धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन


सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार (८ वैशाख) बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिएअनुसार समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन् ।

मन्त्रिपरिषद्को बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य तथ सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको छ । बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति पनि दिएको छ ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गर्नुका साथै बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।