मिक ढंगले प्रस्तुत गर्दछ ।

अनुभवी कलाकारहरूको संयुक्त प्रयासमा तयार भएको यो गीतले दर्शक तथा श्रोताको मन छोने विश्वास गरिएको छ । ‘बिर्सुं कसरी’ केवल एउटा गीत मात्र नभएर, एउटा वास्तविक पीडा र सम्झनाको जीवित अभिव्यक्ति बनेर आएको छ ।